श्रद्धापूर्वक गरिने कार्य श्राद्ध हो । पितृहरूका निम्ति शास्त्रले बताएको समय र स्थानमा पकाएको वा काचो अन्न तथा सुन आदि द्रव्य विधिपूर्वक चढाउनु वा दान गर्नु श्राद्ध भनी धर्मसिन्धुमा उल्लेख पाइन्छ । श्राद्धमा काल, स्थान र वस्तुको उपयुक्तता आवश्यक हुन्छ । उचित समय भन्दा अन्य कालमा गरिएको श्राद्ध फलदायी रहदैन । यसैगरी समय उचित भए पनि स्थान उचित वा पवित्र भएन भने यसरी गरिएकोश्राद्ध पनि पितृका निम्ति ग्राह्य हुँदैन । साथै वस्तुमा पनि पवित्रता रहनु आवश्यक छ । चोखा वस्तुमात्र पितृले ग्रहण गर्दछन् । यसका साथै कायिकऽ वाचिक र मानसिक शुद्धि पनि श्राद्धमा अनिवार्य रहन्छ ।
देशे काले च पात्रे च श्रद्धया विधिना च यत् ।
पितृनुद्दिश्य विप्रेभ्यो दत्तं श्राद्धमुदाहृतम् ।। (ब्रह्मपुराण)
श्रद्धापूर्वक देश, काल र पात्रको उपयुक्तता हेरी गरिने कार्य विशेष नै श्राद्ध हो । पितृ तृप्तिको उद्देश्य राखी ब्राह्मणलाई दान गर्ने कार्य विशेषलाई पनि श्राद्धको संज्ञा दिइएको छ ।
यसरी गरिने श्राद्धको स्थान कस्तो हुनुपर्छभन्ने बारेमा शास्त्रले विशेष निर्देश गरेको पाइन्छ । श्राद्धमा पनि पवित्रता अत्यन्त आवश्यक हुन्छ । श्राद्ध गर्ने स्थान खाली, शुद्ध र पवित्र हुनुपर्दछ । एकान्त स्थान, गौशाला(गाई गोठ), नदी किनारमा गरिएको श्राद्धले पितृ खुशी हुन्छन् भनेर मनुस्मृतिमा बताइएको छ –
अवकाशेषु चोक्षेषु नदीतीरेषु चैव हि ।
विविक्तेषु च तुष्यन्ति दत्तेन पितरः सदा ।। (मनुस्मृति, ३।२०७)
यसैगरी उक्तस्थलमा गाईको गोवरले लिपेर पवित्र पारिएको पनि हुनुपर्दछ भन्ने मत्स्य पुराणको मत रहेको छ ।
गोमयेनोपलिप्ते तु दक्षिणा प्रवणे स्थले ।
श्राद्धं समारभेद् भक्त्या गोष्ठे वा जलसन्निधौ ।। (मत्स्यपुराण)
जलको सान्निध्य वा गाई गोठ श्राद्धका निम्ति उपयुक्त स्थल हुन् । यसरी उपयुक्त स्थानकाे चयन गरी श्राद्ध गर्नुपर्दछ ।
नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
यस्तै विविध विषयवस्तुको जनकारी शास्त्रीय प्रमाणसहित समेटिएको पुस्तक सर्वत्र बजारमा उलब्ध छ
यस्तै विविध विषयवस्तुको जनकारी शास्त्रीय प्रमाणसहित समेटिएको पुस्तक सर्वत्र बजारमा उलब्ध छ
No comments:
Post a Comment