उपप्राध्यापक नारायणप्रसाद निरौला
नेपाल संस्कृत विश्वविद्यालय
शुक्र आकाशमण्डलको एक तेजश्वी ग्रह हो । सुर्यको नजिक रहने र गति पनि सूर्यकै हाराहारीमा हुने ग्रह भएकाले प्राय शुक्र अस्त धेरै समय हुने गर्दछ । अस्तको अर्थ लोप हुनु अर्थात् हराउनु नै हो । आकाशमा शुक्र नदेखिनु नै शुक्र अस्त हुनु हो । शुक्र देखिएको अवस्थालाई उदय भनिन्छ भने आकाशमा नदेखिई कतै हराएको वा अस्ताएको अवस्थालाई शुक्र अस्त भनिन्छ । यो सूर्यको ठूलो बिम्बले चन्द्रमाको सानो बिम्बलाई ढाकेको अवस्था हो । जुन बेला आकाश मण्डलमा शुक्र देखिदैन । यस्तो अवस्था सबैग्रहमा हुन्छ । हाम्रो दृष्टिपथमा नआएका ग्रह सामान्यतः अस्त अवस्थामा रहने गर्दछन् । प्रायः सबै ग्रह अस्त हुने गर्दछन् । यसैगरी हाम्रो दृष्पिथबाट शुक्र ओझेल परेको अवस्थामा शुक्र अस्त हुने गर्दछ । हाल पनि शुक्रास्त भएको समय हो । शुक्र अस्त भएको समयमा विवाह, व्रतबन्ध, विशेष यज्ञ अनुष्ठानआदि कर्म गर्न निषेध गरिएको छ ।
शुक्र सौर परिवारको सूर्य पछिको देदिप्यमान ग्रह हो । यो ग्रह पृथ्वीबाट ३४००००० मील र सूर्यबाट ६७०००००० मील दूरीमा अवस्थित छ । शुक्र वर्षमा एकपटक पृथ्वीको नजिक अउछ जुन वेला शुक्र र पृथ्वीको अन्तर २०००००० मील हुन्छ । स्वकक्षाको परिधिमा ३.४अंश सम्म झुकाब लिएको शुक्रले लगभग २२४ दिनमा सूर्यलाई एक चक्कर लगाउछ । यसको विषुवतीय व्यास ७७०० मील छ । यसैगरी शुक्र २२७ वर्ष पछि ठिक उही तिथि मास दिन अंशमा त्यही स्थानमा आउने गर्दछ । शुक्र चन्द्रमा बाट तीनलाख उचाइको योजनमा अवस्थित छ भन श्रीमद्भागवतमहापुराणले उल्लेख गरेको छ ।
कसरी हुन्छ शुक्रअस्त ?
विशेषतः शुक्र सूर्यको बिम्बभित्र प्रविष्ट गरी नदेखिने हुदा शुक्र अस्त हुने गर्दछ । यस्तो अवस्था हुन सूर्य र शुक्र अत्यन्त नजिक हुनु पर्दछ । शुक्र र सूर्य एउटै राशिमा भएकोवेला अस्तको सम्भावना अधिक हुने गर्दछ । शुक्र,बुध,सूर्य एक राशिमा एक महिना बस्छन् । सूर्य र शुक्रको हिँड्ने गति पनि उस्तै र नजिक भएकाले यस्तो अवस्था बेला बेलामा आइरहन्छ । शुक्र पूर्वमा अस्त भई पश्चिम दिशामा उदय हुने गर्दछ । यस्तो हुनु भनेको शुक्र सूर्यको पूर्वी विम्बबाट प्रवेश गरी पश्चिमी भागबाट नउदाएसम्मको समय हो । विशेषतः सूर्य र शुक्रको १० कालांशको अन्तरसम्मको समयलाई शुक्रअस्त मानिएको छ (सिद्धान्तशिरोमणि,स्पष्टाधिकार श्लो ४३) । यसैगरी सूर्य सिद्धान्तका अनुसार भने सूर्य र शुक्रको ८ कालांश अन्तर भएममा शुक्रअस्त हुँने कुरा बताइएको छ :
पश्चादस्तमयोऽष्टाभिरुदयः प्राङ्महत्तया ।
प्रागस्त उदयः पश्चादल्पत्वाद्दशभिर्भृगोः ।। (सूर्यसिद्धान्त, ९।७)
शुक्र बक्री हुँदा नीचासन्नमा ठुलो बिम्ब हुन्छ । उक्त वेला सूर्य र शुक्रको आठ कलाांन्तरमा नै शुक्रास्त हुने गर्दछ । अन्य समयमा सानो बिम्ब हुने भएकाले सूर्य र शुक्रको दश कालांश अन्तर अघि र पछि भएको समय सम्म शुक्र सूर्यको बिम्बभित्र प्रवेश गरी हाम्रो दृष्टिपथबाट हराउने हुन्छ । उक्त हराएको अवस्थाको काल नै शुक्रास्त भएको समय हो । शुक्र अस्त भएको वेला सूर्य र शुक्र एउटै राशिमा रहेका हुन्छन् । रेवती देखि मृगशिरा नक्षत्रसम्म चन्द्रमा रहेको वेला पनि अन्ध शुक्र हुने गर्दछ । यस्तो अन्ध शुक्रको भने कुनै दोष लाग्दैन भनी शास्त्रमा बताइएको पाइन्छ ।
शुक्र अस्तको प्रभाव के ?
शुक्र अस्त भएपछि शुक्र ग्रहबाट आउने तत्त्व हामीमा प्राप्त हुँदैन । शुक्र विशेषतः मज्जा तत्त्व प्रदान गर्ने ग्रह हो । कालो वर्णवाला, कालो केश, सुखी, सुन्दर, कफ वायु प्रकृतिको, मृदुभाषी, अधिक वीर्यवाला शुक्र हुन्छ भनी वराहमिहिरले उल्लेख गरेका छन् :
श्यामो विकृष्टपर्वा कुटिलासितमूद्र्धजः सुखी कान्तः । कफवातिको मधुरवाग्भृगुपुत्रः शुक्रसारश्च ।। (लघुजातकम्, ग्रहस्वरूपाध्याय, श्लो.६)
शुक्र अस्त भएको अवस्थामा वायुमा पनि विकार हुन सक्छ । किनकि शुक्रले वायुको पनि प्रतिनिधित्व गरेको हुन्छ अर्थात् भनौ यो वायुकारक ग्रह हो । कला साहित्यका साथै प्रेम तत्त्वको कमी पनि शुक्र अस्तमा हुने गर्दछ । शुक्रअस्तको प्रभाव जन्मकुण्डलीमा शुक्रको अवस्था अनुसार भिन्न भिन्न हुने गर्दछ । शुक्र दशा चलिरहेका व्यक्तिलाई शुक्रले जुन फल जति प्रदान गर्नु पर्ने हो सो प्राप्त नहुन सक्ने स्थिति पनि रहन्छ ।
शुक्रास्तमा कस्ता कार्य गर्नु हुदैन ?
अस्त भएको वेलामा शुक्र निर्वल हुने हुँदा विवाह, व्रतबन्ध आदि शुभकर्म गर्नु हुँदैन भनी शास्त्रले निर्देश गरेको छ । कुवा, वगैँचा, गृहारम्भ,गृहप्रवेश, देवताको मूर्ति प्राण प्रतिष्ठा, व्रत प्रतिष्ठा, व्रतको आरम्भ, वधूप्रवेश, महादान,सोम यज्ञ, अष्टका श्राद्ध, गोदान(केशान्तककर्म), नवान्न भक्षण,प्रथमपटक उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, समयमा संस्कार हुन नसकेका बाकका संस्कार, देवताको प्रतिष्ठा,दीक्षा मन्त्र ग्रहण, व्रतबन्ध, विवाह,मुण्डन, पहिलो पटक तीर्थ यात्रा, सन्यास ग्रहण, राजाको दर्शन, राजाभिषेक, यात्रा, विशेष परीक्षा आदि कुरा त्याज्य हुन्छन् भनी मुहूर्त्तचिन्तामणिमा बताइएको छ:
वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठेव्रताऽऽरम्भोत्सर्गबधूप्रवेशनमहादानानि सोमाष्टके ।
गोदानाग्रयण–प्रपा–प्रथमकोपाकर्म वेदव्रतम् । नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम् । ।
दीक्षा–मौञ्जि–विवाहमुण्डनमपूर्वं देवतीर्थेक्षणम् । सन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाऽभिषेकौ गमम् ।
चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेद् । वृद्धत्वास्तशिशुत्व इजय–सितयोन्र्यूनाधिमासे तथा ।।
(मुहूर्त्तचिन्तामणि, १।४६-४७)
यसैगरी गयाश्राद्ध र गोदावरीको यात्रा भने गर्दा हुन्छ भन्ने वायुपुराणले बताएको छ ः
न त्यक्तव्यं गयाश्राद्धं सिंहस्थे च वृहस्पतौ ।
अधिमासे सिंहगुरावस्ते च गुरुशुक्रयोः ।
तीर्थयात्रा न कर्तव्या गयां गोदावरीं विना ।। (वायुपुराण)
अर्थात् गुरु शुक्रको अस्तमा गयाश्राद्ध र गोदावरी यात्रा वाहेक अन्य यात्रा नगर्नू भनिएको छ ।
प्रमादवश गरेमा अनिष्टफल भोग्नु पर्ने कुरा मुहूत्र्तचिन्तामणिको पीयूषधारा टीकामा उललेख गरिएको छ ।
कस्ता कार्य शुक्रास्तमा गर्नु हुन्छ ?
