–नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको धार्मिक एवं साँस्कृतिक महिमा पाइन्छ । यस पर्वमा सूर्यको विशेष उपासना गरिन्छ । सृष्टिको सुरूवातदेखि नै सूर्यको उपासना गरिंदै आएको पाइन्छ । वेदले पनि सूर्यको उपासना गरेको पाइन्छ । सूर्यसूक्त यसको प्रमाण हो । अग्नि पुराणमा पनि षष्ठी व्रतको प्रसँग उल्लेख छ । यसैगरी देवी भागवतामा पनि षष्ठिका देवीको महिमागान गरेको पाइन्छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला कुन्ती, द्रौपदी सहित पाण्डवले पनि यो व्रत धारण गरेको वर्णन महाभारतमा उल्लेख छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रतधारण गरेको पाइन्छ । शारदीय र वासन्तिक गरी वर्षमा दुई पटक छठ पूजा हुने गर्दछ । शारदीय अर्थात् कार्तिक शुक्ल पक्षको छठ विशेष रूपमा मनाउने परम्परा चलिआएको छ । चैत्र शुक्लषष्ठीका दिन पनि छठ पूजा हुने गर्दछ । पृथ्वीमा पर्याप्त प्रकाश छरेको र कामना पूर्ण गरेकोमा सूर्यलाई धन्यवाद दिदै यो पर्व मनाइन्छ ।
यो पर्वमा षष्ठिका देवीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । यो पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन रहेको छ । परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ ।
छठको पहिलो दिन
कार्तिक शुक्ल चर्तुर्थीका दिन देखि छठ आरम्भ हुन्छ । छठ सूर्यको उपासना गरी मनाइन्छ । छठको शुरुवात मानिने यस दिनलाई ब्रतालुहरू नुहान भनिन्छ । यस दिन बिहान सबेरै उठेर हात खुट्टाको नङ काटी चोखो पानीले नुहाई सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गरिन्छ ।
खर्ना
छठको दोस्रो दिनलाई खर्ना भनिन्छ । यस दिनमा नुहाएर चोखो भई साँझपख ब्रतालुहरूले सखरको खीर लौकाको तरकारी जस्ता शुद्ध भोजन ग्रहण गर्दछन् । यस दिन एक छाक मात्र भोजन गरिन्छ ।
तेस्रो दिन छठ
कार्तिक शुक्ल षष्ठी छठको मुख्य समय हो । यस दिनमा ब्रतालुहरू पानीसमेत नपिई निराहार व्रत बस्दछन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गरिन्छ । छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाइन्छ । प्रातःकालीन अर्घका लागि केही व्र्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन् । उक्त यस रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ । घाटलाई बेहुली झै सिंगारिएको हुन्छ ।
पारण अर्थात् समापन
षष्ठीको भोलिपल्ट ब्रह्ममुहूत्र्तमा पुनः पूजासामग्री सम्पादन गरेर नदी किनारमा गई उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्व विधिवत् रूपमा समापन हुने गर्दछ । सो पश्चात् छठको प्रसाद एक आपसमा बाडिन्छ । छठको प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा आदि हुने गर्दछन् । विशेषगरी शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद बनाइन्छ । छठ पूजाले सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । छठको व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास रहेको पाइन्छ । मनोकामना पूरा भएमा नाच नचाउने, पोखरीमा माटोको हात्ती राख्ने तथा दियो बाल्ने जस्ता कार्य पनि हुने गर्दछ ।
छठ पर्व किन मनाइन्छ ?
सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिएको हो । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ । यी दुइटै देवीदेउतालाई प्रशन्न पार्नका लागि कात्तिक शुक्ल षष्ठी उत्तम तिथि भएकाले नै यो पर्व सोही तिथिमा मनाइने गरिएको हो ।
को हुन् छठ माता ?
छठ माता को हुन ? भनेर विभिन्न प्रकारका विचारधारा देखिएको भए पनि यस विषयमा श्रीमद्देवी भागवत पुराणमा स्पष्ट रुपमा उल्लेख गरिएको छ । सो पुराणको नवौँ स्कन्धमा भगवती षष्ठीको महिमा प्रसंगमा राजा प्रियव्रतको कथा उल्लेख गरिएको छ ः
राजा प्रियव्रतका सन्तान थिएनन् । सन्तानका लागि राजाले यज्ञ गर्छन् । महर्षि कश्यपले यज्ञको लागि पकाइएको खीर रानी मालिनीलाई प्रसादको रूपमा खान दिइन् । त्यो खीर ग्रहण गरेपछि रानीले पुत्रको जन्म दिन्छिन् तर, छोरो मृत अवस्थामा जन्म लिन्छ ।
मृत सन्तान जन्मेको खवरले राजा विह्वल हुन्छन् । मृत सन्तानको अन्तिम संस्कार गर्ने क्रममा राजा श्मसानघाटमै प्राण त्याग्न खोज्छन् । सोही समयमा एउटा दिव्यरथ लिएर देवीको सबार हुन्छ । राजालाई प्राण त्याग नगर्न सल्लाह दिँदै “म, ब्रह्माकी मानस पुत्री देवसेना हुँ । सृष्टिको मूल प्रवृतिबाट मेरो उत्पत्ति भएको हो । सोही कारणले मलाई षष्ठी पनि भन्छन् । मेरो उपासना गर । म तिम्रो बच्चालाई जीवित पारिदिन्छु भनी मृत पुत्रलाई काखमा राखी जीवनदान दिएको र सो पश्चात् देवीले मेरो पुजा गर्नू र प्रजालाई पनि पूजा गर्न सल्लाह दिनू । मेरो पूजा गरेमा सन्तानको रक्षा, कर्मशील सन्तान हुने, मनोकामना पूरा हुने र घरबाट दरिद्रताको अन्त्य हुन्छ भन्दै उपदेश दिई गएको कथा पाइन्छ । यस पछि सबैले षष्ठीकादेवी अर्थात् छठ माताको व्रत लिन थालेको पाइन्छ ।
कात्र्तिक शुक्ल षष्ठी तिथिमा सो घटना भएकाले सोही तिथिबाट छठपर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ । षष्ठी शब्दको अपभ्रंश हुँदै छठी पर्वको रुपमा परिणत भएको हो ।
छठ पर्वमा सूर्यको पूजा किन गरिन्छ ?
भगवान् रामको १४ वर्ष वनवास पूरा गरी कात्र्तिक औँशीको तिथिमा अयोध्या फर्केको धार्मिक ग्रन्थ रामायणमा उल्लेख गरिएको छ । सोही दिन अयोध्यामा दीपावली मनाइएको थियो । दीपावलीको छैटौँ दिनमा छठ पूजा हुने गछ । भगवान् राम अयोध्या फर्केपछि राज्यकाज सञ्चालन गर्नुभन्दा पहिले ब्राह्मण(रावण) हत्याको पापबाट मुक्त हुनका लागि ऋषिसँग सल्लाह लिँदा कात्तिक शुक्ल षष्ठीसम्म सूर्यको उपासना गर्न सल्लाह दिएको थियो ।
अविलम्ब राजकाज सञ्चालन गर्ने भएकाले नै सोही अवधिभित्र भगवान् रामले सूर्यको उपासना गरेर ब्रह्महत्याको पापबाट मुक्त हुनुभएको थियो । भगवान् राम सूर्यवंशी भएको, भगवान् श्रीरामका पनि आराध्यदेव सूर्य भगवान् रहेकाले उक्त दिन सूर्यभगवान्को उपासना गरिन्छ ।
पुलस्त्य ऋषि र भीष्मको संवादमा जसमा एक कुष्ठरोगी क्षत्रीय राजको छठ व्रत र सूर्य पूजनपश्चात् रोग निवृत्त भएको अर्को कथा पनि पाइन्छ ।
धर्म संस्कृतिले सम्पन्न छठ पर्वको आफ्नै महिमा रहेको पान्छ । आद्यशक्ति भगवतीको उपासना सँगै आदित्य भगवान् सूर्यको वेदले पनि स्तुति गान गरेको पाइन्छ । देवी देवताको धार्मिक महिमालाई संस्कृतिले अझ सुन्दर बनाइरहेको हुन्छ । यस्तै धर्म संस्कृतिको सुन्दर पावन पर्व छठको पनि विशिष्ट महिमा रहेको पाइन्छ ।
No comments:
Post a Comment