चिना के हाे ? किन बनाइन्छ जन्मकुण्डली ? हेर्नुहाेस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jan 12, 2018

चिना के हाे ? किन बनाइन्छ जन्मकुण्डली ? हेर्नुहाेस्



  उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिष विभाग 
नेपाल संस्कृत विश्वविद्यालय

जन्मपत्रिका भनेको व्यक्ति जन्मेको दिक् देश र काल सहित खगोलीय एवं भूगोलीय अवस्थितिको अभिलेख राखिने वैज्ञानिक दस्तावेज अर्थात् चिनारी  हो । जसलाई नेपालीमा चिना भनिन्छ । चिनाको अर्थ पनि व्यक्ति चिनाउनु नै भन्ने हुन्छ । यो धर्तीमा जन्म भएको समयका आधारमा खगोलीय ग्रहहको अवस्थिति अनुकूलन प्रतिकूलन पत्तालगाई भौगोलिक रूपमा  कुन देशको कुन स्थानको कुन समयमा कस्तो ग्रहगोचरीय अवस्था लिएर व्यक्तिले जन्म लिएको छ भन्ने कुराको यथार्थ गणित सिद्ध ज्ञान गराउने वस्तु चिना हो । जहाँ जन्मकालिक सम्पूर्ण विवरणहरू प्रस्तुत गरिएको हुन्छ । 

ज्योतिषलई कतिपयले काल्पनिक विद्याको रूपमा पनि बुझेका छन् । ठगी खाने पेशाको संज्ञा पनि नदिएका  होइनन । जसले यस भित्रको वास्तविक रहस्य जान्दैन उसैले यस्तो अनर्थ लगाउने मात्र हो । ज्योतिष कुनै कल्पनामा आधारित विद्या होइन । सृष्टिको आदिदेखि अहिलेसम्मका ग्रहगोचरीय गणित ज्योतिष शास्त्रमा अन्तर्निहित रहेका छन् । संसारको सृष्टि कसरी भयो ? कहिले भयो ? देवताको स्थान कहाँ ? पितृको स्थान कहाँ ? दैत्यको स्थन कहाँ ? ब्रह्मा कहा बस्छन् आदि कुराको खगोलीय प्रमाण  वैज्ञानिक उपपत्ति सहित ज्योतिषशास्त्रले बताएको छ । जसको प्रत्यक्ष दसी सूर्योदय हुने बेलामा पूर्वी क्षितिजमा सूर्य देखिनु, भनेको समयमा ग्रहण लाग्नु, शुक्लपक्षमा चन्द्रमाको उज्यालो पन बढ्दैजानु र औाशीमा चन्द्रमा नदेखिनु आदि रहेका छन् ।

 ज्योतिष वेदको मुख्य अङ्ग हो । जसरी हामी आँखा विनाको संसार परिकल्पना गर्न सक्दैनौ त्यसैगरी ज्योतिष विना वेद जान्न सकिदैन । वेदश्चक्षुकिलेदंस्मृतं ज्योतिषम् (सिद्धान्तशिरोमणि) भनिएको छ । अर्थात् ज्योतिष वेदको आँखा हो । वेदले बताएका कुरा जान्न ज्योतिष्को ज्ञाना अनिवार्य रहन्छ ।   विशेषतः ज्योतिष शास्त्र कालबोध गराउने शास्त्र हो ।  यसले समयको अवस्थिति अनुकूलन प्रतिकूलन के कस्तो छ सोको तथ्य कारण सहित प्रस्तुत गर्दछ । 

ज्योतिष अन्तर्गत सिद्धान्त, होरा र संहिता मुख्य तीन हाँगा रहेका छन् । सिद्धान्त पक्षले खगोलीय भूगोलीय ग्रहगणितका सिद्धान्त प्रस्तुत गर्छ भने होराखण्डले ग्रहजन्य प्रभावका आधारमा व्यक्तिको फलादेश गर्दछ । यसैगरी संहिता शास्त्र भनेको भौतिक वस्तुको अनुकूलन प्रतिकूलन पत्ता लगाउने शास्त्र हो । यस अन्तर्गत मुहूत्र्त, वास्तु आदि विषय पर्दछन् । वास्तु ज्योतिष शास्त्रकै अंग हो । जसलाई प्राच्य इन्जिनियरिङ पनि भनिन्छ । यसरी ज्योतिषभित्र खगोलदेखि भूगोलसम्म अटेको छ । खोगोलीय वस्तुको अवस्थिति आँकलन हजारौ वर्ष पहिले नै भएको थियो । हिजोआज पाश्चात्य वैज्ञानिकले भनेका कुरा विज्ञान हुने अनि हजारौ वर्ष पहिले हाम्रा ऋषि महर्षिले बताएका कुरा कसरी अवैज्ञानकि हुन सक्छन् । न्युटन भन्दा पाँचसय वर्ष पहिले नै आकर्षण सिद्धान्तको चर्चा भास्कराचार्यले आफ्नो सिद्धान्तशिरोमणिमा उल्लेख गरेका छन् । पृथ्वीको आकर्षण सिद्धान्त भास्कराचार्यकै हो । 

सर्वप्रथम सृष्टिको आदिदेखि हालसम्म कति दिन व्यतित भए त्यसको वैज्ञानिक गणना ज्योतिष शास्त्रले बताएको छ ।  संसारी सृष्टिको चक्र निरन्तर चलिरहन्छ । सृष्टिकर्ता ब्रह्माको पनि आयु बताइएको छ । उनको आयु सकिएपछि लय हुन्छ भनी बताइएको छ । ज्योतिष शास्त्रले ब्रह्माको एक दिनलाई कल्प भनेको छ । एक कल्पमा ४ अरब   बत्तीस करोड (४३२००००००० वर्ष) बताइएको छ । यसपछि ब्रह्मा शयन कक्षमा जाने हुँदा सृष्टि लय हुन्छ अर्थात् सबै जलमय भनिएको छ । सो पछि पुनः सोही चार अर्व ३२ करोड वर्ष पछि पुनः सृटिको शुरु हुने कुरा सिद्धान्तशिरोमणिमा उल्लेख गरिएको छ । यसरी सृष्टिदेखि हालसम्म ब्रह्मा एकाउन्नौ बर्षमा लागेका छन् । एकाउन्नऔँ वर्षका पनि सात मनु, २८ युग वर्तमानमा व्यतित भइरसकेका छन् । अठ्ठाइसौँ महायुगका  सत्य, त्रेता, द्वापर व्यतित भएर हाल कलियुगका पनि  पाँचहजार एक सय अठार (२०७४ सालसम्ममा) वर्ष मात्र व्यतित भएका छन् । हाल सृष्टि देखि १९५५८८५११८ वर्ष व्यतित भइसकेका छन् । यही वर्षमानको उल्लेख  जन्मपत्रिका अर्थात् चिनामा हुने गर्दछ । यसरी व्यतित भएको कालको उल्लेखसँगै वर्तमानमा प्रचलित संवतको उल्लेख जन्मपत्रिकामा हुने गर्दछ । 

यसरी सृष्टिदेखि हालसम्मको अवस्थिति उल्लेख गरिसकेपछि जातक जन्मेको समयमा आकाशीय ग्रहको अवस्थिति कस्तो थियो सो कुराको पत्तालगाई चिनामा उल्लेख गरिन्छ ।   बच्चा जन्मेको स्थानबाट सूर्य कति अंश, कतिकालमा छ यसैगरी चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु, केतु आकाशमा कुन अवस्थामा छन् भन्ने कुराको पत्ता लगाइन्छ । यसका लागि तिथि गणितका अनेकौँ सूत्रमार्फत गणना गरिन्छ । यसरी गणना गरिएको ग्रहहरूको आकाशमा अवलोकन गर्ने पद्धति पनि ज्योतिष शास्त्रमा रहेको छ । ग्रह आकाशमा सोही अवस्थामा देखिन्छन् । जुन कुरा हजारौवर्ष पहिले हाम्रो पूर्वज ऋषिमुनिहरूले पत्ता लगाइसकेका थिए । सोही कुराको प्रस्तुति जन्मकुण्डलीमा हुने गर्दछ । 

