श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७७ साल, फागुन महिनाको २७ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मार्च महिनाको ११ तारिख, बिहीवार हो । सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२१ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२१औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४२, तथा नेपाल संवत् ११४१ अन्तर्गत प्रमादी नामको संवत्सर चलिरहेको छ ।
सूर्य उत्तरायणमा छन् । शिशिर ऋतुअन्तर्गत फागुन कृष्णपक्षको त्रयोदशी तिथि दिवा २।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । धनिष्ठा नक्षत्र राति १०।१ बजेसम्म रहनेछन् । यसैगरी आज सिद्धि योग शकुनि करण रहेका छन् । आज सूर्योदय बिहान ६।२० मा छ भने सूर्यास्त बेलुका ६।९ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा रहेका छन् ।
आज महाशिवरात्रिपर्व परेको छ । महाशिवरात्रि अर्थात् फाल्गुन कृष्णचतुर्दशी साक्षात् शिवजी निराकारबाट साकार रूपमा प्रकट भएको दिन हो । शंकर भगवान विशालकाय अग्निलिङ्मा प्रकट हुनुभएको दिनका रूपमा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक मनाइन्छ । भगवदुत्पत्तिसँगै यो सृष्टिको पनि आरम्भ भएको हो । माघमासस्य शेषे या प्रथमे फाल्गुनस्य च । कृष्णा चतुर्दशी सा तु शिवरात्रिः प्रकीर्तिता ।। (कालमाधवीयस्कन्ध, नागरखण्डम्) अर्थात् फाल्गुनकृष्ण चतुर्दशीलाई शिवरात्रि भनिन्छ । जुन शिवउपासनाका निम्ति उत्तम दिन हो । महाशिवरात्रिपर्व रात्रिव्यापिनी हुन्छ । जुन रातले चतुर्दशीलाई धेरै छोएको हुन्छ सोही दिन महाशिवरात्रि पर्व मनाउने गरिन्छ ।
भगवान् शंकरका विभिन्न ज्योतिर्लिङ्ग पनि यही फाल्गुन कृष्ण चतुर्दशीमा प्रकट भएका हुन् । पछि आएर समुद्र मन्थनबाट प्राप्त विषलाई पनि राक्षत् नीलकण्ठ भगवानले यही दिन आफ्नो कण्ठप्रदेशमा राख्नुभएको कथा पुराणमा वर्णन पाइन्छ ।
यसैगरी भगवान शिव र पार्वतीजीको शुवविवाह पनि यही समयमा भएका कथा प्रसङ्ग पनि पाइन्छन् । विशेषतः यो शिवशक्तिको साकार स्वरूप प्रकट भएको पुण्य समय हो । शिवरात्रिमा भगवान शंकरको उपासना गर्नाले अभीष्ट फल प्राप्त गर्नेकुरा शास्त्रमा वर्णन पाइन्छ । रावणले भगवान् शिवलाई खुशी पार्न महाशिवरात्रिको व्रत धारण गरी आफ्नो अभीष्ट सिद्धि गरेका थिए । यसैगरी भगवान श्रीरामले पनि रामेश्वर शिवलिङ्गको उपासना गरी युद्धमा विजय हासिल गरेका दिव्य कथाप्रसङ्ग रामायणमा पाइन्छ ।
शिवरात्रिको पूजा मध्यरात्रिमा गर्नु शुभ मानिएको छ । रात्रिमा शिवजी प्रशन्न हुने भएकाले रात्रिको प्रत्येक प्रहरमा शिवजीको पूजा आराधना गर्नाले आशुतोष भगवान् प्रशन्न भई वरदान दिनुहुने कुरा स्कन्दपुराणमा वर्णन पाइन्छ । ‘ततो रात्रौ प्रकत्तंव्यं शिवप्रोणनतत्परैः । प्रहरे प्रहरे स्नानं पूजा चैव विशेषतः । अत्र वीप्सया प्रहरचतुष्टयसाध्यं प्रतीयते ।।’ (स्कान्दपुराण ) रात्रिका प्रत्येक प्रहरमा शिवजीको विधिपूर्वक पूजा अर्चना गर्ने विशेष पद्धति पनि रहेको छ ।
शंकर तम तत्त्वप्रधान भएकाले कृष्णपक्षको चतुर्दशीमा प्रादुर्भाव हुनुभएको हो । यस्तो अन्धमय समयमा पनि कल्याण गर्ने विश्व ब्रह्माण्डका अखिल नायक सृष्टिस्थिति र लयकर्ता आद्य शक्ति परमात्मा परमेश्वर देवाधिदेव महादेवको महिमा अपरम्पार छ । शिवशक्ति आद्य परमात्मा परब्रह्म हुनुहुन्छ । यो संसार भगवान् शिवकै अंशरूपमा चलिरहेको छ । चराचर जगत् शिव सङ्कल्पबाट सृजित भएको हो । शिवलीला अपरम्पार छ । सृष्टिसँगै लय पनि अवश्यम्भावी छ जो परमात्मा परमेश्वका कृपाले सम्भव छ । आद्य शिवशक्तिबाट नै यो संसारको उत्पत्ति भएको हो । वेदले पनि भगवान शिवको स्तुति गरेका छन् । ‘तन्मे मनः शिवसङ्कल्पमस्तु ।।’ (यजुर्वेद) को वेदध्वनिबाट पनि उक्त कुराको पुष्टि हुन आउँछ ।
वेद विश्वको सर्वप्राचीन अपौरुषेय ग्रन्थ हो । जहाँ परमात्मा परमेश्वरको स्तुतिगान गरिएको छ । यस अन्तर्गत कर्मकाण्ड र ज्ञानकाण्ड रहेका छन् । कर्मद्वारा ईश्वर प्राप्त गर्ने विधि कर्मकाण्ड हो । यस अन्तर्गत यज्ञयागादि हुने गर्दछन् । ज्ञानद्वारा परमात्मा प्राप्त गर्ने विधि ज्ञानकाण्ड हो । ज्ञानकाण्डलाई उपनिषद् भनिन्छ । चारवटै वेदले परमात्मा परमेश्वरको विशेष स्तुतिगान गरेका छन् । यजुर्वेदमा शिवका स्तुतिहरू प्रशस्तै पाइन्छन् । रुद्राभिषेक यजुर्वेदकै मन्त्रबाट सम्पादन गरिन्छ । जहाँ विविध प्रकारले शिवपार्वतीको महिमा गान गरिएको छ । हरेक कण–कणमा शिववास हुने र त्यस्ता कणरूपी महेश्वरलाई शतत नमन छ भन्दै सम्पूर्ण यजुर्वेदमा शिवमहिमा गान गरेको पाउन सकिन्छ । नमो हिरण्यवाहवे सेनान्येदिशाञ्चपतयेनमो नमो वृक्षेभ्यो हरिकेशेभ्यः पशूनाम्पतये नमोनमः ।। (यजुर्वेद,१६।१७०) नमो गणेभ्यो गणपतिभ्यश्चवोनमोनमोव्व्रातेभ्यो व्व्रातपतिभ्यश्चवोनमोनमो (यजुर्वेद।१६।२५०) स्वर्ग, अन्तरिक्ष, पृथ्वी आदि सर्वत्र व्याप्त परब्रह्मलाई शतत नमन गरिएको छ ।
सामवेद संगीतको आद्य स्रोत हो । जसका पिता शिवजी हुनुहुन्छ । भगवानको नटवर स्वरूपबाट नृत्य र गायनका सा रे ग म प ध नि सा आएका हुन् । यसैगरी अथर्ववेदले पनि शिव महिमा गान गरेको पाइन्छ । अथर्ववेदमा मारण मोहन र उच्चाटनका कुरा छन् । जसका जनक स्वयं साम्बसदा शिवजी हुनुहुन्छ ।
वेद विहित विषयवस्तुको ज्ञानकाण्ड र कर्मकाण्डका रूपमा ब्राह्मण र उपनिषद् आएका हुन् । उपनिषद् ज्ञान काण्ड हो भने ब्राह्मण आरण्यक कर्मकाण्ड अन्तर्गत पर्दछन् । परमात्मा परमेश्वर प्राप्त गर्ने विविध उपाय ब्राह्मण र उपनिषद्मा पाउन सकिन्छ । परमात्मा परमेश्वरको शिवसायुज्य प्राप्त गर्ने विधि (कर्म र ज्ञान) ब्राह्मण उपनिषद्ले बताएका छन् । प्रकारान्तरले परमात्मा परमेश्वरको आराधना नै ब्राहण उपनिषद्को पनि मुख्य ध्येय हो ।
