आज घटस्थापना, नवरात्रको आरम्भ, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक १ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Oct 16, 2020

आज घटस्थापना, नवरात्रको आरम्भ, महिमासहित हेर्नुहोस् आजको दिन २०७७ कार्तिक १ गते




श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको १  गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १७ तारिख, शनिवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन  शुक्लपक्षको  प्रतिपदा तिथि राति ११।२९  बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा  हुन् । सूर्य कन्या  राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् ।  चित्रा नक्षत्र दिवा २।२४  बजेसम्म रहनेछन् । यसैगरी आज विष्कुम्भ योग र किंस्तुघ्न करण रहेका छन् । आज सूर्योदय बिहान ६।०४६ मा छ भने सूर्यास्त बेलुका ५।३१ बजे हुनेछ । चन्द्रमा आज तुला  राशिमा रहेका छन् ।  

आज नवरात्रको आरम्भगर्देदिन घटस्थापना हो । आज विधिवत् पमा घडास्थापना गुरी जमरा राखिन्छ । आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसदिन विधिपूर्वक घडा (कलश) स्थापना गरी दुर्गा भगवतीको विशेष उपासना हुने गर्दछ । आद्य शक्ति भगवतीको उपासना गर्ने आश्विन शुक्लपक्षको प्रतिपदाबाट नवरात्रको पनि आरम्भ हुन्छ । नवरात्र भगवतीको उपासना गर्ने उत्तम समय हो । यस्तै नवरात्रको पहिलो दिन दीप, कलश, गणेशीजको स्थापना पूजाका साथै विशेष विधानपूर्वक घडा स्थापना,  जौ रोपण गरी शैलपुत्री भगवतीको विशेष पूजा आराधनाका साथ उपासना गर्ने दिन घटस्थापना हो । 

यसै दिनबाट नवरात्रको आरम्भ हुन्छः  आश्विनशुक्लप्रतिपदि नवरात्रारम्भः (निर्णयसिन्धु, द्वितीयपरिच्छेद, पृ. ११२) घटस्थापना यो नवरात्रको पहिलो दिन हो । घटस्थापनासँगै भगवतीको उपासना गरी दुर्गा भगवतीको प्रिय वस्तु जौको जमरा राख्ने शास्त्रीय विधान छ । संस्कृतमा जमरालाई जयन्ती भनिन्छ । जयन्ती भगवतीकै एक नाम पनि हो । 

घटस्थापना कसरी गरिन्छ ? 

वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखिन्छ । यसपछि कर्मपात्रादि निर्माण गरी प्रायश्चित्त गोदान एवं प्रतिज्ञासङ्कल्पपूर्वक शास्त्रीय विधि अनुसार दीप, कलश एवं गणेशजीको षोडशोपचारले पूजा हुन्छ । 

यसरी दीप, कलश एवं गणेशजीको  पूजा गरिसकेपछि घटस्थापनाको कार्य आरम्भ हुन्छ । पूजास्थनको ईशानकोणमा (पूर्व र उत्तर दिशाको बीचस्थानमा) माटोको सुन्दर वेदी बनाउनुपर्छ (जहाँ कलश एवं जमराराख्न मिलोस्) । यसरी घडा राख्ने स्थानमा अष्टदल कमलको रेखी हाली टपरीमा धान राखी धानमाथि विशेष प्रकारले सिँगारिएको घडा (कलश) विधिपूर्वक स्थापना गर्नुपर्दछ । कलश माटो वा तामाको उत्तम मानिन्छ । कलशमा पञ्चपल्लव (पिपल, डुम्री, पाखरी, आँप र वरका पात), दुवो, सप्तमृत्तिका (सातठाँउको माटो– घोडा बसेको स्थान, हात्ती बसेको स्थान, पञ्चरत्न (सुन, हिरा, मोती, पद्मराग र नीलम), सार्वौषधी  कुट, वेसार, जटामसी, चुत्रो, मुरा, श्रीखण्ड, शिलाजित, बोझो, चाँपो र मोेथो), सप्तमृत्तिका (धमिरो लागेको ठाँउको, नदीको संगम भएका ठाँउको, दहमा जमेको, राज दरबारका ढोकाको र गोठको माटो)  राखी वस्त्र वेष्टित गरेर सजाइन्छ । यसपछि वरुणादि सम्पूर्ण देवी देवताको आह्वान गरी विशेष मन्त्रले स्थापना गरिन्छ । 

सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आवाहन पूजन पनि हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा(कलशको) वरिपरि जमराका निम्ति छरिन्छ ।

विशेष विधिपूर्वक स्थापना गरिएका जौ क्रमशः बढ्दै जमराका रूपमा परिणत हुन्छन् । जमरा जति राम्रा हुन्छन् त्यति नै भगवती पनि प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले जौ रोपण गरी दुर्गा भगवतीलाई चढाइन्छ ।  यसरी स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।


 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 


No comments:

Post a Comment