को हुन् विश्वकर्मा ? किन गरिन्छ विश्वकर्माको पूजा ? हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Sep 16, 2018

को हुन् विश्वकर्मा ? किन गरिन्छ विश्वकर्माको पूजा ? हेर्नुहोस्



उपप्रा. नारायणप्रसाद निरौला 
ज्योतिषाचार्य, वास्तुविद् 
संसारलाई प्रविधिको पाटो सिकाउने आद्य गुरु विश्वकर्मा हुन् । आजका भौतिक उपलब्धी विश्वकर्माकै देन हुन् । भौतिक वस्तुको विन्यास, वस्तु अवस्थितिको अनुकूलन एवं निर्माण र कलाका आद्य प्रतमिूर्ति विश्वकर्मा भएकाले उनको विशेष पूजा आराधना गरिएको हो ।  आजका मोवाइल, यान्त्रिक उपकरण एवं वायुयान पनि उनकै परिकल्पना हुन् । संसारलाई प्रविधिको बाटोमा अभिप्रेरित गर्ने विश्वकर्मा स्वर्गका भव्य महलका रचनाकार हुन् । चित्र विचित्रका वस्तु निर्माणमा उनको विशेष देन रहेको छ ।  विश्वको वस्तुस्थितिलाई वनाउने शील्पज्ञ भएकाले उनको नाम विश्वकर्मा रहेको हो । 

आजको यान्त्रिक युगका पिता विश्वकर्मा हुन् । त्यसैले आश्विन संक्रान्तिका दिन अर्थात् असोज १ गते यिनै ब्रह्माका सन्तति  विश्वकर्माको विशेष पूजा आराधना हुने गर्दछ । विश्वकर्मालाई देवशिल्पीको उपनाम पनि दिइएको छ । शरदऋतु आरम्भको पहिलो दिन विश्वकर्माको विशेष पूजा आराधनाका गरिन्छ । 
 पौराणिक कथा अनुसार देवशिल्पी विश्वकर्माले पृथ्वीमा पनि सुन्दर शहर एवं भवन निर्माण गरेको कथा पाइन्छ । सुनको लङ्कापुरी, भववान् श्रीकृष्णको द्वारका पुरी, पाण्डवका निम्ति हस्तिनापुरमा सुदामा नगरी पनि विश्वकर्माले नै रचना गरेका थिए । विश्वकर्माकै हातवबाट जगन्नानथस्थित काठको मूर्ति उनकै कला कौशल हो । सत्ययुगको स्वर्ग लोक, त्रेतायुगको स्वर्णमयी लंका, द्वापर युगको द्वारका र कलि युगको हस्तिनापुर स्वयं विश्वकर्माले नै निर्माण गरेका थिए । 

शेष शैयामा शयन गर्नु भएका विष्णु भगवान्को नाभिकमलबाट ब्रह्माको उत्पत्ति हुन्छ । ब्रह्माका पुत्र धर्म, धर्मका पुत्र वास्तुदेव, वास्तुदेव र अंगिरसीका पुत्रका रूपमा विश्वकर्माको जन्म भएको हो । विश्वर्माका पिता वास्तु शील्पमा निपूण भएकाले उनमा पनि सो ज्ञान भएको पाइन्छ । विश्वकर्माका अनेक रूप पाइन्छन् ।  
द्वौ प्रोक्तौ विश्वकर्माणो मयस्त्वष्टा च योगवित् । 
द्वौ धाता च विधाता च पौराणौ जगतः पती ।। (अग्निपुराण, गणभेद नामाध्याय)  
विशेषतः मय र त्वष्टालाई विश्वर्मा भनिएको पाइन्छ । यी दुवै सृष्टि र नयाँ युगको आविष्कर्ता हुन् । यसैगरी अन्य विश्वकर्मामा–
धर्मवंशी विश्वकर्मा :  शिल्प विज्ञान विधाता अर्थात् (प्रभात पुत्र)
अंगिरावंशी विश्वकर्माः  आदि विज्ञान विधाता (वसु पुत्र)
सुधन्वा विश्वकर्माः  विज्ञानका जन्मदाता  (अथर्वा ऋषिका नाति) 
भृंगुवंशी विश्वकर्माः उत्कृष्ट शिल्प विज्ञानाचार्य (शुक्राचार्यका नाति) । 

