उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
भाद्र महिनाको अष्टमी तिथिलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस वर्षको श्रीकृष्णजन्माष्टमीव्रत भदौ ६ गते शुक्रबार परेको छ । भाद्र कृष्ण अष्टमीमा पनि रोहिणी नक्षत्र परेको समय व्रतीका निीमत विशेष पलदायी रहने भएकाले प्रयत्नपूर्वक भए पनि व्रत वस्नू भन्ने अग्निपुराणको आदेश पाइन्छ : कृष्णष्टम्यां भवेद्यत्र कलैका रोहिणी यदि । जयन्ती नाम सा प्रोक्ता उपोष्या सा प्रयत्नतः ।। (अग्निपुराण) रोहिणीयुक्त भाद्रकष्ण अष्टमीलाई श्रीकृष्णजयन्ती भनिन्छ । जुन समय व्रत उपासनाका लागि उत्तम मानिएको छ । यदि रोहिणी नक्षत्र रात्रि परेन भने अष्टमीको रात्रिव्यपिनी काल व्रतका निम्ति ग्रहण गर्नुपर्दछ : दिवा वा यदि वा रात्रौ नास्ति चेद्रोहिणीकला । रात्रियुक्तां प्रकुर्वीत विशेषेणेन्दुसंयुताम् ।। (निर्णयसिन्धु, द्वितीयपरिच्छेद, पृ. ८८) यसरी भाद्र कृष्णपक्षको अष्टमी तिथिमा रात्रिव्यापिनी व्रत गर्ने विधान रहेको पाइन्छ ।
व्रतफल –
श्रीकृष्ण जन्माष्टमीको व्रतधारण गर्नाले सम्पूर्ण पाप नष्ट भई धर्म, अर्थ, काम र मोक्ष सहितको चतुवर्ग फल प्राप्त हुने व्रतको फल यसरी वताइएको छ : महाजयार्थं कुरुतां जयन्ती मुक्तयेनघ । धर्ममर्थं च कामं च मोक्षं च मुनिपुङ्गव । ददाति वाञ्छितानर्थान् ये चान्येप्यतिदुर्लभाः ।। (स्कन्दपुराण) यसैगरी विशेष कामना राखोर व्रत गरिएको छ भने पनि ती मनोकामना पूर्ण हुने व्रतको फल पुराणले बताएका छन् । यसैगरी श्रीकृष्णजन्माष्टमीव्रत पापकर्मको पयश्चित्तका निम्ति पनि उत्तम मानिएको छ । रोहिणीयुक्त अष्टीमीको व्रत लिनु नै भनिएको छ ।
व्रतारम्भ एवं पूजा विधि
साँझ पर्नु अघि नै स्नान गरेर शुद्ध वस्त्र लगाई पूजा सामग्री सम्पादन अर्धको स्थापना गरेर दीप, कलश एवं गणेशजीको पूजा गरी सङ्कल्पपूर्वक व्रतको आरम्भ गर्नुपर्दछ । कुनै पनि कुराको सङ्कल्प गर्नु व्रत हो । यसलाई प्रतिज्ञाका रूपमा पनि लिन सकिन्छ । ईश्वरको आराधना वा भक्तिलाई पनि व्रत भनिन्छ । व्रतलाई पनि एउटा यज्ञको रूपमा पनि लिने गरिएको छ । व्रत भनेको नियमा बाँधिनु पनि हो । पूजाद्यात्मकः कर्मविशेषो व्रतम् भनी धर्मसिन्धुले परिभाषा गरेको छ । यसैगरी व्रतालुमा क्षमा, सत्यवचन, दया, दान, शौच, इन्द्रियसंयम, देवपूजा, होम, सन्तोष र चोरी नगर्ने भावना हुनु पर्छ भनी व्रतको विशेष विधान निर्णय सिन्धुले वताएको छ । व्रतका निीमत पवित्रता पनि आवश्यक हुन्छ । पवित्र वस्तु एवं पवित्र मन र भावनाले गरिएको व्रतको फल शीघ्र प्राप्त हुने गर्दछ ।
सुनको श्रीकृष्ण भगवान्को प्रतिमा वनाई विशेष मन्त्रद्वारा प्राणप्रतिष्ठा गर्नुपर्दछ । यसरी प्रतिष्ठित श्रीकृष्ण भगवानलाई पवित्र आसनमा राखेर भगवती देवकी सहित भगवान् श्रीकृष्णको ध्यान गर्नुपर्दछ । यस पश्चात् देवकी, श्रीकृष्णभगवान्, लक्ष्मी, वसुदेव, यशोदा, नन्द, बलराम, चण्डिका सहित सम्पूर्ण श्रीकृष्ण परिवारलाई आवाहन गरिन्छ । यस पश्चात् कुशका आशन प्रदान गर्नुपर्दछ । सो पश्चत् पाद्य, अर्घ, आचमनी, स्नान, मधुपर्क, पञ्चामृत अर्पण गर्नुपर्दछ । यसरी स्नान गराएपछि विशेष पूजा आरमभ हुने गर्दछ । भगवान्लाई शुद्ध जलले स्नान गराई वस्त्र, जनै, अलङ्कार चन्दन, अक्षता, तील, जौ, पुष्पमाला अर्पण गर्नुपर्दछ ।
अलङ्कार पश्चात् भगवान्का प्रत्येक अङ्गको पूजा गरिन्छ । यसरी अङ्गपूजनपश्चत् धूप, बत्ती, नैवैद्य अर्पणको कार्यक्रम हुने गर्दछ । सो पश्चात् फल, पान, सुपारी, दक्षिणा प्रदान गर्नुका साथै पङ्खाल हम्किने, ऐना देखिइदिने एवं निराजन आरती को कार्य हुन्छ । सो पश्चात् प्रदक्षिणा, पुष्पाञ्जली एवं क्षमायापनाका कार्य हुन्छन् ।
यसरी भगवान्को पूजनपश्चात् आकाशमा चन्द्रमाको दर्शन भएपछि रोहिणीले युक्त भएका चाँदीका चन्द्रमाको प्रतिमा थालीमा राखि पूजा गर्नु पर्दछ । यसरी रोहिणीयुक्त चन्द्रमाको पूजा पश्चात् भगवानलाई विशेष अर्घ प्रदान गरिन्छ । यसरी भगान्को विशेष पूजन कार्य सम्पन्न ुहन्छ ।
यसपछि भगवान्का लीलावतारका कथा श्रवण गर्नुपर्दछ । भगवान्को जन्म प्रसङ्ग, श्रीमद्भागवतका कथा श्रवणका साथै भजन कीर्तन गर्दै अष्टमीको रात कटाउनु पर्दछ । भगवान्का नाम संकीर्तन गरी जाग्रम वस्नाले लक्ष्मी माताको पनि कृपा प्राप्त हुने गर्दछ ।
व्रतको समापन भने भोलिपल्ट मात्र हुन्छ । विहान स्नानादि गरेर भगान्को पूजास्थानमा गई पूर्णपात्र दान गर्नुपर्दछ । गोदान एवं ब्राह्मण दक्षिणा सहित ब्राह्मण भोजन गराउनु पर्दछ । सो पश्चात् व्रतीले पनि भोजन गर्नुपर्ने व्रतको विधान बताइएको छ । यसरी श्रीकृष्ण जन्माष्टमीको व्रत सम्पूर्ण समापन हुन्छ । जसले यो लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्रापत हुने फलश्रुति पाइन्छ ।
No comments:
Post a Comment