उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
१. परिचय
ग्रहण भनेको ग्राह्य र ग्राहकबीचको सम्बन्ध हो । सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव हुने भएकाले चन्द्रग्रहण पूर्णमा तिथिमा मात्र लाग्ने गर्दछ । चन्द्रममा आफ्नो प्रकाश छैन । सूर्यको प्रकाशले नै चन्द्रमा उज्यालो भएको हो । प्रकाश परावर्तन गर्ने शक्ति चन्द्रमामा भएकाले सूर्यको प्रकाश पर्दा त्यसको परावर्तित किरण पुनः पृथ्वीसम्म आउने गर्दछन् । औशीमा चन्द्रमा र सूर्य एउटै राशि अर्थात् चन्द्रमामाथि सूर्य हुने भएकाले चन्द्रमाको उज्याले देख्न सकिदैन । अर्थात् रात अध्यारो हुन्छ । पूर्णिमामा चन्द्रमा र सूर्यको अन्तर ६ राशि अर्थात् १८० डिग्रीको हुने गर्दछ । यस्तो अवस्थामा सूर्यको पूर्ण प्रकाश चन्द्रमामा परी उज्यालो जुनेली रात हुने गर्दछ । यही पूर्णिमामा पृथ्वीको छायामा चन्द्रमा प्रवेश गरेको अवस्थामा चन्द्र ग्रहण लाग्ने गर्दछ । चन्द्र ग्रहणमा चन्द्रमा छाद्य र भूभा (पृथ्वीको छाया) छादक हुन्छ ।
वेदले पनि ग्रहणका बारेमा विशेष उल्लेख गरेको छ । ..यं वै सूर्यस्वर्भानुस्तमसाऽविध्यदासुरः । अत्र यस्तमनवविन्दन्न ह्यन्वे अशक्नुवन् ।। (ऋग्वेदः ५।४०।।५९) राहुलाई ग्रहणको कारक मानिएको छ । राहु भनेको तम अर्थात् अन्धकार हो । ग्रहण लागेका बेला पनि अन्धकार हुने गर्दछ । यस्तो समय दान पुण्यका लागि अति उत्तम मानिएको छ । स्मृति पुराणले पनि जप र दानका लागि ग्रहणको समय उत्तम हो भन्ने चर्चा गरेका छन् । स्नान, जप, दानका लागि ग्रहण उत्तम समय हो भन्दै भास्करचार्यले पनि स्मृति पुराणको वचनलाई यसरी स्मरण गरेका छन् ः
बहुफलं जपदान हुतादिके स्मृतिपुराणविदः प्रवदन्ति हि ।
सदुपयोगि जने सचमत्कृति ग्रहणमिन्द्विनयोः कथयाम्यतः ।। (सिद्धान्तशिरोमणिः, चन्द्रग्रहणधिकार, श्लो १)
अर्थात् जप, दान,यज्ञाहति आदि गर्नका लागि उत्तम समय ग्रहणको अवसर हो । ग्रहणको समयलाई सदुपयोग गर्नु नै उचित हुन्छ । यो आकाशमा देखिने एक चमत्कृति नै हो ।
२. सबै पूर्णिमामा चन्द्रग्रहण नलाग्नुको कारण
प्रत्येक पूर्णमामा पनि चन्द्रग्रहण सम्भव हु्ँदैन । किनकि पूर्णिमाकै दिन चन्द्रमाको हिँड्ने बाटोमा पृथ्वीको छाया पुग्न सक्नैछ । अनि चन्द्रमाले पनि भूमिको छाया भेट्ने स्थिति रहदैन । प्रत्येकको हिँड्ने आआफ्नो बाटो हुने भएकाले यस्तो स्थिति बेला वेलामा मात्र पर्न जान्छ । सूर्य हिँड्ने बाटोलाई क्रान्तिवृत्त भनिन्छ । सूर्यको परिक्रमा पृथ्वीले पनि गरिरहेको हुन्छ । सूर्यको विपरीत दिशामा (१८० डिग्रीको अन्तरमा ) सधै अन्धकारमयी पृथ्वीको छाया घुमिरहेको हुन्छ । आफ्नै कक्षामा घुमिरहेको चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा अन्धकारमयी हुन पुग्छ । यस्तो अवस्थालाई नै चन्द्र ग्रहण भनिन्छ । चन्द्रग्रहणलाग्दा चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्ने भएकाले चन्द्रमाको प्रकाशमा मलीनता उत्पन्न हुने गर्दछ । यस्तो अवस्था पूर्णिमाको दिन मात्र सम्भव हुन सक्छ । किनकि पूर्णिमामा सूर्य र चन्द्रमाको अन्तर ६ राशि अर्थात् १८० डिग्रीको हन्छ । सूर्य र चन्द्रमाको बीचमा पृथ्वी पर्ने भएकाले पृथ्वीको छाया सूर्यको विपरीत दिशामा फैलिएको हुन्छ । सोही छायाँ हुँदै चन्द्रमाको हिँड्ने बाटो पर्ने भएकाले चन्द्रग्रहणको विशेष सम्भावना पूर्णिमामा मात्र पर्ने भएको हो ।
पृथ्वीको छाया निरन्तर क्रान्तिवृत्त (सूर्यहिँड्ने वृत्त वा वाटो)मा हिँड्छ तर चन्द्रमाको हिँड्ने बाटो छ्ट्टै छ । अर्थात् चन्द्रमा क्रान्तिवृत्तभन्दा अन्यत्रैबाट घुमिरहेको हुन्छ । क्रान्तिवृत्तको र चन्द्रभ्रमणमार्ग( चन्द्रविमण्डल)को जहाँ सम्पात हुन्छ ती स्थानलाई पात भनिन्छ । यी पात मध्येको उत्तरी सम्पातलाई राहु र दक्षिणी सम्पातलाई केतु भनिएको हो । राहु केतुको स्वतन्त्र पिण्डीय अस्तित्व रहेको छैन । यस्तो पातस्थानमा वा पातासन्न स्थानमा चन्द्रमा पुगेको र पूर्णिमा पनि परेको अवस्था भए मात्र चन्द्रग्रहण लाग्न सक्छ । सबै पूर्णिमामा यस्तो स्थिति हुन सक्दैन र हरेक पूर्णिमामा चन्द्रग्रहण लाग्दैन । चन्द्रमाको बाटोले पृथ्वीको बाटोसित अन्दाजी ५ डिग्रीको कोण बनाउने गर्दछ । तसर्थ चन्द्र, पृथ्वी र सूर्य एउटै सोझो रेखामा नपर्न सक्छन् । जुनबेला पर्छ त्योवेला मात्र चन्द्र ग्रहण लाग्ने भएकाले सबै पूर्णिमामा यस्तो स्थिति (चन्द्र,सूर्य र पृथ्वीकौ एउटै सरल रेखामा पर्ने स्थिति) नपर्ने भएकाले सबै पूर्णिमामा चन्द्रग्रहण नलागेको हो ।
३.चन्द्र ग्रहणका प्रकार
चन्द्रग्रण दुई प्रकारका हुन्छन् । १) पूर्ण चन्द्रग्रहण र २) खण्डग्रास चन्द्रग्रहण । चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्दा पूर्णग्रास चन्द्रग्रहण हुन्छ । यसैगरी चन्द्रमाको केही भाग मात्र पृथ्वीको छाँयामा पर्छ भने खण्डग्रस चन्द्र ग्रहण लाग्ने गर्दछ । भूच्छायां प्राङ्मुखश्चन्द्रो विशत्यस्य भवेदसौ ।।( सूर्य सिद्धान्त, चन्द्रग्रहणाधिकार, श्लो ९) अर्थात् पूर्वाभिमुख भ्रमण गरिरहेको चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्छ र चन्द्रग्रण लाग्छ । भूविम्बमा चन्द्रमाको सदा पूर्वभागको प्रवेश हुने भएकाले चन्द्रग्रहणमा चन्द्रविम्बको पूर्वदिशामा स्पर्श र पश्चिम भागबाट मोक्ष हुने गर्दछ । सोही कुरालाई भास्कराचार्यल पनि उल्लेख गरेका छन् :
