लक्षवर्तिका प्रज्वलन किन ? व्रतविधि र फल - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 12, 2017

लक्षवर्तिका प्रज्वलन किन ? व्रतविधि र फल


नारायणप्रसाद निरौला 

कार्तिक, माघ र वैशाख महिनासँगै लक्षवर्तिका प्रज्वलन एवं दान गर्ने गरेको गाँउ समाजमा सर्वत्र देख्न पाइन्छ । हरेकले आफ्नो जीवनकालमा कम्तीमा एक पटक लक्षवर्तिका प्रज्वलन गर्ने चलन पनि रहेको छ । यसैगरी जीवनमा एकपटक भए पनि लक्षवर्तिका प्रज्वलन एवं दान गर्नाले इह लोकको भुक्तिका साथै मुक्ति समेत मिल्ले शास्त्रीय मान्यता रहेको पाइन्छ । कतिपय सन्दर्भमा यसको अर्थ बुझेर होस् या नबुझेरै भए पनि व्रतोद्यापनपूर्वक लक्षवर्तिका प्रज्वलन गर्ने  चलन हाम्रो गाँउ समाजमा निकै पहिलेदेखि नै चलिआएको हो । धार्मिक रूपमा पुण्य आर्जन एवं सामाजिक रूपमा एक आपसमा भेटघाट हुने भएकाले पनि भव्यरूपमा लक्षवर्तिका प्रज्वलन गर्ने चलन चलेको पाउन सकिन्छ  । सामाजिक भन्दा पनि धार्मिक मान्यता लक्ष वर्तिका व्रतोद्यापनमा विशेष रहेको पाइन्छ । विशेषतः महिलाको मासिक धर्मजन्य दोषबाट निवृत्त हुने जीवनभरको एकमात्र उपाए भएकाले पनि यसको विशेष महिमा छ । हुन त पञ्चमीको व्रतोद्यापनले पनि उक्त दोष निवारण हुने शास्त्रीय मान्यता छ । वर्षदिनमा भएका रजस्वलाजन्य दोषबाट पञ्मीमा निवृत्त हुने र पञ्चमी छुटेका एवं जीवनभरका अन्य दोषबाट समेत निवृत्त भई पुण्य समेत आर्जन हुने भएकाले लक्षवर्तिका प्रज्वलन एवं दान गर्ने चलन रहिआएको  पाइन्छ ।

के हो त लक्षवर्तिकाको अर्थ ? लक्ष भनेका लाख हो भने वर्तिका भन्नले बत्ती भन्ने बुझिन्छ । अनि प्रज्वलन भनेको बाल्नु हो । यतिले मात्र लक्षवर्तिकाको परिभाषा पूरा हुँदैन । लक्षवर्तिका प्रज्वलनमा बात्तीको संख्या सवालाख हुनु पर्ने विधान रहेको छ । अर्थात् सपाद लक्षवर्तिका प्रज्वलन गर्नु पर्दछ । जसमा सवालाख बत्ती हुने गर्दछन् ।  जुन विशेष संकल्पपूर्वक कातिएका हुन्छन् ।   जसको वाल्ने पनि धार्मिक विधि विधान रहेको हुन्छ । लक्षवर्तिकाको व्रत वसी विधि पूर्वक विष्णु लक्ष्मी, ब्रह्मा सावित्री र शिव पार्वतीको विशेष पूजा गरी लक्षवर्तिका प्रज्वलन गरिन्छ । यसमा बात्ती प्रमुख हुन्छन् । कपासका बात्तीलाई उत्तम मानिन्छ । यसरी वत्ती प्रज्वलन गरिसकेपछि  दीप दान गर्नु पर्छ । काँसको भाँडामा घिउले पूर्णगरी सुनको वत्ती बालेर योग्य ब्रह्मणलाई दान गर्ने शास्त्रीय विधान रहेको छ ।

