नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
चान्द्र महिनाअन्तर्गत आश्विन कृष्णपक्षको एकादशीलाई इन्दिरा भनिन्छ । इन्दिरा एकादशीका दिन विष्णुरूप शालग्रामलाई पञ्चामृतले स्नान गराई पूजा अर्चना गरी व्रत बस्ने शास्त्रीय विधान रहेको छ । सोह्रश्राद्ध अन्तर्गत यो एकादशी पर्ने भएकाले यो व्रतउपासना समस्त पितृका निम्ति उद्धारक समेत हुने शास्त्रीय वचन रहेको पाइन्छ ।
आश्विने कृष्णपक्षे तु इन्दिरा नाम नामतः ।
तस्या व्रतप्रभावेन महापापं प्रणश्यति ।
अधोयोनि गतानां च पितृणां गतिदायिनी । (पद्मपुराण)
इन्दिरा एकादशीको व्रधारण गर्नाले महापाप पनि नष्टहुन्छ भन्ने फल बताइएको छ । यसैगरी अगतिमा परेका पितृको उद्धारका निम्ति पनि यो उत्तम दिन हो । यसैगरी उस एकादशीको फल श्रवण गर्नाले वाजपेय यज्ञ गरे बराबरको फल प्राप्त हुने गर्दछ ।
यस्य श्रवणमात्रेण वाजपेय फलं लभेत् । (पद्मपुराण)
पापकको नाशका साथै पुण्यकर्मलाई वृद्धि गराउने एकादशी इन्दिरा हुन् ।
व्रत विधि–
यो व्रत दशमीकै दिनबाट आरम्भ हुन्छ । दशमीको राति भोजन गर्नु हुँदैन । एकभक्ति बस्नुपर्छ । अन्न ग्रहण नगरी फलहार गर्नुपर्दछ । एकादशीका दिन बिहान आफ्ना नित्य कर्म सकेर सूर्यलाई अर्घ दान गर्नुपर्दछ । यस पश्चात् विष्णु भगवानका अगािड दीप बत्ती बाली भगवान्को आराधना गर्ने विधान रहेको छ ।
सो पश्चत् श्राद्धादि कर्म गर्नुपर्दछ । योग्य ब्राह्मणलाई फलाहारका साथै दक्षिणा पनि दान गर्नुपर्दछ । पितृप्रसादलाई सुँघेर गाईलाई दिनु तथा धुप, दीप, गन्ध, पुष्प, नैवेद्य आदि सबै सामग्रीले ऋषिकेश भगवानको पूजा गर्नू भन्ने निर्देश पद्मपुराणमा गरिएको छ । यसरी प्रार्थना पशचत् रातमा भगवानको जागरण गर्नुपर्छ । भोलिपल्ट द्वादशीका दिन प्रातः काल भएपछि भगवानको पूजा गरेर ब्राह्मणहरूलाई भोजन सिदादि दान गर्नुपर्छ । बन्धुहरू, स्त्री र पुत्रसहित आफू पनि मौन भएर भोजन गर्नुपर्ने विधान पनि रहेको छ । यसरी गरिएको व्रत पूर्ण फलदायी रहन्छ ।
कथा –
पद्मपुराणमा श्रीकृष्ण भगवान् र युधिष्ठरको संवादमा इन्दिरा एकादशीको चर्चा गरिएको छ । युधिष्ठिरको प्रश्नको उत्तर दिदैँ भगववान् श्रीकृष्णले निम्न कथा श्रवण गराउनुभएको छ –
सत्ययुगमा महिष्मति नामको शहरमा इन्द्रसेन नामक एक प्रतापी राजाको थिए । राज्यमा भने अस्थिरता छाइरहेको थियो । एकदिन राज्यसभा चलिरहेको समयमा महर्षि नारद ऋषिको आगमन भयो । नारदको आएपछि इन्द्रसेनले खुसी हुँदै आसन गराए । नारदजी पनि इन्द्रसेनको भक्तिले प्रसन्न हुनुभयो । नारदजीले आफूले एकदिन यमलोक पुगेका बेला यमराजको राज्य सभामा इन्द्रसेनका पितालाई भेटेको र उनैको सन्देश लिएर आएको बताएपछि धर्म, ज्ञान र दानले भरिपूर्ण आफ्ना पिता स्वर्गलोकको साटो कसरी यमलोकमा पुगे भनेर प्रतापी राजा इन्द्रसेन आश्चर्यचकित भए ।
