नारायणप्रसाद निरौला, ज्योतिषाचार्य
१. विषयप्रवेश
पौरस्त्य संस्कृति र सभ्यताको प्रतीक नमस्ते वा नमस्कारको प्रयोग निकै प्राचीन मानिन्छ । वेदमा पनि नमस्ते रुद्रमन्य वहुतोऽत...भनेर परमात्मा परमेश्वरलाई प्रार्थना गरिएको छ । यही सभ्यताको सूचक नमस्ते वा नमस्कार हाम्रा सञ्चार माध्यमा प्रयोग भइरहेका छन् । तर यसरी प्रयोग हुने शब्दभन्दा पनि यसको अभिव्यक्तिमा भने केही भिन्न ढङ्गले प्रयोग भएको पाइन थालेको छ । विशेषगरी श्रव्यदृश्यसञ्चारमाध्यम (टिभी, युटुव च्यानल, फेसबुक लाइभ आदि)मा कुनै कायिक अभिव्यक्ति विना नै केवल मुखले नमस्कार वा नमस्ते मात्र भन्ने गरेको पाइन्छ । हात बाँधेर गरिने नमस्कार, अनि ठाडै बसेर मुखले मात्र भनिने अभिवादन कति उचित हुन् त ? शास्त्रमा नमस्कार कसरी गर्नु भनेर बताइएको छ ? नमस्कार शब्दको अर्थ के ? आदि विषयमा यहाँ खोज्ने यत्न गरिएको छ ।
२. नमस्कार वा नमस्ते शब्द र अर्थ
नम पूज्य वाचक शब्द हो । व्याकरणका दृष्टिले नमस्कार र नमस्ते शब्दको निर्माण र अर्थ यसरी निरूपण गरिएको छ –
ढोग गर्ने अर्थ भएको नम् धातुमा असुन् प्रत्यय लागेर नमः(स्) शब्द को निर्माण हुन्छ । जसले पूज्यभाव प्रकट गर्ने, आफ्नो त्याग भाव प्रदर्शन गर्ने भन्ने अर्थ दिन्छ ।
यसैगरी नम् धातुमा ल्युट् प्रत्यय लागेर नमनम् शब्दको निर्माण हुन्छ जसले पनि नकस्कार गर्नु, झुक्नु, अभिवादन गर्नु भन्ने हुन्छ ।
यसैगरी नमस् शब्दमा कृ (गर्ने अर्थबोधक धातुमा ) घञ् प्रत्यय लागेर नमस्कार शब्दको निर्माण हुन्छ । जसले पनि विनम्रतापूर्वक आदरभाव सम्मान प्रकट गर्ने अर्थ प्रदान गर्दछ । यसैगरी नमस्ते शब्दले पनि ते/तुभ्यम् (हजुरलई) नमः नमस्कार छ भन्ने अर्थ द्योतन गर्दछ । यसरी व्याकरणका दृष्टिले हेर्दा नम्रतापूर्वक विनयी भावले आदर एवं सम्मान प्रकट गर्ने अर्थमा नमस्कार वा नमस्ते शब्दको प्रयोग भएको पाइन्छ ।
३. नमस्कारका प्रकार
नमस्कार तीन प्रारका हुन्छन् भनेर बताइएको छ : कायिक, वाचिक र मानसिक –
कायिको वाग्भवश्चैव मानसस्त्रिविधः स्मृतः ।
नमस्कारस्तु तत्त्वज्ञैरुत्तमाधममध्यमः ।।
(कालिकापुराण, अध्याय, ७०)
शरीरको हाउभाउसहित प्रदान गर्ने नमस्कार कायिक हो । शिर झुकाएर हातजोडी अभिवादन गर्ने प्रक्रिया कायिक नमस्कार हो । यसैगरी मुखले बोलेर मात्र गर्ने अभिवादन वाचिक हो । मनमनै गरिने अभिवादन मानसिक हो । यीमध्ये कायिक अभिवादनलाई उत्तम मानिएको छ ।
त्रिविधे चं नमस्कारे कायिकश्चोत्तमः स्मृतः ।
कायिकैस्तु नमस्कारैर्देवास्तुष्यन्ति नित्यशः ।। (कालिकापुराण)
यसरी कायिक नमस्कारलाई उत्तम, वाचिकलाई मध्यम र मानसकिलाई अधमको कोटिमा राखिएको छ । कायिक नमस्कार पनि तीन प्रकारका रहेका छन् :
प्रसार्य्य पादौ हस्तौ च पतित्वा दण्डवत् क्षितौ ।
जानुभ्यां धरणीं गत्वा शिरसा स्पृश्य मेदिनीम् ।
क्रियते यो नमस्कार उत्तमः कायिकस्तु सः ।।
अर्थात् पृथ्वीमा हात पाउ लमतन्न पारी शिरले गरिएको कायिक नमस्कार सबैभन्दा उत्तम हो । यसैगरी घुँडा मारेर मात्र ढोग्नु दोस्रो कोटिको अभिवाद हो भने हात जोडेर शिर निहुर्याई गरिएको अभिवादन तेस्रो कोटिको हो ।
यसैगरी देवी देवता विशेष गरिने प्रदक्षिणा एवं परिक्रमाका आधारमा नमसकारका सात भेद पनि बताएको पाइन्छ :
त्रिकोणमथ षट्कोणमद्र्धचन्द्रं प्रदक्षिणम् ।
दण्डमष्टाङ्गमुग्रञ्च सप्तधा नतिलक्षणम् । ( कालिका पुराण)
त्रिकोण, षट्कोण, अर्धचन्द्र, प्रदक्षिण, दण्डवत्, अष्टाङ्ग र उग्र नमस्कार । यी नमस्कार देवी देवताको दर्शन विशेषमा आधारित छन् ।
यसरी बताएका नमस्कारमध्ये शरीरका अङ्गावयवको हाउभाउपूर्ण तरिकाले प्रदान गरिएको नमसकारलाई उत्तम मानिएको छ ।
४.कस्तो अवस्थामा नमस्कार गर्नुपर्छ ?
प्रायः सबै अवस्थामा नमस्कार गनुृ भनिएको छ :
सर्व्वे चापि नमस्कुय्र्युः सव्र्वावस्थासु सव्र्वदा ।। (शुद्धितत्त्त्वम्)
यसैगरीे मन्दिर प्गदा देवतालई, भेटहुँदा गुरु एवं मान्यजनलाई नमस्कार गर्नुपर्दछ । यदि नमसकार गरिएन भने जीवनपर्यन्त अशुद्धि रहनुका साथै नरकको पनि भोग गर्नुपर्दछ भनी ब्रह्मवैवर्तपुराणमा बताइएको छ :
देवं विप्रं गुरुं दृष्ट्वा न नमेद्यस्तु सम्भ्रमात् ।
स कालसूत्रं व्रजति यावच्चन्द्रदिवाकरौ ।।
ब्राह्मणञ्च गुरुं दृष्ट्वा न नमेद्यो नराधमः ।
यावज्जीवनपय्र्यन्तमशुचिय्र्यवनो भवेत् ।।
(ब्रह्मवैवत्र्तपुराण, श्रीकृष्णजन्मखण्ड)
अग्रजलाई नमस्कार गर्नुपर्दछ भनी कूर्मपुराणमा पनि बताइएको छ ।
५. कुन अवस्थामा नमस्कार नगर्दा पनि हुन्छ ?
टाढा रहेका, पानीभित्र रहेका, कुदिरहेका, मदले चूर्ण भएका, क्रोधी व्यक्तिप्रति भने नमस्कार नगर्दा हुन्छ भनी कर्मलोचन ग्रन्थमा उल्लेख गरिएको छ –
दूरस्थं जलमध्यस्थं धावन्तं मदगव्र्वितम् ।
क्रोधवन्तं विजानीयात् नमस्कारञ्च वर्जयेत् ।। (कर्मलोचनमा)
६. निष्कर्ष
यसरी नमस्कार एवं अभिवादनका शास्त्रीय निर्देशनलाई हेर्दा नमस्कार एक प्रकारको प्रार्थना, पूज्य आदरभाव प्रकट गर्ने प्रक्रिया एवं पद्धति हो । नम्रता यसका निम्ति अनिवार्य मानिएको छ । नम्रता प्रदर्शनका निम्ति कायिक एवं वाचिक दुवै हाउभाव आवश्यक रहन्छन् ।
श्रव्यव्यदृश्य सञ्चारमाध्यममा हाल हात नजोडी वा ठाडै मुखले भनिएका नमस्कार प्रदर्शनले शास्त्रीय मर्यादाका साथै सभ्यताको परिचय पनि दिएको पाइदैन । केवल मुखले मात्र बोल्नु उत्तम कोटिको आभिवादन अन्तर्गत पर्दैन । परिस्थिति प्रतिकूल भएका वेला वा हातले नै कार्य गर्न बाधा व्यवधान भएका वेलाका कुरा भिन्नै हुन् । तर सहज परिस्थितिमा पनि हात नजोडी नमस्कार भन्ने प्रवृत्तिले शास्त्रीय मार्यादाका साथै सभ्यताको चिनारी समेत प्रस्तुत गरेको पाइदैन । श्रव्य रेडियोमा पनि हाल प्रत्यक्ष(लाइभ) देखाउने गरिएको पाइन्छ । यसरी सशरीर प्रस्तुत भएका खण्डमा कायिक नमस्कार गर्नु नै शास्त्रीय मर्यादा अनुकूल रहने देखिन्छ ।
Research ramro xa.
ReplyDeleteThank you.
Delete