उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
संसारलाई प्रविधिको पाटो सिकाउने आद्य गुरु विश्वकर्मा हुन् । आजका भौतिक उपलब्धी विश्वकर्माकै देन हुन् । भौतिक वस्तुको विन्यास, वस्तु अवस्थितिको अनुकूलन एवं निर्माण र कलाका आद्य प्रतमिूर्ति विश्वकर्मा भएकाले उनको विशेष पूजा आराधना गरिएको हो । आजका मोवाइल, यान्त्रिक उपकरण एवं वायुयान पनि उनकै परिकल्पना हुन् । संसारलाई प्रविधिको बाटोमा अभिप्रेरित गर्ने विश्वकर्मा स्वर्गका भव्य महलका रचनाकार हुन् । चित्र विचित्रका वस्तु निर्माणमा उनको विशेष देन रहेको छ । विश्वको वस्तुस्थितिलाई वनाउने शील्पज्ञ भएकाले उनको नाम विश्वकर्मा रहेको हो ।
विश्वकर्माको परिचय
शेष शैयामा शयन गर्नु भएका विष्णु भगवान्को नाभिकमलबाट ब्रह्माको उत्पत्ति हुन्छ । ब्रह्माका पुत्र धर्म, धर्मका पुत्र वास्तुदेव, वास्तुदेव र अंगिरसीका पुत्रका रूपमा विश्वकर्माको जन्म भएको हो । विश्वर्माका पिता वास्तु शील्पमा निपूण भएकाले उनमा पनि सो ज्ञान भएको पाइन्छ । विश्वकर्माका अनेक रूप पाइन्छन् –
द्वौ प्रोक्तौ विश्वकर्माणो मयस्त्वष्टा च योगवित् ।
द्वौ धाता च विधाता च पौराणौ जगतः पती ।। (अग्निपुराण, गणभेद नामाध्याय)
विशेषतः मय र त्वष्टालाई विश्वर्मा भनिएको पाइन्छ । यी दुवै सृष्टि र नयाँ युगको आविष्कर्ता हुन् । यसैगरी अन्य विश्वकर्मामा–
धर्मवंशी विश्वकर्मा : शिल्प विज्ञान विधाता अर्थात् (प्रभात पुत्र)
अंगिरावंशी विश्वकर्माः आदि विज्ञान विधाता (वसु पुत्र)
सुधन्वा विश्वकर्माः विज्ञानका जन्मदाता (अथर्वा ऋषिका नाति)
भृंगुवंशी विश्वकर्माः उत्कृष्ट शिल्प विज्ञानाचार्य (शुक्राचार्यका नाति) ।
कर्म अनुसार विश्वकर्माका स्वरूप पनि रहेको पाइन्छ । उनका मनु, मय, त्वष्टा, शील्पी, एवं दैवज्ञ गरी पाँच पुत्र थिए । छोराहरू नाम अनुसारका काममा पनि निपूण रहेको पाइन्छ । मनु फलामसँग सम्बन्धित, मय कष्ठकलाका ज्ञाता, त्वष्टा काँस र तामासँग सम्बबन्धित वस्तुका ज्ञाता थिए । यसैगरी शिल्पी ढुङ्गा इटाको कार्यमा र दैवज्ञ सुन चाँदीका कार्य कालमा निपूण रहेको पाइन्छ ।
वेद पुराणमा विश्वकर्माको चर्चा
वेद एवं पुराणमा विश्वकर्माको विशेष चर्चा पाइन्छ । ‘विश्वं कृत्स्नं कर्म व्यापारो वा यस्य सः’ अर्थात् जसले यो सम्पूर्ण विश्वको रचनाका निम्ति कार्य गर्यो उनै विश्वकर्मा हुन् भनिएको छ । यसैगरी विश्वको रचनाका निम्ति विश्वकर्मालाई नियुक्त गरिएको कुरा यसरी वेदमा बताइएको छ : विश्वकर्मा त्वा सादयत्वन्तरिक्षस्य पृष्ठे ज्योतिष्मतीन् । विश्वस्मै प्राणायापनाय व्यानाय विश्वं ज्योतिर्यच्छ । वायुष्टेधिपतिस्तया देवतयाङ्गिरस्वद् ध्रुवा सीद ।। (शु. यजुर्वेद, १४।१४) अर्थात् हे विश्वसृजेता तपाई अन्तरिक्षको उच्च भागमा बस्नुहोस् । यसपछि समस्त याजक(मनुष्य)लाई प्राण, अपान, व्यान वायु प्राप्तिका लागि सम्पूर्ण ज्योति प्रदान गर्नुृहोस् । आफ्ना अधिपति वायुदेवको सामथ्र्यबाट अङ्गिराजस्तै यस कार्यमा स्थिर हुनुहोस् भन्ने भनाइले पनि विश्वकर्माको कार्यलाई पुष्टि गर्छ ।