कर्म अनुसार विश्वकर्माका स्वरूप पनि रहेको पाइन्छ । उनका मनु, मय, त्वष्टा, शील्पी, एवं दैवज्ञ गरी पाँच पुत्र थिए ।  छोराहरू नाम अनुसारका काममा पनि निपूण रहेको पाइन्छ ।  मनु फलामसँग सम्बन्धित, मय कष्ठकलाका ज्ञाता, त्वष्टा  काँस  र तामासँग सम्बबन्धित वस्तुका ज्ञाता थिए । यसैगरी शिल्पी ढुङ्गा इटाको कार्यमा र दैवज्ञ सुन चाँदीका कार्य कालमा निपूण रहेको पाइन्छ । 
असोज १ गतेका दिन यन्त्र उपकरण, गाडी, फ्याक्ट्री, फलाम आदि वस्तु सहित विश्वकर्माको पूजा हुने गर्दछ ।  विश्वकर्मा देवताद्वारा पनि पूजित थिए । वेद उपनिषद्मा पनि उनको विशेष चर्चा पाइन्छ । पुष्पक विमान, कर्णको कुण्डल, विष्णु भगवान्को सुदर्शन चक्र, शंकर भगवान्को त्रिशूल, यमराजको कालदण्ड आदि थुप्रै महत्त्वपूर्ण वस्तु  विश्वकर्माले निर्माण गरेको इतिहास पाइन्छ ।  


हाम्रो धर्म शास्त्रमा  विश्वकर्माका पाँच स्वरूप र अवतार पाइन्छन् :  विराट विश्वकर्मा, धर्मवंशी विश्वकर्मा, अंगिरावंशी विश्वकर्मा, सुधन्वा विश्वकर्म र भृंगुवंशी विश्वकर्मा ।  विश्वकर्माका जेठा छोरा मनु थिए । मनुको अंगिरा ऋषिकी पुत्री कञ्चनासँग विवाह भएको थियो । मनुले मानव सृष्टिको निर्माण गरेका थिए । यिनका कुलमा  अग्निगर्भ, सर्वतोमुख, ब्रह्म आदि ऋषि उत्पन्नभएको कुरा पुराणमा वर्णन पाइन्छ । 
विष्णु पुराणमा देवताका पनि देवताको संज्ञा विश्वकर्मालाई दिइएको छ ।
 बृहस्पतेस्तु भगिनी  वरस्त्री ब्रह्मचारिणी ।। 
योगसिद्धाजगत्कृत्नमसक्ता विचरत्युत ।। 
प्रभासस्य तु भार्या सा  वसूनामष्टमस्य तु । 
विश्वकम्र्मामहाभागस्तस्यां जज्ञे महामतिः । 
कर्ता शिल्पसहस्राणां  त्रिदशानाञ्च वद्र्धकिः । 
भूषणानाञ्च सर्वेषां  कर्ता शिल्पवतां वरः ।। 
यः सर्वेषां विमानानि देवतानां चकार ह । 
मनुष्याश्चोपजीवन्ति  यस्य शिल्पं महात्मनः ।। (विष्णुपुराण, १५ अध्याय) 
महर्षि अंगिराका  ज्येष्ठ पुत्र बृहस्पतिकी बहिनी भुवना जो ब्रह्मविद्या जान्ने थिइन् । पछि उनी अष्टवसु महर्षि प्रभासकी पत्नी बनिन् । उनले सम्पूर्ण शिल्प विद्याका  ज्ञाता प्रजापति विश्वकर्मालाई जन्म दिइन् । उनै विश्वकर्माले देवताका निम्ति विभिन्न प्रकारका विमान पनि निर्माण गरेका थिए । मान्छे पनि उनकै शील्पको उपयोग गरेर आफ्नो जीविको पार्जन गर्दछन् भनिएको छ ।

 विश्वकर्मा सर्वत्र ख्याति कमाएका देवता थिए । उनको वेद एवं पुराणले पनि महिमागान गरेको पाइन्छ । उनलाई प्रजापति पनि भनिन्छ । 
विश्वकम्र्मा प्रभासस्य पुत्रः शिल्पप्रजापतिः । 
प्रसादभवनोद्यानप्रतिमाभूषणादिषु ।
तडागारामकूपेषु स्मृतः सोऽमरवद्र्धकिः ।। (मत्स्यपुराण ५ अध्याय) 
प्रत्यूषस्य विदुः पुत्रमृषिं नाम्ना तु देवलम् । 
विश्वकम्र्मा प्रभासस्य विख्यातो देववद्धृकिः ।। (गरुडपुराण, ५ अध्याय)  
विश्वकर्मालाई ऋषिको संज्ञा पनि दिइएको छ । शिल्पका ज्ञाता विश्वकर्माको ‘विश्वकर्मा प्रकाश’ अद्भूत शील्प सज्जित ग्रन्थ हो । यसलाई वास्तुतन्त्र पनि भनिन्छ । जसमा मानव र देववास्तु विद्याका थुप्रै गणितीय सूत्रोपपत्ति पाउन सकिन्छ । 

 धेरै विद्वान विश्वकर्मा नामलाई  एक उपाधि मान्दछन् ।  संस्कृत साहित्यमा पनि  थुप्रै विश्वकर्माको उल्लेख पाइन्छ । केही विद्वान्  अंगिरा पुत्र सुधन्वालाई  आदि विश्वकर्मा मान्दछन् भने केही  भुवन पुत्र भौवन विश्वकर्मालाई  आदि मान्दछन् । ऋग्वेदमा विश्वकर्मा सूक्तको वर्णन छ ।  यही सूक्तलाई यजुर्वेदको १७ अध्यायको १६–३१  मन्त्रमा उल्लेख गरिएको छ ।  ऋग्वेदमा  विश्वकर्मा शब्द इन्द्र र सूर्य को  विशेषण बनेर प्रयुक्त भएका छन् । 
विवाहादिषु यज्ञेषु गृहारामविधायके ।
सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम् ।। 
विश्वकर्मा पनि तेत्तिस कोटि देवता मध्ये एक हुन् । त्यसैले विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान्  विश्वकर्माको पूजा आराधना गर्नुपर्दछ । विश्वकर्माको पूजा आराधना गर्नाले कार्यमा सफलता मिल्ने कुरा शास्त्रमा बताइएको छ । चरक संहितामा पनि विश्वकर्माको गुणगान गाइएको पाइन्छ । 

विश्वकर्मा प्रविधिका प्रणेता संसार निर्माणका इञ्जिनियर हुन् । उनको पूजन गर्नाले यन्त्र प्रविधिजन्य कार्यमा सफल बन्न सकिन्छ । आजको विज्ञानका पिता पनि स्वयं विश्वकर्मा नै हुन् । पुष्पक विमान उनकै देन हो । स्वर्गको अलकापुरी, मत्र्यको लंका एवं जगन्नाथपुरी उनकै सुन्दर सृजना हुन् । 

अजोस १ गतेका दिन विश्वकर्माको भव्य पूजा आराधना हुने गर्दछ । विश्वकर्माको पूजा गर्नाले यान्त्रिक कार्यमा सहजताका साथै उन्नति प्रगति पनि हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । आजका यन्त्र उपकरण हिजोका तुलनामा केही होइनन् । मनले सोचे अनुसार हिँड्नसक्ने पुष्पक विमान हजारौँ वर्ष पहिले विश्वकर्माले निर्माण गरिसकेका थिए । हातमा हेरेर संसार जान्न सक्ने युग आज भन्दा हजारौ वर्ष पहिले पनि विद्यमान थियो । सोही ज्ञानको नै आज खोज भइरहेको छ त्यसैले यस्ता  विशिष्ट ज्ञानका पिता विश्वकर्मा सदा पूजनीय छन् । 

No comments:

Post a Comment