नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
एकादशी चान्द्रमहिनाको एघारौँ तिथि वा दिन हो । भाद्रशुक्ल पक्षको एकादशीलाई हरिपरिवर्तिनी भनिन्छ । क्षीरसागरको शेषशैय्यामा शयन गर्नुभएका विष्णु भगवान् यस दिनबाट कोेल्टे फेर्ने भएकाले हरिपरिवर्तिनी एकादशी भनिएको हो ।
हाम्रो एकवर्ष बराबर देवताको एकदिनरात(अहोरात्र) हुन्छ । हाम्रो चार महिनाको समय भगवान्को शयन गर्ने काल हो । जसलाई चतुर्मासा पनि भनिन्छ । आषाढ शुक्लपक्षको एकादशीका दिन शयन गर्नु भएका भगवान् दुई महिनापछि कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा उठ्नुहुन्छ ।
यस एकादशीलाई वामन एकादशी पनि भनिन्छ । भगवानले वामन अवतारको रूप ग्रहण गरी विरोचन पुत्र दैत्यराज बलिको अहंकारर अभिमान नष्ट गर्नुभएको थियो । जुन कथा साक्षात् श्रीकृष्ण भगवानले स्कन्दपुराणमा बताउनुभएको छ । सोही पुराणमा युधिष्ठिरलाई उपदेशदिने क्रममा भगवान्ले त्रेतायुगका बलि राजाको कथा श्रवण गराउनुभएको कथा प्रसङ्ग पाइन्छ ।
कथा–
त्रेतायुगमा भगवान्का परम भक्त बलि नामका एक दैत्य राजा थिए । उनी विविध प्रकारका वेद सूक्तहरूले भगवानकोे पूजाका साथै नित्य ब्राह्मणहरूको पूजन तथा यज्ञका आयोजन गर्दथे । इन्द्रसँग द्वेषका कारण उनले इन्द्रलोकका सबै देवताहरूलाई पनि जितेको थिए । इन्द्रले आफ्नो राज्य पुनः प्राप्त गर्न भगवानको तपस्या गरे । बृहस्पति सहित इन्द्रादि देवता बिष्णु समीप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन बिष्णुले आफ्नो पाँचौं अवतारका रूपमा वामन रूप धारण गर्नुभयो । तेजस्वी बलिसंग आफ्नो पाउ राख्न तीन पाइला भूमिको याचना गर्नुभयो । महाबलीले ती तीन पाइला जमीन आफ्ना लागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गरे । तर भगवान् बिष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, महलोकमा पेट, जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोश्रो पदले स्वर्गलोक ढाक्नुभयो । यसपछि तेस्रो पाउ कहाँ राखौँ ? भनेर बलिलाई सोध्दा बलिले वाचा स्वरुप आफ्नो शिर झुकाए र भगवान् बिष्णुले आफ्नो तेश्रो पाउ उनको टाउकामा राखेर बलिलाई मत्र्यलोक पाताल पुर्याइदिनुभयो । विष्णुभक्त बलिले पाताललोकमा पनि बिष्णुसँगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा बिष्णु स्वरुप रहनुभएको पौराणिक कथा स्कन्दपुराणमा वर्णन पाइन्छ । यसैगरी यही प्रसङ्गगकका कथा विष्णुपुरणमा पनि उल्लेख छन् ।
यसदिन एकादशीको व्रतधारणले सम्पूर्ण पाप नष्ट भई स्वर्गको भोगगर्दै मोक्ष प्राप्ति हुने कुरा पदमपुराण एवं सकन्दपुराणमा बताइएको छ । यसैगरी वाजपेय यज्ञ गरे बराबरको फल प्राप्त हुने कुरा पनि स्कन्दपुराणमा उल्लेख छ ।
भगवानले वामन अवतार ग्रहण गरेको समय भएकाले यो समयलाई जयन्ती एकादशी पनि भनिन्छ । यस दिन विधिपूर्वक वामन भगवानको उपासना, कथाश्रवण शुभ रहने गर्दछ । यसदिन भगवानलाई कमलको फूल अर्पण पनि शुभ मानिन्छ । रात्रिव्यपिनी कालमा भगवान्ले कोल्टे फेर्ने भएकाले रात्रिको समयमा वामन भगवान्को उपासना शुभ रहने गर्दछ ।
व्रतमा शुद्धता र पवित्रताको विशेष महत्त्व रहने गर्दछ । व्रत बसेर पनि पवित्र रहँन सकिएन, मनमा पवित्रताको वरण गर्न सकिएन भने त्यो व्रत विफल रहन्छ । स्वधर्मको पालन गरी सत्यको मार्गमा हिँड्नु नै व्रतको अर्थ हुन्छ । यसैगरी एकादशी व्रतमा चामलका परिकारका साथै तामसी वस्तु लसुन, प्याज, माछा, मासु आदि खान बर्जित रहन्छन् । मनमा पवित्रताको वास गराउने व्रतले हामी सबैको कल्याण होस् । ॐ ।
कथा प्रसङ्ग स्रोत : स्कन्दपुराण (श्रीकृष्ण युधिष्ठिर सम्वाद)
informative
ReplyDelete