उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीया सम्मका दिनलाई यमपञ्चक भनिन्छ । यमपञ्चकमा यमराजका दूत एवं प्रियवस्तुको पूजा हुने गर्दछ । पाँच दिनसम्म यमसम्बद्ध विषवस्तुको पूजा हुने समयलाई यमपञ्चक भनिएको हो । यो समयमा यमराज पनि आफ्नी बहिनी यमुनाकहाँ टीका लगाउन जाने हुँदा कालदण्डरूपी भयबाट मुक्त पाइन्छ भन्ने धार्मिक एवं लौकिक मान्यता पनि रहेको छ । यिनै पाँच दिनको समयलई तिहार भनिन्छ ।
मृत्युका देवता यमले आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएपछि विभिन्न माध्यमहरुमार्फत् दाजुलाई भेट्न आउने निम्तो पठाइन् । उनले शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजूलाई भेटेको प्रसङ्ग पुराणमा वर्णन पाइन्छ । दाजुलाई भेटेपछि उनले पूजाआजा गरी सप्तरङ्गी टीका, फूलमाला पहिराइदिएकी थिइन् । तोरीको तेलमा दूबोको झुप्पाले चाेबेर दाजु वरिपरि पानी र तेल मिश्रित मसिनो धाराले रेखा कोरी मखमली फूलको माला सहित भाइटीका लगाएकी थिइन् । यही धार्मिक मान्यताका आधारमा तिहार पर्व भव्य रूपमा मनाइदै आएको छ ।
को हुन् यमराज ?
सूर्य र विश्वकर्मा पुत्री संज्ञाका गर्भबाट जन्मिएका यमराज दक्षिण दिशाका रक्षक अर्थात् दिक्पाल हुन् । यिनको मुख्य काम पापीहरूलाई नरकको यातना दिएर पापबाट मुक्त गराउनु हो । यमराजकी पत्नीको नाम हेममाला अर्थात् धूमोर्णा र बहिनीको नाम यमुना हो । यमराजको लोकलाई यमलोक भनिन्छ भने यिनले हातमा कालदण्ड लिएका हुन्छन् । यमराज र शनिश्चर दाजुभाइ हुन् ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ । काग अत्यन्त चलाख पंक्षी हो । काग सर्वभक्षी प्राणी पनि हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू पनि खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
आकाश मार्गबाट छिटो सन्देश ल्याउने काग एउटा बाठो पन्छी हो । काग र कोईलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामीसबैले सुनिआएकै छौ, कोईलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यस अण्डा कोरलेर कोईलीको वच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यकाग र कोईलीको यो सह–अस्तित्वको नाताले हामीलाई धेरै सकारात्मक कुराहरुको उदाहरण दिएको छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटोदेखि श्वाँस फेर्ने हावा अनि वर्षिने वादलदेखि गर्जिने बाघ सम्म, कुकुरदेखि काग अनि बोट विरुवासम्म सबैकुरामा पवित्रता र ईश्वरत्वको गुण स्वीकारिएको छ । यसका साथै काग तिहारकै दिन समुन्द्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । कागलाई यमराजको सन्देश वाहकको रूपमा पूजा गरिन्छ ।
कुकुर तिहार
कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुरको पूजा हुने गर्दछ । यस दिनलाई नरक चतुदर्शशी पनि भनिन्छ । गृहरक्षकका रूपमा पनि कुकुरको पूजा हुने गर्दछ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । कुकुर चलाख प्राणी अन्तर्गत पर्दछ ।
लक्ष्मी पूजा र गाई तिहार
कार्तिक कृष्ण औँशीका दिन महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । प्रतिपदा तिथि लगेको अवस्थामा गाईको पनि पूजा हुने गर्दछ । गाईलाई पनि लक्ष्मीकै प्रतिरूप मानिन्छ । कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हिन्दूहरुको संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । गाईलाई लक्ष्मी र गौमाताका रूपमा पनि लिइन्छ । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । लक्ष्मीलाई धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकार रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।
सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने यो दिन चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्ने चलन रहेको छ ।
भगवती आद्यमातृशक्ति हुन् । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान देवीलाई महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् ।
विशेषतः भगवती लक्ष्मीका आठ रूप रहेका छन् । आद्य लक्ष्मी महालक्ष्मी हुन् । यसैगरी धनलक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी, वीरा लक्ष्मी, विजया लक्ष्मी वा जाया लक्ष्मी , र विद्या लक्ष्मी गरी महालक्ष्मीका आठ रूप छन् । विद्याकी देवीलाई विद्या लक्ष्मी भनिन्छ । ज्ञान, कला,साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । कमलमा बसेकी,चारहात भएकी, सेतो वस्त्र धारण गर्ने, दुई हातमा कमल र दुई हात वर मुद्रा प्रदान गर्ने देवीको स्वरूप बताइएको छ ।
गोबद्र्धन पूजा
कार्तिक शुक्ल प्रतिपदाका दिन गाईको विशेष पूजा हुने गर्दछ । यस दिनलाई हल तिहार पनि भनिन्छ । यस दिन गोबरको गोवर्धन पर्वउत बनाइ विशेष पूजा गरिन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । विश्वास अनुसार कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । भगवान् श्रीकृष्णले एकदिन गोकुलवासीलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखेपछि गोवद्र्धन पर्वतको पूजा हुन्छ । पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको घोर वर्षा गराउछन् । भगवान श्रीकृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीलाई आश्रय दिएपछि इन्द्र हार खाई माफ माग्न प्ग्छन् । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको विश्वास गरिन्छ । नेवारी समुदायमा यस दिन म्ह पुजा गरिन्छ ।
भाइ तिहार
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् र र्पथ्वीवासीलाई कालको भय हुँदैन भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश, गणेश एवं अष्टचिरञ्जीविको पूजा गरी भाइटीका लगाई आशीर्वाद दिने परम्परा रहेको छ । यस दिन देउसी खेलेर मनोरञ्जन पनि गरिन्छ ।
ओखर यमराजको प्रतीक हो जसलाई ढोका बाहिर फोडिन्छ । विमिरो यमुनाको प्रतीक हो जसलाई पूजा गरेर पवित्र स्थानमा राखिन्छ । कहिल्यै नसुक्ने तेल, मखमलै माला र दुवो दीर्घ जीवनका प्रतीक हुन् जसले दैर्घायुको कामना गरिन्छ । यसरी भव्य रूपमा पाँच दिनसम्म मनाइने पर्व नै यमपञ्चक हो । यसलाई तिहार भनिन्छ । तिहारको अर्थ पनि चाड नै हो । तिहारले सबैमा सुख शान्ति र समृद्धि प्राप्त होसु हार्दिक मंगलमय शुभकामना ।
No comments:
Post a Comment