हिजो आजका पाश्चात्य व्यक्तिले पौरस्त्य कुरालाई आफ्नो बनाई भन्दा वैज्ञानिक मान्ने हामी कति ज्ञानी छौँ । जुन कुरा आफ्नो ज्ञानलाई हेला गरिरहेका छौँ । संस्कृत पढ्ने भनेर पुरेतको संज्ञामात्र दिएका छौँ । जसले नित्य पुरोहित गर्छ, जसले युगको कुरा बताउँछ, जसले खगोलीय विषयवस्तुको अवस्थिति पत्तालगाउँछ, त्यसलाई कर्मकाण्डी सोच्ने हाम्रो मानसिकता कति असल छ स्वयं विचारणीय रहेको छ । 

जन्मसमयमा आकाशीय ग्रहहरूको अवस्थिति अनुसार जन्मपत्रिका तयार गरिन्छ । सूर्यादि ग्रहहरूको उदय, अस्त, वक्र मार्ग, उच्च, नीच आदि सम्पूर्ण अवस्थितिको गणितीय प्रमाण उक्त चीनामा उल्लेख गरिएको हुन्छ । सोही आधारमा फलादेश पनि हुने गर्दछ । ग्रहको अवस्थितिलाई विचार गरी फलादेश गर्ने व्यक्ति गलत हुन सक्छ तर विद्या कदापि गलत हुन सक्दैन  र हुँदैन पनि । 

आज गरिने जन्म दर्ता, नागरिता भन्दा पनि वैज्ञानिक दस्तावेज भनेको चिना हो । चिनामा व्यक्तिका  सम्पूर्ण खगोलीय, भूगोलीय फेरहिस्ता हुने गर्दछ । तीन पुस्ता, गोत्र, थर, प्रवर आदि सम्पूर्ण कुरा चिनामा लेखिने भएकोले व्यक्तिको असली परिचय पत्र नै चिना हो । आजको परिचयपत्रमा पनि सोही कुरा उल्लेख हुनु जरुरी छ । 

जन्म समयको अक्षांश, देशान्तर आदिका आधारमा इष्टकाल, नक्षत्रको भुक्त भोग्य अवस्थिति अनुसार नामाकारणा पनि सोही चिनमा उल्लेख हुने गर्दछ । कुन नक्षत्रबो कुन पाउमा जन्म भएको हो ? उसलाई कुन तिथि, नक्षत्र, बार घात र शुभ हुन्छन् भन्ने कुराको विवरण पनि जन्मपत्रिकामा हुने गर्दछ । यसैगरी ग्रह कसरी चल्दैछन्  र कुन ग्रहले कस्तो प्रभाव पार्न सक्छ भन्ने कुराको गणितीय विवरण पनि चिनाम हुने गर्दछ ।

चिना वस्तवमा व्यक्तिगत  विवरण पत्र नै हो ।  त्यसमा उसको चिनारी प्रस्तुत गरिएको हुन्छ । व्यक्ति जन्ममदा कुन भुगोल, कुन खगोलीय अवस्थिति थियो ? भूगोल अन्तर्गत पनि कति अक्षांश र देशान्तरमा उसको जन्म भएको, कुन गोत्र, प्रवर, थर,शाखा,तीनपुस्ते विवरण सहित तिथिमितिको परिपक्व दस्तावेज वास्तुमा चिना हो ।  आजका व्यक्तिगत परिचयपत्र भन्दा पनि ठुलो परिचयपत्र भनेको उसको चिना अर्थात् जन्मपत्रिका हो । जसले व्यक्तिको  विगत, वर्तमान र भविष्यको मार्गदर्शन गरेको हुन्छ । अतः चिना व्यक्तिको एक वैज्ञानिक दस्तावेज हो । 

                                                                                           

No comments:

Post a Comment