आज मातातीर्थऔँसी, आमाको मुख हेर्ने दिन महिमासहित हेर्नुहोस् २०७८ वैशाख २८ गते - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

May 10, 2021

आज मातातीर्थऔँसी, आमाको मुख हेर्ने दिन महिमासहित हेर्नुहोस् २०७८ वैशाख २८ गते




 


 श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७८ साल, वैशाख महिनाको २८ गते तदनुसार ईशवीय सन् २०२१ अन्तर्गत मे महिनाको १० तारिख, मंगलवार हो ।  सृष्टिदेखि हालसम्म १,९५,५८,८५१२२ वर्ष व्यतीत भइसकेका छन् । कलिकालको ५१२२औँ वर्षअन्तर्गत श्री शालिवाहनीय शाके १९४३, तथा नेपाल संवत् ११४१ अन्तर्गत राक्षस नामको संवत्सर चलिरहेको छ ।

 सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाखकृष्णपक्षको औँसी तिथि राति ११।५४    बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् । भरणी नक्षत्र राति ११।१७ बजेसम्म रहनेछन् । यसैगरी आज सौभाग्य योग र चतुष्पद रहेका छन् । आज सूर्योदय बिहान ५।२० मा छ भने सूर्यास्त बेलुका ६।४३ बजे हुनेछ । चन्द्रमा आज मेष राशिमा रहेका  छन् ।

  

आज मातातीर्थऔँसी आमाको मुखहेर्ने दिन हो ।  वैशाख कृष्ण औँशीका दिन मातातीर्थ औँशी पर्ने गर्दछ । यस दिन अमाप्रति श्रद्धाभक्ति प्रकट गर्नाले पुण्य प्राप्त हुने शास्त्रीय वचन रहेको छ । संस्कृतमा मातृ शब्दबाट माता बन्दछ (मान् पूजायां तृच् भई न को लोप भए पछि माता शब्द बन्ने गर्दछ) । जसको अर्थ पूज्य भन्ने हुन्छ । अर्थात् मातालाई सदा पूज्य स्थान प्रदान गरिएको छ ।


आमालाई साक्षात् सृष्टिकर्ताको संज्ञा शास्त्रले प्रदान गरेको छ । आमाप्रति भक्ति भाव व्यक्त गर्ने विशेष दिन मातातीर्थ आँैशी हो । वैशाख कृष्ण अमावाश्यामा मातृप्रति श्रद्धा भक्ति भाव प्रकट गर्ने शास्त्रीय विधान रहेको छ । जुन हाम्रो नित्य परम्परा हो । सृष्टिकर्ताका रूपमा ऋग्वेदले आमालाई उल्लेख गरेको छ ः ‘अस्येदु  मातुः सवनेषु सद्योमहः ।।’(ऋग्वेद, १।६१।७ ) अर्थात्  आमा संसारकी सर्जक हुन् । सृष्टि कर्ता हुन् ।


। विशेषतः स्वर्गवास भएकी आमाको श्राद्ध गर्ने उपयुक्त दिन औँशी हो । औँशीका दिन पितृलोकमा समुज्वल दिन हुने भएकाले यस्तो विधान गरिएको हो । हाम्रो एक महिना (चान्द्रमास) बराबर पितृका निम्ति एक दिनरात हुन्छ । त्यसैले कृष्णपक्ष पितृका निम्ति दिन हो भने शुक्लपक्ष रात हो । अतः पितृको दिनमा गरिएको श्रद्धाभावले, प्रदान गरिएको तोय पिण्डादिले पितृ तृप्त हुने शास्त्रीय मान्यता रहेको छ । 


संसारमा पुत्र बरु कुपुत्र हुनसक्छन् तर कुमाता कहिल्यै हुदैनन् । त्यसैले त शङ्कराचार्यले भन्नु भएको छ ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति ।’ अर्थात् संसारमा मातृस्थान सर्वोपरि छ । सारा मिटाएरै भए पनि सन्तानको हेरचाह आमाले नै गरेकी हुन्छिन् । सन्तानका निम्ति आमाले जति त्याग  तपस्या कसैले पनि गरेको हुँदैन । त्यसैले मनुले पनि भनेका छन् ‘यत्रनार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता ।’(मनुस्मृति) अर्थात् जहाँ नारीको पूजा हुन्छ, सम्मान हुन्छ त्यहाँ त्योवेला देवता पनि खुशी हुन्छन् । अर्थात् देवतालाई खुशी पार्नु छ भने पनि आमाको पूजा, मातृसद्भाव, श्रद्धाभाव व्यक्त गर्नु आवश्यक  छ । मातृशक्तिलाई आद्य शक्ति मानिएको छ । सृष्टि, स्थिति र लय आद्य शक्ति भगवतीकै कृपाले सम्भव हुने भएकाले पनि मातृशक्तिको महिमा विशेष छ । महाकाली, महालक्ष्मी र महासरस्वती देवीकै प्रतिमूर्ति हुन् । हामीले नित्य जप्ने गायत्री मन्त्र भनौ या अर्धनारीश्वर शिवजी भनौ जहाँ पनि मातृशक्तिको प्राधान्य रहेको पाइन्छ । त्यसैले आमाको सेवा गर्नु भनेको भगवतीको उपासना गर्नु हो । देवी भगवती भनेकै आमा हुन् । 



No comments:

Post a Comment