इन्द्रसेनका पिताले पितृपक्षको इन्दिरा एकादशीको व्रतलिएर पूरा गर्न नसकि बीचैमा छाडेका कारण यमलोकको बास भएको नारदजीले बताताउनुभयो । इन्दिरा एकादशी व्रत धारण गरी ब्राह्मण भोजन गराउने समयमा आकाशमा बाजसँग युद्धमा हारेर सर्प विष वगाउँदै जाँदा उक्त विषको अंश भोजन गर्दैगरेका ब्राह्मणको खानामा परी उक्त ब्राह्मणको मृत्यु भएपछि राजलाई ब्रह्महत्याको पापले गर्दा मुक्ति नमिलेको कुरा नारदजीले बताउनुहुन्छ । नारदजीले महिष्मतिका राजा इन्द्रसेनलाई इन्दिरा एकादशीको व्रत निष्ठापूर्वक सम्पन्न गरे पिताको पाप नष्ट भई स्वर्गप्रस्थान हुने बताउनुहुन्छ ।
नारदजीले बताए अनुसार राजा इन्द्रसेनले उक्त व्रतपरिपूर्ण गरिदिन्छन् । सो पश्चात् आकाशबाट पुष्पवृष्टि हुन्छ । इन्द्रसेनका पिता विष्णु भगवान्का पार्शदसँग दिव्य रथमा चढेर वैकुण्ठ लोक गएको दृश्य देखिन्छ ।
पछि राजा इन्द्रसेन पनि एकादशी व्रतका प्रभावले निष्कण्टक राज्य गरेर अन्तमा आफ्नो पुत्रलाई सिंहासनमा बसालेर स्वर्गलोक गएको कथा भगवान् धर्मराज युधिष्ठिरलाई बताउनुहुन्छ । यो कथा पद्मपुराणको एकादशी माहात्म्यमा पाइन्छ ।
व्रतफल
इन्दिरा एकादशीको व्रत धारण गर्नाले स्वर्गको अनन्त भोगका साथै मुक्ति समेत प्राप्त हुने फल बताइएको छ । यसैगरी अगतिमा परेका पितृको उद्धारका निम्ति पनि यो व्रत उत्तम रहन्छ । जसको महिमा पढ्नाले, सुन्नाले पनि सम्पूर्ण पाप नष्ट हुन्छन्–
पठनाच्छ्रवणात् राजन् सर्वपापैः प्रमुच्यते ।
भुक्त्वेह निखिलान् भोगान विष्णुलोके वसेच्चिरम् ।। (पद्मपुराण)
सम्पूर्ण पापलाई नष्टगरी अनन्तभुक्तिका साथै मुक्ति समेत प्राप्त हुने व्रतको फल बताइएको छ ।
शुक्रास्त एवं सोह्रश्राद्धमा एकादशी व्रत बस्ने कि नबस्ने ?
एकादशीव्रत नित्यकर्म अन्तर्गत पर्दृछ । अतः नित्यकर्मलाई शुक्रअसत, बृहस्पति अस्त एव. सोह्रश्राद्धले कुनै बाधा व्यवधान गर्दैन । यसैगरी सोह्रश्राद्ध अन्तर्गत गर्नुपर्ने यस तिथिको श्राद्ध पनि गर्नुपर्दछ । श्राद्ध पनि नियमित र व्रत पनि नियमति नित्य कार्य भएकाले यस्ताका कार्य निीश्चत दिनमै गर्नुपर्दछ । जुठो सूतक परेका बेलामा भने व्रतका साथै श्राद्धादि कर्म पनि वर्जित रहन्छन् ।
No comments:
Post a Comment