व्रत किन बसिन्छ ? - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Jun 23, 2019

व्रत किन बसिन्छ ?


     उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 

       वृञ् वरणे  धातुमा अतच् प्रत्यय लागेर व्रत शब्दको निर्माण हुन्छ (शब्दकल्पद्रुम)  । जसको अर्थ  उपवासादि पुण्यकर्म भन्ने हुन्छ । केचित्स्वकर्तव्यविषयो नियतः संकल्पो व्रतमिति (व्रतराज, पृ.२) अर्थात् कुनै कर्तव्य विशेषका निम्ति संकल्पपूर्वक गरिने कार्य नै व्रत हो भनी व्रतराजमा परिभाषा गरिएको छ । पूजा आदिको कर्म विशेष नै व्रत हो भनी  धर्मसिन्धुले वताएको छ । पूजाद्यात्कमः कर्मविशेषो व्रतम् ।(धर्मसिन्धु) यसैगरी प्रातःकालीन आहार नखाई स्नानपूर्वक शुद्ध भई  भगवद् भक्तिमा लाग्ने कार्यलाई निर्णयसिन्धुले व्रत भनेको छ । विशेष विधि र नियमपूर्व आफ्नो अभीष्ट सिद्धिका निम्ति संकल्पपूर्व गरिने कार्य विशेष नै व्रत हो । 
ज्याेतिषाचार्य
उपवासको अर्थ सबै दोषबाट मुक्त भएर सद्गुणको आश्रय लिनु हो ।  पापबाट निवृत्त भएर सद्गुणका साथ निवास गर्नुलाई उपवास भनिएको छ । उपवासमा कुनैपनि कुराको भोग हुँदैन । कुनै पाप कर्म पनि रहँदैन । उपावृत्तस्य  पापेभ्यो  यस्तु वासो गुणैः सह । उपवास स विज्ञेयः सर्वभोग विवर्जितः।। ( व्रतराज पृ ९, कात्यायन वचन) । सबैप्रति दया, सहन भाव, अनिन्दा, पवित्रता, उदारता, मांगलिक कार्य र अनुचित इच्छाको त्याग नै गुणको आश्रय हो (व्रतराज, पृष्ठ ९  विष्णु धर्मोत्तर पुराणमा गौतम ऋषि वचन) । यसरी व्रतलाई फलिभूत बनाउनका निमित्त अपनाउनुपर्ने आचरण नियम विशेषलाई उपवास भनिएको छ । उपवास व्रतको साधन हो । अर्थात् भनौ उपवासमा रही व्रतलाई परिपूर्णता दिइन्छ । व्रत र उपवास एक अर्काका परिपूरक हुन् । 
  व्रत पनि नित्य, नैमित्तिक र काम्य गरी तीन प्रकारका हुन्छन् । नित्य व्रत अन्तर्गत एकादशीव्रत, नैमित्तिक अन्तर्गत चान्द्रायण आदि व्रत पर्दछन् भने काम्य अन्तर्गत विशेष वरको कामना गरी तिथि, वार विशेषमा गरिने व्रत पर्दछन् । 

व्रत धारणको समय 

गुरु–शुक्र अस्त, बाल्य, वृद्ध भएका बेला र मलमासमा व्रत आरम्भ एवं उद्यापन निषेध गरिएको छ  । अस्तगे च गुरौ शुक्रे बाले वृद्धे मलिम्लुचे । उद्यापनमुपारम्भं व्रतानां नैव कारयेत ।। (व्रतराज, पृ. २)  यसैगरी व्रत आरम्भका निम्ति तिथि उदित भएको हुनपर्दछ भनी हेमाद्रिमा बताइएको छ । उदयस्था तिथिर्या हि न भवेदिनमध्यभाक् । सा खण्डा न व्रतानां स्यादारम्भश्च समापनम् ।। (व्रतराज, पृ.३ हेमाद्रिको वचन)  । यसैगरी सोम, बुध, बिही र शुक्रबार व्रत आरम्भका लागि शुभ मानिएको छ । व्यतिपात, वैधृति, वज्र योग, अमावास्या, संक्रान्तिका दिन व्रत आरम्भ एवं समापन गर्नु हुँदैन  (व्रतराज, पृ.३ हेमाद्रिको वचन) । कामनाअनुसार व्रतका विधान पनि भिन्न भिन्न हुने भएकाले व्रतका निम्ति उपयुक्त समय ज्योतिर्वद्को सल्लामा निर्धारण गर्नुपर्दछ । क्षय भएको तिथिका दिन व्रत आरम्भ गर्नुहुँदैन ।



व्रती कस्तो हुनुपर्छ ?

व्रत धारण गर्ने व्यक्ति आफ्नो वर्णाश्रम आचार नियमको परिपालना गर्ने, शुद्ध चित्त भएको हुनु आवश्यक छ । यसैगरी सत्य बोल्ने, लोभ नगर्ने सबैलाई समान व्यवहार गर्ने पनि हुनसक्नु पर्दछ । अन्यथा व्रत विफल हुने स्कन्द पुराणको वचन छ ः निजवर्णाश्रमाचारनिरतः शुद्धमानसः । अलुब्धः सत्यवादी च सर्वभूतहिते रतः ।। व्रतेष्वधिकृतो राजन्नन्यथा विफलश्रमः ।। ( स्कन्दपुुराणको वचन, व्रतराज पृ. ५) । 

व्रत कसरी धारण गर्ने ?

प्रातः स्नान पूर्वक सन्ध्योपासना गरी सूर्यलाई अर्घ दान गरेर विशेष संकल्पपूर्वक व्रतको आरम्भ गर्नुपर्दछ  । यसरी व्रत आरम्भ गर्दा उत्तर मुख हुनुपर्ने पनि विधान पाइन्छ । (व्रतराज,  पृ. ७) । दीप कलश गणेशजीको आह्वन पूजन पूर्वक व्रतलिने देवताको पनि विशेष पूजा गरेर ब्रतारम्भ गर्न सकिन्छ । 
अभुक्त्वा प्रातराहारं स्नात्वाचम्य समाहितः । सूर्यादिदेवताभ्यश्च निवेद्य व्रतमाचरेत् ।। क्षमा सत्यं दया दानं शौचमिन्द्रियनिग्रहः । देवपूजाग्निहवनं सन्तोषः स्तेयवर्जनम् ।  सर्वव्रतेष्वयं धर्मः सामान्यो दशधास्मृतः ।। (निर्णयसिन्धु पृ. १७) अर्थात् विहान खाना नखाई, स्नान र आचमन गरेर एकाग्र मनले सूर्यादि देवतामा व्रत गर्ने कुरा निवेदन गर्नुपर्दछ । व्रतका समयमा क्षमा, सत्यवचन, दया, दान, शौच, इनिद्रयसंयम, देवपूजा, होम, सन्तोषका साथै चोरी पनि गर्नुहुँदैन भनिएको छ । यी दशवटा व्रतका सामान्य नियम हुन् । 

के नगर्ने ?

यसैगरी व्रतको आरम्भदेखि समापनसम्म खण्डित पनि गर्नु हुँदैन । व्रत धारणा गरेर त्यसको नियम परिपालना पूर्णतः गर्नुपर्दछ । अन्यथा व्रतको फल प्राप्त हुँदैन । यदि कथं कदचित् यस्तो परिपालनामा अनजानमै त्रुटि भए प्रायश्चित गर्नुपर्दछ (व्रतराज, पृ. ९) । 
पान खानु, मैथुन गर्नु दिनमा सुत्ने जस्ता कार्यले उपवासलाई भंग गर्दछन् (व्रतराज, पृ. १०, देवलस्मृतिको वचन) । यसैगरी बारम्बार पानी खान, दिनमा सुत्न, मैथुन गर्न, पान र मासु खान व्रतका दिन निषेध गरिएको छ । असकृज्जलपानं च दिवास्वापं च मैथुनम् । तम्बूलचर्वणं मासं वर्जयेद्व्रतवासरे ।। (व्रतराज, पृ १०, विष्णुधर्मोत्तर पुराणको वचन) । यसैगरी उपवासमा अन्न पनि निषेध गरिएको छ । (व्रतराज पृ. ११) 

कस्ता कार्य  गर्ने ?

शुद्ध पवित्र फलाहार गरी व्रत बस्न सकिन्छ । जौको सातु उपवासमा उपयोग गर्न सकिन्छ । यसैगरी शाली धानको चमल, गहुँ, जल, दुध आदि वस्तुको उपयोग व्रतमा उत्तम मानिएको छ ः व्रीहिषष्टिकमुद्गाश्च कलायाः सलिलं पयः ।  श्यामाश्चैव नीवारा गोधूमाद्या व्रते हिताः ।। (अग्निपुराण) यसैगरी फल, कन्दमुल, घिउ, दही, महलाई पनि व्रतका निम्ति शुद्ध मानिएको छ । 

उपवासमा पनि महिलाहरूले शृंगार र दतिवन गर्नु हुन्छ । व्रत बसेको समयमा रजस्वला भए उपवास बस्नु हुन्छ तर आफैँले पूजा भने गर्नु हुँदैन भनी मनुस्मृतिमा बताइएको छ ः प्रारब्धदीर्घतपसां नारीणां यद्रजो भवेत् । न तत्रापि व्रतस्य स्यादुपरोधः कदाचन ।। (मनुसमृति)  यसैगरी उक्त व्रत संवद्ध पूजा अरुद्वारा गराउनु हुन्छ भनी मत्स्य पुराणमा उल्लेख पाइन्छ ः अन्तरा तु रजोयोगे पूजामन्येन कारयेत् । उपवासत्रयं कुर्यान्नात्र कार्या विचारणा ।। (मत्स्यपुराण)  आरम्भ गरिएको व्रत कुनै कारणले छुट्यो भने गोदान गरेर पुनः व्रत धारण गर्नुपर्दछ । समारम्भे व्रते पश्चाद् व्रतभङ्गो भवेद्यदि । गोदानं च ततः कृत्वा पुनव्र्रतमतश्चरेत् ।। (कृत्यशिरोमणि) 

जीवनमा सर्वकल्याण चाहनेले शिवजीको, मंगल चाहनेले गणेशजीको,  दाम्पत्य सुखका निम्ति लक्ष्मीनारायण भगवान्को, शक्ति प्राप्तिका निम्ति भगवती दुर्गा देवीको व्रत धारण गर्नुपर्दछ । कामना अनुसार भिन्न भिन्न देवी देवताको व्रध धारण गर्न सकिन्छ । 
व्रतका निम्ति उपवास एक अभिन्न अंग हो । व्रतको पूर्णताका निम्ति उपवासको आवश्यकता हुन्छ । संकल्प पूर्वक गरिएको व्रतको विशेष फल बताइएको छ ।

हरेक दिन कुनै न कुनै देवताको व्रत पर्ने गर्दछ । अभीष्ट कामना सिद्धिका निम्ति कुन देवताको व्रत धारण गर्ने सो अनुसार व्रत आरम्भ गर्ने तिथि मिति निर्धारण हुने गर्दछन् । सूर्य भगवान्को आइतबार व्रत धारण गर्न सकिन्छ । यसैगरी सूर्यको व्रतका निम्ति रविसप्तमी अझ उत्तम मानिन्छ । यसैगरी सोमबार शिवजीको व्रत धारण गर्न सकिन्छ । मंगलबार गणेश एवं हानुमानको व्रतोपवास शुभ रहने गर्दछ । यसैगरी बुधबार विष्णु भगवान्को, विहीबार दुर्गा देवीको शुक्रबार इन्द्रायणी भगवतीको, शनिबार भैरव एवं शिवजीको व्रतका निम्ति उत्तम मानिएको छ । यसैगरी  मंगलबार चतुर्थी तिथि परेका दिन गणेशजीको व्रत उपासना शुभ रहने गर्दछ । देवीको उपासनाका निम्ति चैत्र शुक्ल नवरात्र उत्तम समयह हो ।  नागदेवताको उपासनाका निम्ति पञ्चमी तिथि शुभ मानिन्छ । कुमार कार्तिकेयको उपासना षष्ठी तिथिमा हुने गर्दछ भने एकादशीमा भगवान् विष्णुको उपासना शुभ रहन्छ । श्रावण शिवजीको प्रिय महिना हो । यसैगरी पर्व विशेषका पनि व्रत हुने गर्दछन् । जस्तै राम नवमीमा भगवान् श्रीरामको, भाद्र कृष्ण अष्टमीमका श्रीकृष्ण भगवान्को, शिवरात्रिमा शिवजीको, व्रधारण गर्न सकिन्छ । 

यसरी व्रत धारण गरेपछि यसको उद्यापन पनि अनिवार्य गर्नुपर्दछ । उद्यापन भनेको व्रतको समापन हो । व्रत उद्यापनले व्रतलाई पूर्णता दिन्छ । उद्यापनमा अग्निस्थापना विधिद्वारा हवन, तद् देवताको विशेष हवन पूर्णहुतिका साथै दानादि कार्य हुने गर्दछ । 
व्रत उपासनाले शक्ति प्राप्त हुन्छ । जसले हाम्रा मनोकामना पूर्ण गर्न मद्दत गर्दछन् । यसरी शक्ति सञ्चय गर्ने कार्य व्रतमा हुने गर्दछ । यसैगरी परमात्माप्रतिको प्रार्थना पनि व्रत नै हो । व्रतलाई परिपूर्ण गर्न  उपवास र उपासना आवश्यक हुन्छन् । उपवास साधन हो भने व्रत साध्य हो । उपासना ईश्वर प्रतिको प्रार्थना हो । जसले यो लोकको भुक्तिका साथै पारलौकिक मुक्ति पनि प्रदान गर्दछ ।
 ‘संस्कार–सुलोचना’बाट 
यस्तै विविध उपयोगी विषयवस्तु समेटिएको ‘संस्कार–सुलोचना’ पुस्तक बजारमा उपलब्ध छ
 सम्पर्कः ९८४१०१२२०३
 

  




No comments:

Post a Comment