उप प्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
यात्रामा शुभाशुभ शकुनको विशेष विचार गरिन्छ । शकुन भनेको शुभ र अशुभ द्योतन गर्ने संकेतहरू हुन् । भौतिकवादीले त यस्तो कुरालाई अफिम नै मानेका छन् । तर यस्ता भौतिकताको वकालत गर्ने वकिल स्वयं नै साइतको साचोमा निरन्तर चलिरहेको यथार्थ पनि हामी सँगै छ । संसारमा नराम्रा कुरा केही पनि छैनन् र हुदैनन् पनि । योजकस्तत्र दुर्लभः भने झैँ सही प्रयोक्ताको मात्र कमी हो । नराम्रो समयममा कोही पनि आफ्नो यात्रा गर्न चाहदैन । अनि शास्त्रले पनि त्यस्तो नराम्रो अवस्थामा कदापि यात्रा नगर्नु भनेर आदेश दिएको छ । एक थरी मान्दै नमान्ने अनि अर्को थरी सामान्य कुरामा पनि अनेकौँ साइतका तानाबाना बुनिरहने यस्ता दुवै कुरा उपयुक्त होइनन् । हाम्रा आँखाले देखेजति मात्र संसार हो भन्नु पनि व्यर्थ छ । हाम्रा कनले सुन्ने ध्वनिको मात्रा पनि निश्चित छ । सो भन्दा अनेकौँ ध्वनिका तरंग सुन्ने हाम्रा कानमा क्षमता छैन । तर कानले सुनेको मात्र ध्वनि हो भन्नु पनि गलत हुन्छ । त्यसैले संसारका रहस्यलाई खोतल्दै जीवन उपयोगी सीपको विकास गर्नुु आज आवश्यक देखिन्छ । शास्त्रले बताएका कुराको उचित उपयोगले हामी सबैको कल्याण गर्ने भएकाले यस्ता निधिका बारेमा सबै सचेत हुनु आवश्यक छ ।
यात्राको समयमा शुभ र अशुभ दुवै खाले शकुनको शास्त्रले चर्चा गरेको छ । शुभ शकुनमा घोडा, ब्राह्मण, हात्ती, फल, अन्न, दूध, दही, गाई, सस्र्युँ, कमलको फूल, सेतो वस्त्र, गणिका, बाजा, न्याउली चरी, नीलकण्ठ चरी, बाँधेको पशु, शुभ वचन, पानी भरिएको कलश, छाता, गिलो माटो, कन्या, रत्न, वच्चा लिएकी महिला, बलेको आगो, ऐना, धोएको कपडा, धोवी, माछा, घिउ, सिंहासन, झण्डा, मह, हतियार, गोरोचन, वेदध्वनि, मांगलिक गीत गाएको अवस्थादि पर्दछन् । -मुहूत्र्तचिन्तामणि, ११।१०१–१०२_ यात्रा आरम्भ कालमा यस्ता वस्तु आफ्ना अगाडि देखिएमा शुभ शकुन मानिन्छ । अर्थात् यस्ता वस्तु यात्रा आरम्भ कालमा देखिए शुभ फलदायी मानिन्छ ।
यसैगरी अशुभ शकुनमा नांगो मान्छे, तेल लगाएको मान्छे, भुस, बन्ध्या, रोगी मान्छे, जटाधारी, सन्यासी, हड्डी, सर्प, नुन, अँगार, इन्धन, विष्ठा, तेल, पागल, शत्रु, भोको मान्छे, घर जलेको देखिनु, विरालोको युद्ध देखिनु, गुण, मोही, हिलो, पारिवारिक झगडा, शरीरबाट बस्त्र खसेको देखिनु, भैँसीको युद्ध, कपास, उल्टी गर्दै गरेका मान्छे, दायाँ तिर गदाको स्वर, मुण्डन गरेको मान्छे, दुर्वचन आदि पर्दछन् -मुहूत्र्तचिन्तामणि, ११।१०२–१०३)_ । यस्ता व्यक्ति वस्तु अथवा अवस्थामा यात्रा अशुभ हुने कुरा शास्त्रले बताएको छ । यस्तो अवस्थामा अपशकुनको दोष निवारण गरेर मात्र यात्रा गर्नु शुभ मानिन्छ ।
यसैगरी कस्ता कुरा खाएर कुन दिशाको यात्रा गर्दा शुभ हुन्छ भन्ने कुरा पनि शास्त्रमा पाइन्छ
आज्यं तिलौदनं मत्स्यं पयश्चापि यथाक्रमम् ।
भक्षयेद् दोहदं दिश्यमाशां पूर्वादिकां व्रजेत् ।। -मुहूत्र्तचिन्तामणि, ११। ८६_
अर्थात् पूर्व दिशाको यात्रा गर्दा घिउ, दक्षिण दिशाको यात्रा गर्दा तिल चामल वा तिल भात, पश्चिम दिशाको यात्रा गर्दा माछा, उत्तर दिशाको यात्रामा दूध पिएर यात्रा आरम्भ गर्दा शुभ हुने कुरा मुहूत्र्त चिन्तमणिमा उल्लेख पाइन्छ । यदि यस्ता वस्तु खान नमिल्ने अवस्था भए हेरेर भए पनि यात्रा गर्नाले फलदायी हुन्छ । शास्त्रले अनेकौँ उपाय बताएको पाइन्छ । आफूलाई अनुकूल हुने कुनै आधार लिएर यात्रा गर्दा यात्रीलाई सफलता प्राप्त हुने कुरा बताउनु शास्त्रको मूल अभिप्राय हो । शास्त्रले सबैको कल्याण नै चाहेको हृुन्छ । जुन वैज्ञानिक र व्यवहारिक पनि छ ।
यसैगरी बार अनुसार पनि वस्तु विशेष खाएर वा हेरेर यात्रा गर्नाले यात्रा फलदायी हुने कुरा बताइएको छ । आइतबार यात्रा गर्दा सिकर्नी, सोमबार खिर, मंगलबार सर्वत, बुधबार तताएको दुध, विहीबार दही, शुक्रबार काँचो दूध र शनिबार तिल मिश्रित चामल खाएर यात्रा गर्नाले यात्रा शुभ हुन्छ ः
रसालां पायसं काञ्जीं शृतं दुग्धं तथा दधि ।
पयोऽशृतं तिलान्नं च भक्षयेद् बारदोहदम् । -मुहूत्र्तचिन्तामणि, ११।८७ _
भनी मुहूत्र्तचिन्तामणिमा उल्लेख छ ।
यसैगरी तिथि, नक्षत्र अनुसार पनि विभिन्न वस्तु खाएर वा हेरेर यात्रा गर्नाले शुभ फलदायी हुन्छ भन्ने कुरा शास्त्रमा उल्लेख पाइन्छ । शुभ समयमा शुभ वस्तुको वा शुभ शकुनको उपयोग गरी यात्रा गर्नु फलदायी हुने शास्त्रीय मान्यता छ । यसरी गरिने यात्रामा पनि आपत् धर्मका विशेष विधान रहेका छन् । यात्रा गर्नै पर्ने भयो तर साइत जुरेन भने अगाडि पाइतो सार्ने विधि पनि रहेको छ । शुभ दिनमा ब्राह्मणले जनै सुपाडी, क्षत्रियले हतियार, वैश्यले मह, शूद्रले अमलाको फल अथावा आफूलाई मन पर्ने वस्तु लिएर वा तुलसाको मठमा पाइतो सारेर यात्रा गर्नाले पनि यात्रा शुभ हुन्छ -मुहूत्र्तचिन्तामणि, ११।९२_ आपत् कालमा मनले निश्चय गरेको समय नै शुभ साइत हुन्छ ।
विरालोले बाटो काट्नु पनि यात्राका निम्ति अपशकुन हो । यस्ता अपशकुन देखिए के गर्ने भन्ने बारेमा पनि शास्त्रले उपाय बताएकामे छ ः
आद्येऽपशकुने स्थित्वा प्राणानेकादश व्रजेत् ।
द्वितीये षोडश प्राणांस्तृतीये न क्वचिद् व्रजेत् ।। -मुहूत्र्तचिन्तामणि, ११।१०८_
अर्थात् पहिलो अपशकुन देखिए ११ पटक श्वास फेरुन्जेल सोही स्थानमा स्थिर रहने र यात्रा गर्नाले शुभ हुन्छ । पुनः पनि अर्को अपशकुन देखियो भने १६ पटक श्वास फेर्ने समयसम्म स्थिर रहने र यात्रा गर्ने । तेस्रो पटक पनि अपशकुन देखियो भने यात्रा नगर्नू भन्ने शास्त्रीय आदेश रहेको छ । यसैगरी विरालोले पनि पहिलो चोटी बाटो काटे ११ पटक सास फेरुञ्जेल सम्म स्थिर रहनु पर्छ । पुनः बाटो काटे १६ पटक श्वास फेरेर यात्रा गर्ने । तेस्रो पटक पनि बाटो काट्यो भने यात्रा नगर्नू भनिएको छ ।
यात्रा गर्ने उपयुक्त वेला कुन हो भन्ने कुरा पनि शास्त्रत्रले प्रष्ट बताएको छ । विशेषतः घरमा व्रतबन्ध, देव प्रतिष्ठा, विवाह, सुतक परेको बेला यस्ता कार्यको समाप्ति नभई यात्रा नगर्नु भनिएको छ । अकालमा विद्युत् घनवर्षा भयो भन सात रात सम्म यात्रा नगर्नू भनिएको छ ः
व्रतबन्धनदेवतप्रतिष्ठाकरपीडोत्सवसूतकासमाप्तौ ।
न कदापि चलेदकालविद्युद्घनवर्षातुहिनेऽपि सप्तरात्रम् ।। -मुहूत्र्तचिन्तामणि, ११।७९_
यसरी उपयुक्त समयमा मात्र प्राकृतिक अवस्थालाई पनि ख्याल राखी यात्रा गर्नु भन्ने शास्त्रयि वचन रहेको पाइन्छ ।
यात्रा गर्नु पूर्व विभिन्न वस्तुको सेवनमा पनि शास्त्रले निषेध गरेको पाइन्छ ः
दुग्धं त्याज्यं पूर्वमेव त्रिरात्रं क्षौद्रं तैलं वासरेस्मिन् वमिश्च त्याज्यं यत्नाद् भूमिपालेन नूनम् ।। -मुहूत्र्तचिन्तामणि, ११।९६_
यात्राको तिन रात पहिले दुध पान नगर्नू, ५ राता पहिले क्षौर कर्म नगर्नू भनिएको छ । यसैगरी यात्राका दिन मह, तेल, मासु नखानू पनि भनिएको छ । यसैगरी यात्रारम्भ कालमा कसैलाई पनि गाली गर्नु हुँदैन । यात्रा आरम्भ कालमा गरिएको गालि पनि अशुभ शकुन मानिन्छ ।
एकै दिनमा घर फर्किएर आउने यात्राका निीम्त मुहूत्र्त हेरिरहनु पर्दैन -मुहूत्र्तचिन्तामणि, ११।८१_ विशेषतः लामो यात्राका निम्ति र विशेष कार्य सम्पन्न गर्न जानका निम्ति यात्रा साइत हेर्नु पर्दछ । यात्राका निम्ति उत्तम मुहूत्र्त भनेको मनले चिताएको दिन नै हो । तर मनमा शंका लाग्यो भने यात्रा गर्नु हुँदैन । साइत जुराउनै पर्छ ः
चेतोनिमित्तशकुनैरतिसुप्रशस्तैज्र्ञात्वा विलग्नबलमुव्र्यधिपः प्रयाति ।
सिद्धिर्भवेदथ पुनः शकुनादितोऽपि चेतोविशुद्धिरधिका न च तां विनेयात् ।। -मुहूत्र्तचिन्तामणि, ११।७९_
मनले कल्पेको मुहूत्र्तमा पनि यात्रा सफल हुने ऋषिवाक्य रहेको पाइन्छ । मनमा विकार लिएर गरिएको यात्रा भने निष्फल रहन्छ । त्यसैले यात्रीको मन शुद्ध र विकार रहित हुनु आवश्यक छ । शुभ शकुन भए पनि मनमा विकार छ भने त्यो शुभ शकुनले केही गर्न सक्दैन । त्यसैले चित्तलाई विकार रहित बनाएर गरिएको यात्रा फलदायी हुने कुरा शास्त्रसम्मत र वैज्ञानि छ ।
No comments:
Post a Comment