चैत्र नवरात्रको महिमा - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Mar 20, 2018

चैत्र नवरात्रको महिमा


उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

ऋतुराज वसन्तको  सुन्दर प्राकृतिक पर्यावरणसँगै भित्रिने चैत्र नवरात्रको आफ्नै महिमा रहेको छ ।  प्रकृतिका अनुपम छटासँगै हर्षोल्लासको पर्व मनाउने  यो  समय वातावरणीय दृष्टिले पनि उपयुक्त मानिन्छ । न गर्मी न त जाडो समशीतोष्ण वासन्ती वहारसँगै दुर्गा भगवतीको पूजा आराधना गरी भव्यरूपमा  नवरात्र (चैतको दशैँ) मनाउने चलन निकै प्राचीन मानिन्छ  ।
ज्योतिष शास्त्रमा चैत्रशुक्ल प्रतिपदाको छुट्टै महिमा रहेको छ । संवत्सर  र नववर्षको आरम्भ पनि यसै दिनबाट हुने गर्दछ । शुक्ल प्रतिपदाका दिन विधिवत् रूपमा घटस्थापना गरी महाकाली महालक्ष्मी र महासरस्वतीरूपी दुर्गादेवीको पूजा अर्चना गर्ने शास्त्रोक्त विधि–विधान रहेको छ  ।

नवरात्र
 शुक्लपक्षको प्रतिपदादेखि नवमी सम्म नौ रात मनाइने भएकाले यस समयलाई नवरात्र भनिएको हो । नौ दिनमा  नौ थरी देवीहरूको उपासना हुने गर्दछ । तन्त्र शास्त्र अनुसार आश्विन, माघ, चैत्र र असार गरी वर्षमा चारपटक नवरात्र पर्दछन् । हरेक नवरात्रको विशेष महिमा रहेको पाइन्छ । हाम्रो लोक परम्परामा आश्विन नवरात्र  र चैत्र शुक्ल अष्टमीको दिन मात्र  दशैँ मनाउने चलन छ । 

आश्नि शुक्ल नवमीमा देवीले दैत्यमाथि विजय प्राप्ति गरेको  र चैत्र अष्टमीमा देवीको प्रादुर्भाव भएको कुरा शास्त्रमा उल्लेख पाइन्छ । आश्विन महिनामा  देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले उक्त समयको  नवरात्रलाई बोधन  नवरात्र भनिन्छ । माघ महिनामा मनाइने नवरात्र भोजन हो, जुनबेला देवीद्वारा भोजन ग्रहण गरिन्छ । चैत्रशुक्ल पक्षमा  मनाइने शयन नवरात्र हो । यसवेला भगवतीको शयन कक्षमा प्रवेश हुन्छ । असारमा परिवर्तन नवरात्र मनाइन्छ । उक्त आषाढ शुक्ल प्रतिपदादेखि नवमी सम्मको समयमा देवीले कोल्टे फेर्ने कुरा ‘कुलागम रहस्य’मा उल्लेख  गरिएको छ । 

दुर्गादेवी
आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीद्वारा जसको स्तुति भएको थियो तिनै देवीको नाम  महाकाली हो । उनका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम वर्णकी छिन् । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, बाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गरेकी छन् । 

सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान  देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई  अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका  हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशुल शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । 

  सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात्  देवी महासरस्वती हुन् ।  त्यस्ती देवीका आठ भुजा(हात)   छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान  रहेका छन् । 
नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अङ्गभूत छ देवी छन् ः नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राह्मी, माहेश्वरी, कौमारी ,वैष्णवी, वाराही,नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् ।

दुर्गासप्तशती
दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रंत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसङ्ग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य नै वास्तबमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा  भगवतीको महिमा सहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसङ्ग दोस्रो अध्यायमा वर्णन गरिएको छ  । तेस्रो अध्यायमा महिषसुरको बध,चौथो अध्याया इन्द्रादि देवताहरूद्वारा  देवीको स्तुति छ । पाँचँै अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट  अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटाँै अध्यायमा  धुम्रलोचनको बध, सातौँ अध्यायमा चण्ड र मुण्डको बध,आठौँ अध्यायमा रक्तबीजको बध,नवौ अध्यायमा  निशुम्भ बध,दशौँ अध्यायमा शुम्भ बध,एघारौँ अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वरदान को कथा छ । बाह्रौँ अध्यायमा देवी चरित्र   पाठ र श्रवणको महŒव वर्णन गरिएको छ ।   यसैगरी तेह्रौँ अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ । 
दुर्गा देवीको उपासना र फल

नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ  । जगज्जननी माता दुर्गा देवीको उपासनाले  धर्म ,अर्थ काम ,मोक्ष चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छ । जुन कामना सहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचको यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको  कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ ।  
देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका  पछाडि सरस्वतीका साथ ब्रह्माको ,महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको  र महालक्ष्मीको वायाँ भागमा लक्ष्मी सहित विष्णुको पूजा गरिन्छ   ।   अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय छन् । किनकी उनैलाई महाकाली महालक्ष्मी र महासरस्वती भनिएको हो भन्ने कुरा  सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुन् । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि  देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नु पर्दर्छ । पाठ पश्चात् सप्तशतीका मन्त्रले  हवन गर्नु पर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।

जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछ उसका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी,चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्नेछन् । देवी माहात्म्य सुन्नाले मात्रै पनि सवै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले  दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक,आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान,पूजा,होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ  (दुर्गा सप्तशती १२।१०) ।  यसै आधारलाई नै शिरोधार्य गरेर बडा दसँै मनाउने प्रचलन छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन,धान्य,पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे,ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नु पर्दर्छ । विशेष गरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ ।  देवी माहात्म्यको पाठ मात्र गर्नाले पनि भूत,प्रेत पिशाच आदि नष्ट भएर जान्छन्  ।  दुर्गादेवीको पूजा अर्चना,स्तुति पाठ ,माहात्म्य श्रवण  गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त  हुने कुरा देवी माहात्म्यमा उल्लेख छ । 

  शरद कालीन नवरात्र र वसन्त कालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुन्छ । यसैगरी गुप्त नवरात्रमा पनि देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच ,कीलक र अर्गला स्तोत्र नित्य पाठ गर्नाले पनि दुर्गा पाठ बराबरको फल पाइन्छ । समस्त पापबाट बँच्न देव्याथर्वशीर्ष पाठ गर्नु पर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिन्छ ।

भगवती देवी सम्पूर्ण मनकामना सिद्ध गर्ने आद्य शक्ति हुन् । विधिपूर्वक देवीको आराधना नगरे फल प्राप्त नहुने भएकाले विधि विधानलाई विशेष ध्यान दिनु आवश्यक  हुन्छ । दुर्गा देवीले हामी सबैको कल्याण गरुन् यही छ चैत्र नवरात्र /दसैँको हार्दिक मंगलमय शुभकामना ।। 

No comments:

Post a Comment