श्राद्ध के हो ? किन गरिन्छ सोह्रश्राद्ध ? शास्त्रीय प्रमाण सहित हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 24, 2018

श्राद्ध के हो ? किन गरिन्छ सोह्रश्राद्ध ? शास्त्रीय प्रमाण सहित हेर्नुहोस्



नारायणप्रसाद निरौला
उपप्राध्यापक
नेपाल संस्कृत विश्वविद्यालय

श्राद्ध  भनेको के हो ? 

श्रद्धापूर्वक गरिने कार्य नै श्राद्ध हो । पितृहरूका लागि आफूलाई मीठो लाग्ने र खाइने वस्तु श्रद्धासाथ अर्पण गर्ने  कर्म वा पूजा विशेष  नै श्राद्ध हो । प्रेतं पितृंश्च निर्दिश्यभोज्यं यत्क्रिययात्मनः । श्रद्धया दीयते यत्र तच्छ्राद्धं  परिकीर्तितम् । भनी निर्णय सिन्धुले श्रद्धापूर्वक गरिने कार्यलाई श्राद्ध भनेको छ । पितृहरूका निम्ति शास्त्रले बताएको समय र स्थानमा पकाएको वा काँचो अन्न तथा सुन आदि द्रव्य विधिपूर्वक चढाउनु वा दान गर्नु नै श्राद्ध हो भनी  धर्मसिन्धुले पनि श्राद्धको व्याख्या गरेको छ ।  देशे काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।। अर्थात् श्रद्धाले विधिपूर्वक पितृहरूको उद्देश्य राखी विद्वान् ब्रह्मणलाई दान गर्नु पनि श्राद्ध नै हो ।   श्राद्ध गर्ने चलन सर्वप्रथम ब्रह्माबाट भएको हो । ब्रह्मा पश्चात् दत्तात्रेयका छोरा निमिले आफ्नो श्रीमान् नामक छोराको  परलोक हुँदा श्राद्ध गरेका थिए । त्यसपछि अन्य जनले श्राद्धगर्ने चलन चलाएको कुरा महाभारतको आदि पर्व(९१।५–१०)मा उल्लेख पाइन्छ । 

श्राद्ध थुप्रै प्रकारका छन्ः नित्यश्राद्ध, नैमित्तिक श्राद्ध, काम्य, सपिण्डी, वृद्धि, पार्वण, गोष्ठी, शुद्धि, कर्माङ्ग, तीर्थश्राद्ध आदि । यी मध्येको एक विशिष्ट श्राद्ध विधि महालय अर्थात् सोह्रश्राद्ध हो । महालय श्राद्धका छ वटा भेद रहेका छन् । तिथि निर्णय अनुसार  आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्म १६ दिन गरिने, आश्विन कृष्ण प्रतिपदादेखि औसीसम्म १५ दिन गरिने, पञ्चमी देखि चतुर्दशीलाई छोडेर औंसीसम्म दस दिन गरिने,अष्टमीदेखि चतुर्दशीलाई छोडेर औ‌ँशीसम्म सात दिन गरिने,दशमीदेखि चतुर्दशीलाई छोडेर औ‌ँशीसम्म पाँचदिन गरिने,चतुर्दशीलाई छोडेर मृततिथि एक मात्र तिथिका दिन गरिने गरी महालय श्राद्धका छ भेद बताइएको पाइन्छ ।   

पितृपक्ष वा सोह्र श्राद्ध 

आश्विन कृष्ण प्रतिपदादेखि अाैँशीसम्मका दिनहरूलाई पितृपक्ष भनिन्छ । पितृहरूको विशेष पर्व भएकाले पनि यो समयलाई पितृपक्ष भनिएको हो । एक पक्षमा पन्ध्र दिन हुन्छन् । तिनै पन्ध्र दिनमा  सोह्र तिथिका श्राद्ध गरिन्छन् ।  सोह्र ओटा तिथिका श्राद्ध गरिने भएकाले पनि यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । प्रतिपदादेखि औ‌ँशीसम्म पन्ध्र र पूर्णिमा तिथिको श्राद्ध गरी जम्मा सोह्रवटा श्राद्ध यस समयमा गरिन्छ । यसमा सौरदिनका गतेलाई महत्व दिइदैन । चान्द्रमासको  जुन तिथिमा आफ्ना पितृको स्वर्गारोहण भएको हो त्यही तिथिमा श्राद्ध गर्ने वैदिक विधि रहेको छ । 

