आज कामदा एकादशीव्रत महिमासहित हेर्नुहोस् २०७८ वैशाख १० गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Apr 22, 2021

आज कामदा एकादशीव्रत महिमासहित हेर्नुहोस् २०७८ वैशाख १० गते


 


श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको १० गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत अप्रिल महिनाको २३ तारिख, शुक्रवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।


 सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत चैत्रशुक्लपक्षको एकादशी तिथि बेलुका ५।४२     बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । पूर्वाफाल्गुनी नक्षत्र राति ३।५ बजेसम्म रहनेछन् । यसैगरी आज वृद्धि योग र वणिज करण रहेका छन् । आज सूर्योदय बिहान ५।३४ मा छ भने सूर्यास्त बेलुका ६।३२ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा रहेका  छन् ।  


आज कामदा एकादशीव्त परेको छ । चैत्रशुक्लपक्षको एकादशीलाई कामदा भनिन्छ । काम – आफ्नो इच्छित वस्तु, दा भनेको दिने अर्थात् इच्छाएको वस्तु प्रदान गर्ने एकादशी कामदा हुन् । समस्त मनोकामना पू्र्ति गर्नेका निम्ति कामदा एकादशीको व्रत लाभदायी रहनेगर्दछ । यसैगरी प्रेममा सफलता प्राप्तिका निम्ति पनि कामदा एकादशीको व्रतधारण उत्तम मानिएको छ । 

 कामदैेकादशी नाम्नी या कृता कामदा नृणाम् । (एकादशीमाहात्म्य, १०।३२) 

अर्थात् कामना पूर्ण गर्ने दिन भएकाले नै कामदाएकादशी नाम रहन गएको हो । यसैपनि एकादशी विष्णु भगवान्को प्रिय दिन हो । अतः यस दिन लक्ष्मीनरायाण भगवान्को उपासना विशेषफलदायी रहने गर्दछ । विधिपूवृक धारण गरिएको एकादशी व्रतले यो लोकमा सुख सम्पत्ति पप्तिका साथै परलोकमा पनि मुक्ति मिल्ने फल वर्णन गरिएको छ । 


कामदा एकादशी व्रत कथा

भविष्योत्तर पुराणमा श्रीकृष्ण र  अर्जुन संवादमा कामदा एकादशीको महात्म्य वर्णन गरिएको छ । श्रीकृष्ण भगवान्ले जहाँ राजा दिलिप र वसिष्ठबीच भएको संवाद सुनाउँदै चैत्रशुक्ल एकादशीको महिमा श्रवण श्रवण गराउनुभएको छ । 


प्राचीनकालमा भोगीपुर नामक एउटा नगर थियो । जयहाँ ऐश्वर्य सम्पन्न राजा पुण्डरीक राज्य गरेर बसेका थिए । उक्त नगरमा सदा नृत्य एवं गीतसंगकिा कार्यक्रम भइरहन्थे । अप्सरा, किन्नर तथा गन्धर्व अनेक प्रकारका गीत एवं नृत्य सदा प्रस्तुत गर्दथे । यस्तै गीत गाउने मध्ये  एक ठाउँमा ललिता र ललित नामका दुई गन्धर्व स्त्री–पुरुष पनि आनन्द साथ सुखसुविधासम्पन्न घरमा वस्ने गर्दथे । दुबैमा अत्यन्त प्रेम थियो । यहाँसम्म कि सानो बिछोड भए पनि दुबै व्याकुल हुने गर्दथे ।


  एक दिन ललित मात्र एक स्थानमा गीत प्रसतुत गर्न गएका थिए । एक्लै जानुपरेकाले ललितामा ललिताप्रतिको चिन्ताले निकै ग्रसित बनाइरहेको थियो । यस्तैमा गीत प्रस्तुत गर्दागर्दै ललिताको संझना मनमा आई गीत संगीतमा त्रुटि हुनपुग्यो । यस्तो त्र्टि भएपछि सहसा कर्कोटक नागले ललित गन्धर्वलाई राक्षस हुने श्राप दिए । ललित त्यसै क्षण महाकाय विशाल राक्षस हुन पुगे । 


यो खबर उसकी प्रियतमा ललिताकहँ पनि पुग्यो । ललिता अत्यन्त दुःखी हुँदै आफ्ना प्रेमी राक्षस ललितका पछि पछि लाग्न थालिन् । उनलाई पूर्ववत् अवस्थामा फर्काउने अनेक यत्न विफल रहे । विरक्त भएर जङ्गलमा घुम्दैगर्दा एक ऋषिआश्रममा ललिता पुगिन् । उक्त आश्रम ऋष्यशृङ्गमुनिको थियो । सारा विलाप गर्दै उनला आफ्ना सम्पूर्ण वृत्तान्त ऋषिलाई सुनाई कुनै उपाय लगाई प्रमीलाई पूर्वववत् फर्काउन प्रार्थना गरिन् । 

यसपछि ऋषिले आज्ञा गर्नुभयो –

चैत्रमासस्य रम्भोरु शुक्लपक्षस्य साम्प्रतम् । 

कामैदेकादशी नाम्नी या कृता कामदा नृणाम् । 

कुरुष्व तद्व्रतं भद्रे विधिपूर्वं मयोदितम् ।। (भविष्योत्तरपुराण, एकादशीमाहात्म्य, १०।३२–३३) 

