श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल माघ महिनाको ११ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत जनवरी महिनाको २४ तारिख, आइतवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत पौष शुक्लपक्षको एकादशी तिथि राति ९।५१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रोहिणी नक्षत्र राति ११।२३ बजेसम्म रहनेछन् । यसैगरी आज ब्रह्म योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ६।५६ मा छ भने सूर्यास्त बेलुका ५।३७ बजे हुनेछ । चन्द्रमा आज वृष राशिमा रहेका छन् ।
आज पुत्रदा एकादशीव्रत परेको छ । पौष शुक्लपक्षको एकादशीलार्य पुत्रदा भनिन्छ ।
युधिष्ठिरको जिज्ञासा समाधान गर्नेक्रममा भगवान् श्रीकृष्णले यो एकादशीको महिमा बताउनुभएको छ ।
कथा –
द्वापर युगको आरम्भमा महिष्मति नामको एक नगर थियो । जसमा महीजित नाम गरेका राजा राज्य गर्दथे । उनका कुनै सन्तति थिएनन् । सन्तानहीन भएकाले राजालाई राज्य सुखदायक लाग्दैन थियो । सन्तान सुखका निम्ति राजाले अनेक उपाय गरे तर सन्तान सुख मिल्न सकेन ।
जीवनको उत्तराद्र्ध लागेपछि पनि सन्तति सुख प्राप्त हुन नसकेपछि महीमति राजाले प्रजाका प्रतिनिधिहरूलाई बोलाएर एक सम्बोधन गरे –
हे प्रजाजनहरू ! मेरो खजानामा अन्यायले उपार्जन गरेको धन छैन । न मैले कहिल्यै देवताहरू तथा ब्राह्मणहरूको धन खोसेको छु । कसैको धरोहर पनि मैले लिएको छैन । प्रजाजनहरूलाई पुत्रका समान पालन गरेको छु । कहिल्यै कसैलाई घृणा गरिन । सबैलाई समान व्यवहार गरेँ । सज्जनहरूको सधैं पूजा गरेँ । यसरी धर्मयुक्त राज्य गर्दा पनि मेरा सन्तति छैनन् । त्यसैले म अत्यन्त दुःख पाइरहेको छु, यसको के कारण होला ?
सभामा सबै स्तब्ध भए । राजाको सम्बोधनका विषयमा छलफल गर्न मन्त्री तथा प्रजाका प्रतिनिधिहरू एकजुट भई समस्याको समाधान खोज्न उद्यत भए । सोही योजा अनुरूप वनमा तपस्यारत ऋर्षि महर्षिलाई भेट्ने र राय सललाह लिने निधोगरी त्यसतर्फ सबै जना लागे । एक आश्रममा वयोवृद्ध धर्मका ज्ञाता, तपस्वी, जितेन्द्रिय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ तत्वहरूलाई जान्ने, समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जसको एक कल्पमा एक केश (रोँ) झर्ने गर्दछ । एक कल्पमा चारअर्ब बत्तीसकरोड सौरवर्ष हुन्छ ।
सबै गएर ऋषिलाई प्रणाम गरे । उनीहरूलाई देखेर मुनिले सोधे कि तपाईंहरू कुन कारणले आउनुभयो ? निस्संदेह म तपाईंहरूको हित गर्नेछु । मेरो जन्म केवल अर्काको उपकारको लागि भएको हो, यसमा संदेह नगर्नुहोस् ।
लोमश ऋषिका यस्ता वचन सुनेर सबै भन्न थाले–
हे महर्षे ! तपाईं हाम्रो कुरा जान्नमा ब्रह्मा भन्दा पनि अधिक समर्थ हुनुहुन्छ । अतः तपाईं हाम्रो यस संदेहलाई दूर गर्नुहोस् । महिष्मति पुरीको धर्मात्मा राजा महीजित प्रजालाई पुत्र समान पालन गर्दछन् तर उनि पुत्रहीन हुनुका कारण दुःखी हुनुहुन्छ । अतः यो समस्याको समाधान भए हामी कृतार्थ हुनेथियौँ ।
यस्तो कुरा सुनेर ऋषि लोमशले केही समयको लागि आफ्ना आँखा बन्द गर्नुभयो र राजाका सम्पूर्ण पूर्वजन्मका वृत्तान्त अवलोकन गरी राजा पूर्वजन्ममा एक निर्धन वैश्य रहेका, एक गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्थे । बाटो हिँड्दैगर्दा तीर्खा लागेर उनी पानी खान एक जलाशयमा पुगे । सोही समयमा एक सुत्केरी गाई प्यासले पानी खान आएकी थिइन् । राजाले ती सुत्करी गाईलाई पानी खान नदिई धपाएर आफैले मात्र पानी खाए । यही पूर्वजन्मको पापका कारण राजामा सन्तति सुख प्राप्त नभएको महर्षि लोमशले पत्ता लगाउनुभयो ।
यसरी राजाले गाईलाई पानी नदिएकाले यो दुःख सहनुपरेको सारा वृत्तान्त सुनाए । राजा पनि एकादशीको व्रतगरी भोकै प्यासै रहेका कारण उक्त व्रतको प्रभावले राज्य गर्न पाए पनि गाईलाई गरेको अपमानले सन्तनसुख प्राप्त हुन नसकेको कारण पत्ता लाग्यो ।
यस्तो कुरा सुने प्रजा एवं मन्त्रीगणले निराकरणको उपाय बताउन आग्रह गरे । जुन प्रकार राजाको यो पाप नष्ट हुन्छ, तपाईं यस्तो उपाय बताउनुहोस् । यसरी विन्ति गरेपछि लोमश मुनिले बताउनुभयो पौष वा श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा भनिन्छ । यस दिन विधिपूर्वक व्रतबसी रात्रिमा जागर गर्नाले राजाका पूर्वजन्मका पाप नष्टभई सन्तान सुख प्राप्त हुन्छन् भनी बताउनुभयो । लोमश ऋषिका यस्ता वचन सुनेर मन्त्रिहरू सहित सबै प्रजाहरू नगरमा फर्केर आए । जब श्रावण शुक्ल एकादशी आयो ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको विधिपूर्वक व्रत र जागरण गरे ।
यस पश्चात द्वादशीका दिन यसको पुण्यको फल राजालाई दिईयो । त्यस पुण्यका प्रभावले रानी पनि गर्भवती भई राजलाई पुत्र प्राप्त भएको थियो । अतः पुत्रदा एकादशीवको वत्र धारण गर्नाले सन्तति सुख समेत प्राप्त हुने भएकाले सो को व्रत धारणका साथै कथा श्रवण गर्नू भनी पद्मपुराणमा भगवान् श्रीकृष्णले राजा युधिष्ठिरलाई बताउनु भएको छ । यसैगरी पुत्रदा एकादशीको कथा श्रवण गर्नाले पनि सम्पूर्ण पाप नष्ट हुने भएकाले कथा श्रवण पनि पुण्यदायी रहने गर्दछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment