जातस्य हि धु्रवोर्मृत्यु धु्रवं जन्म मृतस्य च । (गीत, २।२७) अर्थात् यो संसारी धराधाममा जन्मलिएपछि मृत्यु अवश्यम्भावी छ । सयैगरी मृत्युपश्चात् पनि पुनर्जन्म हुनेकुरा श्रीमद्भगवद्गीतमा निश्चय गरिएको छ । हामी कर्मको वेदीमा निरन्तर चलिरहेका छौँ । मनुष्य चोला एउटा विश्रामस्थल अर्थात् चौतारी मात्र हो । जहाँ केही क्षण विश्रमा गछौँ, सुखदुःख साट्छौँ अनि पुनः आफ्नो गन्तव्यमा निरन्तर यात्रारत रहन्छौँ । यात्राको लक्ष मोक्ष हो । यस्ता परिघटना हाम्रो मुक्ति नहुञ्जेलसम्म चलिरहन्छन् । मनुष्यरूपी चर्मेन्द्रियले यी सबै कुराको यथार्थ बोध गर्न सक्दैनन् । हामीमा पूर्व जन्ममा गरिएका कर्मको संस्कार त रहन्छ तर के कति भन्ने हामी स्वयं ज्ञान गर्न सक्दैनौ । जसको ज्ञान गर्ने उपाय पनि पौरस्त्य वाङ्मयमा उल्लेख पाइन्छ । योग एक उपाय हो । यसैगरी ज्योतिषशास्त्रले पूर्वकर्मको आर्जित फल नै यो जन्ममा बत्ती जसतै प्रकाशित गर्ने कुरा बताइएको छ :
यदुपचितमन्यजन्मनि शुभाऽशुभं तस्य कर्मणः पङ्क्तिम् ।
व्यञ्जयति शास्त्रमेतत् तमसि द्रव्याणि दीप इव ।। (लघुजातकम्, १।३)
अतः हामी पूर्वजन्मकै कमाइ भोग गरिरहेका छौँ । वेदले बताएका ऋचा, ऋषिले देखेका मन्त्र र स्मृति पुराणले दिएका दिव्य उपदेशबाट यो जन्मजन्मान्तरको कर्मभोग र मुक्तिको उपाय अवलम्बन गर्न सकिन्छ ।
हाम्रो आत्माले नयाँ रूप ग्रहणगर्दा पुरानो चोला सकिन्छ । गीताले पनि यही बताएको छ ः
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही ।। (गीत, २।२२)
हाम्रो शरीर काम नलाग्ने भएपछि अर्थात् जीर्ण भएपछि लुगा फेरेजस्तै यो चोला पनि फेरिने हो । यसरी फेरिने क्रममा केही संक्रमणको काल रहन्छ । जसलाई गतियुक्त बनाउनका निम्ति हाम्रा अन्त्य संस्कारका क्रियाकर्म आवश्यक हुन्छन् । जसले आत्मालाई पितृलोकहुँदै मोक्षको मार्गमा अघिबढाउन मद्धत गर्दछन् । विदेहात्मालाई गति दिन अन्त्यसंस्कार गर्नुपर्ने धर्मशास्त्रीय मत रहेको छ ।
हरेक कार्य पनि पूरा हुन समय लाग्छ । समय हम्रो अधीनमा छैन । अतः शास्त्रले बताएको समय अघि हाम्रो शुद्धि पनि नमिल्ने र विदेहात्माले गति पनि नपाउने भएकाले निश्चित समयसम्म हमीले अन्त्यसंस्कारका कार्य गर्नुपर्दछ । देहान्त्यपश्चात् दशदिनसम्म पिण्डदान गर्नु भनेको परलोकीलाई पितृलोकसम्मको यात्राका निम्ति सूक्ष्म शरीर निर्माण गरिदिनु हो । उक्त विदेहात्माको सूक्ष्म शरीर बन्न लाग्ने समय भनेको नै दशदिन हो । दशदिन अन्तर्गतका प्रत्येक पिण्डदानले शरीरका अङ्गहरू निर्माण हुन्छन् । यसरी बनेको सूक्ष्म शरीरलाई गति दिने कार्य एघार, बाह्र र तेह्रौँ दिनका कार्यले गर्दछन् (गरुडपुराण, सारोद्धार, १।