 पितृपक्षलई पितृको विशेष दिनका रूपमा पनि चिनिन्छ । शास्त्रमा पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भागमा बताइएको छ । हाम्रो एक महिना बराबर पितृलोकमा एक अहोरात्र(दिनरात)हुन्छ । हाम्रो कृष्ण पक्ष हु“दा  दिन र शुक्लपक्ष हु“दा पितृलोकमा रात पर्ने गर्दछ  । यिनै आश्विन कृष्णपक्षका तिथिहरूलाई महालय पनि भनिन्छ । नभस्यापरे पक्षे यत्र कन्यां व्रजेद्रविः । स महालयसंज्ञः स्याद् गजच्छायाह्वयस्तथा ।।(आख्यान चन्द्रिका) अर्थात् आश्विन कृष्णपक्षलाई महालय भनिन्छ । यस अवसरमा महालय श्राद्ध गर्ने वैदिक विधान छ । जस अन्तर्गत आफ्ना पितृहरूको स्मरण स्वरूप श्रद्धाभक्तिपूर्वक सम्पूर्ण पितृलाई तर्पण, श्राद्ध गरिन्छ ।  
 आश्विन महिना पितृका निम्ति उत्तम समय हो । यस समयमा पितृले आफ्ना सन्ततिबाट जल पिण्डादिको अपेक्षा गरिरहेका हुन्छन् । 
कन्यागते सवितरि पितरोयान्ति वै सुतान् ।
शून्या प्रेतपुरी सर्वा यावद् वृश्चिकदर्शनम् ।।
ततो वृश्चिकसम्प्राप्तौ निराशाः पितरो गताः ।
ततः स्वभवनं यान्ति शापं दत्वा सुदारुणम् ।।  –स्मृतिकौस्तुभ 

कन्याराशिमा सूर्य प्रवेश गरेपछि वा आश्विनकृष्णपक्ष (पितृपक्ष) लागेपछि  सवै पितृहरू पितृलोक नै शून्य पारेर जलदान र पिण्डदानको आशाले आ–आफ्ना सन्तानका समीपमा जान्छन् ।  वृश्चिकराशिमा सूर्य प्रवेश नगरुञ्जेल  (मंसिर संक्रान्ति)सम्म पनि जलपिण्डको अपेक्षा गर्दै सन्तानको वरिपरि घुमिरहन्छन् । तबसम्म (सोह्रश्राद्ध देखि मार्गसङ्क्रान्ति सम्म) पनि योग्य सन्तानले जलदान र पिण्डदान गरेनन् भने पितृहरू निराश हुन्छन् र सन्तानलाई कठोर श्राप दिएर आफ्नो लोक फर्कन्छन् ।

पितृ हाम्रा इतिहास हुन् । हाम्रा पूर्वज जसले इहलोकको अथाह ज्ञानराशि हामीलाई अर्पण गरेर गएका छन् । जसको नित्य आशीर्वाद प्राप्तिका निम्ति पनि श्राद्ध अपरिहार्य छ । यो संसार नै पितृको प्रसाद हो । जसको श्रद्धा भक्तिपूर्वक आराधना गर्नाले सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मन्यता रहेको छ ।  पितृहरूलाई स्मरण गर्ने विश्वमा भिन्ना भिन्नै चलन छन् । ती मध्ये सर्वप्राचीन पद्धति वैदिक विधि हो ।


श्राद्धमा कस्ता कुराको विशेष ख्याल गर्नुपर्छ ? 

श्राद्ध गर्ने स्थान शुद्ध र पवित्र हुनु पर्ने पनि शास्त्रीय विधान पाइन्छ । यसैगरी देवतालाई स्वाहा पूर्वक वस्तु अर्पण गरिन्छ भने पितृलाई स्वधाको वचन प्रयोग गरिन्छ । यसैगरी देवकार्यमा भावको प्रधानता हुन्छ भने पितृकार्यमा वचनको प्रधानता रहने गर्दछ । त्यसैले पितृकार्यका निम्ति वचनमा विशेष ख्याल राख्नुपर्ने शास्त्रीय मान्यता छ । 
अक्ष्ययासनयोः षष्ठी द्वितीयावाहने तथा । 
अन्नदाने चतुर्थी स्यात् शेषा सम्बुद्धयस्मृता ।। 
अर्थात् पितृलाई अक्षयोदक र आसन प्रदान गर्दा षष्ठी विभक्तिको प्रयोग गर्नु पर्दछ । यसैगरी  पितृलाई आवाहन गर्दा द्वितीया विभक्तिको प्रयोग गरिन्छ । अन्नदान अर्थात् सिदा दान गर्दा चतुर्थी विभक्तिको प्रयोग गरिन्छ भने अन्य कार्यमा सम्बोधनको प्रयोग गर्नुपर्ने शास्त्रमा बताइएको छ । 
 

पितृको स्थान कहाँ हुन्छ ?

ज्योतिष शास्त्रका अनुसार पनि पितृको निवासस्थान चन्द्रमाको माथिल्लो भाग हो । विधूध्र्वभागे पितरोवसन्तः स्वाधः सुधादीधितमामनन्ति । पश्यन्ति तेऽर्कं निजमस्तकोध्र्वे दर्शे यतोऽस्माद्द्युदलं तदैषाम् ।।(सिद्धान्तशिरोमणि,२४।१३)  अर्थात् चन्द्रमाको माथिल्लो भागमा पितृहरूको निवासस्थान छ । हाम्रो एक चान्द्र महिना बराबर पितृको एक दिन हुन्छ । हाम्रो वर्ष दिन बराबर पितृको वाह्र दिन हुन आउ“छ । पितृपक्ष कृष्णपक्षमै रहनुको कारण पनि यही नै हो । पृथ्वी वासीलाई कृृष्णपक्ष हु“दा पितृनिवासस्थान(चन्द्रमाको माथिल्लो भाग)मा झलमल्ल दिन हुन्छ । हाम्रो शुुक्लपक्षमा पितृहरूको रात  हुन्छ । जब कृष्ण पक्ष लाग्छ अनि पितृहरू जागा हुन्छन् र पृथ्व्ीवासीले अर्पण गरेका तोय पिण्डादि वस्तु  प्राप्त गर्दछन् र त्यही भोजन गरी तृप्त हुन्छन् भन्ने वैदिक विधान रहिआएको छ । 


सोह्रश्राद्ध कुन तिथिमा गर्ने ? थुनछेक भए के गर्ने ?

पितृपक्षमा महालय श्राद्ध गरिन्छ । यो श्राद्ध पद्धतिको विशेष विधान हो । यस अन्तर्गत विश्वेदेव ब्राह्मण र पितृब्र्राह्मण छुट्टाछुट्टै स्थापना गरेर पूजा अर्चन गरिन्छ । पिताको तिथिमा महालय श्राद्ध गर्ने विधान छ । यदि पिताको तिथि कारण वश वितिसकेको छ भने पितामह अर्थात हजुरबुबाको तिथिमा र यदि हजुरबुबाको तिथि पनि छुट्यो भने बुढाहजुरबुबाको तिथिमा श्राद्ध गर्नु पर्दछ । यदि यी तिनबटै तिथि छुटे भने एकादशी तिथिमा श्राद्ध गरिन्छ । एकादशी तिथि पनि छुटे औ‌ँशी र पितृपक्षको औ‌ँशी पनि छुटे वा थुनिए गाइतिहारे औसीमा पितृश्राद्ध गर्ने विधान रहेको पाइन्छ । यसैगरी अकालमा दुर्घटनाबाट मृत्यु भएकाको श्राद्ध भने चतुर्दशीमा गरिन्छ । पितृपक्ष र औशी तिथिमा मृत्यु हुनेहरूको एकपार्वण विधिले श्राद्ध गर्नु पर्दछ भनी याज्ञवल्क्यस्मृतिको आचाराध्यायमा उल्लेख छ ।