विशेषतः शुक्र अस्त प्रकृतिको एक नियमित चक्र हो । यस्तो बेला बेलामा भइरहन्छ । शुक्र अस्त भएको वेलामा आफ्ना नित्य कर्म गर्न भने कुनै बाधा व्यवधान रहँदैन । यसैगरी नित्य कर्म अन्तर्गत पर्ने श्राद्ध, वार्षिकी, लिदै आएका व्रत उपासना पनि रोकिदैनन् । यसैगरी नैमित्तिक कर्म अन्तर्गत अइपर्ने नामाकरण, औध्र्वदेहिक कर्म, अत्यावश्यक कर्म, ग्रहशान्ति, रोग शान्ति आदि कर्म गर्न सकिन्छ । शान्ति कर्मका निीम्त पनि छुट दिएको पाइन्छ ः
शान्तिकर्मणि कुर्वीत रोगे नैमित्तके तथा ।
गुरुभार्गवमौढ्येऽपि दोषस्तत्र न विद्यते ।। (..?)
यसैगरी महनिा तोकेर भनिएका कर्म गर्न पछि छुट दिइएको छ । वृहस्पतिको वचन अनुसार
मासप्रयुक्तकार्येषु मूढत्वं गुरुशुक्रयोः ।
नदोषकृन्मलो मासो गुर्वादित्यादिकं तथा ।। (वृहस्पति)
यसैगरी शुक्र अस्तमा सीमन्तोन्नयन, जातकर्म,अन्न प्राशन कार्य पनि गर्नु हुन्छ दोष लाग्दैन भनी बताइएको छ ः
सीमान्तजातकादीनि प्राशनान्तानि यानि वै ।
न दोषो मलमासस्य मौढ्यस्य गुरुशुक्रयोः ।। (मुहूर्त्तचिन्तामणि पीयूषधाराटीका)
नित्य कर्म, ग्रहशान्ति, नैमिीत्तक कर्म अन्तर्गतका सीमन्तोन्नयन, जातकर्म, अन्नप्राशन, शान्ति कर्म, गयाश्राद्धादि कार्य शुक्र अस्त भए पनि गर्दा कुनै दानेष नलाग्ने कुरा शास्त्रले बताएको पाइन्छ ।
निष्कर्ष
सूर्यको विम्बमा परि शुक्र हाम्रो दृष्टिपथमा नआएको अवस्तथा नै शुत्राmस्त हो । सूर्य र शुक्र एउटै राशिमा भएका बेला यस्तो अस्त हुने गर्दछ । शुसक्र अस्त हुँदा शुक्रजन्य प्रभाव कम हुने भएकाले विवाह, व्रतबन्ध आदि गरिएको ठुला काम्य कर्म गर्न निषेध गरिएको छ भने नित्यकर्म, ग्रहशान्ति, नामकाकरण लगायत नित्यकर्म पनि गर्नु हुने शास्त्रीय निर्णय पाइन्छ ।
सन्दर्भग्रन्थसूची
आचार्यः,भास्करः (ई.सं.१९९८), सिद्धान्तशिरोमणिः, मुरलीधरचतुर्वेदः(व्याख्या.), द्वि.सस्क., वाराणसी ः सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय ।
दीक्षितः, शङ्करवालकृष्णः(सन् २००२), भारतीय ज्योतिष, शिवनाथ झारखण्डी(अनु.), तृ.संस्क., लखनऊ ः उत्तरप्रदेश–हिन्दी–संस्थानम् ।
रामदैवज्ञ, मुहूत्र्तचिन्तामणिः (वि.सं. २०६३), द्वि. संस्क. (पीयूषधाराटीका) व्याख्या. रामचन्द्र पाठक, वाराणसी ः र्चौखम्बासंस्कृतसंस्थान ।
वराहमिहिराचार्य, (ई.सं. १९९८) लघुजातकम्, वाराणसी ः सावित्री ठाकुर प्रकाशन ।
वेदव्यास (सन् १९५६) वायुपुराण, प्रथमसंस्करण, कलकत्ता ः मनसुखराय मोर(प्रकाशक) ।
सूर्यसिद्धान्तः (वि.सं.२०४४), वाराणसी ः सम्पूर्णनन्द–संस्कृत–विश्वविद्यालय ।
No comments:
Post a Comment