४७–५८) । अतः अन्त्यसंस्कार कर्म तेह्र दिन नभई सकिँदैन । मूल कर्तालाई त आशौच वर्ष दिन नै लाग्दछ । किनकि हाम्रो एकवर्ष पश्चात् मात्र विदेहात्मा पितृलोकमा पुग्न सफल हुन्छन् । वर्षदिनसम्म पितृलोकको मार्गमा निरन्तर हिँड्नु नै पर्छ भनी धर्मशास्त्रमा बताइएको छ । यसरी बाटो हिँड्दैगर्दा भोक प्यास लाग्ने गर्दछ । सो वेलामा सन्ततिले दिएका जल अन्नादि वस्तु प्राप्त गरी यात्रा सहज हुने भएकाले वर्षदिनसम्म मासिकश्राद्ध गर्नुपर्ने विधान गरिएको हो । हाम्रो एकवर्ष बराबर पितृलोकमा १२ दिन हुने भएकाले हाम्रो समयको तुलनामा पितृलोकमा छोटो समय रहन्छ । त्यसैले वर्षदिनपश्चात् पनि पुण्य तिथिमा श्राद्ध, हरेक औँसीमा पितृप्रति श्रद्धाभाव व्यक्तगर्ने कार्य गरिन्छ । पृथ्वी वासीले दिएका वस्तु पाएर पितृ तृप्त हुन्छन् र पृथ्वीवासी सन्ततिलाई आशीर्वाद प्रदान गर्दछन् । अतः हाम्रो जीवनभर श्राद्धकर्म गर्नु भनिएको हो ।
हाम्रा संस्कारका बारेमा सरल पद्धतिको अभाव खड्किँदै गएको परिवेशमा सरल नेपाली भाषामा समेत बोधगम्य होस् र कर्म सबैको पूरा होस् भन्ने हेतुले अन्त्यकर्मपद्धतिअन्तर्गत दशदिनसम्मका कर्मको सप्रमाण विघि तयार गरिएको छ । विशेषतः अन्यत्र पनि यस्ता पद्धति नपाइएका होइनन् । सरल र मन्त्र पनि पूरा नभएका पद्धतिले गर्दा हरेक कार्य अपूर्ण भएको पाइएकाले कार्यमा पूर्णता दिनका निम्ति यो प्रयास गरिएको हो । सरल नेपाली भाषाका साथै सजिलो आकृतिमा पुस्तकाकार कृति तयार भएकाले सबैलाई सहज र उपयोगी हुनेमा हामी आशावादी छौँ ।
समय गतिशील छ । कसलाई कतिखेर के हुन्छ भन्ने कसैलाई पनि थाह हुँदैन । जब अन्त्यकालिक अवस्था आउँछ अनि हामी विधि र विशेषज्ञको खोजमा दौडिन्छौँ । एउटै पुस्तकमा सबै विषयवस्तु नसमेटिएका र समेटिएका पुस्तक पनि ठूला बोक्न अप्ठ्यारा हुने भएकाले अन्त्यकालिक कर्म हतारमा अपूर्ण रहनसक्छन् । अतः सजिलो गोजी किताबबाट नै दशाहसम्मका कार्य सम्पन्न गर्न सकियोस् भन्ने उद्देश्यले यो पुस्तकाकारकृति लघुकायमा तयार गरिएको छ । अन्त्यसंस्कारका निम्ति अन्य आवश्यक विषयवस्तुको समावेश गरिएकाले कर्मकाण्ड गराउने पुरोहितका निम्ति अझ उपयोगी हुने विश्वास लिएका छौँ । सम्भवतः शुद्धिलाई अधिक ख्याल गरिएको छ । कतिपय अवस्थामा सजग हुँदा हुँदै पनि कतै त्रुटि पाइए सच्याइदिनुहुनु विद्वज्जनमा विनम्र निवेदन गर्दछौँ ।
पुस्तकका बारेमा आफ्ना गहनतम अभिव्यक्ति प्रदान गरी हौसला प्रदान गर्नुहुुने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका विभागाध्यक्ष प्रा.डा. देवमणि भट्टराईज्यूज्यूप्रति प्रति हार्दिक आभार व्यक्त गर्दछौँ । यसैगरी पुस्तको शास्त्रीय विधि विधानलाई दिशा निर्देशनका साथै लेखन कार्यमा उत्प्रेरणा प्रदान गर्नुहुने सहप्राध्यापक श्रीराम सापकोटाज्यूप्रति पनि हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । पुस्तकको प्रकाशन कार्यलाई सहजताका साथ स्वीकार गरी यो कृति प्रकाशनमा ल्याइदिनुहुने सविता अधिकारीज्यूप्रति पनि कृतज्ञ छौँ । यसैगरी यस पुनित कार्यमा प्रत्यक्ष एवं परोक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।
सम्पादकद्वय
उपप्रा. सुरेशराज पौडेल, धर्मशास्त्राचार्य
उपप्रा. नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
वाल्मीकि विद्यापीठ, प्रदर्शनीमार्ग, काठमाडौँ ।
पुस्तककाे नाम : अन्त्यकर्मविधि:
प्रकाशक : सविता अधिकारी
मूल्य : १५०
प्राप्तिस्थान : रत्नपुस्तक भण्डार माइतीघर काठमाडाै ।
दुर्गा धार्मिक पुस्तक भण्डार पशुपितक्षेत्र काठमाडाै ।
No comments:
Post a Comment