कुन ग्रह कस्ताे हुन्छ ? हेर्नुहाेस् नवग्रहका रङ र प्रकृति - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Dec 25, 2017

कुन ग्रह कस्ताे हुन्छ ? हेर्नुहाेस् नवग्रहका रङ र प्रकृति


उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य,वास्तुविद्

आकाशमा देखिने चम्किला तारा विशेष नै ग्रह हुन् । आकाशीय ग्रहहरूको अध्ययन गर्ने शास्त्र ज्योतिष हो । खगोलीय परिवृत्तमा रहेका ग्रहहरूले पृथ्वीमा पनि अनेकौँ प्रभाव छोडिरहेका हुन्छन् । सोही आधारमा ग्रहहरूको रङ र प्रकृतिको पनि निर्धारण गरिएको हुन्छ । आकाशमा स्वतन्त्र पिण्डीय अस्तित्व भएका सातवटा मात्र ग्रह छन् । सूर्य, चन्द्रमा, बुध, वृहस्पति, शुक्र, शनि मुख्य ग्रह हुन्् । राहु र केतुको पिण्डीय अस्तित्व पाइदैन । सूर्य र चन्द्रमा हिँड्ने मार्गका दुई सम्पात विशेषलाई राहु र केतु भनिन्छ । ज्योतिषीय भाषामा भन्नुपर्दा चन्द्रमा हिँड्ने चन्द्रविमण्डल वृत्त र सूर्य हिड्ने क्रान्तिवृत्तको उत्तरी सम्पातलाई राहु र दक्षिणी सम्पातलाई केतु भनिन्छ । राहु केतुलाई सम्पात वा छाया ग्रह मानिएको छ ।

ग्रहहरू नित्य आकाशमा पूर्वाभिमुखी भएर घुमिरहेका हुन्छन् । प्रवह नामको वायुले सम्पूर्ण ग्रहमण्डललाई पश्चिमाभिमुखी बनाएर तेज गतिमा घुमाइरहेको हुन्छ । जसरी कुमालेको चक्रमा हिँडेको  कमिलो पूर्वाभिमुख हिँडिरहे पनि अत्यन्त तीव्र गतिमा पश्चिमाभिमुख घुमाइएको  कुमालको चक्रले गर्दा कमिलो पनि पश्चिम घुमिरहेको जस्तो भान हुन्छ । त्यसैगरी आकाशमा कमिलोजस्तै  ग्रह पूर्वाभिमुख भएर हिँडिरहेका हुन्छन् । प्रवह नामको तीव्र वायु वेगले समग्र ग्रहमण्डल नै पश्चिमाभिमुखी भएर घुमिरहेको देखिन्छ ।

ज्योतिशशास्त्रले पृथ्वीलाई ग्रहको संज्ञा दिएको छैन । पृथ्वीलाई स्थिर केन्द्र मानेर अन्य ग्रहहरूको ज्योतिषीय  परिगणना गरिएको छ । आधुनिक खगोल विज्ञानले भने सूर्यलाई केन्द्र मानी ग्रहगणित गरेको पाइन्छ । यसैगरी पृथ्वीसहित अरुण, वरुण यमलाई पनि ग्रहको अस्तित्वमा उभ्याएको छ । ज्योतिष शास्त्रले भने सातवटा पिण्डीयग्रह र दुईवटा छाया ग्रह मानी नौवटा ग्रहलाई विशेष चर्चा गरेको  पाइन्छ । ग्रहहरूका आआफ्नै प्रकृति र रङ रहेका छन् । पिण्डीय अवस्थिति, कार्य अवस्था, पृथ्वीवासीमा पार्ने प्रभावलाई हेरेर ग्रहहरूका प्रकृति र रङ शास्त्रे निर्धारण गरेका छन् ।

