१. पृष्ठभूमि
परापूर्वकालदेखि नै भारद्वाज गोत्रीय निरौलाले इष्टदेवताको रूपमा वायुलाई पूजा गर्दै आएको पाइन्छ । तेत्तिकोटि देवतामध्ये वायुको स्थाना उच्च रहेको छ । यिनै वायुका ४९ स्वरूपको पूजा गरिने अष्टवायु पूजा मंसिर र वैशाको धान्यपूर्णिमाका दिन हुने गर्दछ । परापूर्वकालदेखि नै घरमा वायुको पूजा हुने गर्दथ्यो । यसरी घरमै राखिएका वायुले कुटुम्बेरी घरको मूलथाम, मूल ओछ्यान, भण्डार लगायतका वस्तु र स्थान छुनु नुहने, अनजानमा छोइए पनि विरामी पर्ने र कूलका मूलीलाई पनि कम्प आउने जस्ता समस्या भएले इष्टदेवता वायुलाई वायुस्थान बनाई छुट्टै मन्दिरमा पूजा गर्ने विधान हाल विद्यमान छ । पूजा गर्ने वाहेक अन्य समयमा उक्त मन्दिर सदा बन्द रहने गर्दछ । निरौलाबन्धु बाहेक अरुलाई उक्त मन्दिरमा प्रवेश गर्न निषेध छ । अटेर गरी जो पस्छ उही विरामी पर्ने र कूलका मूलीमा समेत कम्प आउने कारणे पनि यस्तो निषेध गरिएको हो ।
नयाँ अन्न वायुदेवतालाई अर्पण गरेर मात्र खानुपर्ने चलन रहेको छ । मंसिरमा धन पाक्ने भएकाले विशेषगरी मंसिरको पूर्णिमामा वायुको विशेष पूजा हुने गर्दछ । न्वागी खानुपूर्व वायुदेवताको पूजा गर्ने चलन विद्यमान छ । पूजा गर्ने बाहेक अन्य समयमा वयुस्थान बन्द रहन्छ ।
इष्देवता वायुले पशु चौपाय, वालीनालीका साथै हरेक कुराको संरक्षण गर्दछन् भन्ने विश्वास रहेको छ । सोलुखुम्बु पञ्चन गैराघर निवासी श्री हुतानन्त निरौलाका कथन अनुसार दुधकोशी किनारको लुक्वा वेसीमा निरौला बन्धुको ठूले खेती थियो । तुलफूल केरा आदि सदा पाकिरहन्थे । समय दशैतिहारको परेकाले सबै बेसीछोडेर घरमा दशैँ मान्न पञ्चन आएका थिए । लुक्ला वेँसीमा केरा पाकेको देखी एक राई जातिका व्यक्तिले उक्त केराको घरी नै कसैले थाह नपाउने मौका पारी काटेर लाने प्रयत्न स्वरूप बुङ्गोमा समाएर घरीको फेद काट्नलागेका रहेछन् । सोही समयका वायुदेवताले समाएर उक्त राई केराको बुङ्गो समाउदै घरी काट्नलागेको अवस्थामा जस्ताको त्यस्तै हल न चल भएर अड्किएछन् । उनले न त केरा काट्न नै सके न त सबै छोडेर भाग्न नै सके । एकरातसम्म त्यही केरामै अड्किएका रहेछन् । श्रीहुतानन्द निरौलाका हजुरबुबा केरा पाकेको थाह पाई वेंसी लिन जाँदा त ती राई केराकै थाममा अररिएर केरा काट्नलागेको अवस्थामा देखेछन् । वायु देवताकै शक्तिको पहिचान भएपछि वायुलाई पुकारी अनजानमा गल्ती गरकाले एकपटक छोडिदिन आग्रह गरेपछि ती राईलाई उक्त केराबाट छुट्कारा पाए । ती राईले गल्ती स्वीकारी आइन्दा यसरी नचोर्ने बरु मागेर लाने वाचाका साथ माफी मागेछन् । अतः वायुमा यतिसम्म शक्ति रहेको थियो । हाल आएर त्यो शक्तिमा कालको प्रभावले पनि हुनसक्छ कमी भएको छ । अतः निरौलाको संरक्षकका रूपमा वायुदेवताको स्थान पूज्य रहेको पाइन्छ ।
२. वायु
संसारका पाँच तत्त्व मध्येको एक वायु हो । जसलाई स्पर्शबाट थाह पाउन सकिन्छ । हावाले हाम्रो छालामा छोएपछि वायु वग्दै गरेको अनुभव हुन्छ । वायु पनि विभिन्न प्रकारका रहेका छन् । हृदयमा प्राण वायु हुन्छ । गुदद्वारबाट जाने अपान वायु हो । नइटोमा हुने समान वायु हो । कण्ठमा हुने उदान वायु हो जो ढ्याउ गर्दा जान्छ । शरीरका अंग अंगमा पुग्ने वायु व्यान हो । यसरी पाँच वायु मुख्य रहेका छन् । यसैगरी डकार गर्दा नाग, आँखा झिम्क्याउँदा कूर्म वायु हुन्छ । हाछ्युँ गर्दा कृकल नामको वायु जान्छ भने हाइ गर्दा देवदत्त नामको वायु प्रवाहित हुन्छ । धनञ्जय नामको वायु मृत शरीरमा पनि रहिरहन्छ । प्राणोऽपानः समानाख्या उदानो व्यान एव च । नागः कूर्मश्च कृकरो देवदत्तो धनञ्जयः । हृदि प्राणो गुदेऽपानः समानो नाभिमण्डले । उदानः कण्ठदेशे स्याद् व्यानः सर्वशरीरगः ।। उद्गारे नाग आख्यातः कूर्म उन्मीलने स्मृतः । कृकलः क्षुत्करौ ज्ञेयो देवदत्तो विजृम्भणे ।। न जहाति मृतं वापि सर्वव्यापी धनञ्जयः । (गरुडपुराण, प्रेतकल्प, १५। ३६–३९) । यिनै वायुमा नै सबै जीव जन्तु चलिरहेका छन् । मरुद्गण सात छन् । यिनै सात मरुद्गणलई इन्द्रले ४९ बनाएको कथा श्रीमद्भागवतको षष्ठस्कन्धमा वर्णन पाइन्छ । यसरी इन्द्रबाट उत्पत्ति भएका ४९ वायुको नाम वायु पुराण्मा यसरी बताइएको छ –
सत्वज्योतिस्तथाऽऽदित्यः सत्यज्योतिस्तथाऽपरः ।
तिर्यग्ज्योतिश्च सज्ज्योतिज्र्योतिष्मानपरस्तथा ।।१२३।।
प्रथमस्तु गणः प्रोक्तो द्वितीयं मे निवोधत ।
ऋतजित्सत्यजिच्चैव सुषेणः सेनजित्तथा ।
सत्यमित्रोऽभिमित्रश्च हरिमित्रस्तथाऽपरः ।
गण एष द्वितीयस्तु तृतीयं मे निबोधत ।
ऋतः सत्यो धु्रवोधर्ताविधर्ताऽथविधारयः । ध्वान्तश्चैवधुनिश्चैवह्युग्रोभीमस्तथैव च ।।
अभियुः साक्षिपश्चैवमाह्वयश्च गणm स्मृतः ।।१२६।।
इदृक्चैव तथाऽन्यादृग्यादृक्चप्रतिकृत्तथा ।
ऋक्तथा समितिश्चैवसंरम्भश्चतथागणाः ।।
ईदृक्च पुरुषश्चैव अन्यदृक्षाच्च चेतसः ।
समितासमिदृक्षाच्च प्रतिदृक्षाच्च वै गणाः ।।
मरुतिद्रसरतश्चैव तथादेवोदिशोऽपरः ।यजुश्चैवानुदृक्सामस्तथाऽन्योमानुषीविशः ।
दैत्या देवाः समाख्याताः सप्तैते सप्तका गणाः ।।१२९।।
एते ह्येकोनपञ्चाशन्मरुतोनामतः स्मृताः । (वायुपुराण, ३।६७।१२३–१३०)
४९ वायुअन्तर्गत सŒवज्योति, आदित्य, सत्यज्योति, तिर्यक्ज्योति, सज्योति, ज्योतिष्मान्, हरित, ऋतजित्, सत्यजित्, सुषेण, सेनजित्, सत्यमित्र, अभिमित्र, हरिमित्र, कृत, सत्य, ध्रुव, धर्ता, विधर्ता, विधारय, ध्वन्त, धुनि, उग्र, भीम, अभियु, साक्षिप, ईदृक्, अन्यदृक्, यादृक्, प्रतिकृत्, ऋक्, समिति, संरम्भ, ईदृक्ष, पुरुष, अन्यादृक्ष, चेतस, समिता, समदृक्ष, प्रतिदृक्ष, मरुति, सरत, देव, दिश, यजुः, अनुदृक्, साम, मानुष, र विश पर्दछन् ।
महाभारतका अनुसार मङ्कण मुनिको वीर्यबाट सात मरुद्गण उत्पन्न भए । यिनै मरुद्गण कल्पान्तमा दितिको गर्भमा इन्द्रको वज्रले काटिएर ४९ भएका हुन् । (श्रृणुमङ्कणस्यापि.....म.भा.श.प)
पृथ्वी र अन्तरिक्षमा चल्ने वायु सात छन् - प्रवह, आवह, उद्वह, संवह, विवह, परिवह र परावह । वायव्य कोणको अधिष्ठाता देवताको रूपमा पनि वायुलाई लिइन्छ । आकाशको तेस्रो तहमा रहने वायु आवह हो । अन्तरिक्षमा चल्ने वायु मातरिश्व हो । वायुका अधिष्ठाता देवता मरुत् हुन् । प्रवह वायु धुवाँ र गर्मीबाट उत्पन्न वादल समूह र असिनालाई यताबाट उता पु¥याउँदै वहन्छ ।
३. निरौलाका अष्टवायु
निरौलाका इष्ट देवता वायु हुन् । हरेक मंसिरको पूर्णिमा र वैशाखको पूर्णिमाका दिन दुई पटक वायुको पूजा हुने गर्दछ । भारद्वाज गोत्रीय निरौलाका अष्टवायु(आठ वायु) मुख्य इष्टदेवता हुन् । यसरी आठ वायु मध्ये चार बुढा हुन् भने चार तिनैका पत्नी अर्थात् बुढी हुन् । सोलुखुम्बु, केउरिनी निवासी श्री गोवद्र्धन निरौलाले बताएअनुसार धनपति, गङ्गाराम, बालकृष्ण र परशुराम चार बुढाका नाम हुन् । यिनै बुढाका पत्नी बुढी भए पनि नाम हालसम्म पाइएको छैन । सबैलाई वृद्धवायवे नमः भनी पूजा गर्ने चलन रहेको छ । ४९ वायुसहित अष्ट वायुको विशेष पूजाआजा गरिन्छ । वायु थानको घरघरमै स्थापना गर्ने चलन परापूर्वदेखि रहे पनि हाल आएर सबै शुद्धता नपुग्ने भएकाले मन्दिरका रूपमा नै स्थापना गरेर वायुस्थानमा पूजा आजा गर्न थालिएको छ ।
४. अष्टवायु पूजा विधि
मुठि लिने दिन जुराएर जुरेका वयक्तिले नयाँ अन्न धान आदि) संकलन गरिन्छ । चामल बनाइन्छ । न्वागी खाने दिन दाजुभइ सबैको एकै ठाँउमा नयाँ अन्न जम्मा गरी हवननको कार्य हुने गर्दछ । हवन गर्दा ब्रह्मा, विष्णु, प्रजापतिसँगै अन्नपूर्णाको पनि स्थापना गरी पूजा हुने गर्दछ । अग्निस्थापनाका हवनसँगै अन्नपूर्णालाई १०८, वायुलाई १०८ र कुलदेवतालई १०८ हवन गर्ने चलन रहेको छ ।
अग्निस्थापनाका अन्य देवतासँगै अन्नपूर्ण भगवतीको विशेष उपासना यस दिन हुने गर्दछ । टपरामा चामल राखी (एकमाना वा टपराभरि) त्यहीँ अन्नपूर्णा भगवतीको पूजा गरी यज्ञको दायाँ राखिन्छ । उक्त अन्नपूर्णाको स्थापना गरेको टपराको चामल जसको घरमा गरिएको हो उसैको घरको भकारीमा तीनदिनसम्म राखिन्छ । तीनदिनपछि उक्त चामल गोठमा लगी खीर बनाइ खाने चलन छ । खीरमा चिनिको प्रयोग गरिँदैन र पुरुष निराँैला बन्धुलेमात्र उक्त खीर खाइसक्नुपर्दछ ।
हवन सकेर वायुथानमा पूजा सामग्री लिएर गइन्छ । वायुथानमा सफा गरी गाईको गोवरले लिपी रेखी हाली दीप, कलश गणेश एवं ४९ वायुसँगै अष्टवायुको पूजा गरिन्छ । अष्टवायुमा बूढा चार र बूढी चार वायु पर्दछन् । प्रत्येकको पाद्यादि उपचारले पूजा हुने गर्दछ । यसरी रेखी गरी पूजा गरिन्छ -
आरती पुष्पाञ्जलीमा लौकिक एवं वैदिक मन्त्रको उच्चारण हुने गर्दछ ।
नैवेद्य
अष्टवायुलाई पुवा, रोटी आदि नैवेद्य अर्पण गरिन्छ । विशेषतः आठवटा सग्ला बाबर (रोटी) नैवेद्यका रूपमा अर्पण गर्नुपर्दछ । प्रसादमा नुनको प्रयोग हुँदैन । वायुस्थानमै निरौला बन्धुले(पुरुषले मात्र) प्रसाद खाइन्छ । घरमा केही पनि कुरा प्रसाद आदि ल्याइदैन । बाँकी भइ रहेका खानेकुरा सोही स्थानको वरपर कतै राखिन्छ ।
वायुस्थानमा अर्पण गरिएका प्रसाद घरमा नल्याउनुको कारण
एकपटक वायुस्थानमा सबैबाट उठेका चामल धेरै भएकाले ती चामल विक्री गरी वायुस्थानको विकासमा रकम जम्मा गर्ने उद्देश्यले घरमा चामल ल्याइएछ । जुनदिन चामल घरमा ल्याइयो त्यहीदिनदेखि कूलका मूलीलाई कम्प आउनुका साथै सपनामा पनि उक्त चामल त्यही स्थानमा राख्न निर्देश भएपछि त्यही वायुस्थानमै पोको पारेर राख्ने गरिन्छ । अरुलाई प्रसादका रूपमा दिइदैन र वेचविखन पनि गर्न पाइदैन ।
५. अन्त्यमा
निरौलाका इष्टदेवता अष्टवायु हुन् । कुलदेवता मष्टबाट शाखायित भएर आएका अष्टवायु र मष्टको नजिकको सम्बन्ध रहेको पाइन्छ । मष्टलाई पनि वायुदेवताका रूपमा पूजा गरिन्छ । विशेषतः टेडीमष्ट निरौलाका कूलदेवता हुन् । कतै टेढी, कतै टेरी कतै तेरीमष्ट पनि भन्ने गरेको पाइन्छ । सोलुखुम्बु पञ्चन निवासी निरौलाका कुलदेवताका रूपमा टेडीमष्टको उच्चारण गरेको पाइन्छ । कुलको संरक्षण गर्ने देवताका रूपमा वायुलाई इष्टदेवका रूपमा पूजा गर्ने परापूर्वकालदेखि चलिआएको छ ।
कुलदेवता टेडीमष्टका विषयमा पनि खोज अनुसन्धान जारी छ । कूलपूजा एवं वायुपूजाविधि तयार गरी पुस्तकाकार रूप दिर्ने कार्ययोजना अनुसार यो आलेख तयार गरिएको हो । यसमा थपघट गर्नुपर्ने थुप्रै विषवस्तु हुनसक्छन् । हजुरले जाने बुझेका कुरा के कस्ता छन् ? विधि र पद्धति के कस्तो छ ? सो बारेमा पनि उचित सल्लाह, सुझाब र प्रतिक्रियाको अपेक्ष गर्दछु । यस विषयमा अनुसन्धान भए गरेका पुस्तक भए सोको सन्दर्भ समेत उल्लेख गरिदिनुहुन विनम्र निवेदन गर्दछु ।
नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
पञ्चन, सोलुखुम्बु
narayanniraula5@gmail.com
www.facebook.com/jotishaacharya
9851102105
No comments:
Post a Comment