उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
फाल्गुन शुक्लपक्षको एकादशीलाई आमलकी भनिन्छ । यसदिन अमलाको बोटलाई भगवान विष्णु र लक्ष्मीको रूपमा पूजा गरिन्छ ।
यो एकादशी समस्त पाप नाश गर्न समर्थ छ । सय गाई दान गर्नाले जुन फल प्राप्त हुन्छ त्यही फल आमलकी एकादशीको व्रत गर्नाले मिल्दछ । यस व्रतमा अमलाको रुखको पूजन गरिन्छ । अमलाकोे उत्पति भगवान श्री विष्णुको मुखबाट भएको हो । यस फलको स्मरणमात्रबाट गाई दान गरे जत्तिकै फल प्राप्त हुन्छ किनिकि अमला भगवान विष्णुको प्रिय फल हो ।
आमलकी एकादशीको व्रतकथा
भारतवर्षमा एउटा सुन्दर राज्य थियो । मानिसहरूको आपसमा प्रेम भएका कारण नगरमा धर्म र आस्थाको निवास भए झैं प्रतीत हुन्थ्यो । त्यस राज्यमा विशेष रूपले श्री विष्णुको पूजा हुने गर्दथ्यो । राजा र प्रजा सबै मिलेर एकादशी व्रतको घडा स्थापना गरी धूप, दीप, नैवेद्य, आदिद्वारा पूजा गर्दथे । एकपटक एकादशी व्रत गरेको समयमा सबै जना मन्दिरमा जाग्रम बसिरहेका थिए । रात्रिका समयमा एक शिकारी आयो जो भोको थियो र त्यो लगभग सबै पापको भागी थियो । मन्दिरमा धेरै मानिस भएका कारण शिकारीले खानेकुरा चोर्ने अवसर प्राप्त गर्न सकेन र त्यो रातभर चार्ने आश गर्दै भोकै विताउनु पर्यो ।
प्रातः काल भएपछि सबैजना आफ्नो घर गए र चोर पनि आफ्नो घर गयो । केही समयपछि चोरको कुनै कारणवश मृत्यु भयो । त्यस चोरले जानी–नजानी नै आमलकी एकादशीको व्रत गरेको थियो । त्यसै कारणले उसलाई पुण्य प्राप्त भयो र त्यसको जन्म एउटा राजाका घरमा भयो ।
ऊ असाध्यै वीर, धार्मिक, सत्यवादी र विष्णुभक्त थियो । दानादि कार्यमा उसको रुचि थियो । एकपटक त्यो शिकार खेल्न जाँदा डाकाहरूको चंगुलमा फस्नपुग्यो । डाकाहरूले उसलाई मार्ने उद्देश्यले शस्त्र प्रहार गर्न थाले । यसरी अस्त्र प्रहारबाट आफूमा कुनै असर नपरेको देख्दा उसलाई अचम्म लाग्यो । त्यसै बेला एउटा अदृश्य शक्ति प्रकट भई ती सम्पूर्ण डाकाहरूलाई मारिदियो ।
राजाले अचम्म मान्दै प्रश्न गरे । यसरी मेरो रक्षा गर्नेको हो ? यसको उत्तरमा भविष्यवाणी भयो । तेरो रक्षा श्री विष्णुजीले गर्दै हुनुहुन्छ, यो कृपा तैंले आमलकी एकादशीको व्रत गर्नाले पाएको हो । यस व्रतका प्रभावले मोक्ष पनि प्राप्त हुन्छ, भन्ने भविष्यवाणी भयो ।
अतः हामीले पनि आमलकी एकादशीको व्रत धारण गर्यौ भने यो लोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति प्राप्त गर्न सक्दछौँ ।
No comments:
Post a Comment