भगवान् महेश्वर स्वयं पशुपतिनाथ हुनुहुन्छ । प्रकृतिदेखि पृथ्वीसम्म २४ तत्त्वलाई पाशरूप भनिन्छ । यिनै २४ तत्त्वको पासोमा जीवलाई पशुपतिले बाँध्नु भएको छ । अविद्या, अस्मिता, राग, द्वेष र अविनिवेश नामका पाँच क्लेशको वर्णन विभिन्न पुराणमा गरिएको छ । भगवान् शङ्करका अष्टमूर्तिमा सम्पूर्ण तत्त्व समावेश पाइन्छ । अष्टमूर्तिमा पञ्चब्रह्मरूपको प्रधानता रहेको छ । पञ्चब्रह्मरूपमा ईशान, तत्पुरुष, अघोर, वामदेव र सद्योजात पर्दछन् । ईशान रूपमा भोक्ता र भोग्य दुवै अविभक्त रूपमा स्थित रहन्छन् । भोक्ता क्षेत्रज्ञ हो र त्यसैको एकभाग भोग्यरूपमा परिणत हुन्छ । तत्पुरुष प्रकृतिरूप, अघोर बुद्धिरूप, वामदेव अहंकार रूप र सद्योजात मनस्तत्त्वरूप हुन् । यी पाँच क्रमशः पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय अन्तर्गत पर्दछन् । यी समष्टिरूप ज्ञानेन्द्रिय र कर्मेन्द्रियबाट नै व्यष्टिरूप जीवका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय भएका हुन् । यसप्रकार पञ्च तन्मात्रा हुँदै पञ्च महाभूत रूपमा परिणत हुन्छ । यिनै २५ तत्त्वको समष्टि रूप शिवानन्द हो । आत्मस्वरूप दर्शन नै विद्या हो । भ्रान्तिस्वरूप दर्शन अविद्या हो । परंतत्त्व विद्या र अविद्याभन्दा पनि पर रहेको छ, अर्थात् पृथक छ । सोही परं तत्त्व परमात्मा परमेश्वर साक्षात् शिवजी हुनुहुन्छ ।
लिङ्गपुराणको अन्तिम अध्यायमा मन्त्रयोग, स्पर्शयोग, भावयोग र महायोगको चर्चा गरिएको छ । मुखले मन्त्रको जप, मनबाट रूपको ध्यान गर्नु मन्त्रयोग हो । नाडीशुद्धिबाट वायुशुद्धि गर्ने प्रक्रिया स्पर्शयोग हो । भित्र र बाहिर भगवद् रूपको स्फुरण हुनु भावयोग हो । यी तिनवटै सिद्धि पश्चात् सर्वोत्तम महायोगको स्थान आउँछ, जो निर्विकल्प समाधिरूप हो । यसको सिद्धिपश्चात् सम्पूर्ण बन्धनबाट मुक्त भएर शिवसायुज्य प्राप्त हुन्छ भन्ने कुरा लिङ्गपुराणमा व्यक्त गरिएको छ । महाशिवरात्रि शिवतत्त्व प्राप्तिको उत्कृष्ट दिन हो ।
पौराणिक कथनअनुसार विष्णु भगवान् र ब्रह्माजीका बीच कसको पूज्य स्थान सर्वोपरि भन्ने आपसी विवाद भए पछि शिवजीलाई निर्णायक बनाइन्छ । भगवान शङ्करले जसले शिव लिङ्गको आदि र अन्त्य पत्ता लगाउछन् उही सर्वप्रथम पूजनीय हुन्छन् भन्ने बताउनुहुन्छ । सो आज्ञा पश्चात् शिवलिङ्गको फेद पत्ता लगाउन विष्णु भगवान र शिर पत्ता लगाउन ब्रह्माजी लाग्नु हुन्छ । ब्रह्माजी जति माथि गए पनि अन्त्य प्राप्त गर्न नसकेपछि केतकी फूल र गाईलाई साक्षी बस्न लगाएर शिर पत्ता लागाएको कुरा बताउनुहुन्छ । यता विष्णु भगवान् भने शिवलिङ्गको अन्त्य प्राप्त नभएपछि शिवजी परब्रह्म रहेकोमा निश्चिन्त भई परब्रह्म परमेश्वरलाई प्रणाम गर्न पुग्नुहुन्छ । ब्रह्माजीले झुटो बोलकोले पत्ता लागेपछि शिवजीले ब्रह्मा, गाई एवं केतकीलाई श्राप दिनुहुन्छ । ब्रहमालाई कसैले पूजा नगरुन् भन्ने श्राप पर्दछ । यसैगरी केतकी फूललाई कसैले पूजा नगरुन् भन्ने श्राप छ भने गाईले मुखले उक्त गलत कुरा स्वीकार गरेकाले मुखभाग अशुद्ध रहने श्राप परेको छ । यस पश्चात् ब्रह्माजीमा पनि शिवलिङ्ग नै साक्षात् परमात्मा परमेश्वर रहेको बोध हुन्छ र गल्ती स्वीकार्नुहुन्छ । यस पश्चात् ब्रह्मा एवं विष्णु भगवान् दुवैले साक्षात् परमेश्वरको महिमा गान गाउनुभएको कथा पाइन्छ । उक्त महिमा गान गरी शिवतत्त्व प्राप्त गरेको दिन नै महाशिवरात्रि हो । यसदिनलाई आत्मतत्त्व बोधका रूपमा पनि पुराणले वर्णन गरेका छन् ।
शिवरात्रि शिवउपासनाको उत्तम दिन हो । रात्रि तमको प्रतीक हो । शिवजीको उपासनाले अन्धकारबाट पनि मुक्ति मिल्ने भएकाले महाशिवरात्रिको विशेष महिमा बताइएको हो । शिव साक्षात् ईश्वरीय तत्त्व भएकाले सो प्राप्तिका निम्ति महाशिवरात्रि उत्तम दिन मानिन्छ । चतुर्दशी तिथिका स्वामी पनि साक्षात् शिवजी नै हुनुहुन्छ । चतुर्दशीमा गरिएका शिव उपासना फलदायी रहने भएकाले पनि महाशिवरात्रिको विशेष महिमा रहेको छ ।
शिवजीको आरधना गर्ने पनि विशेष क्रम रहेको छ । सर्वप्रथमा शिवजीलाई दुधले स्नान गरिन्छ । यस पश्चात् जलले स्नान गरी दहीले स्नान हुने गर्दछ । दही पछि पुनः जलले स्नान गरी पुनः घिउ, मह र चिनी वा सख्खरले स्नान गर्नु पर्दछ भनी संवत्सरपदीपमा बताइएको छः ‘दुग्धेन प्रथमे स्नानं दघ्ना चैव द्वितीयके । तृतीये च तथाज्येन चतुर्थे मधुना तथा’ ।
ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निषादराज सुन्दरसेनले अञ्जानमै यो दिन व्रत बस्न पुग्दा मृत्युपर्यन्त उनी शिवलोकमा पुगी भगवान् शिवको सेवक बनेको कथा उल्लेख छ । स्कन्द पुराणमा पनि शिवरात्रिको महत्त्व झल््काउने क्रममा चण्ड नामको एकजना दुष्ट र उसकी पत्नीले अञ्जानमा यो दिन व्रत लिन पुग्दा भगवान् शिव प्रशन्न भई शिवलोकमा बास पाएको कथा वर्णन पाइन्छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्री सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक हो ।
‘वर्ष वर्षे महादेवि ! नरी नारी पततिव्रता । शिवरात्रौ महादेवं काम भक्त्या प्रपूजयेत’ । (पद्मपुराण) अर्थात् शिवरात्रिमा भक्तिभावपूर्वक पूजा आराधना गर्नाले समस्त मनोकमना पूर्ण हुन्छन् । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।
महेश्वर निराकार हुनुहन्छ । सर्वकल्याणार्थ निराकार भगवान् साकार रूपमा प्रकट भएको समय महाशिवरात्रिपर्व हो । यसैगरी ईश्वरत्वको वास्तविकता बोध पनि यही अवसरले प्रदान गरेको पाइन्छ । सृष्टि, स्थिति र लयकर्ता साक्षात् परमात्मा परमेश्वर महादेवको साकाररूप प्रकट भएको पवित्र दिनका रूपमा महाशिवरात्रिलाई लिइनछ । यसदिन भगवान्को व्रत एवं उपासना गर्नाले अभीष्ट सिद्धि प्राप्त हुनेकुरा पुराणमा फलवर्णन गरिएको छ । चित्तलाई शुद्धबनाई परमात्माको साक्षात्कार गर्ने उत्तम दिनका रूपमा महाशिवरात्रिपर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । सम्पूर्णमा महाशिवरात्रिपर्वको हार्दिक मंगलमय शुभकामना ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
No comments:
Post a Comment