उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्याेतिषाचार्य, वास्तुविद्
आफ्नो घर सुन्दर बनाउने सबैका सपना हुन्छन् । कतिपय पूरा हुन्छन् त कतिपय चाहदा चाहदै पनि अधुरा रहन्छन् । यस्तै अधुरो रहने कारणमध्ये वास्तुको मिलान पनि एक हो । घर वास्तु अनुकुल हुन सकेन भने पीडादायी हुन सक्छ । घर मानव जीवनको धेरै समय विताउने थलो भएर पनि घरको वास्तु सही हुनु पर्छ । वास्तु वस्तुको अनुकुलता हेर्ने शास्त्र हो । वास्तवमा घर हामी सबै राम्रो बनाउन चाहन्छौ तर भइरहेको हुँदेन । कतिपय अवस्थामा घर सुन्दर हुँदा हुँदै पनि गृहवासीलाई अशान्तिको आगोले पोलिरहेको हुन्छ । मनमा चिन्ताको ज्वाला दन्किए पछि संसार नै चिन्तित देख्नु स्वाभाविक नै हो । कतिपय अवस्थामा घरको वास्तु अनुकुलता नभएर पनि घरवासीलाई अस्थिरता देखिन सक्छ । घर आरामका लागि नै निर्माण गरिन्छ ।
कतिपय अवस्थामा लाखौ खर्च गरेर घर निर्माण गरे पनि चित्त स्थिर बनेर त्यहाँ अडिन सकेन भने त्यसको खासै उपादेयता रहदैन । सधै उही अशान्ति नै छाइरहन्छ । घरलाई सुन्दर बनाउनुका साथै अनुकुल पनि बनाउन सक्नु पर्छ । वृहद्वास्तुमालाकारले पनि घरको परिभाषा यसरी गरेका छन्ः स्त्रीपुत्रादिकभोगसौख्यजननं धर्मार्थकामप्रदम् । जन्तुनामयनं सुखास्पदमिदं शस्ताम्बुधर्मापहाम् ।। सपरिवारमा सुख प्रदान गर्ने,धर्म, अर्थ काम र मोक्षको सिद्धिका सार्थै अन्य जीवजन्तुलाई पनि सुख प्राप्त हुने थलो भनेको नै घर हो । आजको गृहविज्ञानले पनि घर व्यक्ति अनुकूलको हुनु पर्छ भन्ने कुरामा जोड दिन्छ । त्यसैले घरमा दीगो शान्तिका लागि वास्तु अनुकुल हुनु आवश्यक देखिन्छ ।
सर्वप्रथम हामीले घर बनाउनु पूर्व स्थानको उपयुक्तता परीक्षण र चयन गर्नु पर्दछ । घरको अवस्थिति भौगोलिक रूपमा उपयुक्त हुनु आवश्यक छ । भू बनावट दरिलो नभएको ठाउमा घर निर्माण गर्दा दीर्घकालीन रूपमिा स्थिर रहन सक्दैन । सम्भव भएसम्म इशान (पूर्व उत्तर दिशा) मा नदी तलाउ वा जलाशय भएको,दक्षिण दिशा तिर अलि उचा भएको,बाढी पहिरोबाट सुरक्षित सज्जन समाजको वसोवास भएको ठाँउ उपयुक्त मानिन्छ । चारकुना मिलेको,उच्च भूमि घरका निम्ति शुभ मानिन्छ । यसरी । भू अवस्थितिको अनुकुलन हेरे पछि माटोको प्रकृति उपयुक्त हुनु पर्छ । माटो परीक्षण गर्ने थुप्रै विधिहरू छन् । भूमितलमा हाड हड्डी भएको,बलौटे,वग्ने माटो,सिमयुक्त जमिन घरका लागि उचित हुदैन । यसैगरी गन्ध आउने भूमि पनि अशुभ मानिन्छ । वास्तु अनुसार उज्यालो, कालो,पहेलो, रातो,परेवाको आँखाजस्तो माटो उपयुक्त मानिन्छ ।
बस्न योग्य माटोको परीक्षण पश्चात गृहारम्भ गर्ने उपयुक्त दिन जुराउनु पर्ने हुन्छ । ज्योतिष शास्त्रले वताएका उपयुक्त दिनमा गृह आरम्भ गर्दा अपेक्षित गृहजन्य सुख शान्ति प्राप्त हुने गर्दछ । वर्तमान समयमा गृह आरम्भ गर्ने शुभ दिनहरू पात्रो,भित्ते पात्रो आदिमा पनि वताइदिएको हुन्छ । अथवा जयेतिर्विद् सँग परामर्श गरेर पनि उपयुक्त दिनको निक्र्यौल गर्न सकिन्छ । यसरी गृह आरम्भ गर्नु उचित हुन्छ । जग खन्दा धमिरा,अजिङ्गर,भुस,सर्प,हाड,वस्त्र,खरानी आदि भेटिए अशुभ मानिन्छ । यसैगरी कौडी,रुई,जलेको काठ,खप्पर,फलाम भेटिए भने पनि घर उपयुक्त मानिदैन । यसैगरी जग खन्दा गाईको सिङ,शंख,कछुवा,पैसा,तामा भेटिए शुभ मानिन्छ ।