यसैगरी विश्वकर्माको विश्वमा व्यापकता रहेको कुरा यसरी वेदमा बताइएको छ : ‘विश्वतः चक्षुरूत विश्वतोमुखो विश्वतो बाहुरूत विश्वतस्पात् ।’ यसरी वेदले विश्वकर्माको सर्वव्यापकता, सर्वज्ञता, शक्ति–सम्पन्नता र अनन्ततालाई पुष्टि गरेको छ । साथै विश्वकर्मालाई वेदले प्रजापतिको विशेषणका रूपमा पनि उललेख गरेको छ : ‘प्रजापति विश्वकर्मा विसुचित ।’
यसैगरी ‘ब्रह्माले सृष्टिपछि संसार बनाउने योजना अनुसार राजा पृथुलाई नै सम्पूर्ण जिम्मेवारी दिएका थिए ।’ पृथ्वीका आद्य राजा पृथुले अव्यववस्थित संसारलाई सुन्दर बनाउन विश्वकर्मालाई लगाएको र सो पश्चत् विश्वकर्माले ब्रह्माको आज्ञाबाट बसोबास योग्य भवन स्थलहरू निर्माण गरी सुन्दर बनाएको कुरा पुराणमा वर्णन पाइन्छ ।
विश्वकर्माद्वारा नै विश्वको अर्थात् सम्पूर्ण संसारको सिर्जना भएको हो त्यस्तै, विश्वकर्माद्वारा नै सूर्यको गोलाकार, ताप पृथ्वीमा झर्ने दिशा, सूर्य रहने, घुम्ने दिशा, सूर्यको आकार–प्रकार आदि सबै निर्माण भयो, चन्द्रमाको बिम्ब, आकार–प्रकार, यथायोग्य वनस्पतिका क्रमहरू, पशुपंक्षी अनुसारको वनस्पति निर्माण आदि विश्वका सम्पूर्ण उपयोग्य प्रकृतिमय वातावरण पनि विश्वकर्माद्वारा निर्माण भएका हुन् ।
विश्वकर्माको स्वरूप –
विश्वको निर्माण गर्ने भगवान् विश्वकर्माको एक हातमा गज, दोस्रो हातमा डोरी, तेस्रो हातमा कमण्डलु चौथो हातमा पुस्तक वा ज्ञानसूत्र विराजमान छन् । हाँसमाथि चढेका विश्वकर्माका तीन आँखाका साथै शिरमा मुकुट पनि विराजमान छ । त्यस्तै, महाओजस्वी, तेजोमय स्वरूप, चतुर्भुज, ब्रह्मतेजबाट तताएर सुन जस्तो वर्ण, कानमा दिव्य कुण्डल, ठूलो निधार जसमा ज्ञानचक्षु र शिरमा चन्द्रमाको दिव्यता झल्किरहेको यस्तो मुख मुद्रामा भगवान् विश्वकर्मा ज्ञानप्रदाता, मोक्षप्रदाता र विश्वका दुःखको निवारण कर्ता तथा सृष्टिकर्ताको रूपमा विराजमान रहेका छन् ।
शास्त्रमा विश्वकर्माका पाँच स्वरूप र अवतार पाइन्छन् ः विराट विश्वकर्मा, धर्मवंशी विश्वकर्मा, अंगिरावंशी विश्वकर्मा, सुधन्वा विश्वकर्म र भृंगुवंशी विश्वकर्मा । विश्वकर्माका जेठा छोरा मनु थिए । मनुको अंगिरा ऋषिकी पुत्री कञ्चनासँग विवाह भएको थियो । मनुले मानव सृष्टिको निर्माण गरेका थिए । यिनका कुलमा अग्निगर्भ, सर्वतोमुख, ब्रह्म आदि ऋषि उत्पन्नभएको कुरा पुराणमा वर्णन पाइन्छ ।
विष्णु पुराणमा देवताका पनि देवताको संज्ञा विश्वकर्मालाई दिइएको छ ।
बृहस्पतेस्तु भगिनी वरस्त्री ब्रह्मचारिणी ।।
योगसिद्धाजगत्कृत्नमसक्ता विचरत्युत ।।
प्रभासस्य तु भार्या सा वसूनामष्टमस्य तु ।
विश्वकम्र्मामहाभागस्तस्यां जज्ञे महामतिः ।
कर्ता शिल्पसहस्राणां त्रिदशानाञ्च वद्र्धकिः ।
भूषणानाञ्च सर्वेषां कर्ता शिल्पवतां वरः ।।
यः सर्वेषां विमानानि देवतानां चकार ह ।
मनुष्याश्चोपजीवन्ति यस्य शिल्पं महात्मनः ।।
(स्कन्दपुराण, प्रभातखण्ड १६ अध्याया ÷विष्णुपुराण, १५ अध्याय)
महर्षि अंगिराका ज्येष्ठ पुत्र बृहस्पतिकी बहिनी भुवना जो ब्रह्मविद्या जान्ने थिइन् । पछि उनी अष्टवसु महर्षि प्रभासकी पत्नी बनिन् । उनले सम्पूर्ण शिल्प विद्याका ज्ञाता प्रजापति विश्वकर्मालाई जन्म दिइन् । उनै विश्वकर्माले देवताका निम्ति विभिन्न प्रकारका विमान पनि निर्माण गरेका थिए । मान्छे पनि उनकै शील्पको उपयोग गरेर आफ्नो जीविको पार्जन गर्दछन् भनिएको छ ।
विश्वकर्मा सर्वत्र ख्याति कमाएका देवता थिए । उनको वेद एवं पुराणले पनि महिमागान गरेको पाइन्छ । उनलाई प्रजापति पनि भनिन्छ ।
विश्वकम्र्मा प्रभासस्य पुत्रः शिल्पप्रजापतिः ।
प्रसादभवनोद्यानप्रतिमाभूषणादिषु ।
तडागारामकूपेषु स्मृतः सोऽमरवद्र्धकिः ।। (मत्स्यपुराण ५ अध्याय)
प्रत्यूषस्य विदुः पुत्रमृषिं नाम्ना तु देवलम् ।
विश्वकम्र्मा प्रभासस्य विख्यातो देववद्धृकिः ।। (गरुडपुराण, ५ अध्याय)
विश्वकर्मालाई ऋषिको संज्ञा पनि दिइएको छ । शिल्पका ज्ञाता विश्वकर्माको ‘विश्वकर्मा प्रकाश’ अद्भूत शील्प सज्जित ग्रन्थ हो । यसलाई वास्तुतन्त्र पनि भनिन्छ । जसमा मानव र देववास्तु विद्याका थुप्रै गणितीय सूत्रोपपत्ति पाउन सकिन्छ ।
धेरै विद्वान विश्वकर्मा नामलाई एक उपाधि मान्दछन् । संस्कृत साहित्यमा पनि थुप्रै विश्वकर्माको उल्लेख पाइन्छ । केही विद्वान् अंगिरा पुत्र सुधन्वालाई आदि विश्वकर्मा मान्दछन् भने केही भुवन पुत्र भौवन विश्वकर्मालाई आदि मान्दछन् । ऋग्वेदमा विश्वकर्मा सूक्तको वर्णन छ । यही सूक्तलाई यजुर्वेदको १७ अध्यायको १६–३१ मन्त्रमा उल्लेख गरिएको छ । ऋग्वेदमा विश्वकर्मा शब्द इन्द्र र सूर्य को विशेषण बनेर प्रयुक्त भएका छन् ।
विवाहादिषु यज्ञेषु गृहारामविधायके ।
सर्वकर्मसु संपूज्यो विश्वकर्मा इति श्रुतम् ।।
विश्वकर्मा पनि तेत्तिस कोटि देवता मध्ये एक हुन् । त्यसैले विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा अनिवार्य रूपले भगवान् विश्वकर्माको पूजा आराधना गर्नुपर्दछ । विश्वकर्माको पूजा आराधना गर्नाले कार्यमा सफलता मिल्ने कुरा शास्त्रमा बताइएको छ । चरक संहितामा पनि विश्वकर्माको गुणगान गाइएको पाइन्छ ।
वास्तुशास्त्रका उपदेशक
वास्तुशास्त्रका अठार उपदेशकमध्ये विश्वकर्मा प्रमुख मानिन्छन् । किनकि, गृहवास्तुका लागि अन्य उपदेशकहरूको पूजा–आजा, स्मरण, अर्चना गरिंदैन । ‘विश्वकर्माप्रकाश’ उनको वास्तुको गुरुग्रन्थ हो । अरू सबै उपदेशक मात्र हुन् तर विश्वकर्मा गृहवास्तुका पिता नै हुन् । वास्तुस्थिति मिलाउनका लागि विश्वकर्माद्वारा रचना गरिएको वास्तुशास्त्रका सिद्धान्तहरू जति महत्वपूर्ण र उपयोगी अरू कुनै प्रकार हुन सक्दैन ।
विज्ञानका पिता
विशिष्ट ज्ञान नै विज्ञान हो । विशिष्ट ज्ञानलाई प्रिविधमा प्रयाेग गर्ने पहिलाे अाचार्य िवश्वकर्मा रहेकाकले यिनलाई प्रविधिका पिता भनिएकाे हाे । पौराणिक कथा अनुसार देवशिल्पी विश्वकर्माले पृथ्वीमा पनि सुन्दर शहर एवं भवन निर्माण गरेको कथा पाइन्छ । सुनको लङ्कापुरी, भववान् श्रीकृष्णको द्वारका पुरी, पाण्डवका निम्ति हस्तिनापुरमा सुदामा नगरी पनि विश्वकर्माले नै रचना गरेका थिए । विश्वकर्माकै हातवबाट जगन्नानथस्थित काठको मूर्ति उनकै कला कौशल हो । सत्ययुगको स्वर्ग लोक, त्रेतायुगको स्वर्णमयी लंका, द्वापर युगको द्वारका र कलि युगको हस्तिनापुर स्वयं विश्वकर्माले नै निर्माण गरेका थिए ।
यसरी निर्माण गरिएको भवनमा पनि कलात्मक चमत्कृति रहेको पाइन्छ । जलमा स्थल र स्थलमा जल । स्थलमा अग्निको प्रतीति गराउनसक्ने बेजोज कला त विश्वकर्मामा रहेको थियो । यसैगरी कर्म अनुसार विश्कर्माका विभिन्न रूप पाइन्छन् । हरेककले हरेक क्षेत्रको गूढतम रहस्यलाई प्रकाशमा लयाएको कुरा इतिहास पुराणमा वर्णन पाइन्छ । आजको आधुनिक युगले पनि यस्तै प्रविधिको खोज गरिरहेको छ । मनको इच्छा अनुसार चल्ले पुष्पक विमान, सर्वरक्षक कर्णको कुण्डल, विष्णु भगवान्को सुदर्शन चक्र, शंकर भगवान्को त्रिशूल, यमराजको कालदण्ड आदि थुप्रै महत्त्वपूर्ण वस्तु विश्वकर्माले निर्माण गरेको इतिहास पाइन्छ । वस्तुको विन्यास, रत्नको चमत्कृति, निर्माणको कौशल आदि हरेक विधि र प्रविधका प्राज्ञ विश्वकर्मा नै रहेकाले पनि विज्ञानका पिता विश्वकर्मा पुष्टि हुन आउँछ ।
निष्कर्ष
असोज १ गतेका दिन यन्त्र उपकरण, गाडी, फ्याक्ट्री, फलाम आदि वस्तु सहित विश्वकर्माको पूजा हुने गर्दछ । विश्वकर्मा देवताद्वारा पनि पूजित थिए । वेद उपनिषद्मा पनि उनको विशेष चर्चा पाइन्छ । विश्वकर्मा प्रविधिका प्रणेता संसार निर्माणका इञ्जिनियर हुन् । उनको पूजन गर्नाले यन्त्र प्रविधिजन्य कार्यमा सफल बन्न सकिन्छ । आजको विज्ञानका पिता पनि स्वयं विश्वकर्मा नै हुन् । पुष्पक विमान उनकै देन हो । स्वर्गको अलकापुरी, मत्र्यको लंका एवं जगन्नाथपुरी उनकै सुन्दर सृजना हुन् ।
विश्वकर्माको पूजा गर्नाले यान्त्रिक कार्यमा सहजताका साथै उन्नति प्रगति पनि हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । आजका यन्त्र उपकरण हिजोका तुलनामा केही होइनन् । मनले सोचे अनुसार हिँड्नसक्ने पुष्पक विमान हजारौँ वर्ष पहिले विश्वकर्माले निर्माण गरिसकेका थिए । हातमा हेरेर संसार जान्न सक्ने युग आज भन्दा हजारौ वर्ष पहिले पनि विद्यमान थियो । सोही ज्ञानको नै आज खोज भइरहेको छ त्यसैले यस्ता विशिष्ट ज्ञानका पिता विश्वकर्मा सदा पूजनीय छन् ।
No comments:
Post a Comment