समन्वयका प्रतीक गौतमबुद्ध - ज्याेतिषाचार्य:

ज्याेतिषाचार्य:

For Astrological and religious knowledge

Breaking

Muhurta chintamani

Muhurta chintamani
about muhurta chintamani

May 6, 2020

समन्वयका प्रतीक गौतमबुद्ध


नारायणप्रसाद निरौला 
संसारमा शान्तिको सन्देश फैलाउने भगवान् गाैतमबुद्ध शान्तिका अग्रदूत हुन् । जीवनलाई सही मार्गमा अघि बढाउन आवश्यक पर्ने सत्य ज्ञानको सन्देश बुद्धका उपदेशबाट पाइन्छ । यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानामधर्मस्य तदाऽऽत्मानं सृजाम्यहम् ।।(गीता,४।७) अर्थात् जब जब धर्मको हानि र अधर्मको वृद्धि हुन्छ तब म स्वयं जन्म लिन्छु । भन्ने गीताको बचन अनुसार नै धर्मको उत्थानका निम्ति भगवान्ले बुद्धको अवतार ग्रहण गरेको कुरा पुराणमा उल्लेख पाइन्छ । युग अनुसार भगवानका अवतार भइ रहन्छन् । भगवानका अवतार पनि पूर्ण र आंशिक हुने  गर्दछन् । बुद्ध अवतार भगवान्को पूर्ण अवतार हो । अहिंसाको बाटोमा अग्रसर गराउने चेतनाका दूत भगवान् बुद्धको अवतार विष्णु भगवान्का चौविस आवतार् मध्येको तेइसौँ अवतार हो । भगवानका  दश पूर्ण अवतारमा मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की पर्दछन् । यिनै अवतारमध्येको एक पूर्णावता भगवान् बुद्ध रहेको कुरा श्रीमद्भागवत महापुराणमा उल्लेख पाइन्छ ।    

वेदद्विषां निगमवत्र्मनि निष्ठितानाम् पूर्भिर्मयेन  विहिताभिरदृश्यतूर्भिंः । लोकान् घ्नतां मतिविमोहमतिप्रलोभम् वेषं  विधाय बहुभाष्यत औपधम्र्यम् ।।(श्रीमद्भागवत्, २।७।३७) अर्थात् देवताका शत्रु दैत्यले वेदको साहार लिएर मय दानवले बनाएको आँखाले नदेखिने सहरमा बसी जब मानिसहरूको नाश गर्न लागे त्यसवेला भगवान् विष्णुले मानिसको बुद्धिमा मोह र लोभ उत्पन्न गराउने भेष लिएर बुद्धको रूपमा अवतार लिई धेरै उपधर्महरूको उपदेश  गर्नुभएको हो । यसैगरी बुद्धधर्मको विकास कसरी भयो भन्ने कुरा पनि भागवत् पुराणमा उल्लेख पाइन्छ ।  ततः कलौ संप्रवृत्ते संमोहाय सुरद्विषाम् । बुद्धो नाम्नजिनसुतः कीकटेषु भविष्यति ।।(श्रीमद्भागवत् १।३।२४) अर्थात् वैदिक आचारबाट देवताका द्रोहीहरूले नरमेध, गोमेध आदि यज्ञ गर्दा  तिनीहरूलाई हिंसाको प्रवृत्तिबाट  हटाउन विष्णु भगवान्ले बुद्धको अवतार ग्रहण गर्नु भएको हो । यसरी अवतरित भगवानले बाटो हिँड्दा किरा मर्छन् भनी बाटो कुचोले बडार्दै पाइला सार्दै देवद्रोहीकहा पुगी पाप र धर्मको उपदेश दिदै अहिंसाको बाटो अर्थात् बुद्धधर्ममा लाग्न अभिप्रेरित गरेको कुरा पुराणमा उल्लेख पाइन्छ ।  

यसैगरी  विष्णुले ब्रह्माले बताएको वैदिक यज्ञधर्म गर्दा अनेक जीवको हत्याबाट  उत्पन्न हुने घृणा देखेर  संसारको कर्म  त्याग्नका लागि मिथ्या माया प्रपञ्च हटाउने उपदेश दिन  बुद्ध अवतार लिएको तर  प्राकृतिक विषयको हेला भने नगरेको पाइन्छ ।  उक्त कुरा कल्की पुराणमा उल्लेख छ । बुद्धलाई कतिले अजनको छोरा र कतिले जिनको छोरा भनेका छन् । बुद्धग्रन्थ अनुसार गौतम बुद्ध समेत २८ वटा बुद्ध भइसके । जसमध्ये दीपङ्कर बुद्धदेखि गौतम बुद्धसम्म पच्चीस बुद्ध भएको प्रमाण  त्रिपिटकमा उल्लेख गरिएको छ । बौद्ध ग्रन्थ अनुसार तण्हङ्कर, मेघङ्कर, सरणङ्कर, दीपङ्कर, कौणञ्जबुद्ध, मंगलबुद्ध, सुमनबुद्ध, रेवतबुद्ध, सोभितबुद्ध, अनोखदस्मिबुद्ध, पदुमबुद्ध, नारदबुद्ध, पदुमुत्तरबुद्ध, सुमेधबुद्ध, सुजातबुद्ध, प्रियदस्मिबुद्ध, अत्थस्मिबुद्ध, धम्मस्मिबुद्ध, सिद्धवर्थ, तिथस्स, फुस्सबुद्ध, विपस्सीबुद्ध, सिखीबुद्ध, बेस्सम्भू, ककुच्छन्द, कनकमुनि, काश्यप र गौतमबुद्ध रहेका छन् ।  बौद्ध दर्शनका  अनेक सम्प्रदाय र शाखा छन् ।  सर्वास्तिवादिका मुख्य आचार्यहरू चार छन् ः वसुमित्र, असंग, वसुबन्धु र अश्वघोष ।  अश्वघोषले बुद्धधर्मलाई सावकयान, प्रत्येकयान र महायान गरी तिनभागमा बाडेको पाइन्छ । महायानबाट वज्रयान तथा तन्त्रमन्त्र आदिको विककास भएको हो । तमिलनाडूका नागार्जुनले माध्यमिक शून्यवादको प्रतिपादन गरेका हुन् ।

बुद्ध धर्मको मुख्य ग्रन्थलाई त्रिपिटक भनिन्छ ।  यसअन्तर्गत विनय पिटक, सुत्तपिटक र अभिधम्म पिटक पर्दछन् ।  मायावादी हुनाले बौद्धहरूले ईश्वर मान्दैनन् । महाभारत वाल्मीकि  रामायणभन्दा अघि शाक्यसिंह बुद्ध भइसकेका थिए ।  शाक्यसिंह बुद्धभन्दा  धेरै अघिबाट  कल्पभेदले अनेक बुद्धले जन्म लिएका थिए । बौद्धदर्शन बुद्धले चलाएको धर्म वा क्रियाकलाप हो । यसको वर्णन पद्मपुराण, स्कन्दपुराण, कल्कीपुराण  तथा बौद्धग्रन्थहरूमा विशेष पाइन्छ ।  जसका चार भेद रहेका छन् : वैभाषिक, स्रौत्रान्तिक, योगाचा र माध्यमिक ।  सौत्रान्तिक वाहिरी पदार्थको  अनुमानद्वारा सत्य मानिने सिद्धान्त हो । योगाचार अर्थात् विज्ञानवादले  चित्तलाई एकमात्र सत्य मान्दछ ।   माध्यमिक भेद भनेको शून्यवाद हो । जसले सम्पूर्ण वस्तुलाई शून्य मान्दछ ।  यसैगरी बौद्धमतलाई शून्यवाद, क्षणभंगुरवाद तथा क्षणिकवाद  पनि भनिन्छ । यिनीहरू प्रत्यक्ष र अनुमानलाई  प्रमाण मान्दछन् । सारा संसार दुःखमय छ भन्ने धारणा  बौद्धमार्गीमा रहेको हुन्छ । त्यसको बोध गरी संसारबाट तर्नुलाई नै बौद्धमार्गीहरू पुरुषथार्थ मान्दछन् ।  

भगवान्को चौविसौँ अवतार हुन अझै बाँकी रहेको छ । चौविसौँ अवतारमा कल्कीरूप धारण गरी भगवानको अवतार ग्रहण हुन्छ भन्ने कुरा कल्की पुराणमा उल्लेख छ । बुद्ध अवतारमा भगवान्ले अहिंसाको पाठ पढाएको पाइन्छ । अहिंसा बुद्धको परं धर्म हो । सत्य व्रतधारण गरी अहिंसाको मार्गमा लाग्न अभिप्रेरित गर्ने बौद्ध मत  अनुसरणीय छ । भगवान् विष्णुको अवतारका रूपमा बुद्धलाई शास्त्रले त स्वीकार गरेकै छ र हाम्रो लोक परम्परामा पनि यसको अनुसरण भइरहेको छ । सत्यं वद भन्ने तैत्तिरीयोपनिषद् र बुद्धको सत्यव्रत एउटै र उस्तै कथन हो ।  स्वयंभूनाथ, मुक्तिनाथ समन्वयका  प्रतीक हुन् । जहाँ एउटै भगवानलाई भिन्न भिन्न रूपमा आराधना गरिन्छ । बौद्ध परम्परामा पनि वेद पाठको विशेष महत्व हुन्छ । मन्त्र भिन्न छन् तर पाठको परम्परा उस्र्तै रहेको पाइन्छ । हिन्दू मार्गीले वेद पाठ गरेजस्तै बौद्ध लामद्वारा वेद पाठ गर्ने प्रचलन रहेको छ । जसले हिन्दू र बौद्धधर्मको नजिकको सम्बन्ध रहेको कुरा पुष्टि गर्छ । यसैगरी बौद्ध पूजापाठ र हिन्दू पूजापाठमा उच्चारण गरिने संकल्प पनि मिल्दोजुल्दो पाइन्छ । संकल्प उच्चारणका तौर तरिका एकै जस्ता पाइन्छन् । जसले बहन गर्ने अर्थ पनि एउटै रहेको हुन्छ । बौद्धमार्गीले जप्ने मन्त्र ॐ मणि पद्मे हुं कै अर्को रूप माने प्यामे हुं हो । जसको अर्थ  पनि विष्णु भगवानको नामोच्चारण र प्रक्रियासँग मिल्दो जुल्दो पाइन्छ । भगवानको ध्यान आराधना गर्ने तरिका पनि एकै छन् । बौद्धानुयायीले पनि हातमा माला लिएर मन्त्र जाप गर्छन् र हिन्दूले पनि सोही प्रकारले जप गर्ने पद्धति रहेको छ । यसैगरी तन्त्र साधनामा पनि समानता पाइन्छ । यसरी हेर्दा भगवान् बुद्धले समन्वयको मार्गमा अघि बढ्न अभिप्रेरित गरेको देखिन्छ । 

No comments:

Post a Comment