पूर्वाभिमुखो गच्छन् कुच्छायान्तर्यतः शशी विशति ।
तेन प्राक् प्रग्रहणं पश्चान्मोक्षोऽस्य निःसरतः ।। ( सिद्धान्तशिरोमणि, ग्रहणवासना, श्लो. ४)
अर्थात् सूर्य र चन्द्रमा आमने सामने १८० डिग्रीको अन्तरमा भएको समयका चन्द्रग्रहण लाग्ने गर्दछ । पूर्णान्त कालमा नै चन्द्रग्रहण सम्भव हुन्छ । यसरी चन्द्र ग्रहण लाग्दा पूर्वमास्पर्श र पश्चिम दिशामा मोक्ष हुने गर्दछ ।
४. २०७४ माघ १७ गतेको खग्रास चन्द्रग्रहण
२०७४ माघ १७ गते (तदनुसार ३१ जनवरी २०१८) बुधबाार बेलुका खग्रास चन्द्रग्रहण लाग्ने छ । खग्रास चन्द्रग्रहणमा चन्द्रमाको पूरा भाग ग्रसित अथवा कालो हुने गर्दछ । पृथ्वीको छाँयाभित्र चन्द्रमाको सम्पूर्ण भाग प्रवेश गर्ने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ । यस्तो अवस्थामा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखमा पर्ने गर्दछन् । पृथ्वीको छाँयामा चन्द्रमा प्रवेश गरी चन्द्रमाको शुक्लत्व छेकिएको अवस्थामा चन्द्रग्रहण हुने गर्दछ ।
माघ १७ गते बुधबारको चन्द्रग्रहण काठमाडौँमा बेलुका ५।३२ बजे पूर्व दिशामा स्पर्श हुन्छ । यसरी ५।३२ मा ग्रहण स्पर्श भएपनि बेलुकी ५।५५ पछि हाम्रो क्षितिजमा चन्द्रमा उदाउने भएकाले सो पश्चात् मात्र ग्रहण देख्न सकिन्छ । यसैगरी रातिको ७।१६ बजे खग्रास चन्द्रग्रहणको मध्य अवस्था हुन्छ । पृथ्वीको छायाभित्र चन्द्रमा बेलुका ६।३६ बजे पूर्ण प्रवेश गर्दछ अर्थात् सम्मीलन हुन्छ भने बेलुका ७।५३ बजेदेखि पृथ्वीको छायाबाट बाहिर निष्कन शुरु अर्थात् उन्नमीलन भई राति ८ बजेर ५७ मिनेट जाँदा पश्चिममा मोक्ष हुन्छ अर्थात् चन्द्रग्रहण सकिन्छ । यसरी समग्रमा ३ घण्टा २ मिनेट चन्द्रग्रहण रहने गर्दछ जसलाई सर्वपर्वकाल भनिन्छ । यो समय काठमाडौँको हो । अन्यस्थानमा समयको अन्तर रहने गर्दछ ।
यो चन्द्रग्रहण अष्ट्रेलिया, एशियाको पूर्वी भाग तथा क्यानाडाको पश्चिम उत्तर क्षेत्रबाट पूरै अवधि देख्न सकिन्छ । यसैगरी पश्चिम एशियामा ग्रस्तोदय र उत्तर अमेरिकामा ग्रस्तास्त देखिन्छ । पश्चिम यूरोप, अफ्रिका र दक्षिण अमेरिकामा भने यो चन्द्रग्रहण देखिदैन ।
४.१. कुन राशिले ग्रहण हेर्दा के फल ?