१.सूर्य ग्रह
सूर्यलाई ग्रहहरूको राजा मानिएको छ । सूर्यको रङ रातो हुन्छ । सिंह राशिको मालिक सूर्यको सिंह अनुसारको प्रकृति पनि हुन्छ भनी बताइएको छ । सिंह राशिको रङ पनि अरुणोदयकालिक रातो हो
चतुरस्रो नात्युच्चकेशः पैत्तिकोऽस्थिसारश्च ।
शूरो मधुपिंगाक्षो रक्तश्यामः पृथुश्चार्कः ।।(लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.१)
सूर्यको स्वरूप लम्बाई र चौडाई मिलेको अथवा वर्गाकार छ । उचाई भए पनि त्यत्ति अग्लो  स्वरूप भने होइन भनिएको छ । यसैगरी थोरै केश भएको पित्त प्रकृति अधिक भएको,  दृढ अस्थि(हाड)वाला, शूरवीर, मह जस्तै आँखा भएको रातो र कालो वर्णको स्थूल शरीरवाला सूर्यको स्वरूप बताइएको छ ।

सूर्यलाई ग्रहका साथै तेत्तिसकोटि देवता मध्येकका एक पनि मानिन्छ । सूर्यकी आमा  अदिति ( दक्षप्रजापतिकी पुत्री ) हुन् भने बुबा   महर्षि कश्यप हुन् । यसैगरी सूर्यलाई विष्णु भगवान्को साक्षत् अवतार रूप पनि मानिन्छ ।

सूर्य पत्नी सन्थला र छाया हुन् ।  छायाबाट शनिको जन्म भएको हो । (श्रीमद्भागवत् ) तन्त्र ग्रहात्मक प्रकृतरूप मतृशक्ति  पिङ्गला हुन् । सूर्यका देवता  भगवान् विष्णु हुन् । सूर्य ग्रहको प्रतिनिधि  धातु सुन वा तामा र   रत्नमा  माणिक्य पर्दछन् । हातका औँला मध्ये साहिली औँलाले सूर्य ग्रहको प्रतिनिधित्व गर्दछ । आइतबार सूर्यको बार हो । सूर्यको वर्ण रक्त अर्थात् रातो हुन्छ ।

ज्योतिषा शास्त्रमा सूर्यलाई  आत्मा कारक ग्रह मानिएको छ ।  विशेषतः आत्मीय कुराको प्रतिनिधित्व सूर्यले गर्ने गरेको पाइन्छ ।  यसैगरी सूर्य पुरुष कारक ग्रह भएकाले लिङ्गमा पुरुषको प्रतिनिधित्व गरेको हुन्छ । गहुँ, गँुड, मुसुरो, रातो वस्त्र, सुन, गाई, माणिक आदि राता वस्तु सूर्यका प्रतिनिधि मानिन्छन् । यस्ता वस्तुको दानले सूर्यजन्य दोषबाट निवृत्त हुन   सकिन्छ भन्ने ज्योतिषीय मत रहेको छ । सूर्यलाई ग्रहहरूको राजा मानिएको छ । सूर्यकै परिधिमा अन्य ग्रहहरू रहने भएकाले ग्रहमण्डलमा सूर्यलाई राजको संज्ञा दिइएको हो ।  सिंह राशिको स्वामी ग्रहका रूपमा पनि सूर्यलाई चिन्न सकिन्छ ।  मेष  राशिको १० अंशसम्म सूर्य उच्च र  तुला राशिको १० अंशसम्म नीच हुने गर्दछ । यसैगरी  सिंह राशिमा रहेको सूर्यलाई मूलत्रिकोणी पनि भनिन्छ । 
सूर्यको  वर्ण क्षत्रीय हो । क्षत्रीय स्वभाव सूर्य ग्रहमा पाउन सकिन्छ । सौर्य र पराक्रमको प्रतिनिधित्व पनि सूय ग्रहबाट हुने गर्दछ ।  यसैगरी सूर्यलाई  पूर्व दिशाको स्वामी मानिन्छ ।  सूर्यका शत्रु ग्रह शुक्र, शनि र  राहु हुन् भने  चन्द्रमा, मंगल र  वृहस्पति मित्र ग्रह हुन्  यसैगरी  सम (शत्रु पनि नहुने मित्र पनि नहुने) ग्रह  बुध हो । यसैगरी सूर्यलाई पापीका साथै  क्रुर स्वभावको ग्रह मानिन्छ ।

