उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
आश्विन शुक्ल प्रतिपदाको दिनलाई घटस्थापना भनिन्छ । यसदिन विधिपूर्वक घडा (कलश) स्थापना गरी दुर्गा भगवतीको विशेष उपासना हुने गर्दछ । आद्य शक्ति भगवतीको उपासना गर्ने आश्विन शुक्लपक्षको प्रतिपदाबाट नवरात्रको पनि आरम्भ हुन्छ । नवरात्र भगवतीको उपासना गर्ने उत्तम समय हो । यस्तै नवरात्रको पहिलो दिन दीप, कलश, गणेशीजको स्थापना पूजाका साथै विशेष विधानपूर्वक घडा स्थापना, जौ रोपण गरी शैलपुत्री भगवतीको विशेष पूजा आराधनाका साथ उपासना गर्ने दिन घटस्थापना हो ।
यसै दिनबाट नवरात्रको आरम्भ हुन्छः आश्विनशुक्लप्रतिपदि नवरात्रारम्भः (निर्णयसिन्धु, द्वितीयपरिच्छेद, पृ. ११२) घटस्थापना यो नवरात्रको पहिलो दिन हो । २०७६ सालको घटस्थापनाको साहित असोज १२ गते विहान १०।३५ बजे नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको छ । घटस्थापनासँगै भगवतीको उपासना गरी दुर्गा भगवतीको प्रिय वस्तु जौको जमरा राख्ने शास्त्रीय विधान छ । संस्कृतमा जमरालाई जयन्ती भनिन्छ । जयन्ती भगवतीकै एक नाम पनि हो ।
घटस्थापना कसरी गरिन्छ ?
वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । विहानै नित्यकर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखिन्छ । यसपछि कर्मपात्रादि निर्माण गरी प्रायश्चित्त गोदान एवं प्रतिज्ञासङ्कल्पपूर्वक शास्त्रीय विधि अनुसार दीप, कलश एवं गणेशजीको षोडशोपचारले पूजा हुन्छ ।
यसरी दीप, कलश एवं गणेशजीको पूजा गरिसकेपछि घटस्थापनाको कार्य आरम्भ हुन्छ । पूजास्थनको ईशानकोणमा (पूर्व र उत्तर दिशाको बीचस्थानमा) माटोको सुन्दर वेदी बनाउनुपर्छ (जहाँ कलश एवं जमराराख्न मिलोस्) । यसरी घडा राख्ने स्थानमा अष्टदल कमलको रेखी हाली टपरीमा धान राखी धानमाथि विशेष प्रकारले सिँगारिएको घडा (कलश) विधिपूर्वक स्थापना गर्नुपर्दछ । कलश माटो वा तामाको उत्तम मानिन्छ । कलशमा पञ्चपल्लव (पिपल, डुम्री, पाखरी, आँप र वरका पात), दुवो, सप्तमृत्तिका (सातठाँउको माटो– घोडा बसेको स्थान, हात्ती बसेको स्थान, पञ्चरत्न (सुन, हिरा, मोती, पद्मराग र नीलम), सार्वौषधी कुट, वेसार, जटामसी, चुत्रो, मुरा, श्रीखण्ड, शिलाजित, बोझो, चाँपो र मोेथो), सप्तमृत्तिका (धमिरो लागेको ठाँउको, नदीको संगम भएका ठाँउको, दहमा जमेको, राज दरबारका ढोकाको र गोठको माटो) राखी वस्त्र वेष्टित गरेर सजाइन्छ । यसपछि वरुणादि सम्पूर्ण देवी देवताको आह्वान गरी विशेष मन्त्रले स्थापना गरिन्छ ।
सोही कलशमा महाकाली, महालक्ष्मी, महासरस्वती दुर्गा भगवतीको षोडशोपचारले आवाहन पूजन पनि हुने गर्दछ । यसरी पूजन पश्चात् भगवतीको प्रिय वस्तु जौ उक्त घडा(कलशको) वरिपरि जमराका निम्ति छरिन्छ । यसरी कलशस्थापना गर्ने र जौ छर्ने पनि विशेष मन्त्र रहेका छन् ।
कलशस्थापना मन्त्र–
ॐ आजिग्घ्रकलशम्मह्यात्वाव्विशन्त्विन्दवः । पुनरूज्र्जानिवत्र्तस्वसानःसहस्रन्धुक्क्ष्वोरुधाराः पयस्वतीः पुनम्र्माव्विशताद्द्रयिः ।।
जमराका निम्ति जौ राप्ने मन्त्र –
ॐ ओषधयः समवदन्तसोमेनसहराज्ञा । यस्म्मैकृणोतिब्ब्रहणस्त्त ‡ राजन्न्पारयामसि ।।
यसरी स्थापना गरिएका जौमा विशेष मन्त्रद्वारा साँझको समयमा पानी छर्किनु पर्दछ । उक्त छल छर्किन मन्त्र निम्नानुसार छ -
ॐ यव त्वं यवरूपोऽसि यज्ञार्थे निर्मितो विधेः ।
देवानां तृप्तिकृद्यस्मात्तस्मात्त्वं वरदो भव ।।
जमराका निम्ति जौ एवं माटो वा वालुकोको प्रकृतिअनुसार पानीको मात्र मिलाउन सकियो भने जमरा राम्रा उम्रने गर्दछन् ।
विशेष विधिपूर्वक स्थापना गरिएका जौ क्रमशः बढ्दै जमराका रूपमा परिणत हुन्छन् । जमरा जति राम्रा हुन्छन् त्यति नै भगवती पनि प्रशन्न हुनुहुन्छ भन्ने धार्मिक मान्यता रहेको छ । जौको अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले जौ रोपण गरी जमरा दुर्गा भगवतीलाई चढाइन्छ । यसरी स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा दुर्गादेवीको प्रसाद ग्रहण गरिन्छ ।
दुर्गा भगवतीको पूजा एवं उपासना
विधिपूर्वक घट अर्थात् घडा स्थापना पश्चात् शक्तिस्वरुपा दुर्गा भगवतीको प्रतिमा स्थापना गरेर विशेष विधिपूर्वक षोडशोपचारले पूजा हुने गर्दछ । विशेष मन्त्रद्वारा वा श्रीसूक्तद्वारा भगवतीको पूजा गरिसकेपछि कुष्माण्ड (कुभिन्डो), कृषर (खिचडी) आदि वस्तुको बलि दिनुवर्ने विधान छ । घटस्थापनाका दिन शैलपुत्री भगवतीको उपासना हुने गर्दछ ।
दुर्गा माता आद्य शक्ति भगवती हुनुहुन्छ । यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् (दुर्गासप्तशती) अर्थात् जे कुराको चिन्ता छ सो कुराको भगवतीले निश्चय नै पूरा गरिदिनुहुन्छ । अतः यो समय कार्य सिद्धिका निम्ति पनि उपयोगी रहन्छ । भगवती दुर्गादेवीका विभिन्न उपासना मन्त्रले आवाहन पूजन गरी दुर्गा सप्तशतीको पाठ पारायण पनि नित्य हुने गर्दछ । यस अवसरमा देवीभागवत पुराणको पारायाण पनि गर्न सकिन्छ । धर्मसिन्धुको द्वितीय परिच्छेदमा नवरात्रमा भगवतीको उपासना विधिको चर्चा विशेष प्रकारले बताइएको छ ।
No comments:
Post a Comment