कुशेऔँसीका दिन बुबाको मुख हेर्नुको कारण के हो ? पिताको शास्त्रीय महिमा सहित हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Aug 28, 2019

कुशेऔँसीका दिन बुबाको मुख हेर्नुको कारण के हो ? पिताको शास्त्रीय महिमा सहित हेर्नुहोस्


उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 

भाद्रकृष्ण औँसीलाई कुशेऔँशी भनिन्छ । यस दिन पवित्र कुश घरघरमा भित्र्याउनुका साथै पितृप्रति श्रद्धाभक्तिभाव प्रकट गरिन्छ । बुबाको मुख हेर्ने दिनका रूपमा पनि यस समयलाई लिने गरिन्छ । पिताको शास्त्रीय महिमाका साथै पितृप्रति श्रद्धाभक्ति किन यसदिन अर्पण गरिन्छ भन्ने विषयमा यस आलेखमा चर्चा गरिनेछ । 

पाणिनीय संस्कृत व्याकरणअनुसार ‘पा’ रक्षणे धातुमा तृच् प्रत्यय लागेर पितृ शब्दको निर्माण हुन्छ । जसको अर्थ रक्षा गर्ने, संरक्षण गर्ने अभिभावक भन्ने हुन्छ । पिताका थुप्रै पर्यायवाची नाम रहेका छन् जस्तै : पितृ, पिता, जनकः, गुरु, जनयिता, जन्मद, तात, बुबा आदि । यो संसारमा कर्मको मार्गमा अघि बढाउने आमा पछिका गुरुका रूपमा पितालाई शास्त्रले पूज्य स्थान प्रदान गरेको छ ।  

वेदले पनि पितालाई सम्मानपूर्वक नमन गरेको छ :  ॐ नमो वः पितरो रसाय नमो वः पितरः शोषाय नमो वः पितरो जीवाय.....(यजुर्वेद, २।३२) अर्थात् वसन्तऋतुरूपी सुन्दर रसात्मक परिवेशका सर्जक, गृष्मरूपी तापका कारक र वर्षारूपी जीवनदाता पितृलाई नमस्कार छ । यसरी पितृ खुशी भए रसात्मक जीवन र र सृष्टिको चक्र चलाउँछन् र रुष्ट भए ग्रीष्मजस्तै यो सृष्टिलाई सुकाउछन् भन्ने अतः पितृलाई खुशी पार्नुपर्दछ भन्ने भाव उक्त ऋचाले व्यक्त गरेको पाइन्छ । इहलोकका साथै परलोक गए पनि पितृको स्थान सदा स्मरणीय रहन्छ । आफ्ना पिता पुर्खाको नित्य स्मरण गर्नुपर्दछ, नमन गर्नुपर्दछ भनेर वेदले पाठ सिकाएको छ : ॐ पितृभ्यः स्वधायिभ्यः स्वधा नमः, पितामहेभ्यः स्वधायिभ्य स्वधा नमः, प्रपितामहेभ्यः स्वधायिभ्य स्वधा नमः ।।(यजुर्वेद, १९।३६) । यसैगरी पितृसूक्तले पनि पिताको महत्तव उजागर गरेको पाइन्छ । 

वेदकै व्याख्याका रूपमा आएका उपनिषद्ले पनि पितृको स्थान सर्वोपरि रहेको बताएका छन् । पितृ देवो भव ।।(तैत्तिरीयोपनिषद्, १।११) अर्थात् पितृ देवता समान हुन्छन् । त्यसैले सदा पितृको देवताजस्तै पूज्य स्थान रहेको छ । यसैगरी स्मृतिकारले पनि पितालाई शिक्षादिन गुरुभन्दा सयगुण माथि स्थान बताएका छन् ः आचार्याणां शतं पिता....(मनुस्मृति, २।४५) । अर्थात् शिक्ष दिने गुरु भन्दा जन्म दिने पिता सय गुण माथि हुनुहुन्छ ।

add

संसारमा पहिलो गुरुको रूपमा आमालाई लिइन्छ । आमा पछिको द्वितीय गुरु भनी पिताजीलाई बताइएको छ । यो संसारमा जन्मका साथै कर्म पनि प्रदान गर्ने पिताको स्थान सर्वोपरि रहेको छ । हाम्रा हरेक देवकार्यमा पनि पितृको स्मरण एवं हवन दिनुपर्ने विधान छ । यसैगरी विशेष यज्ञ यागादि, विवाह, व्रतबन्ध, पुराण आरम्भ गर्नुपूर्व पितृकै स्मरण स्वरूप नान्दीश्राद्ध गर्नुपर्दछ । यसरी हाम्रा विधि विधान र पद्धतिमा पनि पितालाई सम्मानपूर्वक स्थान प्रदान गरिएको छ । 

 औँसीमा पितृस्मरण गर्नुको कारण 

औँसी परलोक भएको पितृको दिन हो । चन्द्रमाको माथिल्ले भागमा पितृको निवासस्थान रहेको छ । हाम्रो दुई पक्ष अर्थात् एक महिना बराबर पितृलोकमा एक दिनरात हुने गर्दछ । औसीका दिन पितृलोकमा भोजन गर्ने मध्य दिन रहन्छ : विधूध्र्वभागे पितरो वसन्तः स्वाधः सुधादीधितमामनन्ति । पश्यन्ति तेऽर्कं निजमस्तकोध्र्वे दर्शे यतोऽस्माद्द्युदलं तदैषाम् ।। (सिद्धान्तशिरोमणि, २४।१३) औँसीको दिन पितृले आफ्नो शिरमाथि सूर्य दर्शन गर्न पाउँछन् जुन समय मध्याह्न अर्थात् भोजन गर्ने बेलाको हो । अतः औसीका दिन पितृका निम्ति जल, पिण्ड, सिदा दान एवं ब्राह्मण भोजन गराउनु भनिएको हो । जसले पितृ तृप्त हुने गर्दछन् र भूर्लोकवासी सन्ततिलाई आशीर्वाद प्रदान गर्दछन् । 


about sanskar sulochana book
भाद्र कृष्ण औँसी पनि यस्तै पितृप्रति श्रद्धाभक्ति भाव व्यक्त गर्ने दिन हो । यो समय गोकर्ण, उत्तरगया, कागवेनी आदि गरिएका तीर्थमा पितृको भक्तिभावपूर्वक श्राद्ध गरिन्छ । तीर्थ श्राद्धका निम्ति पनि यो उत्तम दिन हो । पिताको तिथि थाह नभएकाले पनि यस दिन श्राद्ध गर्ने चलन रहेको छ । 

भाद्र कृष्ण औसीका दिन नयाँ कुश घरमा भित्र्याइन्छ । यसरी नयाँ कुशको प्रयोग गरी सर्वप्रथम पितृलाई जल दान (तर्पण) गर्नुपर्दछ । पितृको पूजा पश्चात् नै देवपूजा गर्ने शास्त्रीय विधि रहेकाले पनि नयाँ कुशको प्रयोग गरेर पिताप्रति भक्तिभाव प्रकट गरिएको हो । यही पितृप्रति श्रद्धाभक्ति प्रकट गर्ने दिनलाई बुबाको मुख हेर्ने दिनका रूपमा पनि मनाउने चलन रहेको छ । किनकि औँसीको अन्धकारमा पनि पिताजीले उज्यालो ज्योति प्रदान गर्नुहुन्छ । किनकि पितालई गुरुको संज्ञा शास्त्रले प्रदान गरेका छन् । गुरुको अर्थ अन्धकार हटाएर ज्ञानको ज्योति प्रदान गर्ने भन्ने हुन्छ । गुरु साक्षत् अन्धकारलाई नाश गर्ने व्यक्ति भएकाले औँसीको अँध्यारोबाट पार लगाउने एकमात्र मार्गदर्शक पिता अर्थात् बुबा भएकाले पनि यस दिन बुबाको मुख हेर्ने चलन रहेको हो । 

यसैगरी कुसे औँसकिा दिन गोकर्णं एवं उत्तरगयामा र मातृ औँसीका दिन मतातीर्थमा गई तीर्थ श्राद्ध गर्ने परम्परा पनि विद्यमान रहिआएको छ । यही परम्परामा पनि माता र पिता प्रति भक्तिभाव राखी मुख हेर्ने चलन चलाइएको पाइन्छ । 

परलोकवासी पिताको जसरी श्रद्धाभक्तिपूर्वक श्राद्धादि कर्म गरिन्छ त्यसैगरी आफ्ना बुबाको सम्मानपूर्वक पूजा भाद्र कृष्ण औँसीका दिन गर्नुपर्दछ । बुबालाई मनपर्ने वस्तु प्रदान गर्नुका साथै जीवनभर खुशी राख्ने वाचा पनि गर्नुपर्दछ । एकदिनको स्मरणले मात्र पिताप्रति सन्ततिको दायित्व पूरा हुँदैन । सदा पिताको मुखमा प्रसन्नता प्रदान गर्ने यत्न गर्नुपदर्छ । जसले हामीलाई पितृऋणबाट मुक्ति मिल्दछ । सन्तान नराम्रा हुन् भन्ने पिताको भावना कदापि हुदैन । पिताले पनि सदा सन्ततिको उन्नति प्रगति नै चाहेका हुन्छन् । अतः आफ्ना पिताको मनोभावना बुझेर तदनुसारको व्यवहार गर्न सकियो भने पितृप्रति सच्चा सम्मान हुनेछ ।  

यो अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्य ज्योति प्रदान गरेर संसारमा अघि बढ्न सिकाउने गुरुको रूपमा पिताको स्थान सर्वोपरि रहेको छ । वेददेखि उपनिषद्, स्मृति ग्रन्थले पनि पितलाई उच्च स्थान प्रदान गरेका छन् । हामी पिताकै बीज लिएर आएका छौँ । हामीमा पनि पितृको गुण रहेको हुन्छ । यसरी सन्ततिलाई संसारको बाटोमा अघिबढ्न सिकाउने पितृको स्थान सदा आदरणी, पूज्य र स्तुत्य रहेको छ । त्यसैले पनि पितृप्रति श्रद्धा भक्तिभावपूर्वक पितृको सम्मान गर्नुपर्दछ, बुबाको मुख हेर्नुको सार्थकता पनि यसैमा रहन्छ । 

No comments:

Post a Comment