- नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
पौष शुक्लपक्षको एकादशीलाई पुत्रदा भनिन्छ । यसैगरी श्रावण शुक्लपक्षको एकादशीमा पनि पुत्रदा एकादशी पर्ने गर्दछ । एकादशी भनेको चान्द्र महिनाको एघारौँ तिथि हो । नामअनुसार नै फल दिने भएकाले पुत्रदा एकादशीको महिमा विशेष रहेको छ । विशेषतः सन्तान सुख चाहने व्यक्रिको निम्ति यो एकादशीको व्रतधारण लाभदायी रहन्छ ।
अन्य एकादशीमा जस्तै व्रत विहधान यो एकादशीको पनि रहेको छ । अघिल्लै दिनबाट शुद्ध आहार गर्नुपर्दछ । एकादशीको दिन स्नान सन्ध्याबन्धनादि गरेर विष्णुलक्ष्मी भगवान्को विशेष पूजा आरधाना गर्ने विधान गरिएको छ । यसैगरी भगवान्को लीला कथा गानका साथै एकादशी महात्म्य पनि श्रवण गर्नुपर्दछ । द्वादशीका दिन ब्राह्मण भोजन गराई आफूले पनि हविष्यान्न लिनु भन्ने व्रत विधि माहात्म्यमा वर्ण न गरिएको छ ।
पुत्रदा एकाादशीको व्रतकथा पद्मपुराणमा वर्णन गरिएको छ । राजा युधिष्ठिरका प्रश्नको उत्तर दिने क्रममा पुत्रदा एकादशी व्रतकथाको महिमागान गरिको छ ।
द्वापर युगको आरम्भमा महिष्मति नामको एक नगर थियो । जसमा महीजित नाम गरेका राजा राज्य गर्दथे । उनका कुनै सन्तति थिएनन् । सन्तानहीन भएकाले राजालाई राज्य सुखदायक लाग्दैन थियो । सन्तान सुखका निम्ति राजाले अनेक उपाय गरे तर सन्तान सुख मिल्न सकेन ।
जीवनको उत्तराद्र्ध लागेपछि पनि सन्तति सुख प्राप्त हुन नसकेपछि महीमति राजाले प्रजाका प्रतिनिधिहरूलाई बोलाएर एक सम्बोधन गरे –
हे प्रजाजनहरू ! मेरो खजानामा अन्यायले उपार्जन गरेको धन छैन । न मैले कहिल्यै देवताहरू तथा ब्राह्मणहरूको धन खोसेको छु । कसैको धरोहर पनि मैले लिएको छैन । प्रजाजनहरूलाई पुत्रका समान पालन गरेको छु । कहिल्यै कसैलाई घृणा गरिन । सबैलाई समान व्यवहार गरेँ । सज्जनहरूको सधैं पूजा गरेँ । यसरी धर्मयुक्त राज्य गर्दा पनि मेरा सन्तति छैनन् । त्यसैले म अत्यन्त दुःख पाइरहेको छु, यसको के कारण होला ?
सभामा सबै स्तब्ध भए । राजाको सम्बोधनका विषयमा छलफल गर्न मन्त्री तथा प्रजाका प्रतिनिधिहरू एकजुट भई समस्याको समाधान खोज्न उद्यत भए । सोही योजा अनुरूप वनमा तपस्यारत ऋर्षि महर्षिलाई भेट्ने र राय सललाह लिने निधोगरी त्यसतर्फ सबै जना लागे । एक आश्रममा वयोवृद्ध धर्मका ज्ञाता, तपस्वी, जितेंिद्रय, जितात्मा, जितक्रोध, सनातन धर्मका गूढ तत्वहरूलाई जान्ने, समस्त शास्त्रहरूका ज्ञाता महात्मा लोमश मुनिलाई देखे, जसको एक कल्पमा एक केश (रौँ) झर्ने गर्दछ । एक कल्पमा चारअर्ब बत्तीसकरोड सौरवर्ष हुन्छ ।
सबै गएर ऋषिलाई प्रणाम गरे । उनीहरूलाई देखेर मुनिले सोधे कि तपाईंहरू कुन कारणले आउनुभयो ? निस्संदेह म तपाईंहरूको हित गर्नेछु । मेरो जन्म केवल अर्काको उपकारको लागि भएको हो, यसमा संदेह नगर्नुहोस् ।
लोमश ऋषिका यस्ता वचन सुनेर सबै भन्न थाले–
हे महर्षे ! तपाईं हाम्रो कुरा जान्नमा ब्रह्मा भन्दा पनि अधिक समर्थ हुनुहुन्छ । अतः तपाईं हाम्रो यस संदेहलाई दूर गर्नुहोस् । महिष्मति पुरीको धर्मात्मा राजा महीजित प्रजालाई पुत्र समान पालन गर्दछन् तर उनि पुत्रहीन हुनुका कारण दुःखी हुनुहुन्छ । अतः यो समस्याको समाधान भए हामी कृतार्थ हुनेथियौँ ।
यस्तो कुरा सुनेर ऋषि लोमशले केही समयको लागि आफ्ना आँखा बन्द गरे । र राजाका सम्पूर्ण पूर्वजन्मका वृत्तान्त अवलोकन गर्न थाले । महीजित राजा पूर्वजन्ममा एक निर्धन वैश्य रहेका, एक गाउँबाट अर्को गाउँमा व्यापार गर्न जाने गर्थे, ज्येष्ठ शुक्लपक्षको द्वादशीको दिन उनी एक जलाशयमा पानी खान गएका थिए, सोही समयमा एक सुत्केरी गाई प्यासले पानी खान आएकी थिइन् । राजाले ती सुत्करी गाईलाई पानी खान नदिई धपाएर आफैले मात्र पानी खाए । यही पूर्वजन्मको पापका कारण राजामा सन्तति सुख प्राप्त नभएको महर्षि लोमशले पत्ता लगाए ।
यसरी राजाले गाईलाई पानी नदिएकाले यो दुख् सहनुपरेको सारा वृत्तान्त सुनाए । राजा पनि एकादशीको व्रतगरी भोकै प्यासै रहेका कारण उक्त व्रतको पु्भावले राज्य गर्न पाए पनि गाईलाई गरेको अपमानले सन्तनसुख प्राप्त हुन नसकेको कारण पत्ता लाग्यो ।
यस्तो कुरा सुने प्रजा एवं मन्त्रीगण निराकरणको उपाय राख्न लाग्दा भए । जुन प्रकार राजाको यो पाप नष्ट हुन्छ, तपाईं यस्तो उपाय बताउनुहोस् । यसरी विन्ति गरेपछि लोमश मुनि भन्न लागे पौष वा श्रावण शुक्ल पक्षको एकादशीलाई पुत्रदा एकादशी भनिन्छ । यस दिन विधिपूर्वक व्रतबसी रात्रिमा जागर गर्नाले राजाका पूर्वजन्मका पाप नष्टभई सन्तान सुख प्राप्त हुन्छ भनी बताए । लोमश ऋषिका यस्ता वचन सुनेर मन्त्रिहरू सहित सबै प्रजाहरू नगरमा फर्केर आए । जब पौष शुक्ल एकादशी आयो ऋषिको आज्ञानुसार सबैले पुत्रदा एकादशीको विधिपूर्वक व्रत र जागरण गरे ।
यस पश्चात द्वादशीका दिन यसको पुण्यको फल राजालाई दिईयो । त्यस पुण्यका प्रभावले रानीले गर्भ धारण गरिन् । सोपश्चात् राजलाई पुत्र प्राप्त भएको थियो । अतः पुत्रदा एकादशीवको वत्र धारण गर्नाले सन्तति सुख समेत प्राप्त हुने भएकाले सको व्रत धारणका साथै कथा श्रवण गर्नू भनी पद्मपुराणमा भगवान् श्रीकृष्णले राजा युधिष्ठिरलाई बताउनु भएको छ । यसैगरी पुत्रदा एकादशीको कथा श्रवण गर्नाले पनि सम्पूर्ण पाप नष्ट हुने भएकाले कथा श्रवण पनि पुण्यदायी रहने गर्दछ ।
व्रत रहनु भनेको काम, त्रोध, लोभ, मोह, मद र मात्सर्यको त्याग गर्नु हो । व्रतालुले जजीवनमा यस्ता कुरा त्याग्न सक्नुपर्दछ । सत्मार्गमा अभिप्रेरित रहेर गरिएको व्रत पूर्ण फलदायी रहने गर्दछ ।
No comments:
Post a Comment