तिहार एक चिनारी - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 26, 2019

तिहार एक चिनारी


नारायणप्रसाद निरौला 
ज्योतिषाचार्य


कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्मका दिनलाई यमपञ्चक भनिन्छ । यमपञ्चकमा यमराजका दूत एवं प्रिय वस्तुको पूजा हुने गर्दछ । पाँच दिनसम्म यमसम्बद्ध विषवस्तुको पूजा हुने समयलाई यमपञ्चक भनिएको हो ।  यो समयमा यमराज पनि आफ्नी बहिनी यमुनाकहाँ टीका लगाउन जाने हुँदा कालदण्डरूपी भयबाट मुक्त पाइन्छ भन्ने धार्मिक एवं लौकिक मान्यता रहेको छ । यिनै  पाँच दिनको समयलई तिहार भनिन्छ । 
आफ्नो दाजु यमराजmलाई धेरै दिनदेखि भेट्न पाएकी थिइनन् । भेटगर्ने इच्छा अनुरूप विभिन्न माध्यम मार्फत् भेट गर्ने निम्तो पठाउँछिन् । यमराज कार्य व्यस्तताका कारण बहिनीकहाँ पुग्न नसकेकाले स्वयं यमुना नै भेट गर्न जान्छिन् । दाजुलाई भेटेपछि उनले  पूजाआजा गरी सप्तरङ्गी टीका, फूलमाला पहिराइदिइन् । तोरीको तेलमा दूवोको झुप्पाले चोबेर दाजू वरिपरि पानी र तेल मिश्रित मसिनो धाराले रेखा कोरी मखमली फूलको माला सहित  टीका लगाएको  धार्मिक मान्यताका आधारमा तिहार पर्व भव्य रूपमा मनाइदै आएको छ । 

को हुन् यमराज ? 
सूर्य र विश्वकर्मा पुत्री संज्ञाका गर्भबाट जन्मिएका यमराज दक्षिण दिशाका रक्षक अर्थात् दिक्पाल हुन् । यिनको मुख्य काम पापीहरूलाई नरकको यातना दिएर पापबाट मुक्त गराउनु हो ।  यमराजकी पत्नीको नाम हेममाला अर्थात् धूमोर्णा र बहिनीको नाम यमुना हो ।  यमराजको लोकलाई यमलोक भनिन्छ भने यिनले हातमा कालदण्ड लिएका हुन्छन् । यमराज र शनिश्चर दाजुभाइ हुन्  ।


काग तिहार

कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरिन्छ । यस दिन यमदूतका रूपमा कागको पूजा हुने गर्दछ । काग अत्यन्त चलाख र सर्वभक्षी प्राणी पनि हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ । कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो । त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषणा, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन् ।
काग तिहारकै दिन समुन्द्र मन्थनका बेला उत्पत्ति भएका आयुर्वेदका प्रवर्तक धन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । 

कुकुर तिहार

कार्तिक कृष्ण चतुर्दशीको दिन कुकुरको पूजा हुने गर्दछ । यस दिनलाई नरक चतुदर्शशी पनि भनिन्छ । गृहरक्षकका रूपमा कुकुरको पूजा हुने गर्दछ । कुकुरलाई पनि यमदूतका रूपमा लिइन्छ । कुकुर यमराजको अर्को प्रिय भक्त हो । विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिने गर्दछ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ । 

लक्ष्मी पूजा  

कार्तिक कृष्ण औँशीका दिन महालक्ष्मी भगवतीको उपासना हुने गर्दछ । लक्ष्मीलाई धनधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंशीलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकार रातलाई उज्यालोको प्रकाशले आलोकित पार्न घर–घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । 

भगवती आद्यमातृशक्ति हुन् । सम्पूर्ण देवताको अङ्गबाट प्रादुर्भाव भएकी कमलको आसनमा विराजमान  देवीलाई  महालक्ष्मी भनिन्छ । जसलाई त्रिगुणमयी प्रकृतिको नामले पनि पुकारिन्छ ।  महिसासुरको बध पनि यिनै देवीले गरेकी हुन् । विचित्र रूप, कान्ति एवं सौभाग्यले सुशोभित देवीका हजारौँ हात छन् । जसलाई  अठारवटा हात भएकी देवीका रूपमा पूज गर्ने चलन छ । उनका  हातमा अक्षमाला, कमल, वाण, खड्ग, वज्र, गदा, चक्र, परशु(वञ्चरो), त्रिशूल, शङ्ख, घण्ट, पाश, शक्ति, दण्ड, ढाल, धनुष, पानपात्र र कमण्डलु विभूषित छन् । 

विशेषतः भगवती लक्ष्मीका आठ रूप रहेका छन् । आद्य लक्ष्मी महालक्ष्मी हुन् । यसैगरी धनलक्ष्मी, धान्य लक्ष्मी, गज लक्ष्मी, सन्तान लक्ष्मी, वीरा लक्ष्मी,  विजया लक्ष्मी वा जाया लक्ष्मी र विद्या लक्ष्मी गरी महालक्ष्मीका आठ रूप छन् । विद्याकी देवीलाई विद्या लक्ष्मी भनिन्छ । ज्ञान, कला, साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । कमलमा बसेकी, चारहात भएकी, सेतो वस्त्र धारण गर्ने, दुई हातमा कमल र दुई हात वर मुद्रा प्रदान गर्ने देवीको स्वरूप बताइएको छ ।  

१) आद्य लक्ष्मी 
आद्य लक्ष्मी महालक्ष्मी हुन् । यिनको पहिलो अवतार भृगु ऋषिकी छोरीको रूपमा भएको थियो । 
२) धन लक्ष्मी 
धन र वैभवबाट परिपूर्ण गर्नेे धन लक्ष्मी हुन् ।  भगवान् विष्णुले पनि एकपटक कुबेरसँग धन उधारो लिनु परको थियो । उक्त समयमा धनलक्ष्मीले नै उक्त ऋणबाट मुक्त गराएको कथा पाइन्छ ।
३) धान्य लक्ष्मी 
अन्नकी देवीलाई धान्यलक्ष्मी भनिन्छ । अन्न अनाजबाट प्राप्त हुने धनकी देवी धान्यदेवी हुन् । अन्नादि वस्तुको कल्याण गर्ने देवीका रूपमा धान्यदेवीको पूजा गरिन्छ ।  
४) गज लक्ष्मी 
पशु धनकी देवी गजलक्ष्मी हुन् । गजलक्ष्मीले भगवान्् इन्द्रलाई सागरको गहिराइबाट धन झिक्न मद्दत गरेको कथा पाइन्छ ।  पशु धनकी देवीको रूपमा गजलक्ष्मीको पूजा आराधना गरिन्छ । 
५) सन्तान लक्ष्मी 
सन्तनको रक्षा गर्ने देवी सन्तान लक्ष्मी हुन् । सन्तानलाई पनि धन मानिन्छ । विशेषतः यिनी बाल बच्चाकी देवी हुन् । आयु प्रदान गर्ने देवीका रूपमा पनि यिनको आराधना गरिन्छ । दुई घोडा, एक तरवार, एउटा ढाल, दुई घडा, दुई हात अभय मुद्रा प्रदान गर्नेबाली लक्ष्मीको काखमा एक बच्चा रहेको पाइन्छ । 
६) वीरा लक्ष्मी 
युद्धमा शक्ति प्रदान गर्ने देवी वीरा लक्ष्मी हुन् ।  शक्ति रूपी धनकी देवीका रूपमा पनि यिनको उपासना हुने गर्दछ । वीरता प्राप्तिका निम्ति पनि यिनको आराधना हुने गर्दछ । 
७) विजया लक्ष्मी वा जाया लक्ष्मी 
विजयाको अर्थ जीत हो । विजया लक्ष्मी जीतकी प्रतीक हुन् । जसलाई जाया लक्ष्मी पनि भनिन्छ । रातो वस्त्र लगाएकी, कमलको आसमा विराजमान हातमा हतियार धारण गरेकी विजया लक्ष्मीको स्वरूप बताइएको छ । 
८) विद्या लक्ष्मी
विद्याकी देवीलाई विद्या लक्ष्मी भनिन्छ । ज्ञान, कला, साहित्य एवं संगीतकी देवी साक्षत् सरस्वती हुन् । कमलमा बसेकी,चारहात भएकी, सेतो वस्त्र धारण गर्ने, दुई हातमा कमल र दुई हात वर मुद्रा प्रदान गर्ने देवीको स्वरूप बताइएको छ ।  

सुख–सम्पत्ति र ऐश्वर्य अभिवृद्धिको मनोकामनासहित कार्तिक कृष्ण औंसीका दिन माता लक्ष्मीको विशेष रूपमा पूजाआजा र अर्चना गर्नु तथा त्यसपछि लक्ष्मीकै प्रसाद प्रयोग गरी आफ्ना दराज, सेफ, भण्डार आदिमा स्वस्तिक चिह्न अंकित गर्नु वा शुभलाभ लेख्नु हाम्रो धार्मिक परम्परा हो । दीपावलीमा ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि आफूलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्ने भाव प्रकट भएको पाइन्छ । यस दिन चेलीबेटीले भैलो खेल्ने चलन पनि रहेको छ । 

 गाेबर्द्धन पूजा
  कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्ना घर–कोठा–चोटा पवित्र तुल्याउने हाम्रो संस्कार छ । गाईलाई लक्ष्मी र गौमाताका रूपमा पनि लिइन्छ । गाईजात्रा, गाईपाला, गाईप्राणी, गौप्राणी आदि शब्दले गाईमा आधारित विविध प्रतीकात्मक अर्थ प्रदान गर्छ । 

कार्तिक शुक्ल प्रतिपदाका दिन गाईको विशेष पूजा हुने गर्दछ । यस दिन गोबरको गोवर्धन पर्वत बनाई विशेष पूजा गरिन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एक पर्वत हो । श्रमिद्भागवत महापुराणका अनुसार कृष्ण भगवान् गोकुलमा गोपालहरुसँग बस्नुहुन्थ्यो । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैन थिए । भगवान्् श्रीकृष्णले एकदिन गोकुलवासीलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज, घाँस, पानी, दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राखेपछि गोवद्र्धन पर्वतको पूजा गरिन्छ । पर्वतलाई पूजा गरेका कारण रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको घोर वर्षा गराउछन् । भगवान् श्रीकृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीलाई आश्रय दिएपछि इन्द्र हार खाई माफ माग्न पुग्छन् । त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको विश्वास गरिन्छ । नेवारी समुदायमा यस दिन म्ह पुजा गरिन्छ । नेपाल संवतको नयाँ वर्ष पनि यसदिनबाल लाग्ने गर्दछ ।

भाइ तिहार 

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाउने परम्परा रहेको छ । यमुनाले यसै दिन दाजु यमराजलाई विशेष मान–सम्मान गर्दै भाइपूजा गरेको कथा पाइन्छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् र पृथ्वीवासीलाई कालको भय हुँदैन भन्ने हाम्रो धार्मिक मान्यता समेत रहेको छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश, गणेश एवं अष्टचिरञ्जीवीको पूजा गरी भाइटीका लगाइन्छ । यस दिन देउसी खेलेर मनोरञ्जन पनि गरिन्छ । 

ओखर यमराजको प्रतीक हो जसलाई ढोका बाहिर फोडिन्छ । विमिरो यमुनाको प्रतीक हो जसलाई पूजा गरेर पवित्र स्थानमा राखिन्छ । कहिल्यै नसुक्ने तेल, मखमली फूलको माला र दुवो दीर्घ जीवनका प्रतीक हुन् जसले दीर्घायुको कामना गरिन्छ । यसरी भव्य रूपमा पाँच दिनसम्म मनाइने पर्व नै यमपञ्चक अर्थात् तिहार हो । 

No comments:

Post a Comment