जन्मर्क्षे निधनं ग्रहे जनिभतो घातः क्षतिः श्रीव्र्यथा ।
चिन्तासौख्यकलत्रदौस्थ्यभृतयः स्युर्माननाशः सुखम् ।
लाभोपाय इति क्रमात्तदशुभध्वस्त्यै जपः स्वर्णगो—
र्दानं शान्तिरथो ग्रहं त्वशुभदं नो वीक्षमाहुः परे ।। ( मुहुर्तचिन्तामणि, ४।६)
अशुभ फल दिने ग्रहण नहेर्नु भनिएको छ । यदि हेरिन्छ भने दोष लाग्ने र त्यसको जप, अन्न वस्त्र दान, स्वर्णदान गरी शान्ति गर्नुपर्दछ । श्रवण नक्षत्रका दिन खण्डग्रास चन्द्रग्रहण लाग्ने भएकाले श्रवण नक्षत्र र मकर राशि भएका व्यक्तिले ग्रहण नहेर्नु नै उचित हुने शास्त्रीय मान्यता रहेको छ । विशेषतः यो चन्द्रग्रहणमा कुन राशिले हेरे के फल निम्नानुसार बताईएको छः
मेषः व्यथा अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
वृषः श्रीप्राप्ति अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
मिथुनः क्षति अर्थात् ग्रहण हेर्नु क्षयकरी हुन्छ ।अशुभ रहन्छ ।
कर्कटः घात अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
सिंहः व्यय अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
कन्याः लाभ अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
तुलाः सुख अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
वृश्चिकः माननाश अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
मकरः कष्ट अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
मकरः स्त्रीपीडा अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
कुम्भः सौख्य अर्थात् ग्रहण हेर्न शुभ रहने छ ।
मीनः चिन्ता अर्थात् ग्रहण हेर्न अशुभ रहने छ ।
४.२. ग्रहणको सुतक र वार्नु पर्ने कार्य
माघ गते बुधबार विहान ८।५५ बजेदेखि नै ग्रहणको सुतक लाग्ने गर्दछ । सूर्यग्रहे तु नाश्नीयात् पूर्वं यामचतुष्टयम् । चन्द्रग्रहे तु यामास्त्रीन् बालवृद्धातुरैर्विना ।। अर्थात् सूर्यग्रहण लाग्नु भन्दा चार प्रहर (१२ घण्टा) पूर्व र चन्द्रग्रहण लाग्नुभन्दा ३ प्रहर अर्थात् ९ घण्टा अघिदेखि सुतक लाग्छ भनिएको छ । यसैले बाल, वृद्ध र आतुर बाहेक अरुलाई शास्त्रले भोजनादि निषेध गरेको छ । ग्रहण लागेको समयमा भोजन गर्न, सुत्न, मैथुनादि समागम, शरीरमा तेल घस्न, शृंगार, शौच, बध, अरुलाई कष्ट हुने कार्य बर्जित गरेको छ ।
निद्रायां जायते व्याधिर्मूत्रे दारिद्र्यमाप्नुयात् । पुरीषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।
आभ्यञ्जने भवेत् कुष्टिर्भोजने स्यादधोगतिः । बन्धने च भवेत् सर्पो बधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहण लागेका अवस्थामा सुते रोगल लाग्न सक्छ, शौचादि कार्य गर्नाले दारिद्र्य हुन्छ । दिशा वस्नाले कृमियोनि प्राप्त हुन्छ, मैथुनादि संगम गर्नाले अर्को जन्ममा सुगुरको योनि प्राप्त हुन्छ, शरीरमा तेल लगाउनाले वा शृंगार गर्नाले कुष्टरोग लाग्न सक्छ, भोजन गर्नाले अवनति हुन्छ । कसैलाई बन्धनमा राख्नाले सर्पको योनि प्राप्त हुन्छ भने काटमार आदि बध गर्दा नरकको यातना भोग गर्नपर्छ भनी उल्लेख गरिएको छ ।
४.३. कस्ता कार्य ग्रहणमा गर्नु शुभ हुन्छ ?
ग्रहण लागेको समयका जप, दान, मन्त्रसिद्धि जस्ता कार्य गर्नु विशेष शुभ मानिएको छ । विद्यार्थीले अध्ययनको कार्यलाई निरन्तरता दिनु नै उचित हुन्छ । विद्या साधनाका निम्ति पनि यो उत्कृष्ट समय हो । दान लिनु भन्दा पनि दान दिनु उचित हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ । यो समयमा गरिएको दानले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । यसैगरी ग्रहणमा स्नान पनि विशेष शुभकरी मानिन्छ । ग्रहण स्नान गर्नाले रोगव्याधि हटेर जान्छन् भनिएको छ । ग्रहण लागेको समयमा सबै कुरा अपवित्र हुन्छन् । त्यसैले कुश साथमा राख्नाले अथवा कुश पानीले स्नान गर्नाले ग्रहणजन्य दोषबाट निवृत्त हुन सकिन्छ ।
४.४. स्वस्थानी व्रतको साङ्गे कहिले गर्ने ?
यस वर्ष स्वास्थनीको साङ्गेकै दिन ग्रहण परेकाले साङ्गे कतिखेर गर्ने सम्बन्धी विचार गर्नुपर्ने देखिएको छ । ग्रहणको सुतक विहान ८।५५ देखि लाग्ने भएकाले सो पूर्व नै स्वस्थानीको साङ्गे सकेर प्रसाद ग्रहण गर्न सकिन्छ । बेलुका ५।३२ सम्म पनि स्वस्थानीको पूजा हवनादि गर्न मिले पनि प्रसाद ग्रहण गर्न सुतकले नदिने भएकाले प्रसाद ग्रहण वाहेकको साङ्गे गर्न सकिन्छ । यसैगरी पूर्णिमा पछि पञ्चमी तिथिसम्म पनि स्वस्थानीको साङ्गे गर्न सकिन्छ । पञ्चमीपछि भने स्वस्थानीको साङ्गे जुराएर मात्र गर्नु पर्दछ ।
पूर्णिमाको व्रत लिने गरेको भए पनि ग्रहणले कुनै असर गर्दैन । यसैगरी पूर्णिमामा गर्नु पर्ने श्राद्ध पनि गर्न मिल्छ तर भोजन भने निषेृध गरिएको छ । अतः सिदा दान गर्नु पर्दछ ।
५. निष्कर्ष
ग्रहण सामान्य खगोलीय प्रक्रिया हो । विशेषतः पृथ्वीको छायामा चन्द्रमा प्रवेश गरी आफ्नो प्रकाशलाई अवरुद्ध गराएको अवस्था नै चनद्र ग्रहण हो । यो अवस्था पूर्णिमाको दिन मात्र सम्भव हुन्छ । सूर्य, पृथ्वी र चन्द्रमा एउटै सरल रेखामा परेका बेला मात्र चन्द्र ग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था सबै पूर्णिमामा नहुने भएकाले प्रत्येक पूर्णिमामा चन्द्र ग्रहण नलागेको हो । शास्त्रले ग्रहणलाई विकारका रूपमा व्याख्या गरेको छ । विशेषतः ग्रहण लागेको समयमा पृथ्वीमा विकार उत्पन्न हुने भएकाले स्नान, जपादि कर्म गर्नु भनी शास्त्रले निर्देश गरेको छ । यसैगरी व्यक्तिको प्रकृति अनुसार ग्रहणको दर्शन पनि शुभाशुभ रहने भएकाले कुनै राशिलाई ग्रहण हेर्नु शुभ मानिन्छ त कुनैलाई अशुभ मानिएको छ । प्रकृतिको अनुपम लीलाको सुन्दर अनुभूति हुने ग्रहण आफूमै एक रमणीय पक्ष हो । वेदले पनि ग्रहणको चर्चा गरेको छ । ग्रहण पूर्वीय ज्ञानको उपज हो । यसको सही अर्थ र रहस्य हजारौ वर्ष पहिले नै हाम्रा ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए । त्यसैले यस्ता गूढतम रहस्यका विषयलाई थप पुष्टि थर्दै पूर्वीय ज्ञानको धरोहरलाई फैलाउनु आवश्यक देखिन्छ ।
No comments:
Post a Comment