उपप्रा.नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ । महिला विशेषले विधिपूर्वक स्नान गरी अरुन्धती सहित सप्तर्षिको पूजा यस दिन गर्ने विधान रहेको छ । सप्तर्षिको विशेष पूजा आराधना गरिने पञ्चमी तिथिको दिन भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो । शारीरिक एवं आत्मिक रूपमा पवित्र रही आयु आरोग्य र ऐश्वर्यको कामना यस पर्वको मुख्य विशेषता हुन् । यसैगरीे वर्ष दिनसम्म भए गरेका ज्ञात अज्ञात स्पर्श, भक्ष्य, आदि दोषबाट निवृत्त हुन पञ्चमीको स्नान एवं अरुन्धतीसहित सप्तर्षिको पूजा अर्चना गर्ने गरिन्छ ।
यो नारी विशेषको पर्व हो । विशेष गरी रजस्वला हुने नारीहरूले यस दिन विशेष स्नान गरी ज्ञात अज्ञात स्पृश्यापृश्य(नछुने कुरा छुँदाको), भक्षाभक्ष(नखाने कुरा खाएको)आदि दोषहरूको प्रायश्चित्त गर्ने शास्त्रीय विधान छ । पञ्चमीका दिन विहान नदी वा तलाउमा गई पूर्वाभिमुख भएर ३६० अपामार्गले दाँत माझ्नु पर्दछ । यसपछि तिनसय साठी पटम शरीरमा माटो लेपन गरी स्नान गरिन्छ । यसरी स्नान गरेपछि ३६० अपामार्गले जल अभिषेचन गर्नु पर्दछ । स्नान पश्चात् पूजास्थानमा आई पञ्चगव्य प्राशन पूर्वक दीपकलश गणेश स्थापना गरी अरुन्धती सहित कश्यादि सप्तर्षि(कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ)को षोडशोचारले पूजा हुने गर्दछ । सप्तर्षिको स्थापना गर्दा कुशका ऋषि प्रतिमा बनाइन्छन् । यसरी पूजा गरेपछि ३६० तिल, जौ, अक्षता, पुुष्प, दीप सहितका गनौट अर्पण गरिन्छ । गनौट अर्पण पश्चात् भूमिमा पाउ घिसार्दै सप्तर्षिको प्रदक्षिणा गरिन्छ । यसरी प्रदक्षिणा गरिसकेपछि पूर्णपात्र दान सहित विसर्जन गर्ने विधान शास्त्रमा उल्लेख रहेको छ ।
पूजा पश्चात् भजन कीर्तन सिलोक आदि गाउने प्रचलन पनि विद्यमान रहेको पाइन्छ । पञ्चमी पूजा गर्नाले वर्ष दिनसम्म भएका ज्ञात अज्ञात, स्पृश्यास्पृश्य, भोज्याभोज्य आदि दोषबाट निवृत्ति मिल्ने कुरा धर्मशास्त्रमा उल्लेख पाइन्छ । तीन सय पैसठ्ठी वटा वस्तुको प्रयोग गर्नुको तात्पर्य एक वर्षमा ३६५ दिन हुन्छन् । प्रत्येक दिन भएका ज्ञात अज्ञात दोषबाट निवृत्तिका लागि तीनसय साठीवटा वस्तुको प्रयोग गरिएको हो । पुरुषले ऋषितर्पणीका दिन यसैगरी स्नान पूर्वक सप्तर्षि पूजा गर्ने विधान रहेको छ । जुन जनै पूर्णमाका दिन हरेक वर्ष सम्पन्न हुँने गर्दछ । पुरुषले स्नान पूजनादि गरेको ठीक एक महिना पछि महिलाहरूले स्नान गरी सप्तर्षि पूजा गर्ने दिन ऋषिपञ्चमी आउने गर्दछ ।
पुराणमा बताएको कथा अनुसार इन्द्रले अपमान गरेपछि देवगुरु वृहस्पति रिसाई इन्द्रयज्ञ छोडेर कतै हराउछन् । इन्द्रको यज्ञ अपूर्ण हुने अवस्था आउँछ । त्रिशिरालाई यज्ञाचार्य बनाइन्छ । इन्द्रको यज्ञमा दैत्यगुरु त्रिशिराले दैत्यलाई पनि यज्ञको आहुति प्रदान गर्छन् । यस्तो कुरा थाह पाए पछि इन्द्रलाई रीस उठ्छ र त्रिशिराको त्यहीँ इन्द्रले हत्या गरिदिन्छन् । त्रिशिरा ब्राह्मणको हत्या गरेकाले इन्द्रलाई ब्रह्म हत्याको पाप लाग्छ । उक्त पापको प्रायश्चित्त गर्न इन्द्रले भगवानको प्रार्थना गर्दछन् । भगवानद्वारा नारी, पानीको फिँज, जमिन र वृक्षमा प्रदान गरी एक एक भाग विभाजन गरी उक्त श्रापको विमोचन हुन्छ । सोही मध्येको एक श्राप नारीमा पनि परेकाले नारीमा रजोवृत्ति भएको र उक्त दोषबाट निवृत्तिका निम्ति पनि स्नान एवं सप्तर्षि पूजन गरिएको हो ।
ऋषि भनेका वैदिक मन्त्र देख्ने वा देखाउने पुरुष हुन् । हाम्रा अग्रज मार्गदर्शकका रूपमा पनि ऋषिको विशेष पूजा अर्चना हुने गर्दछ । ऋषि पनि सात थरीका हुन्छन् ऋषि, महर्षि, परमर्षि, देवर्षि, ब्रह्मर्षि, काण्डर्षि र श्रुतर्षि । ऋष् धातुको गमन, ज्ञान, श्रवण, सत्य र तप अर्थमा प्रयोग हुन्छ । यी सबै गुण जसमा एकैसाथ निश्चित् रूपले रहन्छ त्यस्ता पुरुषलाई ऋषि भनिन्छ ।
ऋषाीत्येष गतौ धातुः श्रुतौ सत्ये तपस्य च । एतत्संनियतं यस्मिन् ब्राह्मणः स ऋषिः स्मृतः ।। गत्यर्थादृषतेर्धातोर्नाम निवृत्तिरादितः । यस्मादेष स्वयम्भूतस्तस्माच्च ऋषिता स्मृता ।। (वायुपुराण, ५९÷७९–८१)
मन्वन्तर अनुसार सप्तर्षि पनि छुट्टा टुट्टै हुने गर्दछन् । वर्तमानमा वैवश्वत मन्वन्तर चलिरहेको छ । त्यसैले यस मन्वन्तरका सप्तर्षिमा कश्यप, अत्रि, वशिष्ठ, र्गौतम, भरद्वाज, विश्वामित्र र जमदग्नि पर्दछन् । आकाशमा धु्रवताराको वरिपरि घुम्ने सात तारालाई सप्तर्षि तारा भनिन्छ ।
व्रतकथा –
एकादेशमा शिवशर्मा र ओमवती नामका ब्राह्मण ब्राह्मणी थिए । उनीहरूको पेशा कृषि कर्म थियो । छोरा पनि हुर्किएर ठुलै भएको थियो । ब्राह्मणीलाई रजश्वला दोषबारे केही पनि ज्ञान थिएन । उनी त्यसको केही वास्ता पनि गर्दिन थिइन् । तिथि पर्व वार्ने कुरा त झनै परको कुरा भयो । यस्तै अज्ञानमै उनीहरूको जीवनलीला सकियो ।
अर्को जन्ममा ती दुवै ब्राह्मण ब्राह्मणीको त्यही घरमा गोरु र कुकुर्नीका रूपमा जन्म भयो । औँशीका दिन पितृ श्राद्ध गर्नु पर्ने थियो । बारीको बाँझो मारेर श्राद्ध गर्नु पर्ला भनी छोरो बारी जौत्न गोरु लिएर गयो । गोरु नारेर जोत्न लाग्दा एउटा गोरुले हलो तान्न नसकी त्यहीँ थला प¥यो । छोरालाई झनै रीस उठ्यो र गोरुलाई झनै थला पर्ने गरी लट्ठीले पिट्यो । यता घरमा श्राद्धको खीर पकाएर बुहारी बारीतिर गएकी थिईन् । खीरमा सर्पले विष छोडेर गयो । कुकुर्नीले सर्प भगाएर बचाउन खोज्दा बुहारी पनि त्यही आइपुगिन् र खीर छोएको निहुमा कुकुर्नीलाई थला पर्ने गरी पिटिन् । कुकुर्नी हर भँचिएर शक्त घाइते भई ।
बेलुका दुवै गोरु र कुकुर्नीको भेट भयो । दुवैले पूर्वजन्मको स्मरण गरे । आफूले दुःख पाएकोमा खेद व्यक्त गर्दै यस्तै कर्मको भोग रहेछ भन्न थाले । ती गोरु र कुकुर्नीको वार्ता छोराले पनि सुनेछ । आफूले गल्ती गरेकोमा पश्चाताप गर्दै पितृको उद्धारका निम्ति उपाय खोज्न छोरो अगस्ति ऋषिकहाँ पुगेर सारा वृत्तान्त बताउँछ । अगस्ति ऋषिले पञ्चमीको व्रत लिई अरुन्धती सहित पञ्चमीको पूजा गर्न आदेश दिन्छन् । सोही अनुसार पञ्चमीको व्रत पूजा विधि विधान पूर्वक गरेपछि शिवशर्मा र ओमवतीलाई मुक्ति मिलेको थियो ।
ऋषिपञ्चमीको धार्मिक एवं साँस्कृतिक दुवै महिमा रहिआएको पाइन्छ । धर्मसँगै संस्कृति जोडिएर हाम्रो छुट्टै पहिचान बनेको छ । सप्तर्षि सात लोकका पनि प्रतीक हुन् । बार पनि सातवटै छन् । यिनै सात बारमा भए गरेका ज्ञात अज्ञात दोषको प्रायश्चित्त यस दिन हुने गर्दछ । शारीरिक शुद्धि गराउने पर्व पञ्चमी हो । चित्त शुद्ध गरी पुनः स्वकर्ममा प्रवृत्ति गराउने चाड पर्वले धर्म र संस्कृति दुवैको महत्ता बढाइरहेका हुन्छन् । आज उत्तरआधुनिक परवेश सँगै यस्ता पर्वमा पनि अनेकौ विकृति देखिन थालेका छन् । धार्मिक साँस्कृतिक पर्वलाई सभ्य र भव्य चाड मान्न तर्फ सवै अभिप्रेरित हुनु आवश्यक छ ।
No comments:
Post a Comment