नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
तृप् धातुमा ल्युट् प्रत्यय लागेर तर्पण शब्दको निर्माण हुन्छ । जसको अर्थ तृप्त, प्रसन्न वा सन्तुष्ट पार्ने भन्ने हुन्छ । यो एक प्रकारको पितृयज्ञ हो । पञ्चमहायज्ञमध्ये देवता, सनकादि सप्तमनुष्य, पितृलाई तृप्त पार्न जल अर्पण गर्ने कार्यलाई तर्पण भनिन्छ । हामीले प्रत्येक दिन गर्नुपर्ने कार्य विशेष पञ्चमहायज्ञ हुन् । असअन्तर्गत भूतयज्ञ, पितृयज्ञ, देवयज्ञ, ब्रह्म यज्ञ र मनुष्ययज्ञ पर्दछन् :
बलिकर्मस्वधाहोमस्वाध्यायातिथिसत्क्रियाः ।
भूतपित्रमरब्रह्ममनुष्याणां महामखाः ।। (याज्ञावल्क्यस्मृतिः)
अर्थात् भूतयज्ञमा बलि कर्म पर्दछ । स्वधामार्फत् गरिने कार्य विशेष पितृयज्ञ हुन् । यसैगरी स्वाहा भनी गरिने यज्ञलाई देवयज्ञ भनिएको छ । स्वाध्ययलाई ब्रहमयज्ञ र अतिथिसत्कारलाई मनुष्ययज्ञ मानिएको छ । यिनै पाँच महायज्ञ मध्ये मनुष्यले गर्नुपर्ने एक पैतृक यज्ञलाई तर्पण भनिन्छ ।
तर्पण प्रत्येक दिन गर्नुपर्दछः “तर्पणं प्रत्यहं काय्र्यं भत्र्तुः कुशतिलोदकैः । तत्पितुस्तत्पितुश्चापि नामगोत्रादिपूर्वकम्” (कृत्य काशीखण्ड) । “नित्यं नैमित्तिकं काम्यं त्रिविधं स्नानमिष्यते । तर्पणन्तु भवेत्तस्य अङ्गत्वेन व्यवस्थितम्” । (ब्रह्माण्डपुराण) स्नान तीन प्रकारका हुन्छन्ः नित्य, नैमिीत्तक र काम्य । यी तीनवटै स्नान पश्चात् तर्पण गनुृपर्दछ । श्राद्धको अङ्गको रूपमा तर्पण दिने पनि शास्त्रीय विधान रहेको छ ।
“तर्पणन्तु शुचिः कुय्र्यात् प्रत्यहं स्नातको द्विजः । देवेभ्यश्च ऋषिभ्यश्च पितृभ्यश्च यथाक्रमम्” (शातातप) तर्पण स्नान पश्चात् गर्नुपर्दछ । जसले स्नान कर्तालई पवित्रता प्रदान गर्दछ । यसैगरी स्नानाङ्गतर्पणलाई कहिल्यै पनि छोड्नु हुँदैनः स्नानाङ्गतर्पणं विद्वान् कदाचिन्नैव हापयेत् ।। (ब्रह्मवैवर्तपुराण) ।
अतः शारीरिक शुद्धिका साथै पितृतृप्तिका दृष्टिले तर्पण गर्नुपर्दछ जसले कर्तामा शुद्धि प्रदान गर्दछ ।
तर्पण क–सकसलाई दिनुपर्छ ?
तर्पण परलोक भएका पितृलाई दिइन्छ । विशेषतः तर्पण दिने क्रम पनि रहेको छ । सर्वप्रथम देवतालई तर्पण दिनुपर्दछ । यसपछि सात मनुष्य (सनक, सनन्दन, सनातन, कपिल, आसुरि, बोढु र पञ्चशिखा) लाई तर्पण गरिन्छ । सोपश्चात् मात्र स्वपितृको तर्पण हुने गर्दछ । “प्रागग्रेषु सुरांस्तृप्येन्मनुष्यांश्चैव मध्यतः । पितृंश्च दक्षिणाग्रेषु दद्यादिति जलाञ्जलीन्” । (अग्निपुराण) । यसैगरी स्वपितृको तर्पर्ण विधान यसरी गरिएको छः
ताताम्बत्रित्रयं सपत्नजननी मातामहादित्रयं
सस्त्रि स्त्री तनयादि तातजननीस्वभ्रातरः सस्त्रियः ।
ताताम्बात्मभगिन्यपत्यधवयुग् जायापिता सद्गुरुः
शिष्याप्ताः पितरो महालयविधौ तीर्थे तथा तर्पणे ।।
अर्थात् सर्वप्रथम पितृपितामह र प्रपितामह(बुबा, हजुरबुबा, बुढो हजुरबुबा)लाई तर्पण दिनुपर्छ । यसपछि मातृ, पितामही र प्रपितामही(आमा, हजुरआमा र बुढीहजुरआमा)लाई तर्पण दिइन्छ । यसपछि मावली हजुरबा, बुढो हजुर बुबा र कुप्रो हजुरबुबालाई तर्पण दिनुपर्छ । सो पश्चात् मावली हजुरआमा, बुढीहजुरआमा र कुप्री हजुरआमालई तर्पण दिइन्छ । यसपछि पत्नीलाई (परलोक भएको खण्डमा मात्र) तर्पण दिनु पर्छ (पत्नीले गर्दा पति परलोक भएमात्र पतिलाई तर्पण दिनुपर्दछ ।) । यसपछि पु्त्रादिलाई , सो पश्चात् काका ठूलोबुबालाई, काकी ठूली आमालाई, यसपछि मामा माइजुलाई, यसपछि दाजुभाइलाई, सो पश्चात् फुपूफूपाजु्लाई, यसपछि सानीआमा(आमाका दिदी बहिनीलाई) , यसपछि दिदी बहिनीलाई, यसपछि ससुरा सासूलाई, यसपछि गुरुलाई (गायत्री गुरु वा सद्गुसरु), यसपछि शिष्यलाई, यसपछि कोही इच्छित व्यक्ति वा हितैषीलाई पनि तर्पण दिनुपर्ने व्यवस्था गरिएको छ ।
तर्पणमा मन्त्र, जलसँगै कुश, तीलको प्रयोग गर्नुको तात्पर्य
तर्पण गर्दा जल(पानी) सहित कुश, तील पनि समावेश गरिन्छ । यसको पनि वैज्ञानिक कारण रहेको छ । केवल जलमात्र दान गर्दा उक्त प्रदान गरिएको जल राक्षसले प्राप्त गर्दछन् । अतः तर्पण गर्दा मन्त्र, कुश, तील जौ आदि पनि प्रयोग गर्नुपरेको हो । यसैगरी तर्पण गर्दा सुन–चाँदी को प्रयोग पनि उत्तम मानिएको छ ः
दर्भैः मन्त्रैः तिलैः हेम्ना रजतेन विना जलम् ।
दत्तं हरन्ति रक्षांसि तस्मात् दद्यान् न केवलम् ।। (हेमाद्रि, श्राद्धखण्ड, पृ. ११७९)
अतः तर्पणमा जलसँगै मन्त्र, कुश, तिल, सुन, चाँदी अत्यावश्यक मानिएको छ । अन्यथा तर्पण व्यर्थहुने भएकाले पनि विशेष विधान गरिएको हो । यसैगरी कुशको प्रयोगमा पनि विशेष ध्यान दिनुपर्छ :
अग्रैस्तु तर्पयेद्देवान् मनुष्यान् कुशमध्यतः । पितृंस्तु कुशमूलाग्रे विघिः कौशो यथाक्रमम्” । (वाचस्पत्यम्)
अर्थात् कुशको अग्रभागले देवतालई, कुशको मध्यभागले मनुष्य र कुशको मूलभागबाट पितृलाई तर्पण गर्नुपर्दछ ।
कसलाई कतिपटक जलाञ्जलि दिनुपर्छ ?
देवताई तर्पण गर्दा १/१ अञ्जलि, सनकादि ऋषिलाई २/२ अञ्जलि, पितृलाई ३/३ अञ्जलि र स्त्रीलाई १/१ अञ्जलि दिनुपर्दछः
एकैकमञ्जलिं देवाां द्वौद्वौ तु सनकादयः । अर्हन्तितरः स्त्रीं स्त्रियोप्येकैकमञ्जलिम् ।। (छान्दोग्य परिशष्ट) ।
यसैगरीे मातृपक्ष मुख्यभएको श्राद्ध गर्दा भने निम्नानुसारको तर्पण संख्या व्यवस्था गरिएको छः
मातुमुख्या तु यास्तिस्रस्तासाँ त्रींस्त्रीञ्जलाञ्जलीन् ।
सपत्न्याचार्य पत्नीनां द्वौद्वौ दद्याञ्जलाञ्जलीन् ।। (सङ्ख्यायन)
अर्थात् आमा, हजुरआमा र बुढीहजुरआमालाई ३/३ अञ्जलि, सौतेनी आमा, पत्नी र गुरुलाई २/२ अञ्जलि र अरुलाई १/१ अञ्जलि दिनुपर्दछ ।
तर्पण दिनुको तात्पर्य र अर्थ
तर्पण विशेष प्रकारले जल दान गर्ने कार्य हो । जस अन्तर्गत जल, कुश, तिल, जौ, रत्न (सुन,चँद) आदि वस्तु अनिवार्य रहन्छ । यसैगरी अर्घपात्र, खगौतो, चन्दन, जौ, तील आदि वस्तु पनि तर्पणमा प्रयोग गरिन्छन् । तर्पण दिन स्थान पवित्र हुनुपर्दछ । यसरी तर्पणका सामग्री तयार गरिसकेपछि संकल्पपूर्वक जलाञ्जलि दान गर्नु पर्दछ । यसरी गरिने सङ्कल्पमा सर्वप्रथम तर्पण दाता र पितृको सम्बन्ध अनिवार्य उल्लेख गर्नुपर्दछ :
सम्बन्धं प्रथमं ब्रूयान् नामगोत्रे तथैव च ।
वस्वादिरूपतां चाऽपि स्वपितृणामनुक्रमात् ।। (धर्मसिनधु)
अस्मद् पिता अर्थात् हाम्रा पिता, हाम्री माता आदिको सम्बन्ध दर्शाएर सङ्कल्पपूर्वक जलदान तर्पणमा हुने गर्दछ । पवित्र पात्रमा तर्पण दिईसकेपछि नदी, तलाउ वा पवित्रस्थानमा उक्त जल सेलाउनु पर्दछ । “पात्राद्वा जलमादाय शुचौ पात्रान्तरे क्षिपेत् । जलपूर्णेऽथ वा गत्र्ते न स्थाने तु विवर्हिषि” । (हारीत) यसैगरी खाल्डो खनेर माटोमुनि जल सेलाउन पनि सकिन्छ ।
तर्पण गर्ने विधान पनि भिन्नै छ । देवतालई तर्पण गर्दा कुश, पवित्र, जलको प्रयोग गरिन्छ । यसैगरी हातको पनि अग्रभागबाट देवताको तर्पण गर्नुपर्ने विधान छ । देवतीर्थ भनेर चार औँला(चोरीदेखि कन्छीऔँलाको) अग्रभागलाई लिइएको छ । हातको अग्रभागलाई देवता मानिएको छ । जहाँबाट दिइएका वस्तु देवतासम्म पुग्छन् । अतः देवतीर्थबाट तर्पण गर्ने कार्य वैज्ञानिक रहेको छ । दाहिने हातको अग्रभाग र देवताको सम्बन्ध रहने भएकाले पनि यसको वैज्ञानिकता पुष्टि हुन्छ । देवतालई सव्य क्रमले तर्पण दिनुपर्दछ । अन्यथा देवतालाई ग्राह्य हुँदैन ।
यसैगरी सात मनुष्यलाई तर्पण गर्दा कान्छी औँलाको फेदबाट गर्नुपर्दछ । जसलाई कायतीर्थ भनिन्छ । जनै कण्ठभागमा राखेर गरिने मनुष्य तर्पणमा कुश जलको प्रयोग हुन्छ । यसपछि अपसव्य भई दक्षिण फर्किएर वायाँ घुँडा मोडी तिल मोटक सहित खड्पात्र(खगौतो(ले पितृलाई तर्पण गर्नुपर्दछ । यसरी तर्पण गर्दा पितृतीर्थ अर्थात् चोरी र बुढी औँलाको फेदबाट जल दान गर्नुपर्दछ । यसरी दिइने जल दानको आफ्नै महिमा रहेको छ । अन्य स्थानबाट दिएको जल पितृले प्राप्त गर्न सक्दैनन् । त्यसैले हातको पनि निश्चित स्थानबाट तर्पण दिनुपर्ने व्यवस्था गरिएको हो । यसैगरी कुशको मोटक, गैँडाको खाग(खगौतो)को प्रयोगले पनि पितृ र मनुष्यवीचको सम्पर्कसूत्रका रूपमा काम गरेका हुन्छन् । पौरस्त्य शास्त्रले यही बताएको छ । जुन आजको भौतिक विज्ञानले अझै खोजी गर्न सकेको छैन ।
यसैगरी आफ्ना कुलमा जन्मिएका तर संस्कृत नभई परलोक भएकालाई भिन्नै प्रकारले तर्पण दिने व्यवस्था छ । सन्ततिहीन भएकालाई वस्त्र निचोरेर तर्पण गर्नुपर्ने विधान गर्नुका पछाडि पनि परलोकीले कसरी जल प्राप्त गर्न सक्छन् सोही अनुसार दिनुपर्ने व्यवस्था विधान गरिएको हो । विधिपूर्वक गरिएको पितृतर्पण पितृले प्राप्त गर्दछन् भन्ने कुरा गीतामा यसरी बताइएको छ : यान्ति देवव्रता देवान्पितúन्यान्ति पितृव्रताः । (गीता, ९।२५) अर्थात् देवताको उपासना गर्नाले देवतालाई प्राप्त हुन्छ, पितृव्रतगरी अर्पण गरिएका वस्तु पितृलाई प्राप्त हुन्छन् । अतः पितृतर्पण वैज्ञानिक छ ।
तर्पण नदिदा के हुन्छ ?
