अायुर्द्राेणसुते श्रियाे दशरथे ...को अर्थ केहाे ? भगवतीकाे महिमा सहित हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 9, 2018

अायुर्द्राेणसुते श्रियाे दशरथे ...को अर्थ केहाे ? भगवतीकाे महिमा सहित हेर्नुहोस्



उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 

जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।
शरदकालीन सुन्दर प्राकृतिक छटासँगै नेपालीका घर आँगनमा भित्रिने वडादशैँको आफ्नै महिमा रहिआएको छ । विशेषतः आसुरीशक्तिको पराजय र सत्यको विजय भएको पर्वका रूपमा विजया दशमीलाई हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । शारदीय सौम्य परिवेशसँगै  प्रकृतिले पनि एउटा नवीन उत्साह थपिरहेको पाइन्छ । मालश्री धुन दशैँलाई द्योतन गर्ने सांगीतिक पक्ष हो । शरदकालीन मौसममा खुशी साटासाट गर्ने पर्वका रूपमा पनि दशैले विशेष महिमा राखेको छ । यसैगरी भगवती दुर्गादेवीको उपासना गर्दै समस्त मनोकामना पूर्ण हुने आस्था र विश्वासका साथ यो पर्व मनाउने गरिन्छ ।  

दशैँ आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमा तिथिसम्म मनाइन्छ । जसलाई दुर्गा पक्ष पनि भनिन्छ । विशेष गरी घटस्थापनादेखि विजयादशमीसम्म दश दिन मनाइने भएकाले पनि यो पर्वलाई दशैँ भनिएको हो । दशैँ चान्द्र मासका आधारमा मनाइने विशेष पर्व हो ।  आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि दशैको विधिवत आरम्भ हुन्छ । घटस्थापनाका दिन विधिवत् कलश स्थापना गरी जौका जमरा राख्ने गरिन्छ । यसै दिनबाट  दुर्गा भगवतीको उपासना पनि आरम्भ हुन्छ । भगवतीको उपासना अन्तर्गत देवीभागवत पारायण, दुर्गासप्तशती पाठ आदि पर्दछन् । 

दशैँमा विशेष गरी दुर्गा देवीको पूजा गरिन्छ । आश्विन महिनामा  देवी निद्राबाट जाग्रत अवस्थामा जाने भएकाले यस समयको  नवरात्रलाई बोधन  नवरात्र भनिन्छ । हरेक दिन भगवती दुर्गा देवीका विभिन्न स्वरूपको आराधना गरी यो पर्व मनाउने धार्मिक विधान रहिआएको छ । दशैँमा विशेषतः भगवती दुर्गा देवीको आराधना हुने गर्दछ । भगवती आद्य मातृशक्ति हुन् । मार्कण्डेय पुराणमा भगवतीको स्तुति यसरी गाइएको पाइन्छ : 
सर्वमङ्गलमङ्गल्ये शिवे सर्वार्थसाधिके ।
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ।।
अर्थात् अमङ्गललाई पनि मंगल गर्ने कल्यणदायिनी हे शिवे तिमीलाई नमस्कार छ । सम्पूर्ण पुरुषार्थ सिद्धि गर्नेवाली नारायणी  शरणगतवत्सला हुनुहुन्छ । यस्ती कल्यणदायिनी भगवतीलाई नमस्कार छ भनी पुराणले विशेष महिमा गान गरेको छ । दशैँका नवरात्रमा यिनै भगवतीको उपासना गरी दशमीका दिन टीका प्रसाद जमरा लगाउँदै आपसमा खुशी साटासाट गर्ने हाम्रो परम्परा रहेको छ । 


आद्य शक्ति दुर्गा देवीका महाकाली, महालक्ष्मी र महासरस्वती गरी तीन रूप छन् । तमोगुणमयी महाकाली भगवान् विष्णुकी योगनिद्रा र माया शक्ति हुन् । मधु र कैटभलाई बध गर्नका लागि ब्रह्माजीले जसको स्तुति गरेका थिए तिनै देवीको नाम  महाकाली हो । उनका दश मुख, दश हात र दश पाउ रहेका छन् । जो श्याम वर्णकी छिन् । यस्ती महाकालीले आफ्ना हातमा खड्ग, बाण, गदा, शूल, चक्र, शंख, भुशुण्डी, परिघ, धनुष र मुण्डमाला धारण गरेकी छन् । 

सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान  देवी महालक्ष्मी हुन् । जसलाई त्रिगुणमयी प्रकृति पनि भनिन्छ । महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई  अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका  हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । 

  सत्वगुणमा आश्रित पार्वतीका शरीरबाट प्रकट भएकी शुम्भ नामक दैत्यको संहार गर्ने साक्षात्  देवी महासरस्वती हुन् । त्यस्ती देवीका आठ भुजा(हात) छन् । ती हातमा क्रमशः वाण, मुसल, शूल, चक्र, शंख, घण्ट, हल एवं धनुष विराजमान  रहेका छन् । 

नवदुर्गामा शैलपुत्री, ब्रह्मचारिणी, चद्र्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री पर्दछन् । यसैगरी देवीका अङ्गभूत छ देवी छन् ः नन्दा, रक्तदन्तिका, शाकम्भरी, दुर्गा, भीमा र भ्रामरी । रक्त वर्णकी देवीको वाहन बाघ हो । देवीका ब्राह्मी, माहेश्वरी, कौमारी, वैष्णवी, वाराही, नारसिंही, ऐन्द्री, शिवदूती तथा चामुण्डा यी नौ शक्ति हुन् ।

नवरात्र 

दशैँको पहिलो दिनलाई घटस्थापना भनिन्छ । यस दिन विधिपूर्वक कलश स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनासँगै भगवती देवीको पूजा आराधनाको पनि आरम्भ हुन्छ ।  दशैँको सुरुवातसँगै घरहरू रङ रोगन गरी सफा र सुन्दर बनाइन्छ । तेत्तिसकोटी देवताको आह्वान एवं पूजन हुने गर्दछ । प्रत्येक दिन देवीका भिन्ना भिन्नै रूपको पूजा आराधना हुने गर्दछ । शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालारात्री, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाको हरेक दिन पूजा अर्चना हुने गर्दछ । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि भगवतीको विशेष पूजा आराधना हुन्छ । सप्तमी अर्थात् फूलपातीका दिन विभिन्न प्रकारका पत्र  पुष्पादि घर घरमा भिœयाइन्छ । भगवतीको समीपमा राखिन्छ । यस दिन आठ वर्षीया कन्यालाई शाम्भवी नम सम्बोधन गरी विशेष पूजा पनि गरिन्छ । साथै यस दिन सरस्वतीको पनि विशेष पूजा हुने गर्दछ । नवपत्रिका अर्थात् नौ थरीका पत्र पुष्पादि(फूलपाती) घरका पूजा स्थापनामा भिœयाइन्छ । नवपत्रिकामा केरा, दारिम, धान, वेसार, मानक, कचु, वेल, अशोक र जमरा पर्दछन् ।


महाअष्टमीका दिन भद्रकाली देवीको विशेष पूजा अर्चना हुने गर्दछ । यस दिन सिंहपूजा, भगवती देवीको षडङ्गपूजा, शस्त्र पूजा पूर्वक नवदुर्गाको पूजा आराधना हुने गरिन्छ । विशेष बलि प्रदान पश्चात महाअष्टमीको पूजा आराधना समापन हुन्छ । महानवमीमा भगवती दुर्गा देवीको नवौँ दिनको विशेष पूजा आराधना हुने गर्दछ । यस दिन नव कन्या कुमारीको पूजा पश्चात भोजन गराउने चलन पनि रहेको छ । नवमीमा सिद्धिदात्री भगवतीको विशेष आराधना हुने गर्दछ ।

त्रेता युगका राजा श्रीरामले रावणलाई परास्त गरी सत्यको जित भएको आश्विन शुक्ल दशमी भएकाले पनि विजयको पर्वका रूपमा यो चाड मनाउने गरिन्छ । देवी माहात्म्य अनुसार असुरमाथि भगवती दुर्गादेवीले विजय गरेको दिन पनि यही दशमी तिथि भएकाले भगवतीका  चरित्रलीला श्रवण गर्दै यो पर्व मनाउने धार्मिक विधि विधान रहेको छ ।

  दशैँको विजया दशमी सबैभन्दा उत्कृष्ट दिन हो । यस दिन अपराजित जया विजयाको विशेष पूजा  गरिन्छ । भगवान श्रीरामले रावणमाथि विजय प्राप्त गरेको धार्मिक ऐतिहासिक प्रसङ्ग पाइन्छ ।  यस दिन हर्षोल्लास पूर्वक मान्यजनबाट आशीर्वाद स्वरूप भगवतीको टीका प्रसाद जमरा ग्रहण गर्ने शास्त्रीय विधान रहेको छ ।  यसैगरी ज्योतिषीय दृष्टिले पनि विजया दशमीको विशेष महŒव रहेको छ । विजया दशमीको दिनभरी नै शुभ साइत हुन्छ । कुनै विशेष समय जुराउनु पर्दैन । शुभ कार्यको आरम्भ गर्न पनि यो दिन उत्तम रहेको कुरा मुहूत्र्त चिन्तामणिमा उल्लेख छ । नवरात्रमा विशेष कामनाका साथ भगवती दुर्गादेवीको पाठ आराधना गर्ने पनि शास्त्रीय विधान रहेको छ । भक्ति भाव पूर्वक भगवती दुर्गा देवीको उपासना गरेमा इच्छित मनोकांक्षा पूरा हुने शास्त्रीय विधान छ । यसैगरी मनोकामना पूर्ण गर्नका लागि विभिन्न मन्त्रहरूद्वारा पुटित, सम्पुटित, पाठ, शतरुद्री आदि गर्ने विधान पनि शास्त्रमा उल्लेख पाइन्छ ।

आफूभन्दा ठुला मारुन्यजनबाट आशीर्वाद लिने क्रममा विशेष आशीर्वचन दिने पनि चलन रहिआएको    छ । 
आयुद्रोणसुतेश्रियं दशरथे शत्रुक्षयोराघवे ।
 ऐश्वर्यं नहुषे  गतिश्च पवने मानञ्च दुर्योधने । 
 शौर्यं शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते । 
विज्ञाने विदुरे भवोति भवतां कीर्तिश्च नारायणे ।।  
अर्थात् अश्वत्थामाको जस्तै लामो आयु होस्, राजा शरथको जस्तै श्रेय रहोस्, भगवान् रामका जस्तै शत्रु नाश हुन्, नहुष राजाको जस्तै ऐश्वर्य होस्, वायुको जस्तै गति होस्, दुर्योधनको जस्तो मान होस्, सन्तनुको जस्तो शौर्य होस्, सबैले गन्ने मान्ने हुनू, कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू, ज्ञान विज्ञानमा विदुर जस्तै नीतिवान र ज्ञानवान हुनू, भगवान नारायणको जस्तै यस कीर्ति सर्वत्र फैलियोस् भन्ने  भावना समेटिएको उक्त आशीर्वचनले धार्मिक एवं साँस्कृतिक दुवै पक्षलाई अबलम्बन गरेको छ । आयु, आरोग्य, ऐश्वर्यको शुभकामना आदान प्रदान गर्ने कार्य कोजाग्रत पूर्णिमाका दिनसम्म चलिरहन्छ । 
 

दुर्गासप्तशती

दुर्गासप्तशती दुर्गा देवीको महिमा गाथा हो । सप्तशतीका प्रंत्येक श्लोक मन्त्ररूप मानिन्छन् । असुर राक्षसी प्रवृत्तिको अन्त्य गरी समस्त लोकमा सुख शान्ति प्रदान गरेको प्रसङ्ग यहाँ वर्णन गरिएको छ । मार्कण्डेय पुराण अन्तर्गतको देवी माहात्म्य नै वास्तबमा दुर्गा सप्तशती हो । प्रथम अध्यायमा  भगवतीको महिमा सहित मधु र कैटभ नामका दैत्यको बध गरेको कथा छ । देवताको तेजबाट देवीको प्रादुर्भावका साथै महिषासुरका सेनाको बध प्रसङ्ग दोस्रो अध्यायमा वर्णन गरिएको छ  । तेस्रो अध्यायमा महिषसुरको बध,चौथो अध्याया इन्द्रादि देवताहरूद्वारा  देवीको स्तुति छ । पाँचँै अध्यायमा देवताद्वारा भगवतीको स्तुतिका साथै चण्ड र मुण्डबाट  अम्बिका देवीको प्रशंसा सुनी शुम्भद्वारा देवीलाई दूत पठाएको कथा छ । छैटाँै अध्यायमा  धुम्रलोचनको बध, सातौँ अध्यायमा चण्ड र मुण्डको बध,आठौँ अध्यायमा रक्तबीजको बध,नवौ अध्यायमा  निशुम्भ बध,दशौँ अध्यायमा शुम्भ बध,एघारौँ अध्यायमा देवताद्वारा दुर्गा देवीको स्तुति गान र भगवतीद्वारा देवतालाई वरदान को कथा छ । बाह्रौँ अध्यायमा देवी चरित्र   पाठ र श्रवणको महत्त्व वर्णन गरिएको छ ।   यसैगरी तेह्रौँ अध्यायमा सुरथ र वैश्यलाई देवीले वरदान दिएको कथा उल्लेख पाइन्छ । 

दुर्गा देवीको उपासना र फल

नवरात्रमा भगवती दुर्गा देवीको उपासना गर्ने गरिन्छ  । जगज्जननी माता दुर्गा देवीको उपासनाले  धर्म, अर्थ काम ,मोक्ष चार प्रकारका पुरुषार्थ सिद्धि प्राप्त हुन्छ । जुन कामना सहित भगवती देवीको उपासना ग¥यो सो पूरा हुने कुरा देवी कवचको यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् भन्ने श्लोकबाट पनि पुष्टि हुन आउँछ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं माहात्म्यको  कथा वेदव्यास रचित मार्कण्डेय पुराणमा उल्लेख छ ।  
देवीको पूजा गर्दा महालक्ष्मीलाई बीचमा राखी उनको दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका  पछाडि सरस्वतीका साथ ब्रह्माको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको  र महालक्ष्मीको वायाँ भागमा लक्ष्मी सहित विष्णुको पूजा गरिन्छ   ।   अठार भुजावाली महिषासुरमर्दिनी महालक्ष्मी नै विशेष रूपमा पूजनीय छन् । किनकी उनैलाई महाकाली महालक्ष्मी र महासरस्वती भनिएको हो भन्ने कुरा  सप्तशतीको वैकृतिक रहस्यमा उल्लेख पाइन्छ । ती महालक्ष्मी नै सम्पूर्ण लोककी माहेश्वरी हुन् । देवीको विशेष विधानपूर्वक पूजा गरिसकेपछि  देवीको ध्यानपूर्वक स्तुति गरी देवी माहात्म्यको पाठ गर्नु पर्दर्छ । पाठ पश्चात् सप्तशतीका मन्त्रले  हवन गर्नु पर्ने विधान वैकृतिक रहस्यमा उल्लेख छ ।


जसले एकाग्र चित्त भएर प्रतिदिन देवीको स्तुति गर्दछ उसका सारा बाधा निश्चय नै हटेर जानेछन् । अष्टमी, चतुर्दशी र नवमीमा देवीको विशेष स्तुति पाठ गर्नाले सारा पाप हट्नेछन् । देवी माहात्म्य सुन्नाले मात्रै पनि सवै प्रकारका भय नाश हुन्छन् । दुर्गा सप्तशती परं कल्याणकारी भएकाले  दुर्गा पाठद्वारा महामारी जनित समस्त उपद्रव तथा आध्यात्मिक, आधिभौतिक र आधिदैविक ताप नष्ट भएर जान्छन् भन्ने कुरा देवी माहात्म्यमा बताइएको छ । यसैगरी बलि दान,पूजा,होम तथा विभिन्न महोत्सवका अवसरमा देवीको पूजा पाठ एवं माहात्म्य श्रवण गर्नु भन्ने विधान पनि दुर्गा सप्तशतीमा पाइन्छ  (दुर्गा सप्तशती १२।१०) ।  यसै आधारलाई नै शिरोधार्य गरेर बडा दशँै मनाउने प्रचलन छ । शरद ऋतुको नवरात्रमा भक्तिपूर्वक दुर्गा देवीको उपासना एवं महात्म्य श्रवण गर्नाले सम्पूर्ण बाधाबाट मुक्त हुनुका सथै धन, धान्य, पुत्र पौत्रादि अभिवृद्धि हुन्छन् । खराब सपना देखे,ग्रह जनित भयंकर पीडा भए देवीको महात्म्य श्रवण गर्नु पर्दर्छ । विशेष गरी बालबालिकामा परेको ग्रहजन्य दोष पनि दुर्गासप्तशतीको पाठ आराधनाले नष्ट भएर जान्छ ।  देवी माहात्म्यको पाठ मात्र गर्नाले पनि भूत,प्रेत पिशाच आदि नष्ट भएर जान्छन्  ।  दुर्गादेवीको पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण  गर्नाले यो लोकको भुक्ति हुनुका साथै परलोकको मुक्ति पनि प्राप्त  हुने कुरा देवी माहात्म्यमा उल्लेख छ । 

  शरद कालीन नवरात्र र वसन्त कालीन नवरात्रमा देवीको उपासना गर्नाले अभीष्ट सिद्धि हुन्छ । यसैगरी गुप्त नवरात्रमा पनि देवीको स्तवन गरेमा मनोवाञ्छित फल प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । दुर्गा कवच, कीलक र अर्गला स्तोत्र नित्य पाठ गर्नाले पनि दुर्गा पाठ बराबरको फल पाइन्छ । समस्त पापबाट बँच्न देव्याथर्वशीर्ष पाठ गर्नु पर्दछ । यसैगरी मन्त्र सिद्धिका लागि कुञ्जिका स्तोत्र पाठ पनि नवरात्रमा गर्नु गराउनु उपयुक्त मानिन्छ ।

भगवती दुर्गामातको अनुकम्पाले हामी सबैमा सुख, शान्ति, समृद्धि र ऐश्वर्य प्राप्त होस्् । सबैका मनोकामना पूर्ण हुन् भन्दै समस्त नेपालीमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । 

 


No comments:

Post a Comment