एक उत्कृष्ट गन्तव्य मुक्तिनाथ दर्शन, महिमा सहित हेर्नुहोस् - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Nov 2, 2019

एक उत्कृष्ट गन्तव्य मुक्तिनाथ दर्शन, महिमा सहित हेर्नुहोस्


नारायणप्रसाद निरौला
ज्योतिषाचार्य

१. परिचय

मुक्तिका नाथ(स्वामी) मुक्तिनाथ अर्थात् यो संसारी भवाटवीबाट मुक्ति दिलाउने परमेश्वर नै मुक्तिनाथ हुन् । जसको क्षेत्रलाई मुक्तिक्षेत्र भनिन्छ । जुन नेपालको गण्डकी प्रदेश(४) अन्तर्गत हिमालपारिको मुस्ताङ जिल्लामा अवस्थित रहेको छ । यही क्षेत्रमा भगवान् मुक्तिनाथको मन्दिर विराजमान पाइन्छ । समुद्र सतहदेखि ३,७१० मीटरको उचाइ रहेको यो मन्दिर हिन्दू तथा बौद्धमार्गीहरूको एक महत्त्वपूर्ण तीर्थस्थल हो । 



मन्दिर छेउमा १०८ धारा, ज्वाला माई मन्दिर, शिवालय र गुम्बाहरू पनि रहेका छन् । कालीगण्डकी नदीको नजिकै पर्ने मुक्तिनाथ मन्दिरको स्थापना मध्यकालका जुम्लाका राजाले गराएको मानिन्छ । अहिलेको मन्दिर भने वि.सं. १८७१ सालमा शाहराजाहरूले बनाउन लगाएका हुन् ।

मुक्तिनाथ मन्दिरमा हिन्दू ब्राह्मणले नित्य पूजाआजा गर्ने र बौद्ध झुमाहरूले प्रसाद वितरण गर्ने चलन छ । तसर्थ मुक्तिनाथ हिन्दू र बौद्धमार्गी दुवैको आस्थाको केन्द्रविन्दु मानिन्छ । मुक्तिनाथ मन्दिरमा धातुको मुक्तिनाथको मूर्ति राखिएको छ । हिन्दु विष्णु भगवान्का रूपमा र बौद्ध बुद्धावतारका रूपमा मुक्तिनाथ भगवानलाई पूजा गर्दछन् । त्यसका साथै लक्ष्मी, सरस्वती र गरुडका मूर्तिहरू पनि छन् । बौद्धमार्गीहरू यहंँको ज्वालालाई अवलोकितेश्वरको स्वरूप मान्दछन् । 

मुक्तिनाथ क्षेत्र अति प्राचीन भए पनि यसको ख्याति भने इसाको तेह«ौं–चौधौं शताब्दीदेखि मात्र बढ्न थालेको हो । यसका लागि वि.सं. १९५५ सालमा गुठी राखिएको प्रमाण पनि पाइएको छ । मुक्तिनाथ भेगमा जनै पूर्णिमा र कात्तिक पूर्णिमाका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । 
मुक्तिनाथलाई हिन्दू धर्मावलम्बी भगवान् विष्णु मान्छन् भने बौद्धमार्गी आर्यावलोकितेश्वर । यसैगरी बौद्ध धर्ममा भगवान् शाक्यमुनि बुद्धको महापरिनिर्वाणपछि भविष्यका बुद्ध मैत्रेयले जन्म नलिउन्जेलको बीचको अवस्थामा लोकपालनको दायित्व पद्मपाणि बोधिसत्वलाई दिइएको मानिन्छ ।