विश्वेदेवको महिमा

महालय श्राद्धमा विश्वेदवको पनि आह्वान पूजन हुने गर्दछ । दक्षकी पुत्री विश्वाका गर्भबाट उत्पन्न  दश देवताको एक गण नै विश्वेदेवहरू हुन् । भिन्न भिन्न श्राद्धमा यिनको भिन्न भिन्न नामले  पूजा हुन्छ ।
इष्टिश्राद्धे क्रतूदक्षौ सत्यौ नान्दीमुखे वसू ।
 नैमित्तिके कामकालौ काम्ये च धूरिलोचनौ ।। 
पुरुरवाद्र्रवौ चैव पार्वणे समुदाहृतौ । (निर्णयसिन्धु) 
अर्थात् इष्टि श्राद्धमा क्रतु र दक्ष, वृद्धि श्राद्धमा सत्य र वसु, नैमित्तिक श्राद्धमा काम र काल, काम्य श्राद्धमा धूरि र लोचन, पार्वणश्राद्धमा पुरुरव र आद्र्रव नाम गरेका विश्वेदेवको पूजा गरिन्छ ।  वसु, रुद्र र आदित्य पितृश्राद्धका देवता हुन् (वसुरुद्रादितिसुता पितरः श्राद्धदेवताः) भनी याज्ञवल्क्य स्मृतिमा उल्लेख गरिएको छ । अर्थात्  पितृ तह(बुबा/आमा) वसुसंज्ञक, पितामह(हजुरबुबा/हजुरआमा)तह रुद्रसंज्ञक र प्रपितामह तह(बुढा हजुरबुबा/बुढी हजुरआमा) आदित्यसंज्ञक पितृका नामले सम्बोधन गरिन्छन् ।  यसैगरी मावली हजुबुबा/हजुरआमा वसु, बुढा हजुरबुबा/हजुआमा रुद्र र कुप्राहजुरबुबा/हजुरआमा  आदित्यसंज्ञक पितृ मानिन्छन् । 

पितृका पनि देवता रहेका छन् । ब्रह्माका पुत्र मध्ये स्वर्गमा रहने सात देवता पितृदेवगण हुन् । यी मध्ये चार  सुकाल, अंगिरस,सुस्वधार सोमपा मूर्तिमान(मूर्त) पितृदेव हुन् । अमूर्त देवतमा वैराज,अग्निष्वात्त र वर्हिखद पर्दछन् । नाम गोत्रको उच्चारण गर्दै स्वर्गीय पितृहरूको आराधना गरेमा यी पितृहरूले  स्वर्गमा गएका आफ्ना बाबुआमा आदिलाई तृप्त गराउछन् भन्ने कुरा हरिवंश पुराणमा उल्लेख पाइन्छ । पितृका राजा भने यमराज हुन् । 

पूर्णिमा र चतुर्दशीमा देहावसान भएकाको महालय श्राद्ध निर्णय  

चतुर्दशी र पूर्णिमामा देहावसान हुनेको महालयश्राद्ध सो तिथिमा नगरी अष्टमी,  द्वादशी  या औंशीमा गर्नुपर्दछ । अस्त्र शस्त्र, दुर्घटना आदिबाट अकालमा देहावसान भएका व्यक्तिको मात्रै चतुर्दशीमा महालयश्राद्ध गर्नू भनी धर्मसिन्धुमा उल्लेख पाइन्छः
चतुर्दश्यां मृतस्यापि महालयश्चतुर्दश्यां न भवति ।
श्राद्धं शस्त्रहतस्यैव चतुर्दश्यां प्रकीर्तितम्  ।। 
इति नियमेन सर्वतो बलिष्ठेन प्रतिवार्षिकश्राद्धातिरिक्तश्राद्धस्य चतुर्दश्यां निषेधात् । एवं पौर्णमासीमृतस्यापि महालयः पौर्णमास्यां न कार्यः । अपरपक्षत्वाभावेन तस्यां महालयाप्राप्तेः । तेन चतुर्दशीमृतस्य , पौर्णमासीमृतस्य वा महालयो द्वादस्यमावास्यादितिथिषु कार्यः । धर्मसिन्धु 
कालगतिले चतुर्दशी, पूर्णिमामा देहावसान भएकाको श्राद्ध चतुर्दशी तिथिमा नगरेर अष्टमी,  द्वादशी  या औंशीमा गर्नुपर्दछ । 

छुट्टिएकाले वा अंशबण्डा भएका छोराहरूले सोह्रश्राद्ध कसरी गर्ने ?


