नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म श्रीस्वस्थानीव्रत धारण गरिन्छ । चान्द्र मासअनुसार पौष शुक्ल पूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म एक महिना हुन्छ । सोही महिना दिनसम्म आद्य शक्ति श्रीस्वस्थानी भगवतीको उपासना गर्ने विधि विधान रहेको छ । आद्यशक्ति भगवतीको उपासना गरी इच्छित मनोकामना पूरा हुने कुरा शास्त्रमा उल्लेख पाइन्छ ।
स्कन्ध पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्य वर्णन गर्ने क्रममा श्रीस्वस्थानी व्रत कथाको महिमा गान गरिएको छ । नेपाली जनमनमा श्रीस्वस्थानीव्रत कथाको विशेष प्रभाव रहेको पाइन्छ । परा पूर्व कालदेखि नै माघ स्नान गरी श्रीस्वस्थानी देवीको व्रत उपासना एवं कथा श्रवण गर्ने चलन रहि आएको पाइन्छ । लोक परम्परामा कतिपय विधि विधानमा लौकिक छनक देखिए पनि मूल रूपमा आद्य शक्ति भगवतीको उपासा नै श्रीस्वस्थानी व्रतकथाको मुख्य उद्देश्य हो ।
व्रत विधि
पौष शुक्ल पूर्णिमाका दिन नदी, तलाउ वा कुवा वा शालीनदीमा गई स्नान गर्नुपर्दछ । घरमा आई दीप, कलश, गणेश पूजन पूर्वक श्रीस्वस्थानी भगवतीको प्रतिमा स्थापना गरी विधिपूर्वक पूजा सामग्री सम्पादन गर्नुपर्दछ । सो पश्चात् समूत मनोकमना पूरा हउन् भन्दै कुश, तील जल सहित प्रतिज्ञा संकल्प गर्नुपर्दछ । सोपश्चात् दीप, कलश गोशजी लगायत श्रीस्वस्थानी भगवतीको पाद्य, अर्घ, आचमनी जल, स्नानीय जल, शुद्धजल, पञ्चामृत, मधुपर्क, चन्दन, अक्षता, पुष्प, माला, धूप, दीप, फल, नैवेद्य, आदि षोडशोपचारले पूजा गर्नुपर्दछ । यसरी श्रीस्वस्थानी भगवतीको पूजा गर्दा श्रीस्वस्थानी भगवत्यै नमः भन्नु पर्दछ । यसका साथै ॐ नमः शिवाय भन्ने मन्त्रको जप पनि गर्न सकिन्छ ।
यसपछि श्रीस्वस्थानीव्रतकथा पुस्तको पूजा गरी फल नैवेद्यादि अर्पण गरेर पुस्तकमा बताए अनुसार विभिन्न देवीदेवताको प्रार्थना गर्नुपर्दछ । सो पश्चात् एकभक्त भई, चित्त स्थिर गराई हातमा फूलपाती लिई कथा श्रवण गर्नुपर्दछ । कथा समापनपश्चात् भगवान्का स्तुति प्रार्थना गरी पुस्तकलाई ढोगी प्रसाद ग्रहण गर्नुपर्दछ ।
यो क्रम महिनादिनसम्म नित्य गर्नुपर्दछ । माघ शुक्लपूर्णिमाका दिन विधि विधानपूर्वक थालीमा श्रीस्वस्थानी भगवतीको प्रतिमा स्थापना गरी अक्षता, वेलीपुष्प, जनै, पान सुपारी, तील, जौ, रोटी, बत्ती आदि वस्तु एकसय आठका दरले चढाउनुपर्दछ । सो पश्चात् पूर्णपात्रो, आरती पुष्पाञ्जली गरी व्रतको समापन गर्नुपर्दछ । यसरी गरिएको व्रत धारण पूर्णफलदायी रहने गर्दछ ।
व्रत भनेको के हो ?
कुनै पनि कुराको सङ्कल्प गर्नु व्रत हो । यसलाई प्रतिज्ञाका रूपमा पनि लिन सकिन्छ । ईश्वरको आराधना वा भक्तिःलाई पनि व्रत भनिन्छ । व्रतलाई पनि एउटा यज्ञको रूपमा मानिएको छ । व्रत भनेको नियमा बाँधिनु पनि हो । पूजाद्यात्मकः कर्मविशेषो व्रतम् भनि धर्मसिन्धुले परिभाषा गरेको छ । यसैगरी व्रतालुमा क्षमा, सत्यवचन, दया, दान, शौच, इन्द्रियसंयम, देवपूजा, होम, सन्तोष र चोरी नगर्ने भावना हुनु पर्छ भनी व्रतको विशेष विधान निर्णय सिन्धुले वताएको छ । नखाइकन प्रातः स्नान आचमन गरी इष्ट देवको (स्वस्थानी,सूर्य,विष्णु,शिव आदिको) विशेष आराधनालाई व्रतको रूपमा निर्णय सिन्धुले थप व्याख्या गरेको छ ।
श्रीस्वस्थानीको व्रत विधान पनि यस्तै विधि र प्रक्रियामा आधारित एक यज्ञ हो । व्रतालुमा सर्वप्रथम क्षमाभाव हुनु पर्दर्छ । गल्ती गर्ने प्रति क्षमाभाव राख्नु व्रतालुको पहिलो धर्म हो । व्रतालुृले कहिल्यै पनि झुट बोल्नृु हुँदैन । व्रत वस्ने तर मिथ्या कुरा बोल्नाले व्रतको प्रभाव नष्ट भएर जान्छ र व्रतालुले इच्छित वर प्राप्त गर्न सक्दैनन् । दया भाव हुनु व्रतालृुको अर्को धर्म हो । यदि हामी व्रत लिएर पनि दयालु हुन सकेनौ भने व्रतको कुनै अर्थ रहँदैन । दया भावले व्रतलाई उचाइमा लाने काम गर्दछ । यसैगरी व्रतालु दानी पनि हुन सक्नु पर्दछ । शास्त्रमा दनलाई उत्तम यज्ञ मानिएको छ । दान पनि व्रतको एक अङ्ग हो । व्रत वस्नेले दानी भाव राखी व्यवहारमा समेत उतार्न सक्नु पर्दछ । व्रतालु सधै शुद्ध र पवित्र पनि रहनु पर्दछ । व्रतमा चोखो वस्तु खाने, चोखो लगाउने र शुद्ध चोखा वस्तुको प्रयोग गर्नु पर्दछ । शुद्धता हुन सकेन भने पनि व्रतको फल प्राप्त नहुन सक्छ । यसैगरी व्रतालु इन्द्रिय संयम रहनु पर्दछ । इन्द्रिय संयम भनेको मनको चपलताको नियन्त्रण हो । जीवलाई विषयसम्बन्धी बोध गराउने इन्द्रिय ज्ञानेन्द्रिय हुन् । हाम्रा पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रिय छन् । पाँच ज्ञानेन्द्रियमा नाक, कान, छाला, जिभ्रो र आँखा पर्दछन् । कानले सुन्ने काम गर्छ,छालाले स्पर्शको अनुभव गर्छ, नाकले सुँघ्ने काम गर्छ, जिभ्रोले स्वाद पत्ता लगाउछ भने आँखाले दृश्य वस्तुको ज्ञान गराउँछ ।
कर्मेन्द्रिय अन्तर्गत हात, खुट्टा, मुख, गुदद्वार र मुत्रेन्द्रिय पर्दछन् । इन्द्रिय संयम भनेको उक्त पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको संयम हो । मनले यी इन्द्रियलाई नियन्त्रण गरिरहेको हुन्छ । मनलाई सत्कार्यमा अभिप्रेरित गराउनु नै इन्द्रिय संयम हो ।
यी आचरण पालनसँगै श्रीस्वस्थथानी भगवतीको नित्य पूजा आराधना गर्नु पर्दछ । व्रतको उद्देश्य पनि हृदयमा पवित्रताको वास गराउनु हो । जसले मानव जीवनलाई सही मार्गमा अघि बढाउन अभिप्रेरित गर्दछ । व्रत पश्चात् पनि व्रतमा पालन गरेका आचरणहरू जीवनमा उतार्न सक्नु पर्दछ । तव मात्र इच्छित वर प्राप्त हुृन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
श्रीस्वस्थानीकोव्रत कथा महिमा
श्रीस्वस्थानी व्रत कथा इतिहासमा घटेको वास्तविक घटना हो । इतिहासको विकासक्रममा परा पूर्व कालमा घटेका घटनालाई उदाहारणका रूपमा व्यक्त गरिएको उक्त कथालाई आजको सन्दर्भमा बुझ्नु पर्दछ । तत्कालीन समयमा गोमा ब्रह्मणी, शिवशर्मा जस्ताको विवाह सामान्य मानिन्थ्यो । यसैगरी नवराज जस्ता व्यक्ति पनि व्रतको प्रभावले राजा भएका थिए । हिजो जे थियो आज पनि त्यही रहँदैन । किनकि समय गतिवान् र परिवर्तनील छ । समयसँगै हरेक विषयवस्तुहरू पनि परिवर्तित भइरहेका हुन्छन् । त्यसैले इतिहासका उक्त कथाका माध्यमबाट आजको जीवनलाई सही मार्गमा अघि बढाउनु पर्छ । व्रतको प्रभाव अवश्यमेव पर्ने गर्दछ । आजको सन्दर्भ अनुसार फल पनि प्राप्त गर्न सकिन्छ ।
श्रीस्वस्थानीको व्रतमा आद्या शक्ति भगवतीको उपासना गरिन्छ । आद्य शक्ति भगवतीको उपासना पद्धति मध्ये माघ स्नान पूर्वक गरिने आराधना पनि एक विशिष्ट पद्धति हो । श्रीस्वस्थानी भगवतीको उपासना गर्नाले इच्छित वर प्राप्त हुने कुरा शास्त्रमा फल वर्णन गरिएको छ । श्रीस्वस्थानीको कथा सर्वोपयोगी र सर्वहितकारी रहेको छ । स्कन्ध पुराणको माघ माहात्म्य अन्तर्गत कुमार अगस्त्य संवादको कथा प्रसङ्ग नै कथाको आदि स्रोत हो । पार्वती पुत्र कुमार र अगस्त्य ऋर्षिको संवादमा उक्त कथा आधारित छ । यस कथामा आद्य शक्तिको विशेष महिमा गान गरिएको छ । चराचर जगत्का नियन्ता भगवान शिव र पार्वतीको कथा प्रसङ्ग नै श्रीस्वस्थानीको मूल आख्यान हो । महिनादिनसम्म विधिपूर्वक कथा श्रवण गर्नाले मनोकामना पूरा हुने कुरा श्रीस्वस्थानी व्रतकथामा समेत उल्लेख पाइन्छ ।
संसार के हो ? यो चराचर जगत्का नियन्ता को हुन् ? किन हामीले व्रत उपासना गर्नु पर्दछ ? व्रत उपासनाले के फल पाइन्छ ? यसको निन्दा गर्नाले कस्ता दुःख र कष्ट भोग्नृु पर्छ भन्ने कुराको ज्ञान विभिन्न कथामा व्यक्त गरिएको छ । विशेषतः चित्त शुद्ध गरी परमेश्वरप्रति भक्ति भाव व्यक्त गर्नाले यो लोकमा सुुख शान्ति प्राप्त हुनुका साथै परलोकमा पनि उत्तम गति प्राप्त हुन्छ भन्ने शासत्रीय मान्यता रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको श्रवणले यो चराचर जगत्को विशद ज्ञान हासिल गर्न सकिन्छ । ब्रह्म, ब्रह्माण्ड, भूगोल, द्विप, समुद्र आदिको बारेमा विस्तृत व्याख्या श्रीस्वस्थानी कथामा उल्लेख गरिएको छ । सृष्टिकर्ता पनि ईश्वर, पालन कर्ता पनि उनै महेश्वर अनि संहार कर्ता पनि उनै शङ्कर हुन् । भगवद् भक्ति विना संसारबाट पार पाउन सकिदैन भन्ने कुरा कथामा व्यक्त गरिएको छ । यसैगरी यो संसरको सृष्टि सम्वन्धी साङ्ख्य शास्त्रीय मत कथामा प्रस्तुत गरिएको छ । आद्य वस्तु प्रकृति र पुरुषको संयोगबाट संसारको सृष्टि भएको कुरा आजका भौतिकवादले पनि स्वीकार गरेका छन् । सम्पूर्ण, भू, र्भुव, स्व, मह, जन, तप, सत्य लोकको व्यवस्थाका साथै अतल, वितल, सुतल, तलातल, रसातल, महातल, पातालकोको वर्णन कथाले विस्तृत रूपमा गरेको छ । भूगोलको विशेष ज्ञान श्रीस्वस्थानी कथाबाट पनि प्राप्त गर्न सकिन्छ ।
यसैगरी काल अर्थात् समयको व्यवस्थिति, सत्य, त्रेता, द्वापर, कलि युगको प्रसङ्ग, ब्रह्माको आयु देवताको आयु अनि मनुष्यको आयुको बारेमा पनि विशेष ज्ञानवर्धक कुराहरू कथाका माध्यमले प्रस्तुत गरिएको श्रीस्वस्थानी व्रतकथाबाट थुप्रै ज्ञानराशि हासिल गर्न सकिन्छ । सरल भाषा शैलीका मध्यमबाट साधारणदेखि विद्वान् सम्मका लागि मननीय कुराहरू श्रीस्वस्थानी कथामा रहेकाले यो व्रत सवैले धारण गर्न र कथा श्रवण गरी ज्ञान हासिल गर्न उपयोगी सिद्ध हुने देखिन्छ । आध्यात्मिक ज्ञानका साथै भौतिक विषयवस्तुको पनि विशद विवेचना भएकाले कथा सवैले श्रवण गर्न योग्य रहेको छ । कथा श्रवण गर्नाले उत्तम फल पाइने भएकाले पनि यसको महिमा दिनानुदिन बढ्दै गएको हो । मानवलाई सही मार्गमा हिँड्न अभिप्रेरित गरिएको कथा श्रवणीय रहेको छ ।
हरेक वस्तुका नकारात्मक र सकारात्मक पाटा हुन्छन् । समयको सान्दर्भिकताका आधारमा श्रीस्वस्थानी व्रतकथालाई हामीले वुझ्नु पर्दछ । यो कथामा नकारात्मक भन्दा पनि सकारात्मक कुराहरू थुप्रै रहेका छन् । त्यसैले गर्दा आज पनि हरेकका घर घरमा श्रीस्वस्थानी व्रत कथा गुञ्जयमान भइरहेका छन् । शरीर शुद्धिका लागि स्नान, चित्त शुद्धिका लागि कथा अनि व्यवहार शुद्धिका लागि आचरणको व्यवस्था भएको श्रीस्वस्थानी व्रतकथाको जति महिमा गान गाए पनि कम नै हुन्छ । श्रीस्वस्थानीपरमेश्वर्यै नमः ।
No comments:
Post a Comment