उपप्रा.नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
भाद्र शुक्ल पञ्चमीको दिनलाई ऋषिपञ्चमी भनिन्छ : भाद्रशुक्लपञ्चमी ऋषिपञ्चमी । (निर्णयसिन्धु, द्वितीयपरिच्छेद, पृ. ९३) यो महिला विशेषको पर्व हो । पूजादि कार्यमा तिथिलाई मध्याह्नव्यपिनी लिनु भनिएको छ : पूजाव्रतेषु सर्वेषु मध्याह्नव्यपिनी तिथिः । (निर्णयसिन्धु, पृ. ९३) अतः पञ्चमी तिथिले मध्याह्न जुन दिन हुन्छ त्यही तिथि ऋषिपञ्चमीका लागि पनि ग्राह्य रहन्छ । महिला विशेषले विधिपूर्वक स्नान गरी अरुन्धती सहित सप्तर्षिको पूजा यस दिन गर्ने विधान रहेको छ । सप्तर्षिको विशेष पूजा आराधना गरिने पञ्चमी तिथिको दिन भएकाले यस दिनलाई ऋषिपञ्चमी भनिएको हो । सोही कुरालाई निर्णयसिन्धुमा यसरी बताइएको छ : अत्र ऋषीन्पूजयित्व कर्षणादिरहितभूमिजन्यशाकाहारं कुर्यात् । (धर्मसिन्धु, पृ. ६४) । शारीरिक एवं आत्मिक रूपमा पवित्र रही आयु आरोग्य र ऐश्वर्यको कामना यस पर्वमा गरिन्छ । यसैगरीे वर्षदिनसम्म भए गरेका ज्ञात अज्ञात स्पर्श, भक्ष्य, आदि दोषबाट निवृत्त हुन पञ्चमीको स्नान, व्रत एवं अरुन्धतीसहित सप्तर्षिको पूजा अर्चना हुने गर्दछ ।
यो नारी विशेषको पर्व हो । विशेष गरी रजस्वला हुने नारीहरूले यस दिन विशेष स्नान गरी ज्ञात अज्ञात स्पृश्यापृश्य(नछुने कुरा छुँदाको), भक्षाभक्ष(नखाने कुरा खाएको)आदि दोषहरूको प्रायश्चित्त गर्ने शास्त्रीय विधान छ । पञ्चमीका दिन विहान नदी वा तलाउमा गई पूर्वाभिमुख भएर ३६० अपामार्गले दाँत माझ्नु पर्दछ । यसपछि तिनसय साठी पटक शरीरमा माटो लेपन गरी स्नान गरिन्छ । यसरी स्नान गरेपछि ३६० अपामार्गले जल अभिषेचन गर्नु पर्दछ । स्नान पश्चात् पूजास्थानमा गई पञ्चगव्य प्राशन पूर्वक दीप, कलश, गणेश स्थापना गरी अरुन्धती सहित कश्यादि सप्तर्षि(कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ)को षोडशोचारले पूजा हुने गर्दछ । सप्तर्षिको स्थापना गर्दा कुशका ऋषि प्रतिमा बनाइन्छन् । यसरी पूजा गरेपछि ३६० तिल, जौ, अक्षता, पुुष्प, दीप सहितका गनौट अर्पण गरिन्छ । गनौट अर्पण पश्चात् भूमिमा पाउ घिसार्दै सप्तर्षिको प्रदक्षिणा गर्नुपर्दछ । यसरी प्रदक्षिणा गरिसकेपछि पूर्णपात्र दान सहित विसर्जन गर्ने विधान शास्त्रमा उल्लेख रहेको छ ।
