श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल कार्तिक महिनाको २ गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको १८ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको द्वितीया तिथि राति ९।५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । स्वाती नक्षत्र दिवा १२।४३ बजेसम्म रहनेछन् । यसैगरी आज प्रीति योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ६।६ मा छ भने सूर्यास्त बेलुका ५।३० बजे हुनेछ । चन्द्रमा आज तुला राशिमा रहेका छन् ।
आज ब्रह्मचारिणी भगवतीको उपासना गर्ने दिन हो । तपप्रधान भगवतीको स्वरू नै ब्रहमचारिणी हो । यस्ती भगवतीको स्वरूप कठोर तप गर्ने, ब्रह्माको आचरण अर्थात् कठोर ताप सहन सक्ने रहेको पाइन्छ । भगवतीको शिरमा अर्ध चन्द्र र शरीरमा अनेक प्रकारका आभूषण विराजमान छन् । दाहिने हातमा जपमाला एवं बायाँ हातमा कमण्डलु धारण गर्नुहुने भगवतीको स्वरूप पूर्ण ज्योतिर्मय एवं अत्यन्त भव्य र दिव्य रहेको वर्णन पाइन्छ ।
भगवतीले हिमालय कन्याको रूपमा उत्पन्न भई भगवान् शिवजीलाई प्राप्त गर्न कठोर तपस्या गर्नुभएको कथा पुराणमा वर्णन पाइन्छ । सोही तपस्याका कारण भगवतीको नाम ब्रह्चारिणी पनि रहनगएको हो । तीन हजार वर्षसम्म भगवतीले निराहार र निर्जला तपस्या गर्नुभएको थियो । पहिलो वर्ष फलाहार मात्र गरेर, दोस्रो वर्ष पातको मात्र आहार गरेर र सोपश्चात् निराहार व्रत बस्नुभएका कारण तीनै लोकमा हाहाकार मच्चियो, यहाँसम्म कि स्वयं ब्रह्माजी पनि आत्तिन थाल्नुभयो । देवगण पनि डराउन लागे, भयङ्क अवस्थको सृजना हुने अवस्था आएपछि ध्यानमा रहनुभएका शिवजी जागृत भई वरदान दिनुभएका रोचक कथा पुरणमा वर्णन पाइन्छन् । ब्रह्मचारिणी भगवतीको आराधना गर्नाले आयु, शक्ति, भौतिकसुख तथा दाम्पत्य सुख मिल्ने फल बताइएको छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment