आज श्रीपञ्चमी, सरस्वतीपूजा महिमासहित हेर्नुहोस् आजको दिन २०७७ फागुन ४ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Feb 15, 2021

आज श्रीपञ्चमी, सरस्वतीपूजा महिमासहित हेर्नुहोस् आजको दिन २०७७ फागुन ४ गते



श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको ४ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत फेव्रुअरी महिनाको १६ तारिख,  समंगलवार  हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत माघ शुक्लपक्षको पञ्चमी तिथि राति ५।०    बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । रेवती नक्षत्र राति ८।३८ बजेसम्म रहनेछन् । यसैगरी आज शुभ योग र बब करण रहेका छन् । आज सूर्योदय बिहान ६।४२ मा छ भने सूर्यास्त बेलुका ५।५५ बजे हुनेछ । चन्द्रमा आज मीन राशिमा रहेका  छन् ।  

आज श्रीपञ्मी अर्थात् सरस्वतीपूजा गर्ने दिन हो ।  श्रीपञ्चमी माघ शुक्ल पञ्चमीका दिन पर्ने गर्दछ । पञ्चमी तिथिकै दिन भगवतीको उपासना गर्नुका पछाडि पूर्णताको  रहस्य रहेको छ । सरस्वती पूर्णब्रह्म हुनुहुन्छ । यसरैगरी पञ्चमी पूर्ण तिथिका रूपमा लिइन्छ । शुक्लपक्षमै भगवतीको उपासना गर्नुको तात्पर्य पनि भगवतीसँग अन्तर्निहति पाइन्छ । भगवतीलाई सर्वप्रिय रङ सेतो हो । वहाँ सेता वस्त्रले वेष्टित र सेतै कमलको आसनमा निवास गर्नुहुन्छ । माघ प्रिय महिना भएकाले  माघशुक्ल पञ्चमीमा सरस्वतीको विशेष उपासना गरिएको हो ।  जसलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतुको पूर्वसन्ध्या अर्थात् आरम्भको संकेत यस दिनबाट हुने गर्दछ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको उपासना गर्ने विशेष दिनका रूपमा पनि यो दिन प्रसिद्ध छ । यस दिन साकार रूपमा भगवतीले अवतार ग्रहण गर्नुभएको प्रसङ्ग पुराणमा उल्लेख पाइन्छ । आद्यशक्तिकै साकार स्वरूमा प्रकट भएकाले  यस दिनलाई भव्यरूपमा विशेष पर्वका रूपमा मनाइएको हो ।  वसन्त ऋतु आगमनको पूर्वाभाष स्वरूप यस दिन वसन्त महिमा गायन एवं श्रवण गर्ने गरिन्छ  । विद्याकी देवी भगवती सरस्वतीको विशेष प्रिय दिन रहेकाले पनि वसन्त पञ्चमीलाई भव्य रूपमा मनाइएको हो । यस दिन विद्या आरम्भ गर्न, नाक कान छेड्नुका साथै  विद्यासँग सम्बन्धित कार्यको आरम्भ गर्न उत्तम हुने कुरा ज्योतिष शास्त्रमा पनि वर्णन भएको पाइन्छ । संसार ज्ञानकै आँगनमा अडिएको हुनाले ज्ञान अर्थात् विद्याका उपासक सवैले यस दिन सरस्वतीको विशेष पूजा आराधना गर्ने गर्दछन् । 

माघ शुक्ल पञ्चमीका दिन शुद्ध स्नान पूर्वक भगवती सरस्वतीको मन्दिर गई विधि पूर्वक सरस्वतीको पूजा आराधना गरिन्छ । यस दिन भगवतीको षोडशोपचारले विशेष पूजा हुने गर्दछ  । पूजा पश्चात् भगवती प्रति विद्याको वरदन माग्न स्तुति प्रार्थना गर्नुका साथै आआफ्ना कलाको प्रदर्शन एवं अभ्यास गरिन्छ । संगीतका पारखीहरू यस दिन वसन्त रागको गान गर्ने गर्दछन् ।  सरस्वतीको पूजा गर्नु भनेको विद्याको उपासना गर्नु हो । सरस्वती केवल पुष्प चन्दन अक्षताले मात्र खुशी हुनुहुन्न । जसले विद्याको साधना गर्छ उसैका मुखमा सरस्वतीको वास हुन्छ । 

 उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment