हरेक धार्मिक कार्यमा संकल्प किन गरिन्छ ? हेर्नुहाेस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jul 5, 2018

हरेक धार्मिक कार्यमा संकल्प किन गरिन्छ ? हेर्नुहाेस्



नारायणप्रसाद निरौला
उपप्राध्यापक
नेपाल संस्कृत विश्वविद्यालय

हाम्रा हरेक धार्मिक कार्यको आरम्भमा सङ्कल्प गर्ने वैदिक विधान रहिआएको छ । चाहे देव कार्य हुन् चाहे पितृकार्य सबैमा सङ्कल्प अनिवार्य नै हुन्छ । यो किन र केका लागि गरिन्छ भन्ने कुरा जानेर होस् या नजानि जसरी भए पनि  परम्परा धानिदै आएको छ ।  वास्तवमा के हो सङ्कल्प ? अनि किन गरिन्छ सङ्कल्प ? सङ्कल्प गर्नुको तात्पर्य के हो जस्ता प्रश्न मनमा खेल्नु स्वभाविक नै हो । कतिपय सन्दर्भ नजानेरै भए पनि प्रयोगमा आइरहेका हुन्छन् । तर यस्ता विषयको ज्ञान सबैमा हुनु आवश्यक छ ।  यस्तै एक विषय सङ्कल्प हो जुन हाम्रा  हरेक कार्यमा प्रयोग भइरहेका हुन्छ । यसको गुह्य रहस्य बुझ्न नसकेर नै आज हाम्रा धार्मिक कृत्यहरू क्षीण हुँदै गइरहेका छन् ।  आफूभित्रको मणिलाई चिन्न नसकेर पाश्चात्य शैलीतर्फ आकर्षित हुँदै गरेको आजको परिवेशमा यसको वैज्ञानिकता जान्नु आवश्यक छ । दिनानुदिन कर्मलोप हुँदै गरेको अवस्थामा वास्तविकताको पहिचान गर्नु र यसलाई अवलम्बन गर्नु नितान्त आवश्यक छ ।  

व्याकरणमा सम् + क्लृप् पूर्वक घञ् प्रत्यय लागेर सङ्कल्प शब्द निर्माण हुन्छ । यसको अर्थ निश्चय वा प्रण भन्ने लाग्दछ । एक विशिष्ट प्रकारको पूर्वकल्पना नै सङ्कल्प हो । सामान्य शाब्दिक अर्थले पनि यही विषयको बोध गराएको पाइन्छ । तर यसको विशिष्ट अर्थ भने भिन्नै रहेको पाइन्छ । हाम्रा हरेक कार्य सङ्कल्प पूर्वक नै भएका हुन्छन् । यही कुरालाई पद्धतिमा उतार्ने कार्य नै वास्तवमा सङ्कल्प हो । यी मानसिक वा वाचिक दुवै हुन सक्छन् । हामी निद्रबाट व्युझेपछि नै सङ्कल्प गर्न थाल्दछौँ । हाम्रा हरेक कार्य सङ्कल्प पूर्वक नै भइरहेका हुन्छन् । कतिपय औपचारिक त कतिपय अनौपचारिक फरक यत्ति मात्र हो । आज यो यो काम यसरी गर्नु छ भन्नु पनि एक प्रकारको सङ्कल्प नै हो । सामान्य कुरालाई विशेष सङ्कल्प नभनिए पनि यी स्वतः सङ्कल्पित भइरहेका हुन्छन् । वाचिक रूपमा गरिने सङ्कल्पको विशेष महिमा रहेको छ । जुन हाम्रो शास्त्रीय विधान पनि हो । नित्यकर्मपद्धतिमा पनि प्रत्येक दिन सङ्कल्पको विधान गरिएको छ । यसैगरी यही सङ्कल्पको पद्धति नै आजको प्रशासनिक व्यवस्थापनमा प्रयोग हुने योजना हो । सङ्कल्प पनि विशेष प्रकारको योजना नै हो । योजनामा पनि पछि गरिने कार्यको पूर्वतयारी गरिन्छ । त्यसैगरी सङ्कल्पमा पनि पछि हुने कार्यको पूर्वघोष हुने गर्दछ । शोध कार्यमा पनि पूर्वकल्पनाको व्यवस्था हुन्छ । जसको इतिहास खोज्न पनि वेदमै पुग्नुपर्ने हुन्छ । 

वेदमा पनि तन्मे मनः शिवसङ्कल्पमस्तु भनेर शिव अर्थात् कल्याणका निम्ति सङ्कल्प गरिएको छ । यही र यस्तै वैदिक ऋचाले पनि सङ्कल्पको चर्चा गरेका छन् । मनले सङकल्प गरेको कुरा वचन र व्यवहारमा उतारेपछि मात्र त्यो सङकल्पले पूर्णता पाउछ भन्ने भविष्यपुराणले अथ्र्याएको छ । सङ्कल्प मानसिकन नै हुन्छ ।  मानसकि सङकल्प दुईप्रकारका छन् भाव र अभाव । मनले यो गर्नु छ भन्ने भाव सङकल्प हो भने यही गर्नु छ भन्ने कुनै कुराको निश्चय नगरी हुने सङ्कल्प अभाव हो । पूजा आदिमा गरिने  सङ्कल्प भाव  र उपवास आदिको सङ्कल्पलाई अभावको संज्ञा दिइएको छ ।  वर्तमानमा सामान्य सङ्कल्प र महासङ्कल्प प्रचलनमा रहेका पाइन्छन् । धर्मशास्त्रमा सङ्कल्प गर्ने विशेष विधि पनि बताइएको छ । विशेषतः तिल जौ, कुश र जल सङ्कल्पका आधारभूत वस्तु हुन् । मानसिक सङ्कल्प भनेको मनको अठोट नै हो । यसका निम्ति कुनै वस्तु विशेषको आवश्यकता पर्दैन । सङ्कल्प पूर्वक गरिएको कार्यको सिद्ध हुने भएकाले पनि यसको धार्मिक महिमा अवच्छिन्न  चलिरहेको छ ।    पुरश्चरणविधि नामक तान्त्रिक ग्रन्थमा सङ्कल्पको विधान यसरी बताइएको छ  ः संवत्सरायने मासः पक्षः पञ्चाङ्गमेव च । नवग्रहस्थितिं द्दस्रभागं मुहूत्र्तकत्विति ।। स्वदेशभेदाँस्तत्तुल्यान्कामनासहितान् वदेत् । द्वीपेऽमुकेऽमुके खण्डेऽमुके वर्षे न नीर्वृती ।।अमुकेचामुके पक्षे गोत्रप्रवरमुच्चरेत् । स्वनाम जातिनामान्तं द्विजाच्छर्म च वर्म च ।। अर्थात् कुश,तिल,जल हातमा लिएर कामनासिद्धिका लागिसंवत्सर,अयन,पक्ष, ग्रहस्थिति, देश, ठाँउ, नाम, गोत्र, प्रवर  अनि गर्ने कार्य र फलको उच्चारण गर्ने विशिष्ट कार्य नै सङ्कल्प हो । 

हरेक धार्मिक कार्यको थालनी सङ्कल्पपूर्वक गर्ने शास्त्रीय विधान रहेको पाइन्छ । सङ्कल्पमूलः कामो वै यज्ञाः सङ्कल्पसम्भवा । व्रतनियमधर्माश्च सर्वे सङ्कल्पजाः स्मृताः ।। (तिथ्यादितत्त्वम्) सङ्कल्प विना गरिएका कार्य निष्फल हुन्छन् भनी ब्रह्मपुराणमा बताइएको छ ः सङकल्पेना विना राजन् यत्किञ्चित् कुरुते नरः । फलं चाल्पाल्पकं तस्य धर्मस्याद्धक्षयो भवेत् ।। (ब्रह्मपुराण) योगिनी तन्त्रमा पनि सङ्कल्पको विशेष विधान गरिएको छ । सङ्कल्पले कार्यलाई योजनाबद्ध रूपमा निर्धारित समयमा पूरा गर्न मद्धत गर्दछ । साथै यसको धार्मिक महिमा पनि विशेष  छ । 
सङ्कल्पपूर्वक गरिएको कर्मको फल इहलोकका साथै परलोकमा पनि प्रप्त हुन्छ भन्ने धर्मशास्त्रीय मत रहेको छ । यही लोकमा चार पुरुषार्थ धर्म, अर्थ, काम र मोक्षको सिद्धि हुने भएकाले पनि  हरेक शास्त्रीय कर्मको थालनी सङ्कल्पसँगै हुुुने गर्दछ । इह लोकदेखि परलोकसम्मको सम्बन्ध सेतुका रूपमा संकल्पले काम गरिरहेको हुन्छ । सङ्कल्पले नै कार्यसिद्धि भएका थुप्रै इतिहास र वर्तमान पनि पाउन सकिन्छ । के हुन्छ सङ्कल्पमा ? भन्ने प्रश्न सबैका मनमा जाग्न सक्छ । वास्तवमा पौरस्त्य सङ्कल्प विधि अति नै वैज्ञानिक रहेको छ । सर्वप्रथम व्यक्ति कायिक र मानसिक रूपमा शुद्ध हुनु आवश्यक छ । शुद्ध आसनमा पवित्र भई बसेपछि मात्र   सङ्कल्पको विधान गरिएको छ । यसरी गरिने सङ्कल्पमा कार्य अनुसारको दिग् व्यवस्थिति पनि गरिएको हुन्छ । सामान्यतः पूर्व फर्किएर अनि अन्य कर्म अनुसार चन्द्रमाको अनुकूल भई सङ्कल्प लिने व्यवस्था रहेको पाइन्छ । 

सङ्कल्पमा सर्वप्रथम परमात्मा परमेश्पवरको स्मरण गरिन्छ । साथैै ईश्वरले सृष्टि गरेको समयको उच्चारण हुने गर्दछ  ॐ तत्सत् ३ ॐ विष्णु ३ श्रीमद्भगवतो महापुराणपुरुषस्य विष्णोराज्ञया प्रवर्तमानस्य सकलजगत्सृष्टिकारिणो.... यसैगरी ब्रह्माको एकाउन्न वर्षको आयु पुगेको छ । सोही भएर ब्रह्मणो द्वितीयपरार्धे भन्ने उच्चारण गरिन्छ । पचास वर्षसम्म पूर्वाद्ध र तत् पश्चात् पराद्र्ध भएको हो  । वर्तमान समय श्वेतवराहकल्पको हो सोही भएर श्वेतवाराहकल्पे भन्ने उच्चारण गरिन्छ ।  ब्रह्माको एक दिनलाई  कल्प भनिन्छ । सृष्टि कर्ता ब्रह्माजीको पनि सय वर्षको आयु रहेको छ । ब्रह्मा एकाउन्नैँ वर्षका पनि  चौध मनु (स्वायम्भुव,स्वारोचिस,उत्तम,तामस, रैवत चाक्षुष,वैवश्वत, सावर्णि, दक्षसावर्णि,ब्रह्मसावर्णि,धर्मसावर्णि,रुद्रसावर्णि, रौच्यसावर्णि, भौत्यसावर्णि) मध्ये छ मनु व्यतित गरी सातौ वैवश्वत मनु अन्तर्गतको सत्ताइसौँ महायुग व्यतित भइसकेका छन् । त्यसैले सातौँ मनु वैवश्वतको पालो चलेकाले वैवश्वतमन्वन्तरे भन्ने उच्चारण गरिन्छ । यसैगरी सत्ताइसौ महायुग अन्तर्गतका पनि सत्य,त्रेता र द्वापर युग व्यतित भइसकेका छन् । कलि युगका पनि पाँच हजार एकसय १९ वर्ष व्यतित भइसकेकाले सत्यत्रेताद्वापरान्ते कलि युगे, कलियुगस्य प्रथम चरणे पनि भनिन्छ । यसैगरी भगवानका चौविस अवतार मध्ये बौद्धावतार भएकाले बौद्धावतारे पनि उल्लेख गरिन्छ ।  यो क्षेत्र प्राचनि कालमा भारत वर्षको भरत खण्ड अन्तर्गत    जबूद्विपमा पर्दथ्यो जसको इतिहास पनि सङ्कल्पमा भारतवर्षे भरतखण्डे जबमूद्विपे भनी उच्चारण हुन्छ । जसले गर्दा विगतलाई पनि स्मरण गराएको पाइन्छ । यसैगरी हाम्रो देश नेपाल जम्बूद्विप अन्तर्गतको पनि हिमवत् खण्डमा पर्ने भएकाले  हिमवत्खण्डे पनि उच्चारण गरिन्छ । यसपछि देशको कुन अञ्चल, जिल्ला, गाउँ हो सोको उच्चारण हुन्छ । यसपछि उक्त गाँउ के कस्ता धार्मिक तीर्थको नजिकमा छ  सो को उल्लेख गरिन्छ । नदी मठ मन्दिरहरू सान्निध्यमा के के छन् सोको समेत उल्लेख हुने गर्दछ । यसरी समग्र भूगोलको कुन क्षेत्रमा उक्त सङ्कल्पकर्ताको अवस्थिति छ सोको उच्चारण हुने गर्दछ । यसले समग्र भौगोलिक अवस्था  र अवस्थितिको परिचय दिने गर्दछ । अर्थात् भनौँ भूगोल, इतिहास एवं खगोलको पनि पूर्ण स्मरण सङ्कल्पमा गरिन्छ । 

  वर्तमान समयको समग्र खगोलीय अवस्थितिको उच्चारण पनि सङ्कल्पमा हुँने गर्दछ ।  वर्तमान संवत्सर, अयन, ऋतु, सौर चान्द्र मास, चान्द्रमासका पक्ष, तिथि, बार, नक्षत्र योग, करणको के कस्तो अवस्थिति छ सोको उच्चारण पनि हुँने गर्दछ । तत्कालिक समयमा सूर्यादि ग्रहहरूको स्थिति के छ भन्ने कुराको स्मरण पनि हुने गर्दछ । कुन राशिमा  सूर्य, कुन राशिममा चन्द्रमा ,कुन राशिमा वृहस्पति आदि ग्रहहरू छन् सोको यकिन पनि यसै अन्तर्गत गरिन्छ । यसरी हेर्दा सङ्कल्पले समग्र खगोललाई पनि समेटेको छ । 

यसपछि कर्ता व्यक्तिको नाम, गोत्र, प्रवर, राशिको उच्चारण हुने गर्दछ । जसले कर्ताको प्रामाणिका अवस्थिति झल्काउछ । यसैगरी कर्ताका माता पिता,पति पत्नी, भाइ बन्धु, पुत्र परिवार आदि सबैको यथा उल्लेख गरिन्छ  । जसले कर्ताको पूर्ण परिचय गराएको हुन्छ । यी सम्पूर्ण भौगोलिक,ऐतिहासिक, खगोलीय अनि कर्ताका स्वकीय परिचय गराइसकेपछि मात्र फल अनुसारका कर्मको उल्लेख गरिन्छ ।  के कस्ता कर्म गर्ने हो ? कुुन उद्देश्यका निम्ति गर्ने हो कस्तो फल प्रप्तिका निम्ति हो भन्ने कुराको पनि उल्लेख गरिन्छ । 

यो सामान्य सङ्कल्पको विधि हो । महासङ्कल्पमा यो भन्दा वृहत्तर विषयवस्तुको उच्चारण गर्नु पर्ने हुन्छ । जुन सामान्य वाचन गर्न पनि तीस चालिस  मिनेटको समय लाग्ने गर्दछ । कार्य अनुसारका सङ्कल्प फरक भए पनि मूलरूपमा उच्चारण गर्ने विषयवस्तु भने यस्तै नै हुन्छन् । देव एवं पितृ दुवै कार्यमा सङ्कल्पलाई अनिवार्य मानिएको छ । सङ्कल्प पूर्वक दिएको वस्तु मात्र पितृले प्राप्त गर्ने भएकाले देव भन्दा पनि पितृ कार्यमा सङ्कल्पको विशेष महत्व रहेको पाउन सकिन्छ ।  एउटा सङ्कल्पकर्ताले समग्र भूगोल, इतिहास, खगोल, अनि तत् कुुलकाेे इतिवृत्त जान्ने गर्दछ । वास्तवमा सङ्कल्प जान्ने मान्छे विद्वान् हुन्छ । किनकि उसलाई समग्र ज्ञान हुुुनुुपर्छ ।
सङ्कलप समग्रज्ञानको परिसूचक हो । कार्यका निम्ति लक्ष निर्धारक हो । एकप्रकारको अठोट हो । जसले कार्य गर्नमा अभिप्रेरित गरेको हुन्छ । सङ्कल्प गरेर कार्य गर्न नसक्नु पाप हो । जसरी राजा वलिले सङ्कल्प गरेर अन्तिममा दिने वस्तु केही नहुँदा सर्वस्व सहित आफ्नै शिर प्रदान गर्नु परेको थियो । त्यसैले सङ्कल्पमा सधै सावधान हुनु आवश्यक छ । 

सङ्कल्प समग्र अवस्थितिको द्योतक हो । जसको ज्ञान सबैमा हुनु आवश्यक छ । यसले इतिहास भूगोल, खगोल एवं समग्र ब्रह्माण्डका विषयवस्तुको ज्ञान दिइरहेको हुन्छ । त्यसैले पौरस्त्य वाङ्मयमा रहेको सङ्कलपलाई सबैले मनन गर्नु आवश्यक देखिन्छ । समग्र मानव कल्याणका निम्ति पनि यसको ज्ञान हुनु र यसलाई प्रयोमा निरन्तरता दिनु जरुरी छ । 

2 comments: