उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषचार्य
नेपाल संस्कत विश्वविद्यालय
आमा सवैकी पूज्य देवी हुन् । हरेक वैशाख कृष्ण औँशीका दिन मातातीर्थ औँशी पर्ने गर्दछ । यस दिन अमा प्रति श्रद्धा भक्ति प्रकट गर्नाले पुण्य प्राप्त हुने शास्त्रीय वचन रहेको छ । संस्कृतमा मातृ शब्दबाट माता बन्दछ (मान् पूजायां तृच् भई न को लोप भए पछि माता शब्द बन्ने गर्दछ) । जसको अर्थ पूज्य भन्ने हुन्छ । अर्थात् मातालाई सदा पूज्य स्थान प्रदान गरिएको छ । नेपालीमा त्यही माता शब्द नै अपभ्रंश हुदै आमामा परिणत भएको हो । सृष्टिदातृ आमाको महिमा अपरम्पार छ । आमाका थुप्रै पर्यायवाची नाम रहेका छन् ः जननी, जनयित्री, मातृ, मातृका, अम्बा, सवित्री, अम्बिका, अम्बाला, अम्बाली, अम्बालिका, प्रसू, प्रसविनी, जननी, प्रसवित्री, अल्ला, जनिका, अम्बिदा, अम्बि, अरणि, करवीरी, गुर्वी, जनि, जनित्री, जनित्वा, जन्मप्रतिष्टा, जानी, जातृ, धात्री, पिण्डदा, प्रकृति, प्रजनिका, प्रसवस्थली, विजाता, अम्बया, अरणी, गोः, जननि, अम्बा आदि । यसैगरी आमालाई पहिलो गुरु पनि मानिन्छ । यो संसारमा सृष्टि गरी बाँच्च, हास्न र खेल्न सिकाउने पहिलो गुरु आमा नै हुन् । त्यसैले यस दिन आमालाई प्रथम गुरुको रूपमा पनि पूजा गर्नु उपयुक्त हुन्छ ।
आमालाई साक्षात् सृष्टिकर्ताको संज्ञा शास्त्रले प्रदान गरेको छ । आमाप्रति भक्ति भाव व्यक्त गर्ने विशेष दिन मातातीर्थ आँैशी हो । वैशाख कृष्ण अमावाश्यामा मातृप्रति श्रद्धा भक्ति भाव प्रकट गर्ने शास्त्रीय विधान रहेको छ । जुन हाम्रो नित्य परम्परा हो । सृष्टिकर्ताका रूपमा ऋग्वेदले आमालाई उल्लेख गरेको छ ः अस्येदु मातुः सवनेषु सद्योमहः ।। (ऋग्वेद, १।६१।७ ) अर्थात् आमा संसारकी सर्जक, सृष्टिकर्ता हुन् । यसैगरी यजुर्वेदले पनि अम्बाका रूपमा आमालाई सम्बोधन गरेको छ : अम्बेअम्बिकेम्बालिके नमानयतिकश्चन । ससश्त्यश्वकः सुभद्रिकां काम्पिलवासिनीम् ।। आमालाई शास्त्रले देवताको संज्ञा दिएको छ । पौरस्त्य वाङ्मयमा आमाको स्थान सबैभन्दा माथि रहेको छ । आमा संसार सृष्टि गर्ने पहिलो सर्जक हुन् । उनले आफ्नो प्रसव वेदनालई सहन गरेरै भए पनि एउटा नयाँ सृष्टिको जन्म दिन्छन् । त्यसैले त वेदले पनि उच्च आदरका साथ आमाको उच्चारण गरेको छ : आमावाजस्य जगम्यादेमे द्यावापृथिवी विश्वरूपे । आ मा गन्तां पितरा मातरा चाममा सोमोऽअमृतत्वेन गम्यात् ।। (यजुर्वेद) । मातृदेवो भव (तैत्तिरीयोपनिषद्, १।११) अर्थात् आमा देवता समान हुन् । यसैगरी पिता भन्दा पनि हजार गुणा माथिको स्थान आमालाई शास्त्रले दिइएको छ । सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते भन्नुको ताात्पर्य पनि यही नै हो ।
सोह्र प्रकारका माताको वर्णन ब्रह्मवैवर्त पुराणले गरेको छ । स्तनदात्री गर्भधात्री भक्षदात्री गुरुप्रिया । अभीष्टदेवपत्नी च पितुः पत्नी च कन्यका ।। सगर्भजा या भगिनी पुत्रपत्नी प्रियापसूः । मातुर्माता पितुर्माता सोदरस्य प्रिया तथा ।। मातुः पितुश्च भगिनी मातुलानी तथैव च । जनानां वेदविहिता मातरः षोडशस्मृताः ।। (ब्रह्मवैवर्तपुराण गणपतिखण्ड, कार्तिकेय संवाद, १५ अध्याय) अर्थात् गुरुपत्नी, राजपत्नी, छोराबुहारी, ठुलीआमा वा सानी आमा, फुपू, शिष्यपत्नी, मित्रपत्नी, माइजू, सौतेनी आमा, भाइबुहारी, सासू, बहिनी, छोरी, जन्मदिने आमा र इष्टदेवीलाई आमा भनिएको छ । कतै कतै सात प्रकारका आमाको पनि वर्णन पाइन्छ : आदौ माता गुरोः पत्नी ब्राह्मणी राजपत्नीका । गावी धात्री तथा पृथ्वी सप्तैता मातरः स्मृताः ।। यसैगरी सोह्र मातृकाको विधान पनि पाइन्छ : गौरी, पद्मा, शची, मेधा, सावित्री, विजया, जया, देवसेना, स्वधा, स्वाहा, शान्ति, पुष्टि, धृति, तुष्टि, आत्म देवता, कुलदेवता । जे भए पनि आमाको स्थान सर्वोपरि रहेको कुरा यस्ता विभिन्न उक्तिबाट पनि प्रष्ट हुन्छ ।
प्रत्येक शुभकर्म गर्नु अघि मातृका पूजन गर्ने विधान पौरस्त्य परम्परामा रहेको छ । पूर्वाङ्गमा नान्दीमुखी श्राद्ध गरिन्छ जुन मातृप्रधान छ । यसैगरी आदित्यादि सत्र मातृका, गौर्यादि सात तोरणमातृका, नन्दादि सात द्वारमातृका, गौर्यादि षोडशमातृका, ब्रह्मादि सातमातृकाको पूजा आराधना पश्चात् मात्र विवाह, व्रतबन्ध, पुराण आदि यज्ञ आरम्भ गर्नु पर्ने विधानले पनि शुरुमा मातृपूजा गर्नुपर्ने कुराको संकेत गर्दछन् । यसले पनि आमाको पूज्यस्थान नित्य रहेको कुरा पुष्टि गर्दछ ।
आमा नित्य पूज्य हुन्छन् । सधैँ दुःखको दलदलमा फसाएर एकदिन आमालाई मिष्टान्न खुवाउदैमा आमाको सच्चा भक्ति भाव हुँन सक्दैन । आमाप्रति नित्य पूज्य भाव प्रकट गर्नु र सोही अनुसारको व्यवहार गर्न सकियो भने मात्र आमाको सही अर्थमा पूजा हुने गर्दछ । माता शब्द नै पूज्य अर्थमा बनेको हुँदा आमाको स्थान नित्य पूज्य हुन्छ । मातृऔँशी आमाप्रति विशेष भक्तिभाव प्रकट गर्ने दिन हो । यस दिन आमा हुनेले आमालाई नै प्रत्यक्ष भेटेर राम्रा वस्तु दिने, खुवाउने, खुशी राख्ने गर्दछन् । आमा नहुनेले आमाप्रति भक्ति भाव पूर्वक तीर्थमा गई श्राद्ध गर्ने चलन रहेको छ । विशेषतः यस दिन तीर्थमा गई आमा नहुनेले आमाको श्राद्ध गरेमा मातृऋणबाट मुक्त हुने धार्मिक मान्यता रहेको छ । काठमाडाँैको मातातीर्थ लगायतका अन्य तीर्थमा वैशाख अमावाश्यामा मेला लाग्ने गर्दछ ।
आँैशी कै दिन किन आमाको मुख हेर्ने भन्ने विषयमा पनि प्रश्न उठ्न सक्छन् । विशेषतः स्वर्गवास भएकी आमाको श्राद्ध गर्ने उपयुक्त दिन औँशी हो । औँशीका दिन पितृलोकमा समुज्वल हुने भएकाले यस्तो विधान गरिएको हो । हाम्रो एक महिना (चान्द्रमास) बराबर पितृका निम्ति एकदिनरात हुन्छ । त्यसैले कृष्णपक्ष पितृका निम्ति दिन हो भने शुक्लपक्ष रात हो । औँशीमा पितृको मध्यदिन हुन्छ । अतः पितृको दिनमा गरिएको श्रद्धाभावले, प्रदान गरिएको तोय पिण्डादिले पितृ तृप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
संसारमा पुत्र बरु कुपुत्र हुनसक्छन् तर कुमाता कहिल्यै हुदैनन् । त्यसैले त शङ्कराचार्यले भन्नु भएको छ कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति । अर्थात् संसारमा मातृस्थान सर्वोपरि छ । सारा मिटाएरै भए पनि सन्तानको हेरचाह आमाले नै गरेकी हुन्छिन् । सन्तानका निम्ति आमाले जति त्याग तपस्या कसैले पनि गरेको हुँदैन । त्यसैले मनुले पनि भनेका छन् यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।(मनुस्मृति) अर्थात् जहाँ नारीको पूजा हुन्छ, सम्मान हुन्छ त्यहाँ त्यो वेला देवता पनि खुशी हुन्छन् । अर्थात् देवतालाई खुशी पार्नु छ भने पनि आमाको पूजा, मातृसद्भाव, श्रद्धाभाव व्यक्त गर्नु आवश्यक छ । मातृशक्तिलाई आद्य शक्ति मानिएको छ । सृष्टि, स्थिति र लय आद्य शक्ति भगवतीकै कृपाले सम्भव हुने भएकाले पनि मातृशक्तिको महिमा विशेष छ । महाकाली, महालक्ष्मी र महासरस्वती देवीकै प्रतिमूर्ति हुन् । हामीले नित्य जप्ने गायत्री मन्त्र भनौ या अर्धनारीश्वर शिवजी भनौ जहाँ पनि मातृशक्तिको प्राधान्य रहेको पाइन्छ । त्यसैले आमाको सेवा गर्नु भनेको भगवतीको उपासना गर्नु हो । देवी भगवती भनेकै आमा हुन् ।
आमा साक्षात् प्रतिमूर्ति देवी नै हुन् । जसरी भगवती देवीको पूजा हुन्छ त्यसरी नै आमाको पनि पूजा गर्नु पर्दछ । विशेषतः आमाको मनमा नित्य खुशीको वहार छाउन सक्नु मुख हेर्नुको तात्पर्य हो । आमालाई एकदिन भन्दा पनि सधैँ खुशी राख्ने कार्यमा लाग्नु नै सच्चा मुख हेर्नु हो । त्यसैले आमा हुनेले आमाको समीप गई विधि पूर्वक पूजा अर्चना गरेर अनि नहुनेले तीर्थमा गई श्राद्ध गरेर आमाको मुख हेर्ने दिनलाई मनाउन सकिन्छ । हामी सबैले आमालई खुशी राख्न सकौँ । यही कामना । वन्दे मातरम् ।।
No comments:
Post a Comment