उप प्रा नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
कार्तिक शुक्लपक्षको एकादशी तिथिलाई हरिबोधिनी एकादशी भनिन्छ । एकादशी मध्ये पनि उत्तम एकादशी भएकाले यो दिनलाई ठुली एकादशी पनि भनिन्छ । हरिबोधिनी एकादशीमा विधिवत् तुलसीको विवाह हुने गर्दछ । हरि भनेको साक्षत् विष्णु भगवान् हुनुहुन्छ । बोधिनीको अर्थ जागृत हुने उठ्ने भन्ने हुन्छ । क्षीरसागरको शेषशेयामा आषाढ शुक्ल एकादशीका दिन शयन गर्नुभएका(सुत्नु भएका) विष्णु भगवान् यही कार्तिक शुक्लपक्षको एकादशीका दिन चार महिनापछि उठ्ने भएकाले यसदिननलाई हरिबोधिनी एकादशी भनिएको हो । विष्णु भगवान् यस दिनबाट स्वप्न अवस्थाबाट जागृतहुनुहुन्छ । त्यसैले यस दिन भगवान् विष्णुको प्रतीक तुलसीलाई पूजाआज सहित विवाह पनि गर्ने धार्मिक विधिान रहेको पाइन्छ ।
भविष्योत्तर पुराणमा अन्य एकादशी भन्दा हरिबोधिनी एकादशीका दिन गरिने विष्णु भगवान्को उपानिा बी फलदायी हुने कुरा उल्लेख छ । यस दिन गरिने स्नान, दान, तप,धर्म आदि सबैकार्यको अक्षय पुण्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ । भगवान् श्रीकृष्ण युधिष्ठिर संवादमा एकादशी महिमाको विशेष चर्चा पाइन्छ ।
ब्रह्मवैवर्त पुराणअनुसार तुलसीका प्रसिद्ध आठ नाम : वृन्दा, वृन्दावनी,विश्वपूजिता,विश्वपावनी,पुष्पसारा,नन्दिनी, तुलसी र कृष्णजीवनी छन् । आयुवृदमा पनि तुलसीको विशेष महित्त्तव रहेको छ । तुलसीलाई महौषधीको संज्ञा दिइएका छ ।स्कन्द पुराण अनुसार जालन्धरकी पतिव्रता पत्नी वृन्दाको सतीत्वनै उसको अमरत्वको आधार थियो । वृन्दाको सतीत्व अन्इत नगरी जालन्धर राक्षसको अन्त्य सम्भव थिएन । सृष्टिको कल्याण गर्ने उद्देश्यले भगवान् विष्णुले वृन्दाको सतीत्व नष्ट गर्नुपरेको थियो । विष्णु भगवान्ल रूप वदली जालन्धरको भेषमा गई वृन्दाको सतीत्व हरण गरेको थाह पाएपछि वृन्दाले भगवान् विष्णुलाई श्राप दिन्छिन् । त्यसपछि भगवान् विषु पत्थरका रूपमा शालिग्राम हुनुभयो । पुनः वहाँ वृक्षका रूपमा तुलसी पनि हुन परेका थियो । वृन्दाको श्रापका कारण भगवान् तुलसीरूपमा प्रकट भई सर्वकल्याण गरेको कथा पनि पुराणमा पाइन्छ । तुलसीको वनलाई वृन्दावन भनिन्छ । एकादशी महिमाको चर्चा पद्म पुराणको चौध अध्यायमा पनि पनइन्छ । पापी पुरुषले एकादशीकको व््त धारण गरी धर्म आर्जन गरी मोक्ष प्राप्त गरेको कथा उक्त पुराणमा वर्णन गरिएको छ । एकादशीको व्रत धारण गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्रप्त हुने कुरा ब्रह्मवैवर्त पुराणमा व्याख्या गरिएको छ ।
एकादशीका दिन साक्षात् पाप अन्नमा गर्ए निवास गर्ने भएकाले यस दिन अन्न नलिनु भनिएको हो । यस दिन अन्न खानाले पापवृत्ति बढने कुरा शास्त्रमा बताइएको छ । त्यसैले कन्दमूल आदि फलाहार गर्ने चलन रहिआएको पाइन्छ ।
एकादशीका दिन ॐ नमो भगवते वासुदेवाय मन्त्र जाप गर्नाले पनि उत्तम गति प्राप्त हुन्छ ।
एकादशीको दिन तुलसीको विवाह गरी भोलिपल्ट अर्थात् द्वादशीका दिन हवन गरी नयाँ अन्न पनि चढाउने गरिन्छ । पूर्णिमा सम्म तुलसीको हवन गर्नलाई साइत हेरिरहनु पर्दैन । सो पश्चात् भने जुराएर उपयुक्त दिनमा तुलसीको हवन गर्न सकिन्छ ।
ध्यान आदि प्रार्थना गर्ने मन्त्र –
ध्यायेच्च तुलसीं देवीं श्यामां कमललोचनाम् ।
प्रसन्नां पद्मवसनां वराभयचतुर्भुजाम् ।।
किरीटहारकेयूरकुण्डलादि–विभूषणम् ।
धवलांकुशसंयुक्तां पद्मासननिवेशिताम् ।।
प्रियां हि सर्वदा विष्णोः सर्वदेवनमस्कृताम् ।
विष्णुप्रियकरे देवि तुलसि सुखदायिके !
पुष्पाञ्जलिं प्रयच्छामि पत्युरायुष्यवृद्धये ।
सौभाग्यं सन्ततिं देवि धनं धान्यं च मे सदा ।
आरोग्यं शोकशमनं कुरु मे माधवप्रिये ।।
अभिष्टफलसिद्धिं च सदा देहि हरिप्रिये !
देवैस्त्वं निर्मिता पूर्वमर्चिताऽसि मुनिश्वरैः ।।
अतो मां सर्वदा भक्त्या कृपादृष्ट्या विलोकय ।
पत्युरायुश्च भाग्यं च सदा देहि हरिप्रिये ।।
पूतनाभयसंत्रासाद् रक्षितश्च यथा हरिः ।
तथा संसारसन्त्रासाद्रक्ष मे वंशमुत्तमम् ।।
व्रत रहनु आफूमै स्वच्छ पवित्रताको वरण गर्नु हो । आजको विज्ञानले पनि व्रतलाई आवश्यक ठानेको छ । वैदिक संस्कृति र सभ्यतामा व्रतलाई एक यज्ञको संज्ञा दिइएको छ । व्रत पनि एकप्रकारको यज्ञ नै हो । यसैले विशेष तिथि पर्वमा व्रत धारण गर्ने परम्परा रहिआएको छ । यस्तै व्रत धारण गर्ने उपयुक्त दिन एकादशी पनि हो । व्रत रहँनाले समस्त मनोकांक्षा पूर्ण हुने धार्मिक मान्यता रहि आएको छ । हरेक पन्ध्र दिनमा एउटा एकादशी पर्ने गर्दछ । हाम्रो समाजमा एकादशीको व्रत वस्ने चलन छ । जसको धार्मिक एवं वैज्ञानिक कारण पनि रहेको पाइन्छ । चान्द्रमास अनुसार महिनामा दुईवटा शुक्ल र कृष्ण एकादशी पर्ने गर्दछन् । लाग्दो तिथि छोड्दो व्रत भन्ने चलन नै रहेको छ । अर्थात् तिथि श्राद्ध गर्दा तिथि लागेपछि गर्नु पर्छ भने व्रत धारण गर्दा छोड्दो तिथिलाई लिनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । अर्थात् द्वादशी लाग्ने एकादशीको व्रत वस्नु उत्तम हुने शास्त्रीय प्रमाण पाइन्छ । विशेषगरी एकादशी भगवान् विष्णुको प्रिय दिन हो । स्मार्तहरू तिथि लागेकै दिन व्रत वस्ने गर्दछन् भने वैष्णव समप्रदायमा छोड्दो एकादशी र लाग्दो द्वादशीलाई व्रतका रूपमा उपयोग गर्ने गर्दछन् ।
व्रत शारिरीक,मानसिक एवं आध्यात्मि तिनै दृष्टिले उपयुक्त मानिन्छ । महिनामा दुई दिन व्रत धारण गर्नाले मानसिक शुद्धिका साथै शारिरीक शुद्धि समेत हुने गर्दछ । आजको विज्ञानले समेत व्रतको पवित्र उद्देश्यलाई स्वीकारेको छ । एक उपचार पद्धतिको रूपमा व्रतलाई प्रयोग समेत गर्दै आएको पाइन्छ । पारलौकिक सत्य नमान्नेका लागि पनि व्रत उपचारको एक माध्यम हुन सक्छ । पाश्चात्य समाजमा पनि यही व्रतमको प्रभाव स्वरूप फाष्टिङ वस्ने चलन रहेको पाउन सकिन्छ । पेटमा भएका विकारलाई शुद्ध गर्ने एक प्रविधि पनि व्रत हो । यसमा शारीरिक एवं मानसिक पवित्रताको आवश्यक हुन्छ । सोही कारणले उक्त दिन फलाहार गरेर पनि व्रत वस्ने चलन रहिआएको छ । निराहार व्रत वस्ने चलन पनि रहेको छ । शरीरको अनुकुलता अनुसार सात्विक आहार लिएर पनि व्रत धारण गर्न सकिन्छ । व्रतको उद्देश्य पवित्र हुनु हो । मनमा पवित्र भावनाको जागृत गराउनु हो । व्रत धारण गरेर पनि मनमा पवित्रता हुन सकेन भने सोको उचित फल प्राप्त हुन सक्दैन । व्रत कसरी गर्ने,कुन व्रतका के नियम छन् भनने कुरा व्रतराज भन्ने पुस्तकमा प्राप्त गर्न सकन्छि । हरेक व्रतका आआफ्नै विधि विधान रहेका छन् । फल अनुसार व्रत उपासना गर्ने विधि पनि भिन्न हुने गर्दछन् ।
एकादशी भनेको चान्द्र मासको एघारौ दिन हो । त्यसैले एकादशी पनि भनिएको हो । हरेक एकादशीका भिन्ना भिन्नै नाम र व्रत धारण गर्नाले प्राप्त हुने फलको वारेमा वर्णन पाइन्छ । एकादशी तिथि भगवान विष्णुको प्रिय दिन हो । व्रतराजममा हरेक एकादशी व्रतको विस्तृत व्याख्या गरिएको छ । वैशाख कृष्ण एकादशीलाइै वरुथिनी एकादशी भनिन्छ । यसको व्रंत धारण गर्नाले शरीरमा कवच प्राप्त हुन्छ । शरीरलाई मजवुत बनाउन वैशाख कृष्ण एकादशी को व्रत धारण गर्न सकिन्छ । यसैगरी वैशाख शुक्ल एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो भगववानको मोहिनी अवतारसँग सम्बन्धित छ । यस दिन भावानको मोहिनी अवतारका कथा श्रवण गर्नाले मोक्षा प्राप्त हुने कुरा शास्त्रमा वार्णन पाइन्छ । ज्येष्ठ कृष्ण एकादशीलाई परा भनिन्छ । परा एकादशीको उपासनाले पराशक्ति प्राप्त हुन्छ । परा शक्ति भनेको पनि मोक्षको एक मार्ग हो । यसैगरी ज्येष्ठ शुक्ल एकादशीलाई निर्जला भनिन्छ । यस दिन निर्जल अर्थात् पानी पनि नखाई व्रत वस्नाले विशेष फल प्रांप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
आषाढ कृष्ण एकादशीलाई योगिनी एकादशी भनिन्छ । यसैगरी आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी वा ठुली एकादशी भनिन्छ । यस दिनदेखि भगवान शयन कक्षमा जानु हुन्छ र चार मनिासम्म आराम गर्नुहुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । श्रावण कृष्ण एकादशीलाई कामिका भनिन्छ । यस दिनको व्रत गर्नाले समस्त मनोकामना पूर्ण हुन्छन् । यसैगरी सन्तानको चाहना गर्नेले श्रावण शुक्ल एकादशीको व्रत गर्ने विधान गरिएको छ । अर्थात् यस दिनकी एकादशहशीको नामा पुत्रदा हो । जसको व्रत धारण गर्नाले सन्तान प्राप्त हुने गर्दछन् । भाद्र कृष्ण एकादशीको नाम अजा हो भने भाद्र शुक्ल एकादशीको नामा हरिपरिवर्तिनी हो । यस दिन भगवान् विष्णु कोल्टे फेर्नु हुन्छ । आश्विन कृण पक्षकी एकादशीको नाम इन्दिरा हो भने शुक्ल एकादशीलाई पापांकुशा भनिन्छ । जसको नाम अनुसार नै फल पनि बताइएको छ । कार्तिक कृष्ण एकादशीको नाम रमा हो भने कार्तिक शुक्ल एकादशीमा भगवान् जागृत हुनुहुन्छ । जसलाई हरिबोधिनी एकादशी पनि भनिन्छ । मंसिर कृष्ण एकादशीको नाम उत्पत्तिका हो भने मार्ग शुक्ल पक्ष एकादशीलाई मोक्षदा भनिन्छ । जसको व्रत धारण गर्नाले मोक्षा प्राप्त हुन्छ । पौष कृष्ण एकादशीमा सफला, शुक्ल एकादशीमा पुत्रदा,माघ कृष्ण एकादशीमा षड्तिला एकादशी हुन्छन् भने माघ शुक्ल पक्षकी एकादशीलाई भीमा नामले पुकार्ने गरिन्छ । फाल्गुन कृष्णपक्षमा विजया,शुक्लमा आमलकी,चैत्र कृष्णमा पापमोपचिनी पर्दछन् भने चैत्र शुक्ल एकादशीको नाम कामदा हो । नाम अनुसार नै व्रत धारण गर्नाले तदनुरूपको फल प्राप्त हुने गर्दछ भनी स्कन्दपुराण, विष्णुपुराण, व्रतराज, एकादशीमाहात्म्य आदि ग्रन्थमा व्यक्त गरिएको छ ।
व्रत आफैमा राम्रो कुरा हो । स्वास्थ्यका दृष्टिले व्रत उपासना गर्नु उचित मानिन्छ । शरीर अस्वस्थ रहेको बेलामा व्रत धारण गर्नु नै पर्छ भन्ने कुनै बाध्यता छैन । पवित्रता व्रतको मूल उद्देश्य हो । व्रतले चित्तको विकारलाई वदलेर नवीन एवं सकारात्मक भावनाको जागृत गराउछ । शरीरको अवस्था हेरेर मिताहारी व्रत धारण गर्न पनि सकिन्छ । शुद्ध पवित्र आचरणमा रहन सकेनौ भने व्रत निष्प्रभावी हुन्छ । व्रत आफैका लागि वस्ने हो । चित्तवृत्तिलार्ई सकारात्मक बाटोतर्फ लैजाने कार्य व्रतले गर्दछ । सात्विक भाव र विचारको प्रवाह गरेर मनमा नवीन ऊर्जा प्रवाहित गर्न सक्नु व्रतको उपलब्धी हुन्छ । वं्रतधारणसँगै आत्मबोध पनि हुनु आवश्यक छ । यो आत्मबोध गराउने माध्यम पनि हो । आत्मिक भाव जागृतिका निम्ति व्रत उपासना आवश्यक हुन्छ । यस्तै मध्ये भगवान् विष्णुको उपासना गर्ने पद्धति विशेष नै एकादशीको व्रत हो । जसको धारण गर्नाले इह एवं पारलौकिक सुख मिल्ने गर्दछ । त्यसैले एकादशी व्रत पनि मानवलाई सकारात्मक मार्गतर्फ लम्क्याउने एक माध्यम हो । जसको धारण गर्नु सबैका निम्ति कल्याणकारी हुने देखिन्छ ।
No comments:
Post a Comment