विशेषतः मासिकधर्मबाट महिलामा हुने दोषको निवारणका लागि यो व्रतोद्यापन गरिन्छ । महिनावारी भएकाबेला ज्ञात अज्ञात रूपमा स्पर्शजन्य दोष हुने गर्दछन् । शास्त्रले रजस्वला भएका वेला पतिलाई छुन निषेध गरेको छ । यसैगरी उक्त समयमा अरु कसैलाई पनि स्पर्श गर्नु हुँदैन भन्ने वचन छ ।  तर  गृहस्थ जीवनमा कतिपय अवस्थामा स्पर्शजन्य दोष हुन सक्छ । यसरी भएको ज्ञात अज्ञात दोषबाट निवृत्तिका लागि लक्षवर्तिकोको प्रज्वलन गरिन्छ । यसैगरी आफ्ना पति एवं परिवारको  दीर्घायु आरोग्य एवं ऐश्वर्य वृद्धिका  निम्ति पनि लक्षवर्तिका प्रज्वलन गरिन्छ । यसैगरी इहलोकको भुक्ति र परलोकको मुक्ति प्राप्तिका निम्ति पनि यसको व्रतोद्यापन गर्ने विधान छ । यसैगरी पुण्य आर्जन गर्ने हेतुले समेत लक्षवर्तिका प्रज्वलन गर्न सकिन्छ । पुरुषले पनि यसको व्रतोद्यापन गर्ने शास्त्रीय विधानरहेको पाइन्छ ।

कहिले र कसरी गर्ने लक्षवर्तिका प्रज्वलन ? लक्षवर्तिका प्रज्वलनका निम्ति कार्तिक,माघ र वैशाख महिनालाई उत्तम मानिएको छ । यी मध्ये पनि माघ महिना विशेष मानिन्छ । वामन पुराणाम लक्षवर्तिका प्रज्वलनका निम्ति उत्तम महिना यसरी  बताइएको छ ः कालो हि कार्तिको मासो वैशाखे माघ एव वा ।। सहस्रगुणितं धत्ते व्रतं तन्मसि कार्तिके । तस्मात् कोटिगुणं बू्रतं माघमासि व्रतोत्तमम् ।

तस्मादनन्तगुणितं फलं वैशाखमासके । अर्थात् अन्य महिना भन्दा कार्तिक महिनामा व्रत गर्नाले हजार गुणा बढी फल मिल्ने गर्दछ । कार्तिक महिनामा भन्दा माघ महिनामा लक्षवर्तिकाको व्रतोद्यापन गर्नाले करोड गुणा फल मिल्छ । यसैगरी माघमहिनाको भन्दा वैशाखमा गरेको लक्षवर्तिका प्रज्वलनको फल अनन्तगुणा प्राप्त हुन्छ भनी वामन पुराणमा उल्लेख पाइन्छ ।  व्रत समापन गर्नु दुई महिना पहिलेबाट व्रत वस्नु उपयुसक्त हुने कुरा पनि शास्त्रमा बताइएको पाइन्छ । यसको व्रत अन्तर्गत शुद्ध भई चोखो वस्तु भोजन गरी विष्णु भगवानलाई प्रतिदिन गाईका घिउमा या तीलको तेलमा एक हजार वत्तीले आरती गर्नु पर्दछ  ।  व्रतोद्यापन भने पूर्णमामा गर्नु उत्तम मानिएको छ । व्रतमा शुद्धतालाई विशेष महŒव दिनुपर्ने हुन्छ ।

प्रातः स्नान गरी शुद्ध वस्त्र लगाएर पञ्चगव्य प्राशन पूर्वक पुण्याहवाच गरी ब्राह्मण वरण गर्नु पर्दछ । सुन्दर मण्डपको निर्माण गरी अग्निस्थापना विधिले सम्पूर्ण देवी देवताको आवाहन हवन पूर्वक वेदीको माझमा विष्णुलक्ष्मीको प्रतिमा राखी  मूल विष्णु लक्ष्मी प्रतिमाको दायाँ तिर शिव पार्वती र बाँयातिर ब्रह्मा सावित्रीको सुवर्ण प्रतिमा प्राणप्रतिष्ठापूर्वक स्थापना गर्नु पर्दछ । यसपछि षोडशोपचारले विशेष पूजा गरिन्छ । साथै भगवानका प्रत्येक अंगको विशेष पूजा गर्ने विधान पनि रहेको छ । यसरी विशेष पूजन पश्चात् लाख वत्तीको संकल्प लिई वत्ती प्रज्वलन गर्नु पर्दछ । बात्ती प्रज्वलन पश्चात् बात्तीको संख्याको दशांश तर्पण र तर्पणको दशांशले हवन गर्नु पर्दछ । यसपछि पायस, घिउ र पलासका समिधा विशेष मन्त्रले हवन गर्नु पर्दछ । घिउले पूर्ण कासको पात्रमा सुनको वत्ती राखी ब्राह्मणलाई दान गर्नु पर्दछ । यसपछि  वाछी सहित दुधालु गाईको दान गर्नु पर्ने विधान छ । विधि पूर्वक पूजा समापन गरी प्रसाद ग्रहण गर्नु र आफन्तलाई पनि प्रसाद दिनुपर्दछ । बत्ती पाँच, सात, नौ सुते सम्मका बाल्ने   गरिन्छ ।

लक्षवर्तिका प्रज्वलनको फल ः कर्ता सहित कर्ताको सन्ततिले पनि सुख प्राप्त गर्दछन् भनिएको छ । यसैगरी पत्नीले गरे पतिको र पतिले गरे पत्नीको दीर्घायु हुन्छ । एक आपसमा सुख पूर्वक जीवन व्यतित हुन्छ र परलोकमा पनि सुख प्राप्त हुने धार्मिक मान्यता रहेको छ । वामन पुराणमा यसको फल यसरी बताइएको छ ः अनेनैव विधानेन लक्षपूजां करोति यः । पुत्रैः पौत्रैः प्रपौत्रैश्च सुखं प्राप्नोति निश्चितम् ।। अर्थात् लक्षवर्तिकाको व्रत पूजन एवं प्रज्वलन गर्नाले छोरा,नाति पनातिसम्मलाई सुख शान्ति मिल्छ ।  विशेषतः महिलाको मासिक धर्मका बेला भएका ज्ञात अज्ञात दोषको निवृत्ति हुनुका साथै अन्य पापजन्य कार्यको पनि प्रायश्चित्त हुने शास्त्रमा उल्लेख पाइन्छ । गुप्त पाप पनि नष्ट हुने कुरा बताइएको छ । एवं  वर्ति दानेन विष्णेरमिततेजसः । कोटयो ब्रह्महत्यानामगम्यागमकोटयः ।। तथैवात्युग्र पापानि कोटयोऽथसहस्रशः । नश्यन्ति नात्र सन्देहो नारीणां वा नरस्य च ।। लक्षवर्तिकाको दानले एक करोड ब्रह्महत्याको पाप नष्ट हुनुका साथै उग्र पाप कर्मबाट पनि मुक्ति मिल्छ भनिएको छ ।  यसैगरी सुलक्षणा नामकी महिलाले आफ्नो मृत पतिलाई पनि बचाउन सफल भएको कथा समेत वामन पुराणमा उल्लेख पाइन्छ । त्यसैले लक्षवर्तिका व्रतमा विशेष शक्ति रहेको कुरा पुष्टि हुन्छ ।

हामी धार्मिक एवं साँस्कृतिक रूपले निकै धनी छौँ । पुण्य धनले होइन मनले प्राप्त हुन्छ । सच्चा मन भएन भने हजारौँ धनले पनि उक्त पुुण्य प्राप्त गर्न सकिदैन । त्यसैले यस्ता कर्ममा मानसिक शुद्धि हुनु आवश्यक हुन्छ । जे जस्तो मिल्छ पत्र,पुष्प, फलले भगवानको आराधना गर्न सकिन्छ । यसैगरी पवित्रता पनि यस्ता कर्मको आर्को महत्त्वपूर्ण पक्ष हो । पवित्र मन, भावना र कर्मले गरेको फल अवश्य नै मिल्छ । तडक भडकलाई छाडी सभ्य एवं भव्य रूपमा यस्ता धार्मिक व्रतपर्वलाई स्वीकार गर्नु आवश्यक छ । जसले परलोकमा मुक्तिका साथै इह लोकमा सुख शान्ति एवं समृद्धिका प्राप्त हुन्छ ।


No comments:

Post a Comment