नारायणप्रसाद निरौला
ज्योतिषाचार्य
ज्योतिष आज आम जनमानसमा चासोको विषय भएको छ । आफ्नो भविष्यलाई विशेष रूपमा बुझ्न चाहनु पनि स्वाभाविक नै हो । ज्योतिष समयको बोध गराउने शास्त्र हो । जसलाई वेदको आँखा रूपमा लिइएको छः वेदचक्षुकिलेदं स्मृतं ज्योतिषं....(सिद्धान्तशिरोमणि) । आकाशीय ग्रहहरूको गति र अवस्थितिका आधारमा पृथ्वीमा वस्ने चराचर जगतको अवस्थिति आँकलन गरी फलादेश यस अन्तर्गत हुने गर्दछ । ज्योतिष खगोलीय अध्ययन गर्ने शास्त्र हो । आकाशमा रहेका ग्रहहरूको गति स्थिति पत्ता लगाई त्यसैका आधारमा फलादेश गर्ने शास्त्रलाई नै ज्योतिष भनिन्छ । यसका थुप्रै शाखा प्रशाखाहरू रहेका छन् । सिद्धान्त ज्योतिषको मूल आधार हो । सिद्धान्त शास्त्रीय आधारमा ग्रहगणित गरिन्छ । त्यस पछि सोही गणनाका आधारमा मुहूर्त(साइत), भूत वर्तमान र भविष्यको फलादेश जातक शाखाले र वर्षा वादल खडेरी आदि प्राकृतिक विषयको पूर्वानुमान संहिता शाखाले गर्ने गर्दछ । खगोलीय र भगोलीय आधारमा प्रयोगसिद्ध तरिकाले अध्ययन अनुसन्धान गर्ने भएकाले पनि यो शास्त्र वैज्ञानिक छ ।
हुन त आकासमा रहेका ग्रहले जमीनमा के फरक पार्छन् र ? भन्ने धारणा पनि धेरै पाइन्छ । यो केवल भ्रमको उपज मात्र हो । सूर्यमा उष्णता छ भनेर हजारौँ वर्ष पहिल हाम्रा वैदिक ग्रन्थहरूले बताइसकेका छन् । किनकि हामीले सूर्यको तापबाट थुप्रै तŒवहरू ग्रहण गरिरहेका हुन्छौँ । सूर्यका किरणले नै जीव एवं वनस्पतिको अस्तित्व रहेको कुरा वेदमा यसरी बताइएको छ : सूर्यरश्मिर्हरिकेशः पुरस्तात्सविता ज्योतिरुदयाँ अजस्रम् । तस्य पूषा प्रसवो याति विद्वान्सम्पश्यन्विश्वा भुवनानि गोपाः ।। (शुक्लयजुर्वेद, १७।५७) अर्थात् हरियो वर्णभएका वनस्पति र यसमा आश्रित सम्पूर्ण जीवलाई पोषण गर्ने परं ज्योतिष्मान् सूर्य आफ्ना रश्मि(किरण) पूर्व दिशाबाट फैलाउछन् । जितेन्द्रिय विद्वान् र पोषणकर्ता सूर्यदेव सम्पूर्ण लोकलाई प्रकाशित पार्दै गमनशील हुनुहुन्छ । भन्ने यो वैदिक ऋचाले पुष्टि गर्छ कि सम्पूर्ण जीवको आधार सूर्य हो, सूर्यको किरणले नै यो संसारलाई प्रकाशमान बनाएको छ र स्वयं सूर्यमा गति पनि छ । यस भनाइले पनि सूर्यमा उष्णता छ भन्ने कुरा पुष्टि गर्छ । भानु, तीक्ष्णांशु, मार्तण्ड (अमरकोश) आदि सूर्यका नामरहेका छन् । जसबाट पनि सूर्यको प्रकृति पत्ता लगाउन सकिन्छ । तर त्यसैलाई आजको भौतिक विज्ञानले पुष्टि ग¥यो भने मान्ने नभए नमान्ने हाम्रो प्रवृत्तिले गर्दा नै हामी पछि परिरहेका छौँ । पौरस्त्य वाङ्मयमा यस्ता थुप्रै विषयवस्तु पाउन सकिन्छ जुन आजको विज्ञानले भर्खर सावित गर्दै छ । ज्योतिष शास्त्रमा पनि सूर्यलाई ग्रहहरूको राजा मानिएको छः राजा रविः.......