एकाघर सगोलमा कोही पनि नछुट्टिएका भए एकै ठाँउमा एउटै श्राद्ध गर्दा हुन्छ । तर अंश वण्डा गरी  छुट्टिएका दाजुभाईले काजकिरिया वाहेकका अन्य श्राद्धादि कर्म छुट्टाछुट्टै गर्नुपर्छ । 
विभक्तैस्तु पृथक्कार्यम् प्रति सम्वत्सरादिकम् ।
एकेनैवाविभक्तेषु कृते सर्वैस्तु तत्कृतम्  ।। सम्वत्सरात्पूर्वाणि मासिकान्येकत्रैव । - निर्णयसिन्धु
       छुट्टिएका दाजुभाइले पितामाताको देहावसानपछि वर्षदिन भित्रका दशगात्रादि कर्म र मासिक श्राद्ध एकैठाँउमा गर्नुपर्छ, वार्षिक पछिका श्राद्धहरू छुट्टा छुट्टै गनुपर्ने व्यवस्था धर्मसिन्धुले गरेको पाइन्छ । 

श्राद्धमा ग्रहय  र त्याज्य पुष्प –

सबै फूल पितृलाई ग्राह्य हुँदनन् ।  पितृलाई फूल चढाउँदा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ । 
शुक्लाः सुमनसः श्रेष्ठास्तथा पद्मोत्पलानि च । गन्धरूपोपपन्नानि यानि चान्यानि कृत्स्नशः । 
अगस्त्यं भृङ्गिराजं च तुलसी शतपत्रिका । चम्पकं तिलपुष्पं च षडेते पितृवल्लभाः ।। (निर्णयसिन्धुमा स्मृतिसारको वचन) अर्थात् सबै सुगन्धित सेता फूल, कमल, तुलसी, भृङ्गिराज, अगस्त्यपुष्प, सयपत्री, चम्पा, तिलपुष्प पितृलाई प्रिय हुन्छन् ।

यसैगरी पितृका निम्ति निषेध गरिएका फूलहरू पनि छन् । जसको अर्पणले पितृहरू रुष्ट हुन्छन् । जस अन्तर्गत कदमको फूल, वेलपत्र, केतकी, बकुल्लो बर्बरी, काला रंगका फूल श्राद्धमा अर्पण नगर्नू भनिएको छ – कदम्बं विल्वपत्रं च केतकी बकुलं तथा । बर्बरी कृष्णपुष्पाणि श्राद्धकाले न दापयेत् । 
उग्रगन्धीन्यगन्धीनि चैत्यवृक्षोद्भवानि  च । पुष्पाणि वर्जनीयानि रक्तवर्णानि यानि च ।। (शंखस्मृति, मत्स्यपुराण, ब्रह्माण्डपुराण, श्राद्धप्रकाश)  यसैगरी अन्तयन्त गन्ध आउने, चैत्यवृक्ष र राता फूलहरू पनि श्राद्धमा वर्जित रहन्छन् । 

निष्कर्ष

पितृदेवो भवः(कठोपनिषद्)अर्थात् पितृ हाम्रा देवता हुन् । पितृको सम्मान गर्न सकियो भने मात्र हाम्रो कल्याण सम्भव छ । आजको सुनौलो वर्तमान दिने र इह लोकमा बा“च्न सिकाउने पितृहरू हाम्रा धरोहर हुन् । इतिहास भूतकालीन भए पनि भविष्यलाई डोहो¥याइरहेको हुन्छ । आजको पितृ सम्मान नै भोलिको सुन्दर भविष्य हो । पुर्खा हाम्रा मार्गदर्शक हुन् । तिनै ऋषिहरूको मार्गदर्शनले आज ज्ञान विज्ञानको विकास भइरहेको छ । अतः मानव कल्याणका निम्ति पनि पितृप्रति श्रद्धा भाव र सम्मान व्यक्त गर्नु आवश्यक छ । 



No comments:

Post a Comment