ज्योतिष भनेको के हो ? - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

Apr 21, 2020

ज्योतिष भनेको के हो ?


नारायणप्रसाद निरौला, ज्योतिषाचार्य 


१ ज्योतिषशास्त्र  परिचय 

‘ज्योतिर्यस्य स ज्योतिषः’ अर्थात् प्रकाशित पार्ने द्युत् धातुमा इसुन् प्रत्यय लागेर अनुबन्धलोपपूर्वक ज्योतिष शब्दको निर्माण हुन्छ । यसैगरी उज्यालो अर्थ प्रदान गर्ने ज्योतिस् शब्दमा घञ् प्रत्यय लागेर  पनि  पाणिनीय व्याकरणअनुसार ज्योतिष शब्द निष्पन्न हुन्छ ।  

आकाशमा रहेका जति पनि उज्याला तेजपुञ्जछन् ती सबैलाई ज्योति भनिन्छ । ती मध्ये सधैँ एकरूपका रहने नक्षत्र हुन् । यसैगरी प्रत्येक दिन भिन्न भिन्न स्वरूपमा देखिने ग्रह हुन् । यसरी आकाशीय ग्रहनक्षत्रहरूको गतिस्थितिलाई अध्ययन गरी भौतिक वस्तु एवं पदार्थमा ती ग्रहनक्षत्रले पार्ने प्रभावका बारेमा फलादेश गर्ने शास्त्र ज्योतिष हो । 

वेदको मुख्य अङ्ग अँखाका रूपमा ज्योतिषलाई लिइएको छ : ‘वेदचक्षुः किलेदं स्मृतं ज्यौतिषम्’ (सिद्धान्त शिरोमणि, मध्यमाधिकार, श्लो. ११) । वेदले यज्ञ गर्नु भनि आदेश दिएको छ । उक्त वेदोक्त यज्ञ गर्न उचित समयको आवश्यकता पर्दछ । यस्तो उचित समयको निर्धारण गर्ने शास्त्र ज्योतिष हो । यसैले ज्योतिषलाई वेदको मुख्य अङ्ग(आँखा)का रूपमा लिइएको हो । 

वेदका मुख्य छ अङ्ग छन् ।  शिक्षा, कल्प, निरुक्त, छन्द, ज्योतिष र व्याकरण । यी मध्ये कुन शास्त्र वेदको कुन अवयव(अङ्ग) हो भन्ने बारेमा पाणिनीय शिक्षामा यसरी बताइएको छ –
छन्दः पादौ तु वेदस्य हस्तः कल्पोऽथ उच्यते ।
 ज्योतिषामयनं चक्षुः निरूक्तं श्रोत्रमुच्यते ।। 
शिक्षा घ्राणं तु वेदस्य मुखं व्याकरणं स्मृतम् । ( पाणिनीयशिक्षा)
 अर्थात् छन्द वेदका पाउ वा खुट्टा हुन्, कल्प हात हुन्, ज्योतिष आँखा हो, निरूक्त कान हुन्, शिक्षा नाक हो भने व्याकरण वेदको मुख हो भनी बताइएको छ । 

२. ज्योतिषका विभाग


 विषयका भेदले ज्योतिषलाई तीन भागमा विभाजन गरिएको छ । ‘त्रिस्कन्धात्मकं ज्योतिषम्’ पनि भनिन्छ । ती तीन स्कन्धमा सिद्धान्त, संहिता र होरा पर्दछन् । 
सिद्धान्तसंहिताहोरारूपं स्कन्धत्रयात्मकम् ।
वेदस्य निर्मलं चक्षुज्र्योतिःशास्त्रमुदाहृतम् ।। (नारद संहिता– १–४)
ज्योतिशास्त्रमनेकभेदविषयं स्कन्धत्रयाधिष्ठितं 
तत्कात्स्र्योपनयस्य नाम मुनिभिः सङ्कीत्र्यते संहिता 
स्कन्धेऽस्मिन् गणितेन या ग्रहगतिस्तन्त्राभिधानस्त्वसौ ।
होराऽन्योऽङ्गविनिश्चयश्च कथितः स्कन्धस्तृतीयोेऽपरः ।। (बृहत्संहिता, १।१९) 
यसैगरी सिद्धान्त र फलित दुई रूपमा पनि ज्योतिषलाई  बुझ्ने गरिन्छ । संहिता र होरालाई फलितशास्त्रका रूपमा पनि विभाजन गरी व्याख्या विवेचना गरिएको पाइन्छ । 

२.१ सिद्धान्त 

सिद्धान्त ज्योतिषशास्त्रको मूल हो । जसलाई गणित पनि भनिन्छ । यही सिद्धान्तकै आधारमा सम्पूर्ण आकाशीय ग्रहपिण्डको अवस्थिति पत्ता लगाउन सकिन्छ । गणितका सम्पूर्ण गणना प्रक्रिय यस अन्तर्गत हुने गर्दछन् । 

सिद्धान्तज्योतिषको परिभाषा भाष्कराचार्यले सिद्धान्तशिरोमणि  नामक ग्रन्थमा यसरी उल्लेख गरेका छन् – 
 त्रुट्यादिप्रलयान्तकालकलना मानप्रभेदः क्रमा–
च्चारश्च द्युसदां द्विधा च गणितं प्रश्नस्तथासोत्तराः ।
भूधिष्ण्यग्रहसंस्थितेश्च कथनं यन्त्रादि यत्रोच्यते 
सिद्धान्तः सः उदाहृतोऽत्र गणितस्कन्धप्रबन्धे बुधैः ।।  

अर्थात् जुन शास्त्रमा त्रुटि(सबैभन सूक्ष्म एकाई)देखि लिएर प्रलयसम्मको गणना हुन्छ, भूगोल, खगोलका ग्रह नक्षत्रको गणना गरिएको हुन्छ, ग्रह अवलोकानाका यन्त्रहरूको वर्ण हुन्छ, दिक् देश र कालको निर्धारण गरिन्छ, त्यस्तो प्रश्नोत्तरात्मक कालबोधक गणित विशेष नै ज्योतिषको सिद्धान्तशास्त्र हो । 

सिद्धान्त ज्योतिषका पनि तीन भेद रहेका छन् । सिद्धान्त, तन्त्र र करण ।  यसमध्ये पनि सिद्धान्त मूल रूप हो । सिद्धान्तलाई आधार मानेर तन्त्र र करण गणित चलेका छन् ।  सिद्धान्तमा कल्पको सुरु वा  सृष्टिको सुरुबाट गणना गरिन्छ । यसैगरी तन्त्रशास्त्रमा युगादिबाट गणना हुन्छ भने करण ग्रन्थमा कुनै अभीष्ट शक वा संवत्बाट गणना हुने गर्दछ । 
पितामह(ब्राह्म), वसिष्ठ, रोमक, पौलिस र सूर्य सिद्धान्त मूलसिद्धान्त हुन् । यीमध्ये पनि सूर्य एवं ब्राह्मसिद्धान्त हाल विशेष प्रयोगमा रहेका छन् ।


२.२ संहिता   

चराचर  वस्तुको शुभाशुभफल वर्णनका साथै मुहूत्र्तहरूको निर्धारण गर्ने ज्योतिषशास्त्रको मूल हाँगो संहिता हो । यसलाई भौतिक फलितशास्त्र पनि भनिन्छ । वास्तु, मुहूत्र्त, रत्न, शकुन आदि व्यवहारिक विषयवस्तुको ज्ञान संहिता शास्त्रले प्रदान गर्दछ । यसका साथै ग्रहसंचार, वृष्टिज्ञान, वृक्षायुर्वेद,   उदयास्तफल, विश्वको शुभाशुभ फलको विवेचना,  भूकम्प, उल्कापात, केतूदय,  प्रकृतिका लक्षण, चेष्टा आदिको वर्णन पनि यस अन्तर्गत हुने गर्दछ ।  व्यवहारोपयोगी भएकाले संहितालाई व्यवहार शास्त्रका रूपमा पनि लिइन्छ ।  यो शास्त्र प्रवर्तनमा गर्ग, वसिष्ठ, भृगु, कश्यप, नारद आदि ऋषि मुख्य मानिन्छन् । वराहमिहिराचार्यले ‘बृहत्संहिता’ मार्फत् यसको विशद् विवेचना गरेका छन् । 

 २.३. होरा  

होरालाई जातकशास्त्र पनि भनिन्छ । जन्ममिति र समयका आधारमा जातकको (जन्मलिने व्यक्तिको)कुण्डली निर्माणगरी फलदेश गर्ने ज्योतिको मुख्य हाँगो होरास्कन्ध हो । जसलाई पनि फलितको शाखाअन्तर्गन राखिएको छ । लग्न, राशि, नवमांश आदि निर्धारणका आधारमा व्यक्तिको फलादेश गर्ने यस अन्तर्गत गरिन्छ ।  होराको अर्थ समय वा घण्टा भन्ने हुन्छ । जन्मसमयकै आधारमा फलदोश गर्ने शास्त्र भएकाले यसलार्य होरा भनिएको हो । 
यस अन्तर्गत जातक, ताजिक, प्रश्न, स्वर, शाकुन, रमल, सामुद्रिक  आदि शास्त्र पर्दछन् । जसलाई पितामह, नारद, वसिष्ठ, कश्यप, पराशर आदि ऋषिले प्रवर्तन गरेका हुन् ।  वराहमिहिरले ‘बृहज्जातक’ मार्फत् यो शास्त्रको विशेष व्याख्या गरेकाछन् ।  

३.निष्कर्ष



हाम्रो दैनन्दिनी प्रयोगमा आउने पञ्चाङ्ग(पात्रो)को निर्माण ज्योतिषशास्त्रकै सिद्धान्तका आधारमा गणना गरी तयार पारिन्छ । यसका साथै यात्रा, विवाह, गृहनिर्माण, वास्तुका साथै सवशेष यज्ञ सम्पादनका निम्ति हाम्रो दैनद्यिननी जीवनमा उपयोगी रहँदै आएको छ  । 
ज्योतिषको सिद्धान्त मूल विषय हो । सिद्धान्तकै आधारमा आकाशीय ग्रहहरूको अवस्थिति पत्ता लगाइन्छ अनि सोही  आधारमा फलादेश पनि गरिन्छ । यसरी अवस्थिति पत्ता लगाउन गणितको आवश्यकता पर्दछ । गणितको सही गणना पश्चात् नै ग्रहहरूको अवस्थिति पत्ता लाग्ने गर्दछ । सोही आधारमा नै वर्तमान भूत र भविष्यको आँकलन गर्न सकिन्छ । गणना सही हुन सकेन भने फलादेश पनि गलत हुने सम्भावना रहन्छ । 
 वेदले प्रतिपादन गरेका यज्ञीय विषयसँग सम्बन्धित काल, मुहूर्त आदि विविध पक्षहरूको विस्तृत विवेचनका साथै सत्यापन गर्ने काम ज्योतिष शास्त्रले गरेको हुन्छ ।

ज्योतिष प्रत्यक्ष शास्त्र हो । 
अप्रत्यक्षाणि शास्त्राणि विवादस्तेषु केवलम् ।
 प्रत्यक्षं ज्योतिषं शास्त्रं चन्द्रार्कौ यत्र साक्षिणौ ।। (लगधाचार्य) 

 अर्थात्  भनेकै समयमा आकाशमा सूर्य एवं चन्द्रमा प्रत्यक्ष हुनु, निर्धारण गरिएकै समयमा ग्रहण लाग्नु, अयनको परिवर्तन हुनु आदि कारणले पनि ज्योतिष प्रत्यक्ष शास्त्र हो भन्न सकिन्छ । 

No comments:

Post a Comment