२. अवस्थिति

मुक्तिनाथ मन्दिर नेपालको मुस्ताङ जिल्लामा अवस्थित रहेको छ । २८डिग्री४९ मिनेट  उत्तरी अक्षांश र  ८३डिग्री५२ मिनेट  पूर्वी देशान्तरमा अवस्थित यो मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । नेपालको गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ जिल्लामा अवस्थित यो मन्दिर र वरपरको दृश्यावलोकनाका निम्ति अति नै रमणीय र मनमोहक मानिन्छ । देश विदेशका पर्यटकले यहाँको क्षेत्र सदा भरिभराउ रहन्छ । धार्मिक आस्थाको केन्द्रका साथै प्राकृतिक भू–बनावटले पनि यो क्षेत्र सबैको रोजाइमा पर्ने गर्दछ । विशेषगरी नेपालको उत्तरदिशामा हिमाल पर्दछन् । तर यो क्षेत्रबाट दक्षिण दिशामा पनि सुन्दर हिमालको दृश्यावलोकन गर्न सकिन्छ । दक्षिणतर्फको धौलागिरि हिमाल र उत्तरतर्फका नीलगिरि र थोराङ्लापास शृंखलाले पर्यटकलाई निकै लोभ्याउँछन् ।

 

३. मुक्तिक्षेत्र


स्कन्दपुराणमा मुक्तिक्षेत्रको महिमा बताइएको छ । प्राचीन कालमा ब्रह्माजीले मुक्तिपर्वतको बीचमा ठूलो तपस्य गर्नुभयो । जलमाथि अग्निको आह्वान गरेर पायसादि हव्यद्वारा हवन पनि भएको थियो । सोही पानीमा आगोको स्वरूप आज ज्वालामाई मन्दिरमा देख्न सकिन्छ । भगवान् विष्णु जलरूप र शिव अग्निरूप भई उक्त यज्ञमा निवास गर्नुभयएको र ब्रह्माजी स्वयं होता भई यज्ञ सम्पादन गरेको पौराणिक उल्लेख पाइन्छ । यसरी प्रकट हुँदा जलकुण्डमा विष्णु भगवान्को र ज्वालामुखीमा शिवजीको विग्रह रहेको छ – 

 विष्णुमूर्ति जलं विद्यादुद्रमूर्ति तथानलम् ।
आवाह्या तौ तयोब्रह्मा हुतवान् घृतपायसम् ।। 
                    (श्रीस्कन्दपुराणे, हिमवतुखण्डे मुक्तिक्षेत्रमाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ७)

उक्त यज्ञमा ब्रहमाजीले घिउ र खीरको हवन गरेको र हवनमा (अवशिष्ट, कुण्ड वरिपरि छरिएको) बाँकी रहेको खीर नै आज हिँउ भएको हो । यसरी ब्रह्माजीले प्राणीको कल्याणार्थ यज्ञ गरेको स्थान भएकाले सर्वश्रेष्ठ मुक्तिक्षेत्र भनिएको हो –

मुक्तिहेतोः कृतो यज्ञो ब्रह्मणाऽसुभृतां परः । 
मुक्तिक्षेत्रमिति ख्यातंस्तस्माल्लोके घटोद्भवः ।।
                     (श्रीस्कन्दपुराण, हिमवतुखण्डे मुक्तिक्षेत्रमाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. १०)

जहाँ रुद्र प्रत्यक्ष अग्नि, विष्णु प्रत्यक्ष जल र ब्रहमाजी प्रत्यक्ष होताका रूपमा रहनुभएको थियो ।  यसरी भगवान्द्वारा नै यज्ञ गरी परं पवित्र पारिएको स्थान मुक्तिक्षेत्र रहेको कुरा स्कन्दपुराणमा भव्यताका साथ वर्णन गरिएको छ । 

यसैगरीमुक्तनाथ मन्दिर र ज्वालामुखी भएको स्थानका बीचबाट स्वर्गङ्गा (स्वर्गबाट गुप्त भएर पातालतर्फ वग्ने  मन्दाकिनी नदी) जलविना नै बगेकी छिन् । जुन शान्तभावमा सुन्ने हो भने स्वाँ... गरेर  बगेको  आवाज सुनिन्छ –

