एकादशी व्रत महिमा - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Aug 2, 2017

एकादशी व्रत महिमा




  • नारायणप्रसाद निरौला

व्रत रहनु आफूमै स्वच्छ  पवित्रताको वरण गर्नु हो । आजको विज्ञानले पनि व्रतलाई आवश्यक ठानेको छ ।  वैदिक संस्कृति र सभ्यतामा व्रतलाई एक यज्ञको संज्ञा दिइएको छ । व्रत पनि एकप्रकारको यज्ञ नै हो । यसैले विशेष तिथि पर्वमा व्रत धारण गर्ने परम्परा रहिआएको छ । यस्तै व्रत धारण गर्ने उपयुक्त दिन एकादशी पनि हो । व्रत रहँनाले समस्त मनोकांक्षा पूर्ण हुने धार्मिक मान्यता रहि आएको छ ।  हरेक पन्ध्र दिनमा एउटा एकादशी पर्ने गर्दछ । हाम्रो समाजमा एकादशीको व्रत वस्ने चलन छ । जसको धार्मिक एवं वैज्ञानिक कारण पनि रहेको पाइन्छ । चान्द्रमास अनुसार महिनामा दुईवटा शुक्ल र कृष्ण एकादशी पर्ने गर्दछन् । लाग्दो तिथि छोड्दो व्रत भन्ने चलन नै रहेको छ । अर्थात् तिथि श्राद्ध गर्दा तिथि लागेपछि गर्नु पर्छ भने व्रत धारण गर्दा छोड्दो तिथिलाई लिनुपर्छ भन्ने शास्त्रीय मान्यता रहेको छ । अर्थात् द्वादशी लाग्ने एकादशीको व्रत वस्नु उत्तम हुने शास्त्रीय प्रमाण पाइन्छ ।  विशेषगरी एकादशी भगवान् विष्णुको प्रिय दिन हो । स्मार्तहरू तिथि लागेकै दिन व्रत वस्ने गर्दछन् भने वैष्णव समप्रदायमा छोड्दो एकादशी र लाग्दो द्वादशीलाई  व्रतका रूपमा उपयोग गर्ने गर्दछन् ।
व्रत शारिरीक,मानसिक एवं आध्यात्मि तिनै दृष्टिले उपयुक्त मानिन्छ । महिनामा दुई दिन व्रत धारण गर्नाले  मानसिक शुद्धिका साथै शारिरीक शुद्धि समेत हुने गर्दछ ।  आजको विज्ञानले समेत व्रतको पवित्र उद्देश्यलाई स्वीकारेको छ । एक उपचार पद्धतिको रूपमा व्रतलाई प्रयोग समेत गर्दै आएको पाइन्छ । पारलौकिक सत्य नमान्नेका लागि पनि व्रत उपचारको एक माध्यम हुन सक्छ । पाश्चात्य समाजमा पनि यही व्रतमको प्रभाव स्वरूप फाष्टिङ वस्ने चलन रहेको पाउन सकिन्छ ।  पेटमा भएका विकारलाई शुद्ध गर्ने एक प्रविधि पनि व्रत हो । यसमा शारीरिक एवं मानसिक पवित्रताको आवश्यक हुन्छ । सोही कारणले उक्त दिन फलाहार गरेर पनि व्रत वस्ने चलन रहिआएको छ । निराहार व्रत वस्ने चलन पनि रहेको छ । शरीरको अनुकुलता अनुसार सात्विक आहार लिएर पनि व्रत धारण गर्न सकिन्छ । व्रतको उद्देश्य पवित्र हुनु हो ।  मनमा पवित्र भावनाको जागृत गराउनु हो ।  व्रत धारण गरेर पनि मनमा पवित्रता हुन सकेन भने सोको उचित फल प्राप्त हुन सक्दैन । व्रत कसरी गर्ने,कुन व्रतका के नियम छन् भनने कुरा  व्रतराज भन्ने पुस्तकमा प्राप्त गर्न सकन्छि । हरेक व्रतका आआफ्नै विधि विधान रहेका छन् । फल अनुसार व्रत उपासना गर्ने विधि पनि भिन्न हुने गर्दछन् ।
एकादशी भनेको चान्द्र मासको एघारौ  दिन हो । त्यसैले एकादशी पनि भनिएको हो । हरेक एकादशीका भिन्ना भिन्नै नाम र व्रत  धारण गर्नाले प्राप्त हुने फलको वारेमा  वर्णन पाइन्छ ।  एकादशी तिथि भगवान विष्णुको प्रिय दिन हो । व्रतराजममा हरेक एकादशी व्रतको विस्तृत व्याख्या गरिएको छ । वैशाख कृष्ण एकादशीलाइै वरुथिनी एकादशी भनिन्छ ।  यसको व्रंत धारण गर्नाले शरीरमा कवच प्राप्त हुन्छ । शरीरलाई मजवुत बनाउन वैशाख कृष्ण एकादशी को व्रत धारण गर्न सकिन्छ ।  यसैगरी वैशाख शुक्ल एकादशीलाई मोहिनी एकादशी भनिन्छ । यो भगववानको मोहिनी अवतारसँग सम्बन्धित छ । यस दिन भावानको मोहिनी अवतारका कथा श्रवण गर्नाले मोक्षा प्राप्त हुने कुरा शास्त्रमा वार्णन पाइन्छ । ज्येष्ठ कृष्ण एकादशीलाई परा भनिन्छ ।  परा एकादशीको उपासनाले पराशक्ति प्राप्त हुन्छ । परा शक्ति भनेको पनि मोक्षको एक मार्ग हो । यसैगरी ज्येष्ठ शुक्ल एकादशीलाई निर्जला  भनिन्छ । यस दिन निर्जल अर्थात् पानी पनि नखाई व्रत वस्नाले विशेष फल प्रांप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
 आषाढ कृष्ण एकादशीलाई योगिनी एकादशी भनिन्छ । यसैगरी  आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी वा ठुली एकादशी भनिन्छ  । यस दिनदेखि भगवान शयन कक्षमा जानु हुन्छ र चार मनिासम्म आराम गर्नुहुन्छ भन्ने शास्त्रीय वचन रहेको छ । श्रावण कृष्ण एकादशीलाई कामिका  भनिन्छ । यस दिनको व्रत गर्नाले समस्त मनोकामना पूर्ण हुन्छन् । यसैगरी सन्तानको चाहना गर्नेले श्रावण शुक्ल एकादशीको व्रत गर्ने विधान गरिएको छ । अर्थात् यस दिनकी एकादशहशीको नामा पुत्रदा हो । जसको व्रत धारण गर्नाले सन्तान प्राप्त हुने गर्दछन् । भाद्र कृष्ण एकादशीको नाम अजा हो भने भाद्र शुक्ल एकादशीको नामा हरिपरिवर्तिनी हो । यस दिन भगवान् विष्णु कोल्टे फेर्नु हुन्छ । आश्विन कृण पक्षकी एकादशीको नाम इन्दिरा हो भने शुक्ल एकादशीलाई पापांकुशा भनिन्छ । जसको नाम अनुसार नै फल पनि बताइएको छ ।  कार्तिक कृष्ण एकादशीको नाम रमा हो भने कार्तिक शुक्ल एकादशीमा भगवान् जागृत हुनुहुन्छ । जसलाई हरिबोधिनी एकादशी पनि भनिन्छ । मंसिर कृष्ण एकादशीको नाम  उत्पत्तिका हो भने मार्ग शुक्ल पक्ष एकादशीलाई मोक्षदा भनिन्छ । जसको व्रत धारण गर्नाले मोक्षा प्राप्त हुन्छ ।  पौष कृष्ण एकादशीमा सफला,शुक्ल एकादशीमा पुत्रदा,माघ कृष्ण एकादशीमा षड्तिला एकादशी हुन्छन् भने माघ शुक्ल पक्षकी एकादशीलाई  भीमा नामले पुकार्ने गरिन्छ । फाल्गुन कृष्णपक्षमा विजया,शुक्लमा आमलकी,चैत्र कृष्णमा पापमोपचिनी पर्दछन् भने चैत्र शुक्ल एकादशीको नाम कामदा हो । नाम अनुसार नै व्रत धारण गर्नाले तदनुरूपको फल प्राप्त हुने गर्दछ भनी स्कन्दपुराण,विष्णुपुराण,व्रतराज,एकादशीमाहात्म्य आदि ग्रन्थमा व्यक्त गरिएको छ ।
व्रत आफैमा राम्रो कुरा हो । स्वास्थ्यका  दृष्टिले व्रत उपासना गर्नु उचित मानिन्छ । शरीर अस्वस्थ रहेको बेलामा व्रत धारण गर्नु नै पर्छ भन्ने कुनै बाध्यता छैन । पवित्रता व्रतको मूल उद्देश्य हो । व्रतले चित्तको विकारलाई वदलेर नवीन एवं सकारात्मक भावनाको जागृत गराउछ । शरीरको अवस्था हेरेर  मिताहारी व्रत धारण गर्न पनि सकिन्छ । शुद्ध पवित्र आचरणमा रहन सकेनौ भने व्रत निष्प्रभावी हुन्छ । व्रत आफैका लागि वस्ने हो । चित्तवृत्तिलार्ई सकारात्मक बाटोतर्फ लैजाने कार्य व्रतले गर्दछ । सात्विक भाव र विचारको प्रवाह गरेर मनमा नवीन ऊर्जा प्रवाहित गर्न सक्नु व्रतको उपलब्धी हुन्छ । वं्रतधारणसँगै आत्मबोध पनि हुनु आवश्यक छ । यो आत्मबोध गराउने माध्यम पनि हो । आत्मिक  भाव जागृतिका निम्ति व्रत उपासना आवश्यक हुन्छ । यस्तै मध्ये भगवान् विष्णुको उपासना गर्ने पद्धति विशेष नै एकादशीको व्रत हो । जसको धारण गर्नाले इह एवं पारलौकिक  सुख मिल्ने गर्दछ । त्यसैले एकादशी व्रत पनि मानवलाई सकारात्मक मार्गतर्फ लम्क्याउने एक माध्यम हो । जसको धारण गर्नु सबैका निम्ति कल्याणकारी हुने देखिन्छ ।



No comments:

Post a Comment