(लघुजातकम्, ग्रहभेदाध्यायः, श्ला.े ३) । ग्रहहरूको आत्मा सूर्यलाई मानिएको छः आत्मा रविः...(लघुजातकम्, ग्रहभेदाध्यायः, श्लो. १) अतः ग्रहमण्डलमा राजाको जस्तो भूमिका सूर्यलाई प्रदान गरिएको छ । जुन कुरा प्राकृतिक तथ्यले पनि पुष्टि हुन्छ ।
सूर्य मेषराशिको १० अंशसम्म उच्च र तुला राशिको १० अंशसम्म नीच हुन्छ (लघुजातकम्, राशिप्रभेदाध्यायः, २१) । जसको खगोलीय पुष्टि पनि ज्योतिषशास्त्रले गरेको छ । उच्च रहेका बेलमा सूर्यको बल प्रवल रहन्छ भने नीचमा कम हुन्छ । अतः आकाशमा रहेको सूर्यको अवस्थिति अनुसार, सूर्यले प्रदान गर्ने किरणकका आधारमा शुभाशुभ फल व्यक्त गर्ने ज्योतिषशास्त्र कसरी असत्य हुनसक्छ ? हाम्रो आँखाले देख्न नसक्ने सूक्ष्मातिसूक्ष्म वस्तु सूर्यबाट हामीलाई प्राप्त भइरहेको छ । सोही कुराको अनुसन्धान गरेर विश्लेषण गर्ने शास्त्र स्वयं मै विज्ञान हो ।
about sanskar sulochana book |
चन्द्रमालाई मन सम्बन्धी ग्रह मानिन्छः ...शीतकरस्तु चेतः (लघुजातकम्, ग्रहभेदाध्यायः, श्लो. १) । यो शीतकारक ग्रह हो भन्ने कुरा अजभन्दा हजारौ वर्ष पहिले पौरस्त्य वाङ्मयले प्रमाणित गरिसकेकोे छ । त्वमिमा ओषधीः सोम विश्वास्त्वमपो अजनयस्त्वं गाः । त्वमा ततन्थोर्वन्तरिक्षं त्वं ज्योतिषा वि तमो ववर्थ ।। (शु.यजुर्वेद, ३४।२२) अर्थात् हे सोमदेव हजुर यो समस्त औषधी उत्पन्न गर्नुहुन्छ । हजुरले जल र गाइ उत्पन गर्नुभएको छ, आफ्नो अन्तरिक्षलाई विस्तृत गर्नुृभएको छ, आफ्नो तेजले अन्धकारलाई नष्ट गर्नुभएको छ । भन्ने भनाइबाट पनि चन्द्रमा जलकारक ग्रह हो भन्ने कुरा पुष्टि हुन्छ । तर भर्खर आएर चन्द्र सतहमा पानी देखिएको भन्ने आजका वैज्ञानिकको तथ्य मात्र प्रचारको विषय हुनु विडम्बनाको कुरो हो ।
यसैगरी बुध ज्ञान विज्ञानको प्रतिनिधगर्ने ग्रह हो । ज्ञ बुधको अर्को नाम हो । जसबाट हामीलाई बुद्धितत्तवको प्राप्ति हुन्छ । बृहस्पति धन र ऐश्वर्य तत्त्वको प्रतिनिधित्वगर्ने ग्रह हो । जसको अनुकूलता र प्रतिकूलताका आधारमा फलादेश हुने गर्दछ । शुक्र वीर्य तत्तवको ग्रह हो । शनिमा वायु तत्त्व अधिक रहन्छ । जसले शरीरको वायु प्रक्रियामा प्रत्यक्ष परोक्ष प्रभाव पारिरहेको हुन्छ । यसैगरी राहु केतुको पिण्डीय अस्तित्व छैन । यी दुईलाई सम्पातग्रह पनि भनिन्छ । सूर्य र चन्द्रमा हिँड्ने वृत्तको उत्तरी सम्पात राहु हो भने दक्षिणी सम्पातलाई केतु भनिन्छ । यी सम्पातले पनि हाम्रो जीवनमा प्रभाव पारिरहेका हुन्छन् । त्यसैले यसको बारेमा पनि ज्योतिषशास्त्रले फल बताएको छ । ग्रहले सकारात्मक र नकारात्मक दुवै तत्त्व प्रवाहित गरिरहेका हुन्छन् । हामी कुन प्रकृतिका छौँ र हामीका कुन तत्त्वको कमी वा आधिक्यता छ सोही आधारमा फलादेश हुने गर्दछ । अतः ग्रहले प्रवाहित गर्ने किरण र उक्त किरणले हामीममा पर्ने असरका बारेमा अनुसन्धान गरी फलादेश गर्ने शास्त्र ज्योतिष पनि एक विज्ञान नै हो ।
ज्योतिषीय परिगणनाका आधारमा हुने ग्रहणको वैज्ञानिकताको पुष्टि गरिरहनु नपर्ला । वेदमा ग्रहणको चर्चा यसरी गरिएको छः यत्त्वा सूर्य स्वर्भानुस्तमसा विध्यदासुरः । अक्षेत्रविद्यया मुग्धो भुवनान्यदीधयुः । स्वभानोरधयदिन्द्रमाया आवो दिवो वर्तमाना अवाहन् ।..... यं वै सूर्यस्वर्भानुस्तमसाऽविध्यदासुरः । अत्र यस्तमनवविन्दन्न ह्यन्वे अशक्नुवन् ।। (ऋग्वेद, ५।४०।५९) सूर्यको प्रकाश पृथिवीमा आउनबाट चन्द्रमाले रोक्दा सूर्यग्रहण र पृथ्वीको छायाँमा चन्द्रमा प्रवेशगर्दा चन्द्रग्रहण लाग्छ । यसैको व्याख्या ज्योतिषशास्त्रले गरेको छ । गणितीय गणना गरेर सिद्ध गरेको छ । ज्योतिष शास्त्रले दिएको समयमा आकाशमा ग्रहण देखिन्छ । १९ औँ शताब्दीका पश्चिमा व्यक्तिल भनेको कुरा वैज्ञानि हुने तर हजारौ वर्ष हाम्रा ऋषि महर्षिले बताएका कुरा कसरी वैज्ञानिक होइनन् ? ग्रहणका बारेमा वेदले बताएको छ । सोही वेदको महत्त्वपूर्ण अङ्ग आँखारूपी ज्योतिषशास्त्रले यसको गणितीय उपपत्ति प्रदान गरेको छ । अतः ज्योतिष विज्ञानको पनि विज्ञान हो ।
पूर्णिमाका राति आकाशमा पूर्ण चनद्रमा देखिनु, औँसीका दिन चन्द्रमा पूर्ण रूपमा हराउनु, भनेका समयमा ग्रहण लाग्नु र सकिनु, ज्योतिषीय गणनाका आधारमा सूर्यादि ग्रह अस्ताउनु र उदाउनु, भनेको समयमा मार्ग र वक्र हुनु जस्ता कुरा प्रत्यक्ष हाम्रा आँखाले पनि देखिरहेका छौँ । जुन ज्योतिष शास्त्रकै देन हो । यसकारणले पनि ज्योतिष विज्ञान हो ।
ज्योतिष गणितको मूल हो । आजका गणितीय सूत्र वेदोक्त हुन् । जसलाई ज्योतिषशास्त्रले प्रयोगसिद्ध गरेको छ । व्यक्तगणितको स्वरूप यसरी बताइएको छ : एकया च दशभिश्च स्वभूते द्वाभ्यामिष्टये विंशतिश्च । तिसृभिश्च वहसे विंशता च नियुद्भिर्वायविह ता विभुञ्च ।। ( यजुर्वेद , २७।३३) यसैगरी व्यक्तगणितमा एक, दश आदि गणना – इममा मे अग्न इष्टका धेनवः सन्त्वेका च दश च शतं च सहस्रञ्चायुतञ्च नियुतञ्च प्रयुतञ्चार्बुदञ्च न्यर्बुदञ्च समुद्रश्च मध्यमञ्चान्तश्च परार्धश्चैता मे अग्न इष्टका धेनवः सन्त्वमुत्रामुष्मिल्लोके । ( यजुर्वेद, १७। २), चलनकलन सम्बन्धी चर्चा – एका च मे तिस्रश्च मे पञ्च च मे पञ्च च मे सप्त च मे सप्त च मे नव च मे नव चमे एकादश च मे एकादश च मे त्रयोदश च .. . (यजुर्वेद, १८।२४ ) । यस्ता अनेकौँ गणितका सूत्रको उपपत्ति वेदमा भेटिन्छ । ज्योतिष शास्त्रले पुष्टि गरेको छ । यिनै वैदिक गणितलाई ज्यातिषशास्त्रले प्रमाणित गरेको छ र व्यवहारसिद्ध बनाएको छ । अतः ज्योतिष गणितको पनि गणित हो भन्न सकिन्छ ।
कसैले ज्योतिष मनोविज्ञान हो, मान्छेको मनस्थितिलाई हेरेर जे भनिदिए पनि हुन्छ भन्ने आरोप लगाउने गर्दर्छन् । तर त्यो केवल भ्रम मात्र हो । ज्योतिषी र ज्योतिषमा फरक छ । ज्योतिषी ज्योतिष शास्त्रको विद्यार्थी मात्र हो । उसले ग्रहको अवस्थितिका आधारमा फल प्रक्षेपण गरेको हुन्छ । ज्योतिषको फलादेश सही नहुन पनि सक्छ तर ज्योतिष विद्या कहिल्यै गलत हुन सक्दैन र हुँदैन पनि । यस विषयको फलादेश कर्ता निखारिएको हुनुपर्छ । जसरी एउटा योग्य डाक्टर बन्न वर्षौँ मेहनत गर्नु पर्छ त्यस्तै योग्य ज्योतिषी बन्न पनि निकै तपस्याको जरुरत पर्दछ । फलादेश सजिलो कुरा होइन । कुनै काल्पनिक विषय पनि होइन । ग्रहहरूको अवस्थितिलाई गहन रूपमा गवेषण गरेर त्यसको प्रभावका आधारमा मात्र फलादेश गर्ने शास्त्रीय विधान रहेको छ । कतिपय विषवस्तुहरू परीक्षणका कसीमा नै बाँधिएका हुन्छन् । एक महिना, एक–दुईवर्ष ज्योतिष सिकेको भरमा फलादेश असम्भव छ । वषौँका परीक्षण सफल भइरहेका हुँदैनन् भने थोरै समयको बुझाइले सही फलादेश नहुनसक्छ । ज्योतिष हेराउनेले पनि तद् विषयको विज्ञ हो होइन जान्नु बुझ्नु र हेराउनु जरुरी हुन्छ । न कि ज्योतिषशास्त्रलाई मात्र गाल पार्नु ।
डाक्टरले औषधी दिएर पनि निको नभएका उदाहरण थुप्रै छन् । त्यो कसको दोष हो ? डाक्टरको या डाक्टरी विद्याको ? हो यस्तै हो ज्योतिष विद्या पनि । यसमा पनि आकासमा रहेका ग्रहहरूको सर्वप्रथम अवस्थिति पत्ता लगाइन्छ । यसको छुट्टै र निकै लामो विधि छ । वर्तमानमा केही कम्प्युटर गणना प्रविधिहरू पनि भित्रिएका छन् । तिनको सहायताले सर्वप्रथम गणना गरिन्छ । कतिपयको बुझाइमा कम्प्युटरले फलादेश गर्छ अरे भन्ने भ्रम पनि पाइन्छ । कम्प्युटर केवल गणना गर्ने क्याल्कुलेटर मात्र हो । फलको वर्णन गर्ने भनेको ज्योतिषीय विश्लेषणले नै हो । अनुसन्धानबाट खारिएको दिव्यज्ञानले मात्र हो ।
कतिपयमा ज्योतिष प्रति अनास्था राख्ने पनि छन् । भौतिकवादी बनेर स्वयं नै सर्वोपरि ठान्ने प्रवृत्ति पनि छ । त्यस्ता व्यक्ति भाग्यवस सफल पनि भइरहेका हुन्छन् । सफल भइरहे भने त्यस्ता व्यक्तिले ज्योतिषलाई पनि मान्दैनन् र भाग्यमा पनि विश्वास गर्दिन भन्छन् । तिनै जव खस्कँदै जान्छन्, कार्यमा बाधा अवरोध आउँदै जान्छ अनि मात्र आस्तिक बन्न पुग्दछन् । भौतिकता मात्र संसार रहेनछ भन्ने विचार तवमात्र पलाउन थाल्छ । जव जीवनको ओराली लाग्न थाल्छ अनि मात्र मान्छे आस्थाका केन्द्र धाउन थाल्छन् । यसैगरी कतिपय म विश्वास गर्दिन भन्छन् तर लुकी लुकी राशिफल हेरिरहेका हुन्छन् ।
मान्छेले आफ्नो कर्म अनुसार भाग्यमा जे लिएर आएको छ त्यही भोग चलन गर्ने हो । जो निरन्तर चलिरहने प्रक्रिया पनि हो । शरीरमा तागत हुन्जेल मात्र संसार आफ्नो मुठीमा हुन्छ । विस्तारै शक्ति क्षीण भएपछि लिने एकमात्र साहारा अध्यात्मको हो । यो संसार हाम्रो हातमा छैन भन्ने जान्नु आवश्यक छ । जवसम्म अहं प्रवृत्ति रहन्छ तवसम्म हाम्रो उन्नति असम्भव छ । गीताको उपदे्श यही निष्काम कर्मको हो । कर्म गर फल पाए भोग नपाए आशक्त नहोऊ । तर हामी यही कुरा बुझ्न सक्दैनौ र बुझि हाले पनि जीवनमा उतार्न सक्दैनौ र उही संसारी दुःखको प्रपञ्चमा निरन्तर फसिरहन्छौँ ।
डाक्टरी जस्तै ज्योतिष पनि एक शास्त्रीय वैज्ञानिक विषय हो । राम्रा नराम्रा कुरा सर्वत्र हुन्छन् । नराम्रा कुरालाई जहाँ पनि त्याग्न सक्नु पर्छ र राम्रा कुरा जहाँ भए पनि अनुसरण गर्न सक्नु पर्दछ । शरीरमा तागत हुन्जेल मात्र आफ्नो हो यो शरीर । त्यस पछि शरणर्थी हुनुको विकल्प छैन । जति भौतिकका भँगालामा वगे पनि अन्ततः अध्यात्मले नै सुख र शान्ति दिन्छ । त्यही अध्यात्मको एक पाटो ज्योतिष हो, जुन विज्ञानको प्रयोगशालामा पनि प्रमाणित छ ।
No comments:
Post a Comment