श्रावणको सोमबार किन शिवजीको विशेष उपासना गरिन्छ ? हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jul 21, 2019

श्रावणको सोमबार किन शिवजीको विशेष उपासना गरिन्छ ? हेर्नुहोस्


उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य,वास्तुविद् 


विश्व ब्रह्माण्डका अखिल नायक सृष्टिस्थिति र लयकर्ता आद्य शक्ति परमात्मा परमेश्वर देवाधिदेव महादेवको महिमा अपरम्पार छ । शिवशक्ति आद्य परमात्मा परब्रह्म हुनुहुन्छ । यो संसार भगवान् शिवकै अंशरूपमा चलिरहेको छ । चराचर जगत् शिव सङ्कल्पबाट सृजित भएको हो । शिवलीला अपरम्पार छ । सृष्टिसँगै लय पनि अवश्यम्भावी छ जो परमात्मा परमेश्वका कृपाले सम्भव छ । आद्य शविशक्तिबाट नै यो संसारको उत्पत्ति भएको हो । वेदले पनि भगवान्   शिवको स्तुति गरेका छन् । तन्मे मनः शिवसङ्कल्पमस्तु..(यजुर्वेद, ३४।२) को वेदध्वनिबाट पनि उक्त कुराको पुष्टि हुन आउँछ ।

वेद विश्वको सर्वप्राचीन अपौरुषेय  ग्रन्थ हो जहाँ  परमात्मा परमेश्वरको स्तुतिगान गरिएको छ । यस अन्तर्गत कर्मकाण्ड र ज्ञानकाण्ड रहेका छन् । कर्मद्वारा ईश्वर प्राप्त गर्ने विधि कर्मकाण्ड हो । जस अन्तर्गत यज्ञ यागादि हुने गर्दछन् ।  ज्ञानद्वारा परमात्मा प्राप्त गर्ने विधि ज्ञानकाण्ड हो । ज्ञानकाण्डलाई उपनिषद् भनिन्छ ।

चारवटै वेदले परमात्मा परमेश्वरको विशेष स्तुतिगान गरेका छन् । यजुर्वेदमा शिवका स्तुतिहरू प्रशस्तै पाइन्छन् ।  रुद्राभिषेक यजुर्वेदकै मन्त्रबाट सम्पादन गरिन्छ । जहाँ विविध प्रकारले शिवपार्वतीको महिमा गान गरिएको छ –
 नमस्तेरुद्रमन्यवऽउतोतऽइषवेनमः । बाहुभ्यामुततेनमः ।। (यजुर्वेद, १६।१) 
यसैगरी अनेकौँ नामले सम्बोधन गर्दै भगवान्का चरण कमलमा निम्न ऋचाले स्तुति गान गरिएको छ –
 नमोस्तुनीलग्ग्रीवायसहस्राक्षायमीढुषे ।।
 अथोयेऽअस्यसत्वानोहन्तेभ्योकरन्नमः ।। (यजुर्वेद, १६।८)

  यसरी यजुर्वेदको सोह्रौ अध्यायभरी नै परमात्मा परमेश्वर आद्य शक्ति शिवजीको महिमागान गरेको   पाइन्छ । हरेक कण कणमा शिववास हुने र त्यस्ता कण कणरूपी महेश्वरलाई शतत नमन छ भन्दै सम्पूर्ण यजुर्वेदमा शिवमहिमा गान गरेको पाउन सकिन्छ । 

 नमो हिरण्यवाहवे सेनान्येदिशाञ्चपतयेनमो नमो वृक्षेभ्यो हरिकेशेभ्यः पशूनाम्पतये नमोनमः ।। (यजुर्वेद, १६।१७)

नमो गणेभ्यो गणपतिभ्यश्चवोनमोनमोव्व्रातेभ्यो व्व्रातपतिभ्यश्चवोनमोनमो...(यजुर्वेद, १६।२५)

स्वर्ग, अन्तरिक्ष, पृथ्वी आदि सर्वत्र व्याप्त परब्रह्मलाई शतत नमन गरेको कुरा निम्न ऋचाले दर्शाएको पउन सकिन्छ –
 नमोस्तुरुद्रेभ्योयेदिवियेषांव्वर्षमिषवः..(शु.यजुर्वेद, १६।६४) नमोस्तु रुद्रेभ्योयेअन्तरिक्षेयेषां....(शु.यजुर्वेद, १६।६५) नमोस्तुरुद्रभ्योयेपृथिव्यां...(शु.यजुर्वेद, १६।६६) ।

संसारको सृष्टि स्थिति र लय कर्ता स्वयं महेश्वर हुनुहुन्छ । शिवदेखि माथि कोही नभएकाले सर्वकल्याणार्थ शिवस्तुति गान गरिएको पाइन्छ । हरेक मन्त्रमा शिव शक्ति र भक्तिभाव अन्तर्निहित रहेको छ । 


 भगवान् महेश्वर स्वयं पशुपतिनाथ हुनुनहुन्छ । प्रकृतिदेखि पृथ्वीसम्म २४  तत्त्वलाई    पाशरूप भनिन्छ । यिनै २४ तत्वत्को पासोमा जीवलाई पशुपतिले बाँध्नु भएको छ ।  अविद्या, अस्मिता, राग, द्वेष र अविनिवेश नामका पाँच क्लेशको वर्णन शिवपुराणको आरम्भमा गरिएको छ । भगवान् शङ्करको अष्टमूर्तिमा सम्पूर्ण तत्त्व समावेश पाइन्छ । अष्टमूर्तिमा पञ्चब्रह्मरूपको प्रधानता रहेको छ । पञ्चब्रह्मरूपमा ईशान, तत्पुरुष, अघोर, वामदेव र सद्योजात पर्दछन् ।  ईशान रूपमा भोक्ता र भोग्य  दुवै अविभक्त रूपमा स्थित रहन्छन् । भोक्ता क्षेत्रज्ञ कहलाउछ र त्यसैको एकभाग भोग्यरूपबाट परिणत हुन्छ । तत्पुरुष प्रकृतिरूप,अघोर बुद्धिरूप, वामदेव अहंकार रूप र सद्योजात मनस्तत्त्वरूप हुन् । यी पाँच क्रमशःपाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय हुन् । यी समष्टि रूप  ज्ञानेन्द्रिय र कर्मेन्द्रियबाट नै व्यष्टिरूप जीवका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय बन्दछन् । एवं प्रकारले पञ्च तन्मात्रा हुँदै पञ्च महाभूत रूपमा परिणत हुन्छ ।  यिनै २५ तत्त्वको समष्टि रूप शिवानन्द हो । आत्मस्वरूप दर्शन नै विद्या हो । भ्रान्तिस्वरूप दर्शन अविद्या हो । परंतत्त्व विद्या र अविद्याभन्दा पनि पर रहेको छ  अर्थात् पृथक छ । सोही परं तत्त्व परमात्मा परमेश्वर साक्षात् शिवजी हुनुहुन्छ । 



साउन  शिवजीको  प्रिय महिना हो । यसमा पनि सोमबारको विशेष महिमा रहेको छ । चन्द्रमा मन सम्बन्धी ग्रह हो । ग्रीष्म यामको गर्मीले गलित मनलाई शान्त बनाउन वर्षाको आवश्यक पर्छ । सोही वर्षायाममा श्रावणमा पर्ने भएकाले चञ्चल मनलाई स्थिर बनाई मनमा सुन्दर भावको जागृत गराउन पनि  सोमबार शिवजीको उपासना गरिन्छ । भगवान् शिवजीले चन्द्रमालाई शिरमा धारण गर्नु भएको छ । जसले विषको प्रभावलाई शान्त पार्न निरन्तर सहयोग गरिरहेको हुन्छ । भगवान्   शिरमा निवास गर्ने चन्द्रमा र सोही चन्द्रमाको बार सोमबार भएकाले साउनको सोमबार शिवउपासनाका लागि शुभ मानिन्छ । चन्द्रमा शिवजीका निम्ति प्रिय ग्रह हो । चन्द्रमाको बार नै सोमबार भएकाले साउनको सोमबारको विशेष महिमा रहेको पाउन सकिन्छ । यसैगरी समुद्र मन्थनका बेला उत्पन्न भएको कालकूट विष भगवान्   शंकरले श्रावण महिनामा नै कण्ठमा धारण गर्नु भएको थियो । सो विषको प्रभावलाई शान्त गर्न देवताहरूले शिवजीलाई जल अर्पण गरेका थिए । उक्त समय वर्षा ऋतुको श्रावण महिना भएकाले  श्रावणको सोमबार शिवजीको उपासना गर्नु विशेष शुभ   मानिन्छ । 

  यसरी हेर्दा श्रावण महिना शिवजीको प्रिय महिना हो । श्रावण महिनामा रुद्राभिषेक गर्नाले शिवजी प्रशन्न भई वर प्रदान  गर्ने भएकाले अभीष्ट सिद्धिका निम्ति पनि रुद्राभिषेक गरिन्छ । रुद्राभिषेक गर्नाले समस्ता मनोकामना पूरा हुने भएकाले वेदले पनि शिवजीको उपासना गरेको हो । भगवती पार्वती माताले पनि श्रवावण महिनामा व्रत वसी शिवजीलाई पति प्राप्त गर्नुभएको प्रसङ्गबाट पनि श्रावण महिना अभीष्ट सिद्धिकरी हुने देखिन्छ । यसैगरी साउनमा शिवजीलाई जल, वेलपत्र, धतुराको फल अर्पण गर्नाले पनि विशेष मनोवाञ्छा सिद्धि हुने कुरा शिव पुराणमा उल्लेख पाइन्छ । 


No comments:

Post a Comment