पूजा पश्चात् भजन कीर्तन सिलोक आदि गाउने प्रचलन पनि विद्यमान रहेको पाइन्छ । पञ्चमी पूजा गर्नाले वर्ष दिनसम्म भएका ज्ञात अज्ञात, स्पृश्यास्पृश्य, भोज्याभोज्य आदि दोषबाट निवृत्ति मिल्ने कुरा धर्मशास्त्रमा उल्लेख पाइन्छ । तीन सय साठीवटा वस्तुको प्रयोग गर्नुको तात्पर्य एक वर्षमा ३६० चान्द्र दिन हुन्छन् । प्रत्येक दिन भएका ज्ञात अज्ञात दोषबाट निवृत्तिका लागि तीनसय साठीवटा वस्तुको प्रयोग गरिएको हो । पुरुषले ऋषितर्पणीका दिन यसैगरी स्नान पूर्वक सप्तर्षि पूजा गर्ने विधान रहेको छ । जुन जनै पूर्णमाका दिन हरेक वर्ष सम्पन्न हुँने गर्दछ ।
यस दिन लोपामुद्राको पनि विशेष पूजा हुन्छ । लोपामुद्रा भनेकी बाल रक्षिका हुन् । उनको विशेष पूजा गर्नाले बाल बच्चामा आयु आरोग्य प्राप्त हुने धर्मशास्त्रीय मान्यता रहेको छ ।
श्रीमद्भागवतको षष्ठस्कन्धमा बताएको कथाअनुसार इन्द्रले अपमान गरेपछि देवगुरु वृहस्पति रिसाई इन्द्रयज्ञ छोडेर कतै हराउछन् । इन्द्रको यज्ञ अपूर्ण हुने अवस्था आउँछ । त्रिशिरालाई यज्ञाचार्य बनाइन्छ । इन्द्रको यज्ञमा दैत्यगुरु त्रिशिराले दैत्यलाई पनि यज्ञको आहुति प्रदान गर्छन् । यस्तो कुरा थाह पाएपछि त्रिशिराको त्यही इन्द्रले हत्या गरिदिन्छन् । त्रिशिरा ब्राह्मणको हत्या गरेकाले इन्द्रलाई ब्रह्महत्याको पाप लाग्छ । उक्त पापको प्रायश्चित्त गर्न इन्द्रले भगवान्को प्रार्थना गर्दछन् । भगवान््द्वारा नारी, पानीको फिँज, जमिन र वृक्षमा एक एक भाग विभाजन गरी उक्त श्रापको विमोचन हुन्छ (श्रीमद्भागवत्महापुराण, षष्ठस्कन्ध) । सोही मध्येको एक श्राप नारीले पनि ग्रहण गरेकाले नारीमा रजोवृत्ति भएको र उक्त दोषबाट निवृत्तिका निम्ति पनि स्नान एवं सप्तर्षि पूजन गरिएको हो ।
ऋषि भनेका वैदिक मन्त्र देख्ने वा देखाउने पुरुष हुन् । हाम्रा अग्रज मार्गदर्शकका रूपमा पनि ऋषिको विशेष पूजा अर्चना हुने गर्दछ । प्रत्येक मन्वन्तरमा ऋषिगण फेरिन्छन् । वर्तमानमा वैवश्वत मन्वन्तर चलिरहेको छ । ऋषि पनि सात थरीका हुन्छन् ऋषि, महर्षि, परमर्षि, देवर्षि, ब्रह्मर्षि, काण्डर्षि र श्रुतर्षि । ऋष् धातुको गमन, ज्ञान, श्रवण, सत्य र तप अर्थमा प्रयोग हुन्छ । यी सबै गुण जसमा एकैसाथ निश्चित् रूपले रहन्छ त्यस्ता पुरुषलाई ऋषि भनिन्छ । जसको पूजा अर्चनाले हामीमा पवित्रता पप्त हुन्छ ।
ऋषाीत्येष गतौ धातुः श्रुतौ सत्ये तपस्य च । एतत्संनियतं यस्मिन् ब्राह्मणः स ऋषिः स्मृतः ।। गत्यर्थादृषतेर्धातोर्नाम निवृत्तिरादितः । यस्मादेष स्वयम्भूतस्तस्माच्च ऋषिता स्मृता ।। (वायुपुराण, ५९÷७९–८१)
मन्वन्तर अनुसार सप्तर्षि पनि छुट्टा टुट्टै हुने गर्दछन् । वर्तमानमा वैवश्वत मन्वन्तर चलिरहेको छ । त्यसैले यस मन्वन्तरका सप्तर्षिमा कश्यप, अत्रि, वसिष्ठ, गौतम, भरद्वाज, विश्वामित्र र जमदग्नि पर्दछन् । आकाशमा धु्रवताराको वरिपरि घुम्ने सात तारालाई सप्तर्षि तारा भनिन्छ । यस दिन अरुन्धती सहति सप्तिर्षिको पूजा गर्नाले शारीरिक एवं मानसिक पवितत्रा प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
सप्तर्षि सात लोकका पनि प्रतीक हुन् । बार पनि सातवटै छन् । यिनै सात बारमा भए गरेका ज्ञात अज्ञात दोषको प्रायश्चित्त यस दिन हुने गर्दछ । शारीरिक शुद्धि गराउने पर्व पञ्चमी हो । चित्त शुद्ध गरी पुनः स्वकर्ममा प्रवृत्ति गराउने चाड पर्वले धर्म र संस्कृति दुवैको महत्ता बढाइरहेका हुन्छन् ।
ऋषिपञ्चमी कथा – एकादेशमा शिवशर्मा र ओमवती नामका ब्राह्मण ब्राह्मणी थिए । उनीहरूको पेशा कृषि थियो । छोरो पनि हुर्किएर ठुलै भएको थियो । ब्राह्मणीलाई रजश्वला दोषबारे केही पनि ज्ञान थिएन । उनी त्यसको केही वास्ता पनि गर्दिन थिइन् । तिथि पर्व वार्ने कुरा त झनै के थाह थियो र ? ब्राह्मण ब्राह्मणीको शास्त्रज्ञान विना कृषि कर्ममै लागेर इहलीला समाप्त भयो ।
अर्को जन्ममा ती दुवै ब्राह्मण ब्राह्मणीको त्यही घरमा गोरु र कुकुर्नीका रूपमा जन्म भयो । औँशीका दिन पितृ श्राद्ध गर्नुपर्ने थियो । बारीको बाँझो मार्नु पर्ने भएकाले त्यही औँसीकै दिन छोराले गोरु जोत्न बारीमा लग्छन् । हलो तान्न नसकेर गोरु त्यहीँ थला पर्छन् । छोरालाई झनै रीस उठ्छ र गोरुलाई झनै थला पर्ने गरी छोराले पिट्छन् । यता घरमा श्राद्धको खीर पकाएर बुहारी बारीतिर गएकी थिइन् । खीरमा सर्पले विष छोडेर जान्छ । कुकुर्नीले बचाउन खोज्दै गर्दा बुहारी आइपुग्छिन् र खीर छोएको निहुमा कुकुर्नीलाई थला पर्ने गरी पिट्छिन् । कुकुर्नीको हर भँचिएर शक्त घाइते हुन्छे ।
बेलुका दुवै गोरु र कुकुर्नीको भेट हुन्छ । दुवैले पूर्वजन्मको स्मरण गर्छन् । आफूले दुःख पाएकोमा खेद व्यक्त गर्दै यस्तै कर्मको भोग रहेछ भनी चित्त बुझाउछन् । ती गोरु र कुकुर्नीको कुराकानी छोराले पनि सुन्छन् । आफूले गल्ती गरेको पश्चाताप गर्दै छोरा उपाय खोज्न अगस्ति ऋषिकहाँ पुगेर सारा वृत्तान्त वताउछन् । अगस्ति ऋषिले ऋषिपञ्चमीको व्रत लिई अरुन्धती सहित सप्तर्षिको पूजा गर्न आदेश दिन्छन् । सोही अनुसार ऋषिपञ्चमीको व्रत पूजा विधि विधान पूर्वक गरेपछि शिवशर्मा र ओमवतीलाई मुक्ति मिल्दछ ।
No comments:
Post a Comment