तुलसी कसरी रोप्ने ? हेर्नुहोस् हरिशयनी एकादशीकाे व्रतविधि र महिमा - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jul 22, 2018

तुलसी कसरी रोप्ने ? हेर्नुहोस् हरिशयनी एकादशीकाे व्रतविधि र महिमा



उपप्रा. नारायणप्रसाद निरौला 
ज्योतिषाचार्य, वास्तुविद् 

परिचय 
आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ । हरि अर्थात् विष्णु भगवान् शयन गर्ने समय भएकाले  यस दिनलाई हरिशयनी भनिएको हो । एकादशी चान्द्र महिनाको एघारौँ दिन हो । यस दिन भगवान्को व्रत धारण, कथा श्रवणका साथै तुलसीको रोपण गर्ने कार्य गरिन्छ । ज्येष्ठ शुक्ल एकादशीका दिन दल राखी हरिशयनी एकादशीमा रोपण गरेर हरिबोधिनी एकादशीका दिन विष्णु भगवान्सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको छ । यस एकादशीलाई देवशयनी एकादशी पनि भनिन्छ । आजबाट विष्णु भगवान् चार महिनासम्म शयन गर्ने भएकाले यो समयलाई चतुर्मासा पनि भनिन्छ ।
तुलसीलाई साक्षत् विष्णु भगवान् मानिन्छ । र्वक्षमा तुलसी र पिपल भगवानका साक्षत् प्रतिरूप हुन् । आजको विज्ञानले पनि तुलसीमा सर्वहितकारी तत्तवको पुष्टि गरिसकेको छ । आयु वृद्धिमा पनि तुलसीको विशेष महत्त्व रहेको छ । आयुर्वेदमा तुलसीलाई महौषधीको संज्ञा दिइएका छ ।  

कसरी रोप्ने तुलसी  ?
हरिशयनी एकादशीका दिन तुलसीलाई मठमा सारिन्छ । तुलसीको दल राखेको स्थानमा गई निम्न मन्त्रले भगवती तुलसीको प्रार्थना गर्नु पर्दछः 
प्रसीद मम देवेशि कृपया परया सदा । 
अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।।
यसरी प्रार्थना पछि जरा र केही माटो सहित तुलसीलाई पूर्व फर्केर विस्तारै उखेल्नु पर्दछ । यसरी उखेल्दा भगवानका नाम उच्चारण ॐ नमो भगवतो वासुदेवाय  आदि गर्नु उपयुक्त मानिन्छ । यसरी उखेलिएकी तुलसीलाई मठमा ल्याई पूर्व फर्केर रोपण गर्नु पर्दछ । रोपण पश्चात् पर्याप्त जल पनि राखिदिनु पर्दछ । यसरी रोपण गर्दा  निम्न मन्त्र उच्चारण गर्न सकिन्छः
अभिष्टफलसिद्धिं च सदा देहि  हरिप्रिये ! 
देवैस्त्वं निर्मिता पूर्वमर्चिताऽसि मुनिश्वरैः ।।
अतो मां सर्वदा भक्त्या कृपादृष्ट्या विलोकय । 
पत्युरायुश्च भाग्यं च सदा देहि हरिप्रिये ।। 
 यस पश्चात् पाद्य, अर्घ, आचमनी, पञ्चामृत, चन्दन, अक्षता, पुष्प, फल नैवेद्य अर्पण गरी आरती पुष्पाञ्जली अर्पण गरी ढोग्नु पर्दछ ।  यस पश्चात् नित्य तुलसीको हेरचाहका साथै जल पनि अर्पण गर्नु पर्दछ । यसरी तुलसीको नित्य सेवा गर्नाले अभीष्ट सिद्धि हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । 

एकादशी व्रतपूजा विधि

स्नान गरी शुद्ध भई घरको पूजा स्थलमा भगवान् विष्णुको प्रतिमा राखी षोडशोपचारले पूजा गर्नु पर्दछ । यसपछि पीताम्बरले सुसज्जित बनाई भगवानका कथा श्रवण गर्नाले उत्तम फल प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ । यसरी कथा श्रवण पश्चात् भगवानलाई झुला वा शैयामा राखेर शयन गराउनु पर्दछ ।

आहार विहार
एकादशी तिथिमा सात्विक आहार उपयुक्त मानिएको छ । विशेषतः अन्नलाई पनि त्याज्य मानिन्छ । सात्वक आहार , विहार विचार एकादशीका पर्याय हुन् । भगवानका कथा श्रवण एवं भगवानको नामसंकीर्तन यस दिन उत्तम फलदायी रहन्छन् । यस दिन मांसहार, मैथुन, परनिन्दा, राजसी र तमसी भोजन एवं कार्य निषेध गरिएको छ । 

व्रतफल
यस दिन  गरिने स्नान, दान, तप, धर्म आदि सबै कार्यको अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । ब्रह्मवैवर्त पुराण अनुसार तुलसीका प्रसिद्ध आठ नाम : वृन्दां वृन्दावनीं विश्वपूजितां विश्वपावनीम् । पुष्पसारं नन्दिनीञ्च तुलसीं कृष्णजीवनम् । वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी छन् । यी नामको. उच्चारण गर्नाले अभीष्ट फल प्राप्त हुने कुरा समेत उक्त पुराणमा वर्णन पाइन्छ । 

हरिशयनी व्रतकथा 
स्कन्द पुराण अनुसार  जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्वनै उसको अमरत्वको आधार थियो । वृन्दाको सतीत्व अन्त्य नगरी जालन्धर राक्षसको अन्त्य सम्भव थिएन । सृष्टिको कल्याण  गर्ने उद्देश्यले भगवान् विष्णुले  वृन्दाको सतीत्व नष्ट गर्नुपरेको थियो । विष्णु भगवान्ले रूप वदली जालन्धरको भेषमा गई वृन्दाको सतीत्व हरण गरेको थाह पाएपछि वृन्दाले भगवान् विष्णुलाई श्राप दिन्छिन् । त्यसपछि भगवान् विषु पत्थरका रूपमा शालिग्राम हुनुभयो । पुनः वहाँ वृक्षका रूपमा तुलसी पनि हुनु परेका थियो ।   वृन्दाको श्रापका कारण भगवान् तुलसीरूपमा प्रकट भई सर्वकल्याण गरेको कथा पनि पुराणमा पाइन्छ । तुलसीको वनलाई वृन्दावन भनिन्छ । एकादशी महिमाको चर्चा पद्म पुराणको चौध अध्यायमा पनि पाइन्छ । एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्रप्त हुने कुरा ब्रह्मवैवर्त पुराणमा पनि व्याख्या गरिएको छ ।

निष्कर्ष 
तुलसी साक्षात् भगवती हुन् । विष्णुभगवानकै प्रतिरूप तुलसीलाई मानिन्छ । हाम्रा हरेक कार्यमा तुलसीको महिमा विशेष रहेको छ । यो लोकको भुक्तिका साथै परलोकको मुक्ति प्रदान गर्ने सामथ्र्य तुलसीमा अन्तर्निहित छ । वेदले पनि प्रकृतिलाई देवता मानेको छ । त्यसैले प्रकृतिको जगेर्ना मानव धर्म पनि हो । प्रकृतिको संरक्षण, स्वस्थ पर्यवरणका साथै परलोकको पुण्यका लागि समेत तुलसीको पूजा एवं संरक्षण आवश्यक देखिन्छ ।  अतः यस्ता कार्यम हामी सबै लागि पर्नु आवश्यक छ । 

No comments:

Post a Comment