दिवोऽवतीर्य लुप्तैषा क्षेत्रे तत्र वहन्त्यहो । 
शब्दायते निर्जलापि गङ्गा पातालगामिनी ।। 
                (श्रीस्कन्दपुराण, हिमवतुखण्डे मुक्तिक्षेत्रमाहात्म्ये शालग्राममहिमालक्षणं श्लो.२५)

यस क्षेत्रको महिमा १०८ मुक्तिधाराले पनि बढाएका छन् । जहाँ स्नान गर्नाले मुक्ति मिल्ने साक्षात् शिवजीले वरदान दिनुभएको छ । यस बाहेक ससाना धाराका रूप पनि  पुण्यफल दिनेवाला परमं पवित्र पापनाशक रहेका छन् । ज्येष्ठ शुक्लपक्षमा, मकर संक्रान्तिमा स्नान गर्नाले करोडौँ पाप नष्ट भई मुक्ति मिल्ने कुरा स्कन्दपुराणमा उल्लेख पाइन्छ । कार्तिक स्नानको महिमा पनि विशेष पाइन्छ । कार्तिक महिनामा यो पवित्र नदीमा स्नान जसले स्नान गर्दछन् ती सबै पापबाटमुक्त भएर मुक्तिका भागी बन्दछन् भनी बताइएको छ –

कार्तिके सकलं मासं यः स्नास्यति नरः प्रभो । 
सर्वपापविनिर्मुक्तो मुक्तिभागी न संशयः ।। 
            (वराहपुराण, सोमेश्वरादिलिङ्गहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. ९७)

  पर्वतका गुफाबाट निस्कने साना नदीहरू सबै कालीगण्डकी र मुक्तिधारको संगमस्थल (ककागवेनीमा) पुगेका छन् । अतः उक्त स्थल परं पवित्र रहेको छ । यस क्षेत्रहुँदै वग्ने सात गण्डकी नदी नै परं पवित्र रहेका छन् । 

मुक्तिक्षेत्रमा शिवजी साक्षात् शिलाक रूपमा निवास गर्नुभएको छ । जुन विष्णु भगवान्को पनि विग्रहरूप भएको वराहपुराणमा वराह भगवान्ले पृथ्वीमातालाई यसरी बताउनु भएको छ –

तस्मिन्क्षेत्रे हरो देवो मत्स्यरूपेण संस्थितः । 
शालग्रामे गिरौ तस्मिन् छिलारूपेण तिष्ठति ।।
                (वराहपुराण, सोमेश्वरादिलिङ्गहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. १२)

यस क्षेत्रका सबै शिलामा भगवान्को वास रहेको कुरा पनि बताइएको छ ।  

    प्राचीनकालमा भगवान् विष्णुले लोकको हितगर्ने उद्देश्यले  देवताको वासस्थान हिमालयमा तपस्या गर्नुभयो । तपस्या गरेको धेरै समय वितेपछि उक्त स्थल लगायत सर्वत्र अत्यन्त तेज प्रकट भयो । सबै चराचर जगत् सन्तप्त हुन थाले । सो तेजको गर्मीबाट भगवान्का गण्डस्थलमा पसिना आए जसदेखि समस्त लोकको पापनाश गर्ने  गण्डकीको प्रादुर्भाव भयो –

तस्योष्मणा समुद्भूताः स्वेदपुरस्तु गण्डयोः ।
तेन जाता धुनी दिव्या लोकानामघहारिणी ।।
             (वराहपुराण, सोमेश्वरादिलिङ्गहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. ८०)