अर्थात् अब चैत्र शुक्ल एकादशी आउन लागेको छ ।  जसको नाम कामदा एकादशी हो । यस व्रतलाई पालना गर्नाले मनुष्यका संपूर्ण कार्य सिद्ध हुने गर्दछन् । यदि तिमीले कामदा एकादशीको विधिपूर्वक व्रतधारण गरी सम्पूर्ण पुण्यको फल आफ्ना पतिलाई समर्पण गर्यौ भने तिम्रा पति शीघ्र चाँडै नै राक्षस योनिबाट मुक्त हुनेछन् र कार्कोट नामक नागको श्राप पनि अवश्यमेव शान्त हुनेछ । 


यसपछि ललिताले मुनिको आज्ञालाई अक्षरश पालन गरिन् र चैत्र शुक्ल एकादशीमा विधिपूर्वक कामदा एकादशीको व्रत धारण गरी सम्पूर्ण पुण्य आफ्ना पतिलाई समर्पण गरिन् । यसरी व्रत समापनसँगै ती ललित राक्षसयोनिबाट मुक्त भई पुनः पूर्ववत् अवस्थामा फर्किए । यसपछि ती दुर्व जना प्रमपूर्वक आनन्दमग्न हुँदै विहार गर्दै विमानमा बसेर स्वर्गलोकतर्फ गएका थिए । 

फल 

अतः प्रेममा विछोड भएको अवस्थामा पनि प्रेम प्रेमीबीच पुनः सम्बन्ध स्थापित हुने कामदा एकादशीको महिमा रहेको छ । यसका साथै अन्य जुनसुकै कामना पनि पूरा हुने एकादशीको महिमा यसरी बताइएको छ ः 

बहुपुण्याप्रदा ह्येषा कामदैकादशीस्मृता । 

ब्रह्महत्यादिपापघ्नी पिशाचत्वविनाशिनी ।।

नाऽतः परतरा काचित् त्रैलोक्ये सचराचरे । 

पठनाच्छ«वणद्वाऽपि वाजपेयं फलं  लभेत् ।। (भविष्योत्तरपुराण, एकादशीमाहात्म्य, १०।४१–४२)

कामदा एकादशीको विधिपूर्वक व्रत धारण गर्नाले समस्त पाप नाश हुन्छन् । यसैगरी  राक्षस आदि योनिबाट पनि मुक्ति मिल्ने गर्दछ । यसैगरी यो कथालाई पढ्ने वा सुन्नेले पनि  वाजपेय यज्ञ गरे सरह फल प्राप्त गदृछन् भनी एकादशी माहात्म्यमा उललेख गरिएको छ । 


 व्रतक कसरी  धारण गर्नुपर्दछ ?  

व्रतबस्नुभन्दा पहिलो दिनबाटै सात्विक रहनुपर्दछ । पवित्र रही मनलाई परमात्मा परमेश्वरको चिन्तनमा अभिप्रेरित गराउनुपर्दछ । एकादशीका दिन बिहानै शौचादि कार्यसकी स्नान गर्नुपर्दछ । सोपश्चात् पूजाका सम्पूर्ण सामगग्री तयार गर्नुपर्दछ । यसपछि  कर्मपात्रको पूजा गरी जुन उद्देश्यका निम्ति व्रत धारण गर्ने हो सोही कामना सहित प्रतिज्ञा सङ्कल्प उच्चारण गर्नुपर्दछ ।


यसरी प्रतिज्ञा गरिसकेपछि षेडशोपचारले  दीयो, कलश, गणेशजीको पूजा गरी थालीमा अष्टदल लेखी बीचमा लक्ष्मीनारायण भगवान्को प्रतिमा स्थापना गर्नुपर्दछ । यसपछि पुरुषसूक्तपाठ गर्दे पाद्यादि चन्दन, अक्षता, पुष्प, फल, तिल, जौ, तुलसीपत्र आदिले लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्दछ । भगवन्का स्तोत्र पाठका साथै गीता विष्णुसहस्रनाम, भागवत आदि यथासक्य पाठ गर्नुपर्दछ । सो पश्चात् आरती पुष्पाञ्जली गरेर  दिनभर सात्विक विचारका साथै सात्विक कार्यमा  लाग्नुपर्दछ । 


व्रतका समयमा अरुको आलोचना गर्नुहुँदैन भनेर बताइएको छ । यसैगरी खानपिनमा जलाहार, फलाहार एवं सात्विक आहार लिन सकिन्छ । दिनमा भगवान्का विभिन्न लीलावताका कथाको श्रवण पनि लाभदायी मानिएको छ । यसैगरी बेलुका भागवान्को विशेष आरती गर्नुपर्दछ । 


रात्रिमा भगवान्को नाम संकीर्तन गर्दे जागरण रहनु पनि लाभदायी रहन्छ । एकादशीको भोलिपल्ट विहान स्नानादि कार्य गरी ब्राह्मणलाई पूर्णपात्र, सिधादि दक्षिणा दिई भोजन गराई आफूले पनि भोजन गर्नुपर्दछ । यसरी गरिएको एकादशीव्रत समस्त मनोकामना सिद्धिदायी रहने कुरा एकादशी माहात्म्यमा वर्णन गरिएको छ । 

उपप्राध्यापक नारायणप्रसाद निरौला

    ज्योतिषाचार्य, वास्तुविद् 

No comments:

Post a Comment