गृह आरम्भ पहिला नै घरको नक्सा तयार भइसकेको हुन्छ । नक्सा नै घरको पूर्वरूप हुने भएकाले उक्त नक्सा पनि वास्तु अनुकुलको बनाउनु उपयुक्त हुन्छ । योग्य वास्तुविद्को परामर्श पश्चात घरको नक्साङ्कन गरियो भने पनि घर सुन्दर हुनुको साथै सुख शान्तिदायी र चिरस्थायी हुन्छ । विशेष गरी घर दक्षिणी वा पूर्वी मोहडाका उपयुक्त हुन्छन् । किनकि घरमा ऊर्जाको आवश्यकता हुन्छ । ऊर्जा सूर्यबाट मिल्ने भएइकाले दक्षिणी र पूर्वी मोहडा घर वासका निम्ति उपयुक्त मानिन्छन् । जग्गा चयन गर्दे गर्दा यस्ता कुरामा पनि ध्यान दिनु पर्ने हुनछ । यसैगरी अन्य मोहडाका पनि घर नराम्रा भने हुदैनन् । वास्तु अनुसार भने दक्षिणी मोहडालाई नै उत्तम मानिन्छ । यसैगरी जमिनको चयन पश्चात् घर निर्माणलाई मजवुत पार्न जग बलियो राख्नु पर्छ । जग नै घरको आधार हुने भएकाले यसमा विशेष ध्यान दिनु पर्ने हुन्छ । वास्तु शास्त्रले पनि घरको जग बलियो बनाउनु पर्छ भन्ने कुरामा जोड दिएको छ ।
यसैगरी घरमा सामान्यतया दक्षिणी कोठा शयन कक्षका लागि उयुक्त हुन्छ । विद्यार्थीका लागि भने पूर्वी कोठा राम्रो मानिन्छ । भान्साकाठडा पूर्व र दक्षिणको कोणमा उपयुक्त मानिन्छ । पूजा कोठा पूर्व र उत्तरको कोणमा उत्तम हुन्छ । भण्डार कक्षको व्यवस्था उत्तर दिशामा गर्नु राम्रो मानिन्छ । यसैगरी इनार वा पानीको भण्डारण घरको उत्तरी भागमा नै शुभ हुन्छ । शौचालय दक्षिण दिशामा उपयुक्त मनिन्छ ।
वास्तु शास्त्र अनुसार घरको बिचको मध्य भाग अनुपयोगी वा खाली राख्नु राम्रो मानिन्छ । यसैगरी विद्युतीय उपकरण घरको पूर्व दक्षिण कोणमा राख्नु शुभ हुन्छ । दक्षिण,पूर्व र पश्चिम प्रवेश द्वार भएको घर उपयुक्त मानिन्छ । खाद्य भण्डार,मोटर ग्यारेज उत्तर पश्चिमको वायव्य कोणमा शुभ मानिन्छ । अतिथि कक्ष उत्तर तिर रााम्रो हुन्छ । शस्त्रको भण्डारण पश्चिम दक्षिण कोणमा उपयुक्त मानिन्छ । गाईको गोठ पश्चिम उत्तरको कोणमा शुभ हुन्छ । घरको पूर्वी र उत्तरी भागमा वरिपरि फूलवारी लगाउनु पर्छ । पुस्तकालय पूर्व इशान कोणको विचमा उपयुक्त हुन्छ । यसैगरी फलफूलहरू पश्चिमी भागमा लगाउनु पर्दछ ।
घर वरिपरिाके वातावरण पनि वास्ुतमा अनुकुल हुनु पर्दछ । घर परिपरि प्रतिकूल रुख वृक्ष भए भने पनि घरमा अशान्ति पैदा हुने गर्दछ । घरको सामने दुधालु वृक्ष लगाउनु हुँदैन । घरको उचाइ भन्दा अग्ला रुखले पनि हानि गर्छ । काँडावाला रूख पनि घरको सामुन्ने लगाउनु हुदैन । जसले गर्दा गृहवासीलाई अप्रत्यक्ष रूपमा हानि पुगिरेहको हुन्छ । घरमा कुनै पनि वृक्षको छाँया पर्नु पनि शुभ मानिदैन । पूर्व पट्टि पिपलको रूख हुनु हुदैन । घरमा कुनै वृक्षको छाँया एक प्रहर भन्दा बढी समय रह्यो भने पनि घरवासीका निम्ति प्रतिकूल हुन सक्छ ।
त्रिकोणवाला ,पाँचकोण भएको,रथ आकारको,पछाडि चौडा भई अगाडि खुम्चिएको आवासीय घर हानिकारक मानिन्छ । घरको इशान कोणमा विशेष ध्यान दिनु पर्ने हुन्छ । ईशान दिशामा वास्तुदोष रहे घरका अन्य वस्तु ठिक हुँदा हुदै पनि त्यो घर सुख र शान्तिदायी हुँदैन । होटल,उद्योग,व्यापारिक घरको इशान कोणका कोठा अरु कोठा भन्दा उचा राख्नुृ हुँदैन । घरको पूर्वा उत्तर भाग चर्के भत्केको हुँनुृ अशुभ मानिन्छ । यो कोणमा भान्सा पनि उपयुक्त हुँदैन । यसैगरी इशान कोणमा सधैँ सफा राख्नुका साथै अशुभ सूचक वस्तुहरू राख्न पनि वास्तु शास्त्रले निषेध गरेको छ ।
घर मानव जीवनको अपहिार्य आश्रय स्थल हो । मानवका आधारभूत वस्तुहरू गाँस,वास र कपासमध्ये वासस्थान एक हो । घर वस्नेहरूका लागि सुख शान्ति प्रदान गर्ने हुनु आवश्यक हुन्छ । धेरै धन खर्च गरेर मात्र घर राम्रो हुँदैन । घरमा आवश्यक पर्ने विषयवस्तुको उचित मिलान हुन सकेन भने त्यही घर अशान्तिको कारक बन्न सक्छ । त्यसैले जीवनलाई सुन्दर र सार्थक बनाउन वास्तु अनुकुलको घर निर्माण र व्यवस्थापन गर्नु आवश्यक देखिन्छ ।
No comments:
Post a Comment