समस्त महलोक आदिका जनले उक्त तेजको कारण जान्न प्रयास गरेपनि जान्न सकेनन् । समस्त देवता उक्त तेज जान्न ब्रह्मजीकहाँ पुगे । ब्रह्माजीलाई पनि उक्त ज्ञान नभएकाले ब्रह्माजी समस्त देता लिएर भगवान् शंकरजीका समक्ष पुग्नुभयो । ब्रमाजीले तेजका बारेमा जिज्ञासा राखेपछि शंकर भगवानले ध्यानदृष्टिले हेरेर विष्णु भगवान्को नै कार्य भएकाले वहाँलाई भेट गर्न जानुपर्ने कुरा बताउनुभयो । सो पश्चात् शिवजीले ब्रह्मादि सबै देवतालई लिएर विष्णु भगवान्ले तपस्या  गरेको स्थान मुक्तिक्षेत्र पुग्नुभयो । यसरी शंकर भगवान्ले विष्णु भगवानसँग तपस्याको कारण सोध्नुभयो । विष्णु भगवान्ले शंकर भगवान्को वरदान प्राप्त गर्नका निम्ति उक्त तपस्या गरेका बताउनुभयो । सो पश्चात् शंकर भगवान्ले हजुरका गण्डस्थलको पसिनाबाट उत्पन्न नदीभन्दा श्रेष्ठ मुक्तिधारा छिन् । यो मुक्तिक्षेत्रको नामले प्रसिद्ध हुनेछ । मुक्तिदिने यो क्षेत्र महान् तीर्थ हुनेछ । यसैगरी भविष्यमा यिनै गण्डकीका गर्भमा शिलारूप भएर विष्णु भगवान् रहनुहुने समेत वरदान दिनुभयो । साथै साक्षात् शिवजी ब्रह्माजी लगायत समस्त देवता र ऋषिगणसहित वेद, यज्ञ, तीर्थ आदि पनि विष्णु भगवान्कै साथमा मुक्तिक्षेत्रमा रहने वरदान समेत प्रदान गरेको कथा वराह पुराणमा वर्णन छ -

अहं ब्रहमा च देवाश्च ऋषिभिः सह केशवः ।।
सर्वे वेदाश्च यज्ञाश्च सर्वतीर्थानि चाच्युतः । 
वसिष्यामः सहैवात्र गण्डक्यां जगतः प्रभो ।। 
            (वराहपुराण, सोमेश्वरादिलिङ्गहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. ९५– ९६)

यो देवभूमि हो । साक्षात् हरिहर भगवान्को निवासस्थल ब्रहमाजीले तपस्या गरेको स्थान आफूमै पवित्र रहेको छ । आफ्नो मुक्तिका साथै आफ्ना पितृको समेत मुक्ति दिने भएकाले पनि यस क्षेत्रको महिमा विशेष पाइन्छ ।  मुक्तिक्षेत्रमा साक्षात् परमात्मा परमेश्वले निवास गर्नुभएको छ । तेत्तिसकोटि देवताको वासस्थानका साथै समस्त ऋषिगणसमेत रहेर पवित्र बनाएको स्थल रहेकाले पनि मुक्तिक्षेत्रको महिमा विशेष रहेको पाइन्छ । 

४. गण्डकी प्रादुर्भाव 

गण्डकीको प्रादुर्भाव  विष्णु भगवान्को गण्डस्थलबाट भएको हो ।  प्राचाीनकालमा भगवान् विष्णु लोकको हितगर्ने उद्देश्यले  देवताको वासस्थान हिमालयमा तपस्या गनुृभयो । तपस्या गरेको धेरै समय वितेपछि उक्त स्थल लगायत सर्वत्र अत्यन्त तेज प्रकट भयो । सबै चराचर जगत् सन्तप्त भयो । सो तेजको गर्मीबाट भगवान्का गण्डस्थलमा पसिना आए जसदेखि समस्त लोकको पापनाश गर्ने  गण्डकीको प्रादुर्भाव भयो । 

तस्योष्मणा समुद्भूताः स्वेदपुरस्तु गण्डयोः ।
तेन जाता धुनी दिव्या लोकानामघहारिणी ।।
          (वराहपुराण, सोमेश्वरादिलिङ्गहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. ८०)

गण्डकीलाई तीर्थमध्ये पनि परंतीर्थ मानिएको छ । भागिरथी गङ्गाबाहेक अन्य कुनै नदी गण्डकी बराबर छैनन् । 

५.कालीगण्डकी

कालगिण्डकीलाई सबै नदीभन्दा श्रेष्ठ मानिएको छ । साक्षात्  भगवती गौरीको पसिनाबाट कालीगण्डकीको उत्पत्ति भएको हो –

सर्वदेवमयो विष्णुः सर्वतीर्थमयी च सा । 
गौरीस्वेदोद्भवा स्नानात्कोटितीर्थगुणं  फलम् ।। 
                    (श्रीस्कन्दपुराण, हिमवतुखण्डे श्रीकृष्ण्भामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ७०)  

यसैगरी कालगिण्डकीमा स्नाना गर्नाले मात्र पनि सबै पाप नष्ट हुन्छन् -

तस्यां च स्नानमात्रेण सर्वपापविवर्जितः । 
कैवल्यं प्राप्यते ज्ञानाज्जपहोमार्चनैर्मुने ।। 
              (श्रीस्कन्दपुराण, हिमवतुखण्डे श्रीकृष्ण्भामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ७३)

यसैगरी कालीगण्डकी क्षेत्रमा जप, हवन, देवार्चन  गर्नाले पनि सबै पापबाट निवृत्त भई मुक्ति प्राप्त हुने कुरा बताइएको छ । विशेषगरी एकादशी, आइतवार, शुक्लपक्ष र माघ महिनामा स्नान गर्नाले अन्य तीर्थस्नान भन्दा करोडौँ गुणा फल प्राप्त हुन्छ –

एकादश्यां रवौ शुक्ले माघमासे विशेषतः । 
भक्त्या करोति यः स्नानं कोटिकोटिगुणं फलम् ।। 
              (श्रीस्कन्दपुराण, हिमवतुखण्डे श्रीकृष्ण्भामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ७४)

 मुक्तिधारा र कालीगण्डकीको संगमस्थल(कागवेनी)को जललाई उत्तम तीर्थजल बताइएको छ । जुन देवताले पनि इच्छा गर्दछन् – 

 मुक्तिधारा च कृष्णाभा तयोश्च सङ्गमे जलम् । 
सर्वतीथोत्तमं विद्धि देवलोकैश्च वाञ्छितम् ।।
          (श्रीस्कन्दपुराण, हिमवतुखण्डे श्रीकृष्ण्भामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ७७)

आज पनि कृष्णगण्डकीमा भगवान् शिवजीको कृपाद्वारा समस्त देवी देवता निवास गर्दछन् – 

अद्यापि देवा निवसन्ति तत्र स्वै स्वैर्मुदांशैगिरिशप्रसादात् ।।
                             (श्रीस्कन्दपुराण, हिमवतुखण्डे श्रीकृष्ण्भामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ८०)

६. शालग्राम

शालग्राममा साक्षात् भगवान्को वास हुन्छ । दशौँ हजार वर्षसम्म गण्डकी भगवतीले भगवान्को तपस्या गरेपछि भगवान्ले दर्शन दिनुभयो । वरमाग भन्दा गण्डकीले भगवानलाई पुत्रका रूपमा पाउने वर माग्छिन् । सो इच्छा पूर्ण गर्नभगवान् चक्ररूप भई प्रत्येक शिलामा  रहनुभएको कथा प्रसङ्ग पाइन्छ । 

शालग्राम शिलारूपो तबगर्भगतः सदा ।
 स्थास्यामि तव पुत्रत्वे भक्तानुग्रहकारणात् ।। (वराहपुराण, सोमेश्वरादिलिङ्गहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. ३४)

यसैगरी पौराणिक एक अर्को कथा पनि पाइन्छ । जब भगवान शिव र जालन्धर असुरको महासंग्राम भइरहेको थियो । जलन्धरकी पत्नी वृन्दा पतिव्रता रहेको र सोही बलको प्रभावका कारण शिवजीले जलन्धर असुरलाई पराजित गर्न सक्नुभएको थिएन । यो अवस्थामा भगवान विष्णुले जालन्धरको रूप धारण गरेर वृन्दाको सतीत्वलाई नष्ट गरिदिनुभयो । जब वृन्दालाई यस कुराको थाह भयो त्यो बेलासम्म भगवान शिवले जालन्धरको बध गरिसक्नुभएको थियो । यसैले वृन्दाले भगवान विष्णुलाई शिला, रुख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस भनेर श्राप दिएकी थिइन् । फलस्वरूप विष्णुले भगवानले शालग्राम शिला, पिपल, तुलसी र कुश भएर जन्म लिनु परेको थियो । 

भगवान् शिवजी पनि सदा मुक्तिक्षेत्र र शालग्राममा रहनुहुन्छ । अतः शालग्राममा हरिहर भगवान् विराजमान हुनुहुन्छ  । साक्षात् शिवजीले  चन्द्रमालाई आफू पनि सोही मुक्तिक्षेत्र र शालग्राममा रहने कुरा यसरी बताउनुभएको छ – 

एवं दत्वा वरान् देव्यै तत्रैवान्तरधीयत । 
ततः प्रभृति तिष्ठामि क्षेत्रेऽस्मिन् शशलाञ्छन ।। 
अहञ्च भगवान् विष्णुर्भक्तेच्छोपात्तविग्रहः । 
एवमुक्त्वा द्विजपतिमन्वगृह्णद्धरः स्वयम् ।।
         (वराहपुराण, सोमेश्वरादिङ्गिहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. ३९–४०)

शालग्राम भगवान्को किनवेच  नगर्नु भनिएको छ । यस्तो कार्यलाई  पापकर्मको कोटिमा राखिएको छ । किन्ने र बेच्ने दुवैलाई पाप लाग्ने गर्दछ भनी स्कन्धपुराणमा बताइएको छ । यसैगरी समस्त तीर्थ गरेको फल पनि शालग्राम भगवानको सेवा गर्नाले प्राप्त हुन्छ । शालाग्राम भगवान्को चारैतर्फ एक कोशसम्म जसको देहान्त्य हुन्छ त्यस्ता कीरा लगायत मनुष्य सबैलाई वैकुण्ठलोक प्राप्त हुने गर्दछ –

शालग्रामसमीपे तु क्रोशमात्रं समन्ततः । 
कीटोऽपि म्रियते याति वैकुण्ठभुवनं ध्रुवम् ।। 
                          (श्रीस्कन्दपुराण, हिमवतुखण्डे श्रीकृष्ण्भामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ६४)

गज र ग्राह (हात्ती र गोहीको) भयङ्कर युद्ध देखेर जलेश्वर(जडेश्वर) राजाले भगवानलाई प्रार्थना गरेपछि भगवान्ले सुदर्शनचक्र पाठाई  दुवैको उद्धार गरेपछि उक्त सुदर्शनचक्र ढुङ्गामा ठोकिन पुग्दा चक्राङ्कित शिला बन्न पुगेको कथा वराहपुरणमा वर्णन पाइन्छ – 

सुदर्शनेन चक्रेण ग्राहस्यं समपाटयत् । 
सङ्घटनात्तु चक्रस्य शिलाश्चक्रेण लाञ्छिताः ।।
        (वराहपुराण, सोमेश्वरादिङ्गिहरिहरमुक्तिक्षेत्रगण्डकीत्रिवेण्यादि महिमानिरूपण, श्लो. १२०)

७. श्राद्ध 

परं पवित्र पावन मुक्तिक्षेत्र सर्वकल्याणकारी रहेको पाइन्छ । पितृ उद्धारका निम्ति पनि यो स्थान परं पवित्र मानिएको छ । यहाँ गरिएको तीर्थ श्राद्धले समस्त पितृले तृप्ति प्राप्त गर्नुका साथै सय दिव्यवर्षसम्म स्वर्गको भोग पनि गर्न पाउँछन् –

शालग्रामान्तिके देशे श्राद्धं यः कुरुते नरः । 
पितरस्तस्य तृप्यन्ति तृप्ता वर्षशतं दिवि ।।
  (श्रीस्कन्दपुराण, हिमवत्खण्डे श्रीकृष्ण्भामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ६३)
गयामा गरेको श्राद्धभन्दा सयगुणाबढी फल दिनेवाला श्राद्ध कालीगण्डकीको तीरमो गरेको हुन्छ – 

श्राद्धं करोति  यस्तस्यां पितृृन्  सर्वान् समुद्धरेत् । 
गयायां पिण्डदानात्तु  लभेच्छतगुणं फलम् ।।
                      (श्रीस्कन्दपुराण, हिमवतुखण्डे श्रीकृष्णभामाहात्म्ये शालग्राममहिमालक्षणं श्लो. ७२)

अतः पितृमुक्तिका निम्ति पनि मुक्तिक्षेत्र उत्तम फलदायी मानिन्छ ।  


८. प्राकृतिक सौन्दर्य 

वरिपरि हिमशृङ्खले घेरिएको अग्ला अग्ला तरेली डाँडाले प्राकृतिक रूपमा पनि मुक्तिनाथ क्षेत्रलाई सजाएको पाइन्छ । अझ यही क्षत्रमा हिउँ परेको समयमा त झनै मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ । अन्य समयमा पनि यो क्षेत्र सुन्दर नै देख्न सकिन्छ । हिमालको फेदीबाट बगेका पवित नदीले यस क्षत्रलाई थप आकषृक बनाएको पाइन्छ । उच्च हिाली क्षेत्रमा पाइने वनस्पतिले यस क्षत्रलाई थप सुन्दर बनाका छन् । अझ भनौ यो क्षेत्र प्कृतिको वरदान नै हो । चिसो चिसो हावासँगै घामका कलकलाउँदा रोसनी सर्लक्क छाएपछिको पाकृतिक छटा अझ अनुपन लाग्छ । हरेक पर्यटक र हरेक तीर्थालु यस क्षेत्रमा पुगेपछि प्रसन्न मुद्रामा देखिन्छन् । तपाईलाई पनि यस क्षेत्रले फरक रोमाञ्चित अनुभूति गराउनेछ । 

९.गन्तव्य मार्ग 

सडकमार्गबाट जाने तीर्थालुका लागि बेनी, जोमसोम, कागबेनी हुँदै मुक्तिनाथ पुग्न सकिन्छ । हवाइ मागृबाट जानेका निम्ति पोखराबाट बीस पच्चिस मिनेटको दूरीमा जोमसोम एयरपोर्ट रहेको छ । वेनीसम्मको बाटो फराकिलो हुनुका साथै केही स्थानमा पक्की पनि छ । बेनीदखि कागवेनीसम् मभने हाल कच्चसी सडकमार्ग रहेको छ । कालीगण्डकीको गलछीहुँदै रमाइला परिदृश्यसँगै मुक्तिनाथको योत्रा तय गर्न सकिन्छ । कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडक कालोपत्रे गरिएको छ । काठाडौँबाट करिब चारसय किलोमिटरको दूरीमा मुक्तिनाथ मन्दिर अवस्थित छ । एक दशकअघिसम्म मुक्तिनाथमा दर्शन गर्नका लागि तीर्थालु धेरै दिनसम्म पैदल हिँडेरै पुग्ने गर्दथे ।

अहिले बन्दै गरेको बेनी–जोमसोम–कोरला कालीगण्डकी करिडोर आयोजना सम्पन्न भएपछि भने तीर्थालुका लागि सबैभन्दा सहज हुनेछ । अर्कोतर्फ पर्वत र कास्कीको सिमानामा पर्ने बिरेठाँटीबाट मुक्तिनाथसम्म विश्वकै सबैभन्दा लामो केवलकार निर्माणका लागि सम्भाव्यतासमेत अध्ययन भइरहेको छ । 


 १०. पर्यटकीय सम्भावना 

कालीगण्डकीको गहिरो गल्छी  हुँदै बाटो अघिबढ्ने भएकाले अग्ला अग्ला भीर पहरा र खोचमा पर्यटकलाई घुमाउन सक्ने सम्भावना देखिन्छ । अग्ला भीर पहराको टुप्पाबाट  हिमाली परिदृश्यको दर्शन गराउन सकिने सम्भावना रहन्छ । यसैगरी केबुकालका माध्यमले पनि मुक्तिनाथसम्मको यात्रा अझ स्मरणीय हुने देखिन्छ । यसैगरी जलमार्गलाई पनि उपयोग गर्न सकिन्छ । जलमार्ग अन्तर्गतका अनेकौँ मनोरञ्जनका कार्य गरी पर्यटक भित्र्याउन सकिन्छ । अग्ला अग्ला गल्छी भएकाले बञ्जी जम्पको साहसिक खेल खेलाउन पनि सम्भावना देखिन्छ । यसैगरी कालीगण्ठकी गल्छीका भीरमा रक क्लाइम्बिङको सम्भावना पनि प्रचूर देखिन्छ । स्थानीय परिकार खुवाउँदै पदयात्रका कार्यक्रम निर्धारण गरेर पनि पर्यटकीय विकास गर्न सकिने देखिन्छ । 

मुस्ताङ आफूमै पर्यटकीय प्रचूर सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा पनि यातायातको उचित व्यवस्था मिलाएर थप पर्यटक भित्र्याउन सकिन्छ । कच्ची बाटाघाटाले गर्दा एकपटक पुगेका व्यक्ति पुनः जान बाटाकै कारणले मान्दैनन् । अतः बाटोघाटो थप व्यवस्थित गर्नाले पनि यो क्षेत्रको पर्यटन वृद्धि हुने देखिन्छ । धार्मिक पर्यटनका साथै साँस्कृतिक पर्यटनलाई पनि विकास गर्न सकिन्छ । प्रकृतिक वस्तुको अधिकतम प्रयोगले पनि यो क्षेत्रको पर्यटनमा टेवा पुग्ने देखिन्छ । 

सन् १९८५ तदनुसार २०४२ सालमा यस क्षेत्रमा नवपाषाण हतियार भेट्टाइएको थियो । त्यस बखत भेटिने अहिले पनि पाइने कतिपय शालग्राममा पनि ढुंगेचित्र पाइन्छ । यसबाट त्यस बेला यहाँमानव बसोबास भएको पुष्टि हुन्छ ।

मुक्तिनाथ भएर बगी आउने कालीगण्डकीका अन्य वैष्णव तीर्थमा कागबेनी, गलेश्वरधाम, बेणी, रूरूक्षेत्र, राम्दीघाट, हुंगीघाट, खोरीघाट, केलादीघाट, रामपुर, देवघाट आदि छन् । यस नदीले उत्खनन गर्ने शालिग्रामको महत्व पनि उत्तिकै छ । कालीगण्डकी किनारमा पर्ने बागलुङ नगरपालिका–४ कुडुलेमा कालीगण्डकी नदीको सभ्यता देखाउन सुरुङभित्र भूमिगत संगहालय निर्माण गरिएको छ । 

१२. निष्कर्ष 

देवभूमि मुक्ति क्षेत्रको महिमा अपरम्पार छ । साक्षात् ब्रह्मा विष्णु र महेशले तपस्या गरेको, यज्ञ यागादि सम्पन्न गरी पावन बनाएको यो धाम सबैको मुक्तिदिने तीर्थस्थल हो । प्राकृतिक दृष्टिले पनि रमणीय र मनमोहक यो क्षेत्र आफूमै परिपूर्ण छ । धार्मिक दृष्टिले पनि यसलाई साक्षात् मुक्तिक्षेत्र बताइएको छ । जहाँको स्पर्श मात्रले पनि मुक्तिमिल्ने शास्त्रमा फलश्रुति पाइन्छ । मुक्तिनाथको महिमा जति देखिन्छ त्यति वर्णन गर्न सकिदैन । त्यसैले प्रत्यक्ष दर्शन नै मुक्तिदायी रहनेछ । जय मुक्तिनाथ !


No comments:

Post a Comment