तर्पण नित्य गर्नु नै भन्ने शास्त्रीय आदेश पाइन्छ । यसले पितृतृप्तिका साथै शारीरिक शुद्धि पनि प्राप्त हुन्छ । यसैगरी जो नास्तिक भएर देवतालई, मनुष्य एवं पितृलाई तोयादि अर्पण गर्दैनन् त्यस्ता सन्ततिलाई अनिष्ट हुने कुरा याज्ञवल्क्यले बताएका छन् : “नास्तिक्यभावाद्यश्चापि न तर्पयति वै सुतः । पिवन्ति देहरुधिरं पितरो वै जलार्थिनः”। (याज्ञवल्क्य) । अतः आत्मकल्ययाणका निम्ति पनि जलदान अर्थात् तर्पण गर्नुपर्दछ ।
यसरी तर्पण गर्दा पनि शास्त्रले बताएको विधि नै अवलम्बन गर्नुपर्दछ । विधिपूर्णं धनं प्रोक्तं विधिच्युतं ऋणं भवेत् ।। अर्थात् विधिपूर्वक गरिएको तर्पणादि कर्मले धन धान्य वृद्धि हुन्छ भने विधिहीन भएर गरिएको कर्मको फल ऋणबढ्ने हुन्छ ।
निष्कर्षः
पितृतृप्तिका निम्ति तर्पण गरिन्छ । जल तत्तवको माध्यमबाट पितृलाई सन्तुष्ट पार्ने कार्य तर्पण हो । तर्पण दिने पद्धति आफूमै वैज्ञानिक छ । जलदानले पितृ खुशी हुने भएकाले पनि तर्पण नित्य गर्नु भनिएको हो । स्नान पश्चात् तर्पण गर्ने हाम्रो नित्यकर्म विधि नै छ । हामी पितृकै अंश हौ । अतः पितृआशीर्वाद विना हाम्रो जीवन अघिबढ्न सक्दैन । यही पैतृक गुणलाई जीवन्त बनाई मानव सृष्टिको चक्रलाई निरन्तरताका निम्ति पनि तर्पण आवश्यक छ । हाम्रो शरीरमा पनि अधिक मात्रामा जल नै रहेको छ । जति पनि वस्तुहरू हामी खान्छौँ अन्त्यमा ती जलीय शक्तिको माध्यमले नै शरीरलाई चलाइरहेका हुन्छन् । यसैगरी पितृका निम्ति पनि जल जीवन हो । सन्ततिले प्रदान गरेको जलले पितृमा तृप्ति मिल्ने कुरा शास्त्रमा उल्लेख छ । शास्त्रीय मर्यादाका साथै मानव कल्याणका निम्ति पनि तर्पण आवश्यक रहेकाले यसको वैज्ञानिकता स्वतः पुष्टि हुन्छ । जलको माध्यमले चन्द्रमाको माथिल्ले भागमा रहेका पितृले तृप्ति पाउने कुरा हाम्रा वैदिक धर्मशास्त्रमा व्यक्त छ । वरु आजको विज्ञानले यो कुरा खोज्नु आवश्यक छ । आजको भौतिक विज्ञानको मार्गदर्श हाम्रो तर्पण पद्धति रहेकाले पनि यसको वैज्ञानिकता स्वतः पुष्टि हुन्छ ।
No comments:
Post a Comment