२. चन्द्र ग्रह
ब्रह्माका पुत्र अत्रि ऋषि घोर तपस्या गर्न लागे । परिणामस्वरूप उनका आँखाबाट जलका केही थोपा खसे जसलाई सबै दिशाले स्त्रीरूपमा आएर  पुत्रप्राप्तिको आकांक्षामा ग्रहण गरे । तर गर्भधारण नभएकाले सबै दिशाले त्यागिदिए । त्यस्ता परित्यक्त जल थोपालाई ब्रह्माले संकलन गरे र एक पुरुषको आकृतिको निर्माण गरे जसको नाम चन्द्रमा रह्यो । कालान्तरमा दक्षप्रजापतिले आफ्ना २७ कन्याको विवाह चन्द्रमाका साथ गरिदिए  भन्ने कथा पद्मपुराणमा पाइन्छ ।

स्वच्छः प्राज्ञो गौरश्चपलः कफवातिको रुधिरसारः ।
मृदुवाग् घृणी प्रियसखस्तनुवृत्तश्चन्द्रमाः प्रांशुः ।। (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.२)
 निर्मल कान्तिवाला, बुद्धिमान्, गोरो(सेतो) वर्णको, चञ्चल, कफ र वायु प्रकृति मिसिएको, रुधिर अर्थात् रगत जस्तै रातो, मृदुभाषी, दयालु, मित्रप्रिय स्थुल तथा गोल शरीरवाला चन्द्रमाको स्वरूप बताइएको छ ।  चन्द्रमाकी तान्त्रिक मातृशक्ति  मङ्गला हुन् ।  चन्द्रमाका प्रिय देवता  शिवजी हुन् ।  धातुमध्ये चाँदी,   रत्नमध्ये  मोती  चन्द्रमाका प्रतिनिधि मानिन्छन् । हातको कान्छी औँलाले चन्द्रमाको प्रतिनित्वि गर्दछ । चन्द्रमाको बार सोमबार हो । यसैगरी  चन्द्रमाको प्रिय रङ  सेतो  हो । गोरो वर्णको वैश्य  जातिवाला चन्द्रमा  मन कारक स्त्री ग्रह हो ।

 घिउ, सुन, दही, जनै, सेतो चामर(चमर), कपुर, चामल, शंख, श्रीखण्ड, सेतो कपडा, वंशपात्र(बाँसको भाँडो), मोती जस्ता वस्तुको प्रतिनिधित्व चन्द्रमाले गर्दछ ।  नक्षत्रहरूको राजा चन्द्रमा  बृष  राशिको ३ अंशसम्म उच्च,  बृश्चिक राशिको ३ अंशसम्म नीच र  बृष  राशिमा मूलत्रिकोणी हुन्छ । चन्द्रमाको वर्ण विप्र (ब्राह्मण) हो । कफ वात प्रकृतिको चन्द्रमाले वायव्य दिशाको प्रतिनिधित्व गर्दछ । कर्कट राशिको स्वामी चन्द्रमाले हृदयको अभिव्यक्तिलाई विशेष प्रतिनिधित्व गरेको हुन्छ ।

३. मंगल ग्रह
पित्त प्रकृतियुक्त, धैर्य, पराक्रम, पुरुषार्थ उग्रताको स्वामी, नवग्रहहरूमध्येको सेनापति पदयुक्त,  युद्ध र हिंसाको प्रिय, जुन भावमा वस्छ त्यो भावलाई उग्र बनाउने कार्य गर्ने,  कुम्भराशिमा उच्च र कर्कट राशिमा नीच हुने अग्नि तŒव युक्त ग्रह  मंगल हो ।  यो एक राशिमा ४५ दिन बस्ने गर्दछ ।
हिंस्रो ह्रस्वस्तरुणः पिंगाक्षः पैत्तिको दुराधर्षः ।
चपलः सरक्तगौरो मज्जासारश्च  माहेय ।। (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.३)
मंगल हिंसायुक्त, सानो शरीर भएको, पहेलो आँखा वाला, पित्त प्रकृतिको, दुराचारी, चञ्चल, रातो र सेतो मिश्रित प्रकृतिको, अधिक मज्जा वाल हुन्छ भनी बताइएको छ । मंगलकी तान्त्रिक मातृशक्ति भ्रामरी हुन् । मंलका प्रिय देवता  हनुमान र गणेश जी हुन् । धातुमा  तामाको प्रतिनिधित्व यसले गर्दछ ।  मुगा(रातो) मंगलको प्रिय रत्न हो । माझी औँलाले मंलको प्रतिनिधित्व गर्दछ ।

 मंगलको प्रतिनिधि रङ  रातो  हो । क्षत्रीय वर्णको प्रतिनिधित्व गर्ने मंगल पुरुषकारक ग्रह हो ।  गहुँ, गुड, मसुरो, रातोवस्त्र, रक्त चन्दन, रातो वहर, सुन, मुगा प्रिय वस्तु हुन् । मंगल खुशी पार्न गणेशजीको उपासना गरिन्छ । नवग्रहमा मंगललाई  सेनापति मानिएको छ ।  मंगल मकर  राशिको २८ अंशसम्म उच्च र कर्कट राशिको २८ अंशसम्म नीच रहने गर्दछ । दक्षिण दिशाको प्रतिनिधित्व गर्ने मंगल रगत सम्बन्धी कारक ग्रह हो । युद्ध र  रोमान्सको देवताका रूपमा पनि मंगललाई लिने गरिन्छ ।


४.बुध ग्रह
बुधलाई मध्यम प्रकृतिको ग्रह मानिन्छ । बुध ग्रहका कुनै पनि शत्रु छैनन् । विशेषतः हरियो रङको प्रतिनिधित्व गर्ने बुध   मिथुन र कन्या राशिको स्वामी ग्रह हो ।
मध्यमरूपः प्रियवाग् दूर्वाश्यामः शिराततो निपूणः ।
त्वक्सारस्त्रिस्थूणः सततं हृष्टस्तु चन्द्रसुत ।। (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.४)
साधारण रूपवाला, मृदुवक्ता, हरियो र कालो मिश्रित, विस्तृत स्नायुवाला, चतुर, स्थुल चर्म(छाला)वाला, वात पित्त कफ प्रकृतिको, हृष्टपुष्ट बुधको स्वरूप रहेको छ ।
बुध ग्रहका इष्ट देवी  दुर्गा र देवता  भगवान्  विष्णु हुन् । तान्त्रिक मातृशक्तिमा   भद्रिका  पर्दछन् ।   राँगा, पारा, पन्ना जस्ता धातु,  रत्नमा पन्ना बुधका प्रिय मानिन्छन् । कान्छी औँलाको फेद भागले बुधको प्रतिनिधित्व गर्दछ । शूद्र वर्णको बुधको रङ  हरियो हो ।  बुद्धिको प्रतिनिधित्व गर्ने बुधलाई नपुंसक ग्रह मानिन्छ । मुग, मास, घ्यु, हरियो कपडा कस्तुरी, हात्ती, पन्ना बुधका प्रिय वस्तु हुन् । नवग्रहमा बुधलाई राजकुमार मानिएको छ ।  कन्या  राशिको १५ अंशसम्म उच्च र  मीन राशिको १५ अंशसम्म नीच हुने बुध कन्या राशिमा मूलत्रिकोणी हुने गर्दछ । कफ वात पित्त तिनै प्रकृतिको बुध उत्तर दिशाको स्वामी ग्रह हो ।   वनस्पति जगत्को बुधले प्रतिनिधित्व गर्दछ । 

५.बृहस्पति  ग्रह
वृहस्पतिलाई देवताको गुरु मानिन्छ । नवग्रहमध्ये बृहस्पति नै कायिक हिसावले ठूलो ग्रह हो । विशेषतः यसलाई ज्ञान र ऐश्वर्यको प्रतीक ममान्छि । पहेलो वृहस्पतिको प्रतिनिधि रङ हो । बृहस्पतिका देवता ब्रह्मा हुन् भने देवीमा दुर्गा भगवती पर्दछन् ।
मधुनिभनयनो मतिमानुपचितमांसः कफात्मको गौरः ।
ईषत्पिङ्गलकेशो मेदःसारो गुरुदीर्घः ।। लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.५)
पिङ्गलवर्णको दृष्टिवाला, बुद्धिमान्, पुष्ट मांसवाला, कफप्रकृतिको, गोरो वर्ण, अधिक वीर्यवाला लामो शरीर भएको वृहस्पतिको स्वरूप बताइएको छ  ।

बृहस्पतिकी तान्त्रिक मातृशक्ति  धान्या  हुन् । धातुमा सुन वा पित्तल, रत्नमा  पुँखराज(पहेलो) वृहस्पतिका  प्रिय मानिन्छन् । चोरी औलाको प्रतिनिधित्व गर्ने वृहस्पतिका वर्ण रङको हुन्छ ।  प्रकृति कफ हो ।  धन र विद्या कारक ग्रह वृहस्पतिले लिङ्गमा  पुरुषको प्रतिनिधित्व गर्दछ । चिनी, नुन, हलेदो, धान, पँहेलो कपडा, सुन, पुष्पराज बृहस्पतिका  प्रिय वस्तु हुन् ।  नवग्रहको मन्त्री वृहस्पति  कर्कट राशिको ५ अंशसम्म  उच्च र  मकर राशिको ५ अंशसम्म नीच हुने गर्दछ । ईशान (पूर्व र उत्तरको कोण ) दिशाको बृहस्पतिले प्रतिनिधित्व गर्दछ ।

६. शुक्र ग्रह
दैत्यका गुरु शुक्राचार्य हुन् । तिनै शुक्रका आधारमा आकाशीय ग्रहपिण्डको परिकल्पन्तना गरिउको छ । शुक्रलाई काम शक्तिको प्रतीक पनि मानिन्छ । शुभ फल प्रदान गर्ने शुक्रको प्रकति भने स्त्रीको जस्तो हुन्छ । 
श्यामो विकृष्टपर्वा कुटिलासितमूद्र्धजः सुखी कान्तः ।
कफवातिको मधुरवाग्भृगुपुत्रः शुक्रसारश्च ।। (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.६)
कालो वर्णवाला, कालो केश, सुखी, सुन्दर,कफ वायु प्रकृतिको, मृदुभाषी, अधिक वीर्यवाला बताइएकाके छ । 

वीर्य, तेज, शक्ति कारक  शुक्र  लक्ष्मी भगवतीको उपाशनाले शान्त एवं फलदायी हुन्छ । शुक्रसँग सम्बन्धित रत्न  हिरा हो भने सहायक रत्नमा ओपल पर्दछ । शुक्रको  तान्त्रिक मातृशक्तिमा सिद्धा पर्दछन् । प्रिय रङ सेतो हो ।   विप्र अर्थात् ब्राह्मण  वर्णको शुक्रका चामल, श्रीखण्ड, चित्रवस्त्र, सुन, चाँदी, हीरा हुन् ।  नवग्रहको मन्त्री शुक्र  मीन राशिको २७ अंशसम्म उच्च, कन्या राशिको २७ अंशसम्म नीच र तुला राशिमा मूलत्रिकोणी हुन्छ ।  कफ , वात  प्रकृतिको  शुक्रको दिशा  आग्नेय ( । पूर्व उत्तर कोण) हो । प्रेम र शक्ति कारक ग्रह शुक्रस्वच्छताको प्रतीक पनि हो । 

७.शनि ग्रह
शनि अन्धकारको प्रतीक हो । रोगकारक ग्रहका रूपमा पनि शनिलाई चिन्ने गरिन्छ । शनिका इष्टदेव भैरव हुन् । सूर्यको पुत्रको रूपमा शनिलाई वर्णन गरिएको छ । शनिकी तान्त्रिक मातृशक्ति उल्का हुन् । यसको स्वरूप निम्न बताइएको छ ः
कृशदीर्घः पिंगाक्षः कृष्णः पिशुनोऽलसोऽनिलप्रकृतिः ।
स्थूलनखदन्तरोमा शनैश्चरो स्नायुसारश्च  ।। (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.७)
दुब्लो लामो शरीर भएको, कैला आँखावाला, कालो, परनिन्दक, आलसी, वात प्रकृतिको, लामा लामा नङ र दारावाला, अधिक रौँ भएको स्नायुसम्बन्धीको ग्रह शनिश्चर हो ।

शनिसँग सम्बन्धित धातु  फलाम हो । रत्नमा  नीलम  पर्दछ । माझी औलाले शनिको प्रतिनिधित्व गर्दछ । शनिको बार शनिबार हो । प्रिय  रङ कालो  हो भने वर्णमा  कृष्ण÷चाण्डाल प्रकृतिको बताइएको छ । नपुंसककारक ग्रह शनिका मास, तिल, गहत, फलाम, कालोवस्त्र, भैँसी, निलम आदि प्रिय  वस्तु हुन् ।  पिपलको पूजा गर्नाले शनिजन्य दोष निवारण हुन्छन् भनी बताइएको छ । नवग्रहमा शनिको पद भृत्य अर्थात् नोकरको हो ।  तुला राशिको २० अंशसम्म उच्च, मेष राशिको २० अंशसम्म नीच र  कुम्भ राशिमा मूलत्रिकोणी हुने नैऋत्य दिशाको स्वामी शनि ग्रह  वायु प्रकृतिको ग्रह हो । 

८.राहु ग्रह
राहुलाई छायाग्रह मानिन्छ । इष्ट देवी सरस्वती  हुन् भने ताीत्रक मातृशक्ति  सङ्कटा मानिएको छ  ।  प्रिय धातु सिसा हो भने रत्नमा  गोमेद पर्दछ । राहुले  खैरो रङको प्रतिनिधित्व गर्दछ । यो पनि रोग कारक ग्रह हो । गहत, मास, तिल, तेल, खड्ग, निलोवस्त्र, भेडो, सुन, गोमेद आदि प्रिय वस्तु हुन्  । वायु प्रकृतिको राहु ग्रह सन्ध्या कालको प्रतीक हो ।
९. केतु ग्रह
केतु पनि पाप ग्रहअन्तर्गत पर्दछ । तान्त्रिक मातृृशक्ति  विकटालाई मानिएको छ । प्रिय  धातु  जस्ता हो भने रत्नमा  लहसुनियाँ÷वैदुर्यमणि पर्दछ । केतुले चित्र विचित्र  रङको प्रतिनिधित्व गर्दछ । यो रोग  कारक ग्रह हो । कम्बल, नुन, मास, तिल, तेल, सुन, कालोवस्त्र, वैदुर्यमणि  केतुका प्रिय वस्तु हुन् । भैरवको उपासनाले केतु खुशी हुने गर्दछ । नवग्रहमा केतुको स्थान सहयोगीको हो । पश्चिमम दिशाको प्रतिनिधित्व गर्ने केतु वायु प्रकृतिको ग्रह हो । ब्रहमुहूर्तकालको (विहान सूर्योदय पूर्व समयको) प्रतिनिधित्व केतुले गर्दछ । 

ग्रहहरूका आआफ्नै रङ र प्रकृति रहेका छन् । विशेषतः ग्रहजन्य प्रभावलाई चित्रमा उतार्न रङले मात्र प्रतिनिधित्व गर्न नसक्ने भएकाले तद् जन्य प्रकृतिको पनि ज्ञान आवश्यक हुन्छ । विशेषतः ग्रहजन्य प्रभावलाई चित्रकलामा उतार्न ग्रहको प्रकृतिले पनि विशेष साथ दिने भएकाले नव ग्रहका प्रकृति र रङको ज्ञान  आश्यक देखिन्छ ।

1 comment: