श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल आश्विन महिनाको २० गते तदनुसार ईशवीय सन् २०२० अन्तर्गत अक्टोवर महिनाको ६ तारिख, मंगलवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्रीशालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४० अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत अधिक आश्विन कृष्णपक्षको चतुर्थी तिथि बिहान ९।२४ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी इषा हुन् । सूर्य कन्या राशिमा र बृहस्पति धनु राशिमा रहेका छन् । कृत्तिका नक्षत्र दिवा ४।५ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग र बालव करण रहेका छन् । आज सूर्योदय बिहान ५।५९ मा छ भने सूर्यास्त बेलुका ५।४२ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज मंगलचौथीव्रत परेको छ । मंगलवारका दिन चतुर्थी तिथि परेको समयमा मंगलचौथीको व्रतधारण गरिन्छ । मंगल कामनाका निम्ति लिइने भएकाले यो व्रतलाई मंगलचौथी भनिएको छ । यस अवसरमा गणेशजीको विशेष उपासना हुने गर्दछ । चतुर्थी तिथिका स्वामी गणेशजी हुनुहुन्छ । यसैगरी मंगलवार पनि गणेशजीको प्रिय दिन हो । यसैले यस अवसमा गणेशजीको उपासना कार्यसिद्धिदायी रहने गर्दछ । आज गणेशजीको विशेष उपचारले पूजाका साथै लड्डु एवं दुवोको अर्पण शुभफलदायी रहने गर्दछ ।
हाल अधिकमास परे पनि नियमित रूपमा लिइआएको व्रतलाई निरन्तरता दिनुपर्दछ । तर यो समयबाट मंगलचौथीको व्रत आरम्भ भने शुभ मानिएको छैन । नयाँ व्रत आरम्भ गर्ने बाहेक पहिलेदेखि लिइरहेको व्रतको पूर्णतः नियमानुसार पालना गर्नु कल्याणदायी रहन्छ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment