उपप्रा.नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
भाद्र शुक्ल तृतीयाको दिन तीज पर्व हर्षोल्लास पूर्वक मनाउने गरिन्छ । तृतीयाका दिन पर्ने पर्व भएकाले यसलाई तीज भनिएको हो । जसलाई हरितालिका पर्वका नामले पनि सम्बोधन गरिन्छ । तीजमा महिलाको विशेष भूमिका रहने गर्दछ । पुरुषले पनि तीजको व्रत वस्ने चलन नभएको होइन । र पनि समाजमा तीज र नारी अन्योन्याश्रित बनेर आएका पाइन्छन् । यो कहिलेदेखि मनाउन थालिएको हो भन्ने कुराको यकिन गर्न सकिदैन । शिव पुराण अन्तर्गतको कथामा आधारित रहेकाले उत्तर वैदिककालबाट नै यो पर्वको अस्तित्व रहेको भन्ने आँकलन गर्न सकिन्छ । विकासको क्रमसँगै सांस्कृतिक पर्वको समेत रूप ग्रहण गरी आजसम्म भव्यताका साथ तीज मनाउने गरिन्छ । आफूले चाहेको इच्छित वर प्राप्त हुने मान्यताका आधारमा तीजको व्रत वस्ने शास्त्रीय विधान छ ।
अलिभिः (सखिभिः) हरिता यस्मात् तस्मात् सा हरितालिका अर्थात् सखीहरूले हरण गरेका कारण यस पर्वलाई हरितालिका भनिन्छ । हरिता भनेको हरण गरेकी भन्ने अर्थ लाग्छ भने आलिकाको अर्थ साथी भन्ने हुन्छ । पार्वतीले १०७ पटक शिजीलाई पतिको रूपमा प्राप्त गरे पनि त्यो चीरस्थाथी हुन सकेन । त्यसलाई अमर राख्नका लागि १०८औँ पटक जब मेनका र हिमालय पर्वतकी छोरी भएर जन्म लिइन् त्यस बखत पनि नारदजी आएर नारायणका लागि कन्या माग्नुहून्छ । यो कुरा पार्वतीले थाह पाइन् र आफ्ना साथीहरूसँग आफूलाई भगाओ नत्र अनर्थ हुने छ भनिन् । सोही सल्लाह अनुरुप साथीले उनलाई हरण गरी एउटा गुफामा पु¥याउछन् । त्यहँ गएर पार्वतीले शिवजीको उपासना गर्छिन् । शिव प्रशन्न भई वरदान यही भाद्र शुक्ल तृतीयाका दिन आशीर्वाद दिनुभएकाले यस दिनको विशेष महिमा रहेको पाइन्छ । पछि शिव पार्वतीको विवाह सम्पन्न भएको थियो ।
शिवपुराणअन्तर्गत सतिदेवीको कथा यो पर्वको मूल आधार हो । दक्ष पुत्री सतिदेवीले आफ्ना इच्छित पति शिवजीलाई प्राप्त गर्न कठोर व्रत वस्छिन् । उको व्रतमा अनेकौँ वाधा व्यवधान आइपर्छन् । भगवान् शिव प्राप्त गर्न व्रत बसेकी सतिदेवीलाई अन्यत्रै विवाह गरिदिने माता पिताको इच्छा हुन्छ । सतिदेवीको दृढसङ्कल्पका कारण अनेकौ बाधा आए पनि आफ्नो प्रतिज्ञा भङ्ग गर्न दिन्नन् । अन्ततः सोही व्रतको प्रभावले गर्दा सतिदेवी शिवजीलाई नै प्राप्त गर्न सफल हुन्छिन् । उक्त व्रत पनि यही हरितालिकाकै थियो । यसरी शिवजी र सतिदेवीको विवाह भई आनन्द पूर्वक वसेको कथा पुराणहरूमा वर्णन पाइन्छ । तीजमा व्रत वस्दा समस्त मनोकामना पूरा हुन्छन् भन्ने मान्यताका आधारमा यस दिन शिवजीको व्रत उपवास गर्ने चलन रहेको छ ।
टाढा रहेका चेलिवेटीले भेटघाट गरी एक आपसमा सुखदुःख साटासाट गर्ने पर्वका रूपमा पनि तीजलाई लिने गरिन्छ । घरमा भए गरेका आलोच्य विषयवस्तु गीतका रूपमा व्यक्त गर्दै मनको मयल पखाली शुद्ध भावना जागृत गराउने पर्वका रूपमा समेत तीज पर्व मनाइन्छ । हरितालिका तीजको अघिल्लो दिन शुद्ध शाकाहारी दर खाइन्छ । यो हाम्रोे मौलिक संस्कृति हो । शास्त्रमा दर खाने विधान पाइदैन । समाजले आवश्यकता महसुस गरी व्यवहारमा ल्याएका प्रचलन नै संस्कृति हुन् । यस्तै संस्कृति नेपाली परिवेशमा प्रचलित छन् ।
भोलिपल्ट अर्थात् हरितालिका तीजका दिन प्रातः स्नान गरी शुद्ध चोखो वस्त्र धारण गरेर प्रतिज्ञा सङ्कल्प पूर्वक अर्घ स्थापना गरी दीप, कलश र गणेशको पूजा गरिन्छ । यस पछि वालुवाको शिवलिङ्ग बनाई त्यसमा उमा र महेश्वरको आवहन पूर्वक षोडशोपचारले पूजा गर्ने शास्त्रीय विधान रहेको छ । यसैगरी भोलिपल्ट लोपामुद्रा पूजा, अगस्तिपूजा, अर्घदान, पूर्णपात्र दानपूर्वक विसर्जन गरी व्रत समापन गरिन्छ । शस्त्रीय विधानका साथसाथै लोक परम्परा अनुसार मन्दिर जाने, उमा महेश्वरको पूजा गर्ने र भजन कीर्तन पूर्वक नाचगान गर्ने चलन पनि रहिआएको पाइन्छ । यसरी व्रत वस्नाले समस्त मनोकामना पूरा हुने विश्वास गरिन्छ । जसरी सतिले शिवजी प्राप्त गर्ने मनोकांक्षा पूरा गरिन् त्यसैगरी तीजको व्रत बस्नेले पनि आ–आफ्ना मनोकामना पूर्ण गर्दछन् । यही शास्त्रीय मान्यताका आधारमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यो पर्व मनाउने चलन रहिआएको छ । पत्नीले पतिको र पतिले पत्नीको आयु, आरोग्य र ऐश्वर्य वृद्धिको कामना पनि यसै पर्व अन्तर्गत हुने गर्दछ ।
तीजमा व्रतको विशेष महिमा रहेको हुन्छ । पूजा आदिको कर्म विशेष नै व्रत हो भनी धर्मसिन्धुले वताएको छ । पूजाद्यात्कमः कर्मविशेषो व्रतम् ।(धर्मसिन्धु) यसैगरी प्रातःकालीन आहार नखाई स्नानपूर्वक शुद्ध भई भगवद् भक्तिमा लाग्ने कार्यलाई निर्णयसिन्धुले व्रत भनेको छ । विशेष विधि र नियमपूर्व आफ्नो अभीष्ट सिद्धिका निम्ति संकल्पपूर्व गरिने कार्य विशेष नै व्रत हो ।
व्रत रहनु आफैमा पवित्रताको वरण गर्नु हो । विशेषतः शिवजीको उपासना गरी तीज पर्व मनाइन्छ । व्रत नीराहारै बस्नु पर्छ भन्ने छैन । आफ्नो स्वास्थ्यलई ध्यानमा राखी जल फल आदि पवित्र वस्तु ग्रहण गरेर पनि व्रत उपासना गर्न सकिन्छ । व्रत रहेर पनि मनमा राग द्वेषको भावना रह्यो भने त्यसको कुनै अर्थ रहँदैन । स्वस्थ चित्तले पवित्र आत्माको उपासना नै वास्तवमा व्रत हो ।
हरितालिका तीजको धार्मिक एवं साँस्कृतिक दुवै विशेष महिमा रहेको पाइन्छ । दर खानु, नारीका पीर वेदनाहरू तीजका गीतका रूपमा व्यक्त हुनु साँस्कृतिक पक्ष हुन् भने भगवान्को पवूत उपवास गर्नु, दान पुण्यादि गर्नु आदि धार्मिक पक्ष हुन् । दुःख विसाएर मन हलुङ्गो पारी चित्त शुद्ध बनाउने चाड तीज हो । चित्त शुद्ध गरी पुनः स्वकर्ममा प्रवृत्ति गराउने चाड पर्वले धर्म र संस्कृति दुवैको महत्ता बढाइरहेका हुन्छन् । आज उत्तरआधुनिक परवेश सँगै यस्ता पर्वमा पनि अनेकौ विकृति देखिन थालेका छन् । गरगहनाको तडकभडक हुनु सोही कारण चोरी डकैती बढ्नु, गीतमा मौलिकता हराउनु असभ्य बन्दै जानु, दरखाने चलन महिनादिन अघिबाटै सुरु हुनु आदि कुरा विकृत पक्ष हुन् । धार्मिक साँस्कृतिक पर्वलाई तडक भडकको नभई सभ्य र भव्य चाड मान्न तर्फ सवै अभिप्रेरित हुनु आज आवश्यक छ । सवैका मनोकामाना पूर्ण हुन् सुख शान्ति र ऐश्वर्य प्राप्त होस्.यही छ आम नेपालीमा तीजको हार्दिक मंगलमय शुभकामना ।
No comments:
Post a Comment